१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सार्स कोभ–२, कोभिड–१९ र नेपाल

शेरबहादुर पुन

चीनको वुहानमा पहिलोपटक यो भाइरस अज्ञात रोगका रूपमा देखा परेको थियो । ३१ डिसेम्बर  २०१९ मा यो रोगबारे पहिलोपटक विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरियो । सुरुमा यसलाई नोबल कोरोना भाइरस अथवा २०१९–एनसीओभीका नामले सम्बोधन गरिन थाल्यो । हाल नाम परिमार्जित भएर सिभियर अक्युत रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस–२ अर्थात् ‘सार्स कोभ–२’ राखिएको छ । यसको संक्रमणले हुने रोगलाई कोरोना भाइरस डिजिज–१९ अर्थात् ‘कोभिड–१९’ का नामले चिनिन थाल्यो ।

सार्स कोभ–२, कोभिड–१९ र नेपाल

वुहानमा हजारौं मानिसको मृत्यु हुने क्रम जारी छँदा नेपालमा पनि जनवरीमा पहिलो कोभिड–१९ केस देखिएपछि मिडिया र सर्वसाधारणबीच चासोको विषय बन्न पुगेको थियो । ती व्यक्ति वुहानबाटै आएका थिए ।

सुरुमा यो भाइरस मानिसबाट मानिसमा सर्दैन भन्ने अनुमान थियो । तर वुहानका अस्पतालमा दर्जनौं स्वास्थ्यकर्मी यो भाइरसबाट संक्रमित भएको पुष्टिपछि मानिसबाट मानिसमा पनि सहजै सर्ने तथ्य सार्वजनिक भयो । नेपालमा देखिएका कोभिड–१९ का पहिलो बिरामी अस्पताल भर्ना हुनुअघि आफन्तसँगै बसेका थिए । प्रयोगशालाको नतिजा आउनुअघि नै लक्षणमा क्रमिक सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको थियो । प्रयोगशालाले उनमा सार्स कोभ–२ भाइरस संक्रमण पुष्टि गरेको थियो ।

डिस्चार्ज अघि र पछि आफन्त, साथीभाइसहितका मानिस तथा अस्पतालमा बिना पीपीई उपचार गरेका स्वास्थ्यकर्मीसँग उनको सम्पर्क भए पनि ती कसैमा कोभिड–१९ का लक्षण देखिएनन् । यसबाट बुझ्न सकिन्छ कि हाल सर्वसाधारणले सोचेजस्तो नजिक वा केही समय सँगै बस्दैमा यो भाइरस सरिहाल्छ भन्ने सत्य रहेनछ । पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा पनि संक्रमितको सम्पर्कमा आएका अति कममा मात्र संक्रमण पुष्टि भइरहेको देखिन्छ ।

नेपालमा आजको मितिसम्म १ सय ९ जनामा कोभिड–१९ देखिएकोमा शतप्रतिशत संक्रमित सामान्य अवस्थामा छन् । यो विश्वका अरू देशमा कोभिड–१९ ले देखाएको भयावह दृश्यभन्दा नितान्त भिन्न तथ्य हो । नेपालमा जसरी सर्वसाधारणले भयावह स्थितिको परिकल्पना गर्दै आइरहेका थिए, त्यस्तो आजको दिनसम्म देखिएको छैन । तर, यसको अर्थ आगामी दिनमा कोभिड–१९ को लक्षण कडा हुँदै–हुँदैन भन्ने होइन । यसमा विशेष गरी भाइरसको भिन्नता र रोग विकास गर्ने क्षमता, नेपालीको रोग प्रतिरोधात्मक क्षमता तथा हावापानीजस्ता कारण हुन सक्छन् । यो पक्षको शृंखलाबद्ध अनुसन्धान हुन जरुरी देखिन्छ ।

नेपालमा हाल देखिएको सार्स कोभ–२ भाइरसको प्रकृतिबारे अनुसन्धान र विश्लेषण भइसकेको छैन । यो भाइरस फैलँदै जाँदा जिनमा पनि थोरैथोरै परिवर्तन भई विभिन्न ‘स्ट्रेन’मा विभाजित भइरहेको अनुसन्धानहरूले देखाएका छन् । हालै अमेरिकी वैज्ञानिकहरूले वुहानमा देखिएको भन्दा अमेरिकामा देखिरहेको भाइरसमा केही भिन्नता (जिनमा) देखिएको सार्वजनिक गरेका छन् । उनीहरू अमेरिकामा देखिइरहेको भाइरस तुलनात्मक रूपमा कडा प्रकारको भएकोमा विश्वस्त देखिन्छन् । नेपालमा विशेषतः चीन (वुहान), युरोप (फ्रान्स, बेल्जियम), मध्यपूर्व (दुबई) तथा दक्षिण एसिया (भारत) गरी चार ठाउँबाट सार्स कोभ–२ को भाइरस आयात भएको देखिन्छ । यी चारै ठाउँको भाइरसको प्रकृति र बनावट एउटै छ कि फरक–फरक भनेर अध्ययन गर्न जरुरी छ । नेपालमा हाल सबैभन्दा बढी भारतबाट भित्रिएका संक्रमित छन् । केही अपवादलाई छाडेर संक्रमितबाट आफन्त र साथीभाइमा यो भाइरस सजिलै सरेको प्रमाण देखिँदैन । अरू मुलुकमा जस्तो कडा लक्षण र मृत्युको केस पनि छैन । यसले एउटा प्रश्न भने उठाएकै छ– ‘के हामीमा सार्स कोभ–२ भाइरससँग लड्न सक्ने क्षमता भएकै हो त ?’

यो प्रश्नलाई व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतासँग पनि जोडेर हेर्न सकिन्छ । चीन, युरोप र अमेरिकामा अत्यधिक संक्रमित अस्पताल जानुपरेको र तीमध्ये धेरैको मृत्युसमेत भएका खबर आइरहँदा यहाँ पनि सर्वसाधारणमा भयभीत मानसिकता देखिन्छ । यस्तो हुनु स्वाभाविकै पनि होला । तर, नेपालमा अहिलेसम्मका लगभग सबै संक्रमित कोही पनि आफैं अस्पताल आउनुपरेको छैन । सरकार आफैं संक्रमित खोज्दै जाने र अस्पतालमा ल्याउने गरिएको छ । यद्यपि भोलिका दिनमा पनि यस्तै अवस्था भइरहन्छ भन्ने होइन ।

चीन र पश्चिमा देशहरूमा ठूलो संख्यामा मानवीय क्षति हुनु तर नेपालमा संक्रमितमा लक्षणै नदेखिनु, देखिए पनि कडा नहुनुले रोग प्रतिरोधात्मक क्षमताको भूमिकाबारे बहस भने बढ्दै गएको छ । यो नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय चासो विषय बनेको छ । तर हाल यससँग सम्बन्धित जानकारी सीमित रहेकाले ठोस उत्तर पाउन आगामी दिनमा आउने अनुसन्धानको नतिजामै भर पर्नुपर्नेछ ।

सार्स कोभ–२ भाइरस सक्रिय, निष्क्रिय वा सुषुप्त हुनुमा जलवायुको प्रभाव छ कि भनेर पनि व्यापक अनुसन्धान भइरहेको छ । केही वैज्ञानिकले सूर्यको तापले यो भाइरसलाई प्रभाव पार्न सक्ने अनुमान गरेका छन् । हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले पनि कोरोना भाइरसका अरू प्रजातिजस्तै सार्स कोभ–२ भाइरस पनि जाडोभन्दा गर्मीमा निष्क्रिय हुन सक्ने ठानेका छन् । घामको तापबाट पाइने भिटामिन ‘डी’ ले श्वासप्रश्वाससम्बन्धी थुप्रै संक्रमणलाई कम गराउने यसअघिका अनुसन्धानले देखाएका छन् । हार्वर्डका वैज्ञानिकले भिटामिन ‘डी’ ले सार्स कोभ–२ को भाइरसमा पनि त्यतै असर पार्न सक्ने अनुमान गरेका हुन् । यद्यपि यसबारे थप अनुसन्धानको खाँचो देखिन्छ ।

विश्व स्वास्थ्य संगठन र चीन सरकारको संयुक्त अनुसन्धान रिपोर्टले चीनका बीस प्रतिशत संक्रमितमा कोभिड–१९ को लक्षण सामान्य देखिएको थियो । तर नेपालमा हालसम्मका शतप्रतिशत बिरामीमा सामान्य लक्षण मात्र छ । यस मानेमा माथि उल्लिखित कारणहरूमा आधारित भएर अनुसन्धान अघि बढाउन सके भिन्न र चाखलाग्दा तथ्यहरू प्रकाशमा आउन सक्छन् । यस्तो अनुसन्धानको नतिजा विश्वका अरू वैज्ञानिकका लागि पनि उपयोगी हुन सक्नेमा दुई मत छैन । यसै पनि सार्स कोभ–२ भाइरस आफैंमा नितान्त नौलो भएकाले कुनै पनि नतिजा सबैका लागि नयाँ र उपयोगी हुनेछ ।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : वैशाख २७, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?