कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बुद्धिमान मानिस’ को पृथ्वी परिक्रमा

अरु जीव लोप भइरहेका बेला आफू यो पृथ्वीबाट हराए के होला भन्नेबारे मानिसले कहिल्यै सोचेको छ ? ‘बुद्धिमान मानिस’ ले राइँदाइँ गरिरहँदा अन्य लाखौँ प्रजाति संकटमा छन् । के यो सामान्य कुरा हो ?
रमेश भुसाल

सन् १७५८ मा स्विडिस वैज्ञानिक कार्ल लिनियसले मानिसको नाम होमो सेपियन्‍स राखिदिए, जसको अर्थ ‘वाइज म्यान’ अर्थात् ‘बुद्धिमान मानिस’ हुन्छ । तर, लिनियसले नामकरण गरिदिएको होमो सेपियन्सले गत साढे दुई शताब्दीमा पृथ्वी पूरै कब्जा गर्‍यो । अहिले यत्रतत्र सर्वत्र कोही छ भने मान्छे नै छ ।

‘बुद्धिमान मानिस’ को पृथ्वी परिक्रमा

आफ्नो वैज्ञानिक नाम राखिँदा उसको जनसंख्या एक अर्ब पनि पुगेको थिएन भने अहिले सात अर्ब बढी छ । लिनियस जिउँदै भएका भए सायद मानिसको नाम फेरिदिनेबारे सोच्थे होलान् । यस्तो उपद्रो गर्छ भन्ने थाहा पाएको भए उसको नाम ‘बुद्धिमान मानिस’ भनेर नराख्ने पो थिए कि !

बुद्धिमान मानिस’ ले आफूबाहेक अरूलाई यसरी लखेट्यो र लखेट्दै छ कि मानौं अरू सबै उसका दुश्मन हुन् । आजको पृथ्वीमा अभिलेखीकरण गरिएका १४ लाखभन्दा बढी जीव र वनस्पतिमध्ये यो पृथ्वीको अधिकांश स्रोतको प्रयोग एक्लो मानिस नामक प्रजातिले गर्छ । वैज्ञानिकहरू अनुमान गर्छन्- यो पृथ्वीमा झन्डै ८७ लाख जीव र वनस्पति हुन सक्छन् । बाँकीको पहिचान र अभिलेखीकरणसमेत गर्नै बाँकी छ । डरलाग्दो कुरा त के छ भने अभिलेखीकरण गरिएका हजारौं प्रजाति विगतका केही दशकमा मानिसका कारण लोप भइसके र त्यो क्रम तीव्र छ । मानिस यो पृथ्वीबाट हरायो भने के होला ? अरू फ्याट्ट–फ्याट्ट लोप भइरहेका बेला आफू यो पृथ्वीबाट हराए के होला भन्ने उसले कहिल्यै सोचेको छ ? संख्याको हिसाबले त खासै केही फरक नपर्ला किनभने यो सूचीमा एउटा प्रजातिको संख्या घट्नेछ । तर, ‘बुद्धिमान मानिस’ ले राइँदाइँ गरिरहँदा भने अन्य लाखौँ प्रजाति संकटमा छन् । के यो सामान्य कुरा हो ?

लिनियसले नाम राखिदिएको चार दशकपछि वैज्ञानिक तथा अन्वेषक अलेक्जेन्डर भोन हमबोल्टले सन् १८०२ मा दक्षिण अमेरिकी देश इक्वेडरमा रहेको एन्डिस हिमशृंखलाको लगभग एक्काइस हजार फिट अग्लो चिम्बोराजो हिमालको चुचुरोमा टेके । पृथ्वीका सबै चुचुराको नाप नभइसकेको त्यो समयमा विश्वकै अग्लो चुचुरो मानिन्थ्यो चिम्बोराजो । सगरमाथा पृथ्वीको सबैभन्दा अग्लो चुचुरो त हो । तर, समुद्री सतहबाट नाप्दा मात्रै । चिम्बोराजो अहिले पनि पृथ्वीको केन्द्रविन्दुबाट मापन गर्ने हो भने सबैभन्दा उच्च विन्दु हो । त्यो उचाइबाट पृथ्वी हेर्ने हमबोल्ट पहिलो मानिस थिए कम्तीमा लिखित इतिहासमा ।

हमबोल्ट कुनै कीर्तिमान कायम गर्न सो हिमाल चढेका थिएनन् । प्रकृतिबारे बुझ्न उनलाई सबैभन्दा अग्लो चुचुरोबाट पृथ्वी हेर्ने मन थियो । औद्योगिक क्रान्ति ल्याउने वाष्प इन्जिन बनेको एक शताब्दी पनि कटेको थिएन । मानिसले पृथ्वी सबै नापिसकेको थिएन, घुमिसकेको थिएन । जहाज उडिसकेको थिएन । रकेटले वायुमण्डल काटिसकेको थिएन । इन्टरनेट कल्पनामै थिएन अनि कम्प्युटरले गर्भधारण गरिसकेको थिएन । पृथ्वी हेर्ने एउटा मात्रै उपाय अग्लो हिमाल चढ्नुहुन्थ्यो । त्यसैले हमबोल्ट आफ्नै पैसा खर्च गरेर स्पेनको उपनिवेशमा रहेको दक्षिण अमेरिकी महादेश बुझ्न पाँचवर्षे अन्वेषण यात्रामा निस्केका थिए ।

मानिसले आफ्नो उत्पादनको गति झन् बढायो र बीसौं शताब्दीको अन्त्यमा आफ्नो संख्या ६ अर्ब पुर्‍यायो । कार्बनले पनि गति छाडेन र सन् २००६ मा प्रतिवर्ष आफ्नो उत्सर्जन ८ अर्बमा पुर्‍यायो ।

अठारौं शताब्दीअघि प्राकृतिक विज्ञान खासै थिएन वा वन्यजन्तु वा वनस्पति कुनै पनि विज्ञानका विधा थिएनन् । प्रकृति एउटा दर्शन थियो, विज्ञान थिएन । रसायन र भौतिक विज्ञानका अनेकन आविष्कारचाहिँ भइरहेका थिए । हमबोल्टले दर्शनको रूपमा रहेको प्रकृतिमा विज्ञानको मसला थपिदिए । जसै उनी चुचुरोमा पुगे, उनले वास्तवमै पृथ्वी निकै फरक देखे । परपरसम्म हेरेपछि उनी एउटा निष्कर्षमा पुगे । ‘यो पृथ्वीमा जलवायु, जीव, वनस्पति जमिन, समुद्र सबै एकअर्कामा जोडिएका छन् । पृथ्वीको सगोलमा एउटा प्रकृति छ र सबै कुरा एकअर्कामा निर्भर,’ इन्भेन्सन अफ नेचर नामक किताबमा लेखिका आन्द्रिया उल्फले लेखेकी छन् । उनले निकालेको निष्कर्षमा प्राकृतिक विज्ञानले थप अध्ययन गर्दै गयो । प्रकृतिलाई विश्वव्यापी रूपमा हेर्न थालिएको त्यसपछि मात्रै हो ।

हमबोल्टले चिम्बोराजोको चुचुरो टेकेको सात वर्षपछि चार्ल्स डार्बिन सन् १८०९ मा जन्मिए । २१ वर्षका लक्का जवान डार्बिन सन् १८३१ मा पृथ्वीबारे बुझ्न बेगल पानीजहाजको ५ वर्षे यात्रामा निस्किए । डार्बिनले यस्तो ज्ञान लिएर फर्के, जुन त्यो बेलासम्म कसैले भनेको थिएन वा प्रमाणित गरेको थिएन । उनले भने, ‘पृथ्वीमा सबै जीवनको उत्पत्तिको एउटा विन्दु थियो र सबैका एउटै पुर्खा थिए । हामी सबै एउटै पुर्खाबाट बाँडिँदै–बाँडिँदै यहाँसम्म आइपुगेका हौं ।’ हमबोल्टले ५ वर्षको यात्रा गरेर ल्याएका सूचना र निष्कर्ष पढेर डार्बिन उत्साहित भएका थिए रे । ‘हमबोल्टले प्रेरित नगरेका भए म सायद पाँचवर्षे लामो बेगल यात्राको खोज–अनुसन्धानमा निस्कने थिइनँ र जीवनको उत्पत्तिसम्बन्धी लेख्ने पनि थिइनँ,’ डार्बिनले लेखेका छन् ।

यी सबै घटना जम्मा दुई सय पचास वर्षअघिका हुन् । मानिसको सरदर आयु सय मान्ने हो भने साढे दुई पुस्ताअघिको कुरा । अब त्यो दुई सय पचास वर्ष कति हो भनेर हिसाब गरौं । यसलाई लेखक तथा प्राध्यापक डेभिड क्रिस्चियनले निकै सजिलो गरी व्याख्या गरेका छन् । आफ्नो किताब ‘अरिजिन स्टोरी, अ विग हिस्ट्री अफ इभ्रिथिङ’ मा जीव उत्पत्तिलाई हाम्रै जीवनकालसँग दाँजेर हेर्ने तरिका निकाले उनले । रुसको इतिहास पढाउँदै गर्दा उनलाई लाग्यो– वास्तवमा अमेरिका, रुस, युरोप, चीन, भारत वा नेपालकै इतिहासको कुरा गर्दा त्यसले खासमा अपुरो इतिहास भनिरहेको हुन्छ । त्यो त वर्तमान हो वा हिजोको कुरा वा केही घण्टाअघिको कुरा वा केही मिनेटअघिको । पृथ्वीको इतिहास सयमा हुँदैन, त्यो त अर्बौं वा करोडौं वर्षमा हुन्छ । त्यसैले बुझ्न सजिलो होस् भनेर उनले सबै समयलाई सय वर्षभन्दा कममा झार्छन् ।

जस्तो कि यो ब्रह्माण्डको उत्पत्ति १३.८ अर्ब वर्षअघि भयो, यसलाई १३ वर्ष ८ महिनाको समय मानौं ।४.५ अर्ब वर्षअघि सूर्य र सौर्य प्रणाली बन्यो अर्थात् ४ वर्ष ६ महिनाअघि । ३.८ अर्ब वर्षअघि पहिलो जीवनको सुरु भयो अर्थात् तीन वर्ष ९ महिनाअघि । ६० करोड वर्ष अर्थात् सात महिनाअघि ठूलो जीवको उत्पत्ति भयो भने साढे छ करोड वर्ष अर्थात् २४ दिनअघि डाइनोसरको लोप भयो । त्यसपछि बल्ल मान्छेको कुरा आउन थाल्यो । त्यो भनेको ७० लाख वर्षअघि अर्थात् साढे दुई दिनअघि मात्रै हो । चिम्पान्जीबाट मानिसको हाँगो विभाजित हुन थालेको साढे दुई दिनअघि मान्नुस् । दुई लाख वर्षअघि होमो सेपियन्स अर्थात् अहिलेको स्वरूपको मानिसको उत्पत्ति भयो । त्यो भनेको सय मिनेटअघि मात्रै हो । जम्मा सय मिनेट १ दस हजार वर्षअघि अर्थात् ५ मिनेटअघि पूरै पृथ्वीमा भरिएको हिउँ पग्लिने क्रम रोकिएर ‘आइस एज’ को अन्त्य भयो । कृषि युगको सुरुआती चरण । मान्छे जंगलबाट सहरतिरको बाटो लाग्न थालेको समय ।

अब हामी धेरै नजिक आइसक्यौँ, नआत्तिनुहोला । ५ हजार वर्षअघि अर्थात् साढे दुई मिनेटअघि हाम्रो पुरानो सभ्यताको प्रमाण भेटियो । सहर वा मानव सभ्यताको युगको अहिलेसम्मको प्रमाणित इतिहास । कृषियुग द्रुत गतिमा विकास भइरहेको समय । दुई हजार वर्षअघि अर्थात् एक मिनेटअघि रोमन र हान शासकहरूले शासन गर्न थाले । एक मिनेटअघि मान्नुस् । मात्र एक मिनेटअघि ।

दुई सय वर्षअघि अर्थात् ६ सेकेन्डअघि इन्धनको युग सुरु भयो । हो त्यही बेला अर्थात् ६ सेकेन्डअघि होमबोल्टले चिम्बोराजो हिमाल चढेका थिए । डार्बिनले जीव उत्पत्तिको कुरा ल्याएका थिए भने लिनियसले मानिसको नाम होमो सेपियन्स राखिदिएका थिए । थौरै अगाडि बढौं । पचास वर्षअघि मानिसले ठूलो फड्को मार्‍यो अर्थात् डेढ सेकेन्डअघि उसले चन्द्रमामा अवतरण गर्‍यो । एपोलो यानले पहिलोपटक त्यही बेला नीलो पृथ्वीको फोटो खिच्यो । डेढ सेकेन्डअघि मात्रै अर्थात् १९७२ मा ।

आजसम्मको इतिहासमा एउटा प्रजातिले यति छोटो समयमा पृथ्वीको जलवायुमा हेरफेर गराउन सकेको थिएन । त्यो काम मान्छेले गर्‍यो । यो स्याबास भन्नुपर्ने काम पटक्कै होइन । यो त डर मान्नुपर्ने अवस्था हो ।

हाम्रो ६ सकेन्डअघि सुरु भएको इन्धनको यात्राले पृथ्वीको तापक्रम एक डिग्री सेल्सियसले बढाइसक्यो । आजसम्मको इतिहासमा एउटा प्रजातिले यति छोटो समयमा पृथ्वीको जलवायुमा हेरफेर गराउन सकेको थिएन । त्यो काम मान्छेले गर्‍यो । यो स्याबास भन्नुपर्ने काम पटक्कै होइन । यो त डर मान्नुपर्ने अवस्था हो ।

सन् १८०० मा एक अर्बभन्दा कम रहेको मानिसको संख्या सन् १९३० मा दोब्बर भयो । तीस वर्षपछि १९६० मा तीन अर्ब । अरू धेरै जीव अस्ताउँदै गए भने मानिसचाहिँ फस्टाउँदै गयो । वैज्ञानिक आविष्कारले जीवनलाई सजिलो बनाउँदै गयो । गाडी गुडे, जहाज उडे । भू–उपग्रहले चौबीसै घण्टा पृथ्वीको चियोचर्चो गर्न थाले । पृथ्वीको जासुसी सुरु भयो । पलपलमा फोटा, पलपलमा वायुमण्डल र धर्तीको सूचना झर्न थाले । हातहातमा मोबाइल भए । कोठा–कोठामा टेलिभिजन । झोलाझोलामा ल्यापटप ।

अझै बढी खाने मुखहरू भकाभक झरे । पुँजीवादी दुनियाँमा धेरै मुख भनेको ठूलो बजार हो । ठूलो बजार भनेको ठूलो अर्थतन्त्र हो । तीन अर्बको जनसंख्या जम्मा १५ वर्षपछि नै सन् १९७५ मा चार अर्ब पुग्यो । एकातिर मानिस बढिरहेका थिए भने अर्कोतिर कार्बनडाइअक्साइड ग्यास वायुमण्डलमा थुप्रिँदै थियो । सन् १९३० मा मानिसको जनसंख्या दुई अर्ब पुग्दा इन्धन बालेर निस्किएको कार्बनडाइअक्साइड ग्यासको उत्सर्जन प्रतिवर्ष एक अर्ब टन थियो । तर, मानिसको जनसंख्या ४ अर्ब कट्दा सन् १९८९ मा कार्बनडाइअक्साइडको प्रतिवर्ष उत्सर्जन ६ अर्ब टन पुग्यो । मान्छेलाई कार्बनले जित्यो । दुवैको दौड रफ्तारमा थियो ।

पुँजीवादी व्यवस्था मौलाउन धेरै मुखको जरुरी थियो । अनि धेरै मुखलाई भर्न धेरै कार्बनडाइअक्साइडको । धेरै मुख र कार्बनलाई बढाउन विज्ञानले ठूलो भूमिका खेल्यो । विज्ञानका आविष्कारसँगै मानिस झन्–झन् दम्भी र घमण्डी हुँदै गयो । मानिस ‘कसैलाई छाडिन्न, कसैलाई टेरिन्न’ भन्नेमा पुग्यो । मानिसको बुद्धि थियो र त उसले विभिन्न आविष्कार गर्‍यो । जीवनलाई सहज बनाउने तरिका खोज्दै गयो, जुन आवश्यक थियो तर समस्या आविष्कारमा थिएन सोचमा थियो । उसले सोच्यो- अब सेरोफेरो सबै मेरो हो, मैले जे गरे पनि हुन्छ । प्रकृतिलाई पैसाले जित्यो ।

सन् १९५८ मा अर्थात् डेढ सेकेन्डअघि मात्रै त हो, अमेरिकाको हवाईस्थित मौना लोवामा वैज्ञानिक चार्ल्स डेभिड किलिंगले हावामा कार्बनडाइअक्साइडको मात्रा मापन सुरु गरेको । त्यो अध्ययनले प्रमाणित गरिदियो कि कार्बनडाइअक्साइडले पृथ्वीको तापक्रम वृद्धि गरिदिएको छ । त्यसको मुख्य कारण इन्धन हो । अहिलेको युगको सारथि । मानिसको फुर्ती बढाउने यो खनिज इन्धन ब्यारलका ब्यारल खपत गरेपछि कार्बन निस्किन्छ वा कोइला बालेपछि । कार्बनको बाक्लो पर्दाले पृथ्वीलाई छोपेपछि यहाँको ताप बढ्छ । त्यसैलाई नेपालीमा जलवायु परिवर्तन भनियो भने अंग्रेजीमा क्लाइमेट चेन्ज । पृथ्वीको इतिहासमा प्राकृतिक रूपमा पनि हावा–पानी वा तापमा फेरबदल नभएको होइन तर यसरी एक–दुई सय वर्षमै एउटै प्रजातिको क्रियाकलापले चाहिँ यस्तो परिवर्तन आएको थिएन । हजारौं वा लाखौं वर्षमा हुने परिवर्तनहरू भएका थिए र हुनेछन् ।

मानिसले आफ्नो उत्पादनको गति झन् बढायो र बीसौं शताब्दीको अन्त्यमा आफ्नो संख्या ६ अर्ब पुर्‍यायो । कार्बनले पनि गति छाडेन र सन् २००६ मा प्रतिवर्ष आफ्नो उत्सर्जन ८ अर्बमा पुर्‍यायो । जति धेरै मानिस, उति धेरै कार्बन उत्सर्जन । जति धेरै उत्सर्जन उति धेरै तापक्रम वृद्धि । यो सोझो हिसाब थियो ।

एक्काइसौं शताब्दीको पहिलो दशकको अन्त्यमा मानिस झन् फुल्यो र आफ्नो आकार बढाएर सन् २०११ मा सात अर्ब बनायो भने इन्धनको खपतका कारण मात्रै कार्बनको उत्सर्जन १० अर्ब टन प्रतिवर्षमा उकाल्यो । अहिले मानिस ९ अर्बको यात्रामा छ भने कार्बनचाहिँ ३५ अर्ब टन प्रतिवर्ष कटिसक्यो । यो सबै उत्पात जम्मा बितेको ६ सेकेन्ड अर्थात् दुई सय वर्षमा भयो । आउँदो दुई सय वर्ष अर्थात् ६ सकेन्डमा के हुन्छ आफैँ अनुमान गर्नुस् । यही ६ सकेन्डमा स्पेनिस फ्लुले लाखौं मानिस मार्‍यो । एड्सले लाखौं लग्यो । अन्य रोगव्याधिले उस्तै उत्पात मच्चाए । अहिले कोरोना आइपुगेको छ र दुई लाखभन्दा बढी लगिसक्यो । विश्वयुद्धमा करोडौं मानिस मारिए । कन्डम र अन्य परिवार नियोजनका साधनले करौडौं मानिसको धर्ती अवतरणमा रोक लगाए र पनि मानिस ७ अर्बमाथि लागिसक्यो । यो झर्नेवाला छैन । किनभने आफ्नो समूहको संख्या बढाउने ठूलो राजनीति झन् हाबी हुँदै छ । पुँजी बढाउने योजनाहरू उस्तै तीव्र गतिमा बढिरहेका छन् ।

वासिङ्टन डीसीस्थित पिउ रिसर्च सेन्टरले सन् २०१० मा धर्मको भविष्यको आकलन गरेको थियो । एक दशकअघिसम्म वा अहिलेसम्म पनि विश्वमा सबैभन्दा धेरै क्रिस्चियनहरू छन् (२.२ अर्ब अर्थात् ३१ प्रतिशत) त्यसको पछिपछि मुसलमानहरू छन् (१.६ अर्ब अर्थात २३ प्रतिशत) । हिन्दुहरू एक अर्बभन्दा अलि बढी छन् । सो अध्ययनले भन्छ, यदि यस्तै रह्यो भने सन् २०५० सम्ममा मुसलमानहरू क्रिस्चियनहरूको बराबरीमा आउनेछन् । त्योबेला पृथ्वीमा ९.३ अर्ब मानिस हुनेछन् अर्थात् अहिलेको भन्दा ३५ प्रतिशतले बढी । सन् २०५० मा २.८ अर्ब (३० प्रतिशत) मुसलमान र २.९ अर्ब क्रिस्चियन (३१ प्रतिशत) हुनेछन् । त्यसैगरी हिन्दुहरूले पनि आफूलाई पछाडि पार्ने छैनन् । उनीहरूको संख्या १.४ (१५ प्रतिशत) अर्ब पुग्नेछ ।

जुन धर्मका मानिस बढे पनि त्यसले अर्थतन्त्रको आकार बढाउनेछ अनि बढ्नेछ कार्बनको उत्सर्जन । धेरै सहर बन्नेछन् भने धेरै मोटर उत्पादन हुनेछन् । जहाज धेरै उड्नेछन् भने धेरै फ्याक्ट्री चल्नेछन् । मानिसले आफूबाहेक कसैको बारेमा पनि सोचिरहेको छैन । यस्तो एकोहोरो यात्राले उसलाई कहाँ पुर्‍याउँछ भन्ने चिन्ता बढ्दो छ । तर, पछिल्ला सय वर्षको अध्ययनले वैज्ञानिकहरू भनिरहेका छन् मानिसले जति नै विकास गरे पनि, चमत्कार नै गरे पनि यो यात्राले उसलाइ सुखी बनाउने छैन । विपद्का घटना बढ्दा छ्न् । महामारी बढिरहेका छन् । चार दशक नटेकेको मेरो पुस्ताको हिसाब गरौं । हामीले एड्स, सार्स, मर्स, जिका, इबोला देखिसक्यौं भने अहिले कोरोनाले स्याँ–स्याँ र फ्याँ–फ्याँ पारेको छ ।

अहिले हामी सबै एउटै दिन पर्खेर बसेका छौं । संसार कोरोनामुक्त घोषणा भएको दिन । त्यो दिनका लागि हामी सबैले केही न केही साँचेर राखेका छौँ । भोज गरौंला, घुमौंला, नाचौंला, उडौंला, गुडौंला आदि । अहिलेको घाटा पूर्ति कसरी गर्ने भन्नेमा सबै सरकार लागेका छन् । केही बेर रोकिएको यो रथ फेरि रकेटको गतिमा उड्नेछ । हामी फेरि मस्त मगन हुनेछौं ।

अहिले हामीले सोचिरहेका छौं- यो समय बितेर जानेछ । तर, वास्तवमा यो समय बितेर जाने छैन । जबसम्म हामी चमेराको सुप खाइरहनेछौं, सालकलाई मारिरहनेछौं, चिम्पाजीलाई काटिरहनेछौं, तबसम्म महामारी र रोग झन्–झन् बढिरहनेछ । अरू सबैलाई मारेर हामी मात्रै बाँच्न सम्भव छैन र निरन्तर उक्लिन पनि सम्भव छैन । चढेपछि एकपटक झर्नैपर्छ । यो समय रहिरहनेछ । यो समय बितेर जाने छैन । यो समय बारम्बार आइरहनेछ ।

प्रकाशित : वैशाख २७, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?