कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदी हाम्रा प्राण धमनी

काठमाडौंमा प्याकप्याक परेको नदीको आात सुक्दै गर्दा हाम्रो सभ्यता पनि त सुकिरहेको छ । नदी नसुसाएको सहरको आधा प्राण त त्यसै मरेको हुन्छ ।
सरला गौतम

काठमाडौँ — मलाई नदीको आवाजले एक खालको नशा दिन्छ । नदीकै आवाज सुन्न र नीलो आकाशमुनि पल्टन भए पनि म बेलाबेला काठमाडौं छोड्ने गर्छु । 

नदी हाम्रा प्राण धमनी

केही महिनाअघि म, अरुण उपत्यकाको सम्झनाले मात्रै पनि सम्मोहित थिएँ । शरद ऋतु सकिँदै गरेको भए पनि मौसमको जादू बाँकी थियो । अरुण उपत्यका सेरोफेरो मार्दै छु भन्ने कल्पना मात्रले पनि पाइताला भुइँमा थिएन ।

झोला बोकेर फुत्त चलिहालें । अन्तत, अरुण नदीको दर्शन पाएँ । यही नदीको सेरोफेरो नियाल्दै किमाथांका पुगें । पाँच दिनको बसाइमा किमाथांका गाउँबाट पर अरुण नदी सुसाएको सुनिरहें । सिरानीमा टाउको राखेर सुत्दा नदीले गीत गाइरहेको सुन्नु त स्वर्गकी परीले गाएजस्तो लाग्छ । नदीको सेरोफेरोमा यात्रा गर्दै छु भने सारा कष्ट भुलाउने माधुर्य राग यही हो । पहिलो दिन वरुण उपत्यकामा बास परेको थियो । भिडियो हेरेर कल्पेको ठाउँमा मेरो ज्यान हाजिर थियो । बिहानको हल्काहल्का बतास छिचोलेर नदीतिर गँए । बासभन्दा सय मिटर पर हुँदो हो । बालुवामा पाइला परेपछि पाइताला आफैं नाचें ।

किमाथांकामा साँझमा हातमा चिया गिलास लिएर नदीतिर हेरिरहन्थें । नदी हेरेर कल्पनामा डुब्नुको निजी सुख बाँचिरहेकी थिएँ । नदीमा गाडिएका बडेबडे डोजरका कर्कश आवाज नदीको त्यो कोमल गीतलाई चिथोरिरहेका हुन्थे । यो लेख्दै गर्दा कोरोना त्रासदीको बीचमा पढेको अजय दीक्षितको लेख ‘म गंगा पृथ्वीको धमनी’ का हरफहरू सम्झन्छु । ‘तपाईंहरूमध्ये कोही राज्यले सकेन भन्दै एकांकी बजारको शरणमा पुगी नदी र जलनिधिको पूर्ण निजीकरणको वकालत गर्नुहुन्छ ।

केही जलसेवा आपूर्तिमा बजार संलग्न छ, तर बजारको नियमन गर्नुहुन्न । हामी नदी तपाईंहरूको सिर्जना होइनौं । हावा, पानी र माटो निर्माण गर्ने क्षमता तपाईंहरूमा छैन भन्ने हेक्का अझै पलाएको छैन ।’ नदीको आत्माको आवाज उनको लेखमा छ । संसारभरिका विकासविद्हरूमा नपलाएको चेत यही त हो, कि उनीहरू हावा, पानी, नदी र माटो बनाउन सक्दैनन् । मानिसले जस्तै ठूलो कारखाना बनाउन सके पनि यी चीजहरू केवल प्रकृतिको स्वामित्वमा छन् ।

उता किमाथांकामा हाम्रा मानिसहरू वारिबाट पारि हेरेर चीनले के–के विकास गरिसक्यो भन्थे । डोजरले बालुवा निकालेर बनाएका यामानका ‘बिल्डिङ’ देखाउँथे । म भने रमाउनै सक्दिनथें ।

सहरमा बसेर सारा सुविधा भोगेको मैले, उनीहरूको अघि प्रकृतिको गुण गाउनु शोभनीय लाग्दैनथ्यो । मनमनै भन्थे, त्यो पारिको जस्तो कंक्रिटको जंगल बनाउने विकासले हाम्रो भोटखोलालाई छुनै नसकोस् । मानिसहरूका लागि, बाटो बनोस्, अस्पताल बनोस्, तर हावा र पानीका लागि तड्पिनुपर्ने विकासले छुँदै नछोओस् । अरुण नदीको दोहन गरिराखेको चीन सरकारसँग मलाई खुबै रिस उठ्थ्यो । स्थानीयहरूसँग उभिएर भन्थें, ‘त्यो पारिको देशले कति नदी कोपरेको ?’ उनीहरू आफ्नो स्वरमा झोंक भरेर भन्थे, ‘कतिपटक त्यो डोजर हाम्रो नेपालको भागतिर आउँछ । यस्तो बेला हामी पूरै गाउँ उठेर ढुंगा हान्न जान्छ ।’ देशभित्रै परदेशी भएर बसेका उनीहरूको देशप्रतिको मायाले मेरो आँत रसाउँथ्यो । कुनै बेला म फेरि फर्केर आउँला यो ठाउँमा । अर्कोपटक आउँदा वाग्मतीको जस्तो हाल अरुणको देख्न नपरोस् । सिरानीमा लोलाएका आँखा लिएर नदीको गीत सधैं सुन्न पाइयोस् । मैले त यति मात्र कल्पना गर्न सक्थें ।

नदीको आडमा सभ्यता फस्टाएको हुन्छ । मानवले पानीको मुहान खोज्दै बस्ती बसाउँछ । पहाडतिर हिँड्दा ‘त्यस्तो डाँडामा मानिस किन बसेका’ भनी स्थानीयलाई सोध्थें म । उनीहरू जवाफ दिन्थे, त्यहाँ पानीको मूल राम्रो थियो त्यसैले । समथरमा नदीको आडमा, पहाडमा मूलको छेउमा मानिसहरूले आफ्नो सभ्यता र संस्कृतिको उन्नति खोज्छन् । काठमाडौंमा प्याकप्याक परेको नदीको आँत सुक्दै गर्दा हाम्रो सभ्यता पनि त सुकिरहेको छ । नदी नसुसाएको सहरको आधा प्राण त त्यसै मरेको हुन्छ ।

बेजान, रूखासुखा ।

नारायणी नदीको सूर्योदय, सूर्यास्त हेरी हुर्केको म, काठमाडौंमा नदीको सुसेली खोजिबस्छु । भेट्दिनँ र भौंतारिंदै नदीको गीत खोज्न निस्कन्छु । केही वर्षअघि दार्चुलामा पुगेर, अरू केही नगरी महाकाली नदीलाई दुई दिनसम्म नियालें । पहिलो दिन, अथाह यात्राको थकाइको कारण कानले आवाज मात्र सुनें कोठामै पल्टेर । भोलिपल्ट आफू बसेको छतमा गएर नदीलाई एकतमासले हेरेर दिन बिताएँ । झलमल्ल सहरमा सबैथोक त देख्न सुन्न पाउँछु नदीको गीत कहाँ पाउँला ? यस्तै लागिरह्यो

त्यो बेला । अहिले हामी कठिन समयसँग जुध्दै छौं । घरमै थुनिएर त्यो नदीको जिल्लाका मानिस पारि धार्चुलामा विपत्मा परेको समाचार पढ्छु । देशतिर चियाएर बसिरहेछन् हाम्रा मानिसहरू ।

नदीकै छेउ उनीहरूको प्यास मेटिएको छैन । मनलाई विरहको एक झोक्काले हानेर जान्छ यस्तो पढ्नु देख्नुपर्दा । थोरै मानिसको हित सर्वोपरि मानेर गरिएको कु–विकासको परिणाम हो यो सबै ।

काकाकुल विकासले श्रमिकको मान र माया गर्न जान्दैन । आत्मनिर्भर विकास भएको भए, आफ्नै पाखोमा कृषि फस्टाएको भए उनीहरू किन जान्थे होलान् परदेश । आफनै घरआँगनको न्यास्रो मनभरि बोकेर । अजय दीक्षित नदीको आत्मकथा शैलीमा लेखिएको आफ्नो लेखमा लेख्छन् ‘पोखरी कुण्ड, तालतलैया र सिमसारमा बुल्डोजर दगुराउनुहुन्छ, मास्नुहुन्छ चौरहरू देख्यो कि कंक्रिटले ढाकिहाल्नु हुन्छ । भू–जल भरिन पाउँदैन, जलचक्र खण्डित हुन्छ, हामी नदीहरू ह्रास हुन्छौं भन्ने सोच्नुहुन्न, न त विपन्नहरू अन्यायमा पर्छन भन्ने वास्तविकता ।’

नदी कोपर्नेहरूको ज्यादती अलग छ । चितवन जाँदा त्रिशूलीतिर नजर फाल्दै जान्छु । ठाउँठाउँमा नदी चिथोरिरहेका साँइदुवाहरू देखिन्छन् । उनीहरूलाई बसको भ्यालबाट चिच्याएर ‘बन्द गर यो सब’ भन्न मन लाग्छ । आफ्नो निजी वृत्ति विकास मात्र सोचिहिँड्नेले आफ्ना सन्तानका लागि कस्तो भविष्य छोडेर जाने हो कति नसोचेको ? कति चाहिएको पैसा, किन चाहिएको यति पैसा ? नदी जति सप्पै सुकाएर बोतलको पानी किनेर खानलाई ? पानीका कलकल आवाजमा सहर, गाउँको सौन्दर्य खुलेर आउँछ । यसमै यो सुन्दर जीवनको प्राण भरिएर आउँछ । यिनीहरूले कति नबुझेका । कति खेदो खनेका पानीका मुहानहरूको । दीक्षितकै भाषामा ‘प्रकृतिसँग प्रेमसहित बातचित गर्ने सच्चा मानव आत्माहरूले सुरु गरेका जल संरक्षणसम्बन्धी केही स्थानीय सत्प्रयास छन् तर यतिले हाम्रो खस्कँदा यात्रा रोकिएको छैन । हामी बग्ने बाटाहरूलाई जानीजानी हडपेर साँघुरो पार्नुभएको छ ।’ पछिल्लोपटक दसैंको बेला जनकपुर जाँदा पोखरीहरूमा चमक देखें । मेरो मनले मयूरी नाच नाच्यो ।

मग्न मग्न भएर निकै बेर गंगासागरमा मन डुबाएर बसें । जनकपुरका पोखरीहरूमा फर्किएको सौन्दर्य देखेर म मखलेल थिएँ । थाहा छैन किन हो यो सहरसँग एक खालको लगाव छ मेरो । पाँचौंपटक पुगेकी थिएँ म । दसैंको बेला पोखरीवरिपरिको झंकार, उज्यालो र चमक मनै हर्ने थियो । जनकपुरको चिनारी पोखरीहरू हुन् । पोखरीहरू बेजान र फोहोरी भए बाँकी चिनारी पनि फिका हुन्छ ।

हाम्रा हरेका ठाउँमा कुनै न कुनै नदीले त्यो ठाउँको चिनारी बोकेको हुन्छ । जस्तो म हुर्केको ठाउँको चिनारी नारायणी नदी हो । सानो छँदाको कुरा सम्झन्छु । भृकुटी कागज कारखानाको फोहोर नदीमा मिल्काइन्थ्यो । कारखानाबाट निस्केको कालो धूलो मानिसको घरघरमा आउँथ्यो । हाम्रो आमाहरूको एक समूह जुर्मुरायो । सेता कपडाहरूलाई मुर्दाको रूप दिए । काँधमा बोकेर शंख बजाउँदै नदीतिर गए । कारखानाले फोहोर गरेको ठाउँमा धर्ना पनि दिए । त्यो सेतो कपडामा कति कालो धूलो थुप्रियो कारखानाका मालिकलाई देखाउन गए । कुनै ठूलो वातावरणविद्हरूले चालेको अभियान थिएन त्यो । आम मानिसहरूको चेतनाले डोर्‍याएको निकै महत्त्वपूर्ण पाइला थियो । नदीको आकार खुम्चँदै गएको थियो । नदी फोहोर हुँदै थियो । कारखानाको प्रदूषणले आफ्ना खेतीबारी र श्वासप्रश्वासमा पारेको असरमा सचेत थिए । उनीहरूले आफ्नै तरिकाले पिरलो पोखेका थिए । हरेकपटक नारायणगढ जाँदा नदीको रूप हेर्छु । पहिलाभन्दा खुम्चिएको हो कि भनेर मन दुखाउँछु । योपटक वर्षायाममा घर जाँदा आफ्ना बहिनीहरू र केटाकेटीहरूसँग घण्टौं नदी किनारमा बिताएको सम्झना मलाई प्रिय छ । यसो सोच्छु मेरो सहरबाट नदी हराएको दिन के हुन्छ होला ।

संसारभरिका सहरमा अहिले सन्नाटा छ । मानिसहरू आत्तिएका छन् । चराहरू भने ठूलो स्वरमा चिरबिर्चिरबिर् गरिरहेछन् । उनीहरू आफ्नै साविकको आवाजमा गाइरहेका होलान् । मानिसको अहंकारको स्वर सानो भएकाले उनीहरूको स्वर ठूलो सुनिएको होला । हामी मान्छे प्राकृतिक स्वर मात्र कँहा बोल्छौं र त्यसमा अलिकति सर्वश्रेष्ठ प्राणी हुनुको अहंकार र महत्त्वाकांक्षाको बिष पनि मिसाएर बोल्छौं होला नि । यो घना शान्तिमा पनि कति बेलै वाग्मतीको स्वर सुनिदैन । चराहरूको गीत त फर्किएको छ, नदीको संगीत सहरबाट हराएको धेरै भयो । सहरमा वाग्मती दुखेको छ । नदीको सुस्केरा पनि हराएको छ । उनले मलाई दुख्यो भन्न पनि नसक्ने गरेर उनको स्वर हराएको छ । नदीको गीत लोप भएको सहरमा हामी हाम्रो अर्थ र अस्तित्व कहाँ खोज्छौं होला ।

वैशाखको चर्को घाममा कर्णाली किनार हिँडेको सम्झन्छु । चर्को घाममा थाकेपछि भीरमा चेपिएर कर्णालीतिर हेरिरहन्थे । कहीँ उर्लेको, कहीँ शान्त बगेको । मेरो सुस्केरा त्यही नदीको गहिराइमा मिसाउँथें । कसैलाई परवाह नगरी बगिरहेको कर्णाली मलाई सानदार लाग्यो । उनको भिडियो खिचिरहें । मलाई एक दिन नदी हराएको सहरमा फर्केर जानु छ । न्यास्रो लागेको बेला त्यही भिडियो खोलेर हेर्नुपर्नेछ । यसैले धीत मरुन्जेल खिचिरहन्थें ।

मुगु कटेर बाजुराको कोल्टितिर हाँनिदै थिएँ म । हुरी–बतास, चर्को घाम, वरिपरिका नांगा र उराठ अजंगका डाँडाहरू ।

विरहको सीमा थिएन । विरह मानी सुस्ताउने अवस्था थिएन । बोकेका झोलासँगै कर्णालीमा पसूँ कि जस्तो भाव पनि आयो । शरीरले सास्ती थेग्नै नसकेको बेला यस्तो हुँदो रहेछ । उभिएर नदीतिर हेरें । कर्णालीले भनेझैं लाग्यो ‘हेर त म कति दिक्दारी आफैंभित्र खाँदेर चुपचाप बगिरहेछु । बग्नु भनेको दिक्दारी सकिनु होइन, सबै सकस आफैँभित्र समेटेर निरन्तर गतिशील हुनु हो ।’

गहिरो कर्णालीले गहिरै दर्शन दिइनँजस्तो लाग्यो । नदी जति चुपचाप बग्छ उति गहिरो हुन्छ भन्छन् । मानिस जति चुपचाप हुन्छ उति बुद्धिमान भन्छन् । फेरि सोचें गड्गड् गर्ने खहरे र ढुंगा माथिमाथि उर्लेर हल्ला गर्दै बग्ने खोलाको पनि त सौन्दर्य छ । नदीसँगको वार्तालापमा दार्शनिक पारा निकाल्थें । नदीले भनेझैं लाग्थ्यो ‘जाऊ बिस्तारै जाऊ ।’ घाँटीमा आवाज रोकिएको बखत पनि कर्णालीले साहस दिइरहिन् ।

डाँडाडाँडामा भुलभुल गरी फुट्ने मूलहरू सुक्दै छन् । भुलभुल गरी फुटेका मूलहरूले पूरै गाउँका मानिसको प्यास मेटिदिन्छन् । आफ्नै प्राणदाताको रक्षा नगर्ने हामी मानिसहरूलाई उनीहरूले के भन्थे होलान् बोल्न सक्ने भए । बोली त हुन्छ नि तर हामीले सुने पो । पानीको मूल नभएको गाउँ, नदीको गीत नभएको सहर, खण्डहरमा महलको सपना देखिबस्ने हामी पटमूर्खहरू ।

नदीमाथिको ज्यादती जोगाउन लागिपरेका मानिसहरू आफैं मारिएका खबरहरू हामी आइफोन र स्मार्टफोनमा पढेर बस्छौं.। बिना कुनै संवेदनशीलता अर्का खबरका लागि स्क्रिनमा औंला नचाउँछौं । हाम्रा अभिमानहरूसँग प्रकृति क्रोधित भएकी होइनन् । उनीजस्तो विशाल र उदार चरित्रलाई हामी नाथे मनुवासँग रिसाउनै पर्दैन । उनले थेग्नै सकेकी छैनन् हाम्रो ज्यादती । आफ्नै प्राण धमनीहरूलाई हामीले गरेको हमलासँग त्रसित भएकी हुन् । क्रन्दन गरिरहेकी छन् यो बखत प्रकृति माता । कम्प्युटरले फाइल थेग्न नसकेपछि ह्याङ हुन्छ । पृथ्वी ह्याङ भएको बेला छ । हामीले चुप लाग्नुको अर्को विकल्प छैन । पृथ्वीको ‘फरम्याटिङ’ का लागि प्रकृतिको सेवा नै एक मात्र उपाय हो ।

धर्ती हामीबिना पनि रहन्छिन् । सारा उतारचढाव सहन्छिन् । धर्तीको धमनी नदीहरू नै सुकेपछि हामीले आफ्नो जीवन खोज्ने ठाउँ बाँकी नरहला । संसारका केही प्रभुत्वशाली मानिसहरूले आफ्नो सुख–सुविधाका लागि प्रकृतिको अथाह दोहन गरे । आफ्ना बेकुब कामहरूमा आफूभन्दा कमजोर मानिसहरूलाई जोते । बर्बादीको समयमा पनि सबैभन्दा मार कमजोरलाई नै पर्छ । यतिखेर भने मै हुँ भन्ने मानिसका पनि सारा ध्वाँसहरू बन्दकोठामा थुनिएका छन् । जब निस्कन्छौं सोच्नैपर्ने हुन्छ, कोठामा पोस्टरमा नदीनाला हेरेर बस्ने, प्लास्टिकका फूलबिरुवाले घर सजाएर बस्ने, कीटनाशक भरिएका तरकारी खाएर देश दुनियाँका गफ मात्र गरिबस्ने कि प्रकृतिमा फर्कने । वातावरणविद् बन्दना शिवा भन्छिन्, ‘पृथ्वीलाई आफ्नो अस्तित्व कसरी जोगाउने भन्ने थाहा छ । उनले आफ्नो तरिका पत्ता लगाउँछिन् । अनेकौं उथलपुथल उनका लागि सामान्य हो । हामी मानिसहरूले नै सोच्नुपर्छ आफ्नो पृथ्वीरूपी घरको कसरी रक्षा गर्ने भनेर ।’

त्यसैले अब हामीलाई प्रकृतिसँग कसरी मिसिएर बाँच्ने भन्ने ज्ञान चाहिन्छ । बन्दना शिवाकै भाषामा, ‘आइमाईहरूको ज्ञान’ चाहिन्छ । प्रकृति जोगाउने, बीउको रक्षा गर्ने, खाना बनाउने र खेती गर्ने ज्ञानहरू । जसलाई ‘इमोसनल इन्टिेलिजेन्स’ भनेर हेला गरियो अब त्यही चाहिएको छ । एकअर्काको परवाह गर्ने नीति, योजना र विकास चाहिएको छ । हामीले साना–होचा भनेर नगनेका कामहरू गर्नु छ । घरघरमा हेंला गरिएका खाली ठाउँहरूमा हरियाली फर्काउनु छ । गाउँबस्तीका बीचबीचमा पानीका मूलहरू जोगाउनु छ । नदीहरूको आत्माले भनेजस्तै नदीहरू जोगाउन, प्रकृति बचाउन साँच्चैको यज्ञ नै चाहिएको छ । अनि हाम्रो जीवन साँच्चिकै ब्युँतिएला । हर सुख–दुःख बितेर जानकै लागि हुन् । यो समय बितेर जानेछ । यो सुन्दर पृथ्वीमा हामीसँग एक सुन्दर जीवन हुनेछ । नयाँ यात्राका लागि यही नै काफी हुनेछ ।

प्रकाशित : वैशाख ६, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?