महामारीका बेला प्रहरीले के गर्ने, के नगर्ने ?

के आफ्नो नायकत्व देखाउन अधिकार र कर्तव्यक्षेत्रबाहिर जान कुनै अधिकृतलाई छुट छ ? हिरोइजम् देखाउने र प्रचारप्रसार गर्ने तर कर्तव्यपथमा चुक्ने प्रवृत्तिलाई प्रहरी नेतृत्व र गृह प्रशासनको नेतृत्वले समयमै नियन्त्रण गरोस् ।
उत्तमकुमार कार्की

विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीको चपेटामा छ । ३ महिनादेखि चीनको वुहानबाट सुरु भएको महामारी आजसम्म विश्वका २०४ मुलुकमा फैलिसकेको छ । जुनबेला चीनको बुहान सहरमात्र कोरोना विरुद्धको लडाइँमा एक्लो लडिरहेको थियो त्यसबेलासम्म विश्‍व तमासे बनिरहेको थियो । आज यसले सबैलाई गाँजेपछि सबैको चेत खुलेको छ ।

नेपाल पनि यसबाट अछुतो रहन सकेन र विश्वव्यापीकरण महामारीको यस लडाइँमा होमिन पुगेको छ । जुन समय नेपालले लकडाउनको घोषणा गरको थियो, त्यस समयसम्म विश्वभर लगभग २ लाख यस महामारीको चपेटामा परेका थिए भने मृतकको संख्या १३ हजार हाराहारीमा थियो ।


भाग्यवश नेपालमा त्यस बेलासम्म शून्य संक्रमण थियो । नेपालमा भएको लकडाउनको ११ दिनमा संक्रमितको संख्या ९ पुगिसकेको छ भने भाग्यवश यस महामारीको कारणबाट कसैले मृत्युवरण गर्नु परेको छैन ।


यही अवधिमा विश्वको तथ्यांक हेर्दा ११ दिनअघि अर्थात् २०७६ चैत १० गते २ लाख हाराहारीमा रहेको संक्रमण बढेर २१ गतेसम्म आइपुग्दा १० लाख नाघेको छ भने १३ हजार हाराहारीमा रहेको मृतकको संख्या बढेर ६० हजार नाघेको छ । झन् कहालीलाग्दो स्थिति त के छ भने विश्वको शक्तिशाली राष्ट्र संयुक्तराज्य अमेरिकामै संक्रमितको संख्या सबैभन्दा बढी २ लाख नाघेको छ ।


यस आपात्कालीन घडीमा राज्यका सबै अंगलगायत सम्पूर्ण नागरिक एकजुट हुनुको विकल्प छैन र लागिपरेकै पनि छन् । नेपालमा सरकारी अंगहरुमध्ये ठूलो नेटवर्क भई समाजमा सरकारको प्रतिनिधिको रुपमा अग्रणी स्थानमा रहेको नेपाल प्रहरीको भूमिका पनि अहम् रहन्छ नै ।


यस पंक्तिकारले आफ्नो जीवनको महत्वपूर्ण ३० वर्ष प्रहरी सेवामै व्यतित गर्दाको अनुभव तथा विद्यमान अवस्थामा आफूले महसुस गरेका विषयहरुलाई समेटेर यो आलेख सुझावको रूपमा प्रस्तुत गरेको छु ।


यद्यपि, नेपाल प्रहरीमा सेवारत साथीहरू सक्षम, दक्ष र जानीफकार हुनुहुन्छ, तसर्थ यस पंक्तिलाई सुझाव नभएर पुनर्स्मरणको रुपमा लिन सक्नु हुनेछ ।


यस किसिमको महामारीमा नेपाल प्रहरीको सदाझैं नियमित कार्यको साथै मुख्यतया तीनवटा कर्तव्य (भूमिका) हुन्छन्ः


क) महामारीको विषयमा भएका सरकारी नीति, नियम र आदेशहरुको आफ्नो विषय र कार्यक्षेत्रभित्र रहेर कार्यान्वयन । महामारीको विषयमा क्रियाशील रहेका कानूनहरुको कार्यान्वयनसागै महामारी फैलन नदिन सरकारी तबरबाट जारी भएका नीति र आदेशहरुको तदारुकतासाथ कार्यान्वयन गर्ने तर यसोगर्दा आफ्नो कार्यक्षेत्र, अधिकार र प्रचलित नियमको त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ ।


यहाँ प्रचलनमा के छ भने जुन काम तोकिएका अन्य सरकारी निकायले सम्पादन गर्दैनन्, त्यी सबै कार्य नेपाल प्रहरीले गरिदेओस् भन्ने मनसाय सरकार र समाजले पनि लिएको हुन्छ । नेपाल प्रहरीका कर्मचारीले पनि यदाकदा त्यसरी कार्यक्षेत्र, अधिकार र क्षमता बाहिरको काम जिम्मा लिई गर्ने गरिन्छ जुन स्वाभाविक रुपले सफलतापूर्वक सम्पन्न हुन गाह्रो साँगुरो नै हुन्छ ।


अन्ततोगत्वा नेपाल प्रहरीले नाहकमा प्रतिष्ठा गुमाउनुपर्ने हुन्छ । तसर्थ नीति, नियम र आदेशको पालना तदारूकताको साथै सतर्कतापूर्वक गर्नु पर्छ । यसो गर्दा मानवीय संवेदनाका कुरामा पनि त्यत्तिकै ध्यान पुर्‍याउनु पर्छ ।


केही उदाहरण प्रस्तुत गर्न चाहान्छु:

उदाहरण १ः केही दिन पहिले दार्चुलाको सिमापारीबाट कुनै नेपाली नागरिक वैध बाटोबाट नेपाल आउन नपाएपछि आफ्नो जीउज्यानको जोखिम मोलेर महाकाली नदी पौडी खेलेर पार गरी नेपाल प्रवेश गर्छन् । नेपाल प्रहरीले निजलाई पक्राउ गरी नांगेझार पारेर बजार घुमाइन्छ । यस प्रकरणमा पक्राउ गर्ने विषयसम्म त सरकारी आदेशको पालना होला, तर के एक नेपाली नागरिक (जो अपराधी होइनन्) ले आफ्नो मुलुक फर्कन पाउने संवैधानिक हक प्रयोग गर्न खोज्दा अपराधीले भन्दा बढी अपमानित हुनुपर्ने अवस्था ठीक हो त ? यहाँ प्रहरीले ध्यान दिनुपर्ने कुरा के हो भने पहिलो कुरो त पक्राउ हैन, सामाजिक दूरी कायम राख्ने र यसको लागि विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने कुरा हो ।


के कुनै व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, नराख्ने र त्यसको व्यवस्था गर्ने सम्पूर्ण जिम्मेवारी नेपाल प्रहरीको हो ? नेपाल प्रहरीले जिम्मेवारी वहन नगरोस् भनेर कदापि भन्न खोजिएको हैन, खाली के भने यस विषयमा सम्बन्धित निकायलाई सघाउने सम्मको जिम्मेवारी मात्र नेपाल प्रहरीको हो भन्ने यस पंक्तिकारलाई लागेको छ ।

दोस्रो, नांगै शहरमा घुमाउने कुरो । यो त समाज र सरकारले समेत पचाउन सक्ने कुरै

भएन ।


उदाहरण २: त्यस्तै अर्को यस अवधिमा दैनिकरुपमा सुनिने लकडाउन उल्लंघन गर्ने व्यक्तिउपर गरिने भाटे कारवाहीको । यो पंक्ति टाइप गर्दैगर्दा मोरङको पथरीमा लकडाउन उल्लंघनकर्तालाई निर्घात कुटपिट गरी अस्पताल भर्ना गरिएको समाचार सुनियो । यो भाटे कारवाही कुन कानूनमा के अपराध गरेवापतको सजाया हो ? मलाई थाहा छ, नेपाल प्रहरीले आफ्नो जिउज्यानको पर्वाह नगरी देशवासीको सेवामा जुटिरहेको छ । राज्यका अन्य अंगहरुभन्दा कम स्रोतसाधन र सुविधामा कुनै गुनासोबिना यस किसिमको संकटकालमा सबैभन्दा अग्रणी स्थानमा रही काम गरी आर्जन गरेको नेपाल प्रहरीको अतुलनीय योगदान र साख यस्तै किसिमका घटनाहरुबाट नधमिलियोस्, यसतर्फ सबै तह र तप्काका प्रहरी कर्मचारीहरु सजग र सचेत हुनुपर्छ ।


ख)कालाबजारी विरुद्ध अनुगमन र कानूनी कारवाही । समाज संकटको घडीमा रहेका बखत केही आपराधिक तत्वहरू मौकाको फाइदा लुट्न लागिपरेकै हुन्छन् । यो मौकामा समाजमा कृत्रिम अभाव श्रृजना गरी कालोबजारी गर्ने, तस्करी गर्ने तथा मिसावट गर्ने लगायतका मुनाफाखोरहरु सक्रिय हुने गर्छन् । यी कार्य विशुद्ध आपराधिक कार्य हुन् र यस्ता गतिविधि विरुद्ध लड्नु नेपाल प्रहरीको अहम् कर्तव्य हो । हो, नेपाल प्रहरीले यस्ता अपराध विरुद्ध लड्न सरोकारवाला अन्य निकायहरुको पनि साथ र सहयोग लिनुपर्ने हुन्छ । यसको लागि दैनिक उपभोग्यवस्तुहरुको भण्डारण कहाां, कति, कस्तो अवस्था र कसको नियन्त्रणमा छ, बिक्री बितरण के कसरी भईराखेको छ, सूचना संकलन गर्ने र सरोकारवालाहरुसाग समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ ।


ग)सरकारी वा गैरसरकारी क्षेत्रबाट उपलब्ध गराइने सेवा र आपूर्ति व्यवस्थामा सुरक्षाको दृष्टिकोणबाट सहजीकरण गर्ने । एकातिर यस्तो अवस्थामा केही हदसम्म अभाव त हुन्छ नै भने धेरै हदसम्म भण्डारमा रहेका दैनिक ऊपभोग्यवस्तुहरु बजारसम्म वा उपभोक्ताको घरदैलोसम्म पुग्न पाएको हुादैन । दैनिक मिहिनेत, मजदुरीको आधारमा जीविकोपार्जन गर्नेहरुको अवस्था नाजुक हुन्छ । सरकारको कर्तव्य हुन्छ— व्यापारी वा सरकारी भण्डारमा रहेका दैनिक उपभोग्यवस्तु बजारमा वा आवश्यकतानुसार उपभोगकर्ताको घरदैलोमा पुर्‍याइदिनु र दैनिकी चलाउन कमजोर अवस्थामा रहेका नागरिकलाई निःशुल्क उपलब्ध गराउनु ।


यस्तो अवस्थामा आपूर्ति कार्यमा सुरक्षा दिने र संकटकालमा ढुवानी समेतको जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । तर यसको लागि सरकारसाग छुट्टै साधनस्रोतको माग राख्न हिच्किचाउनु हुादैन किनभने प्रहरीले प्रदान गर्ने नियमित सेवाको लागि उपलब्ध साधनस्रोत अन्तै मोडिदिादा प्रहरीको आधारभूत सेवामा नै नकारात्मक असर पर्ने हुन्छ । त्यस्तै आपूर्तिकर्ता र भण्डारण व्यवस्थामा पनि सुरक्षा चासो र चिन्ता त्यत्तिकै रहनुपर्छ ।


त्यस्तै सेवा पुर्‍याउने निकाय र व्यक्तिहरु यस्तो अवस्थामा सुरक्षा संकटमा रहेका हुन्छन् । खासगरी स्वास्थ्यकर्मीहरु, अस्पतालहरू र औषधी उत्पादक र बितरकहरुको समेत सुरक्षाको ग्यारेन्टी लिनु र उपलब्ध गराउनु प्रहरीकै चिन्ता र चासोको विषय हो ।


यस बिचमा केही गलत उदाहरणहरू पनि देखिएका छन् । प्रहरी नेतृत्व र गृह प्रशासन नेतृत्वले समयमै सुधार गर्ने, गराउने विश्वाससाथ शब्द चित्र राख्दैछु ।


उदाहरण ३: केही दिन पहिले कुनै प्रहरी अधिकारीले आफ्नो भौगोलिक कार्यक्षेत्र भित्रका जनताले खान पाइएन, उपचार पाइएन भने उहााहरुलाई घरघरमा खाना र स्वास्थ्यसेवा पुर्‍याउाछु भन्नु भयो । मलाई लाग्यो नेपाल सरकारले उहाालाई विश्वास गरेर सबै साधनस्रोत र अधिकारले सम्पन्न बनाएछ कि क्या हो ?


के नेपाल प्रहरीले यत्रो विधि जिम्मेवारी पाएकै हो ? के यो समेतको जिम्मेवारी वहन गर्न नेपाल प्रहरी सक्षम छ ? यी जिज्ञासासहित सम्बन्धित निकायमा अनौपचारिक तवरले बुझ्दा त्यस्तो केही नभएको पाइयो । मैले खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित जिम्मेवारी नै नेपाल प्रहरीको जिम्मेवारी हो भन्ने मनशायको जवाफ पाइयो ।

के आफ्नो नायकत्व देखाउन अधिकार र कर्तव्यक्षेत्रबाहिर जान कुनै अधिकृतलाई छुट छ ? छैन भने यस किसिमका हिरोइजम् देखाउने र प्रचारप्रसार गर्ने तर कर्तव्यपथमा चुक्ने प्रवृत्तिलाई प्रहरी नेतृत्व र गृह प्रशासनको नेतृत्वले समयमै नियन्त्रण गरोस् । व्यक्तिगत हिरोइजम् देखाइ संगठनको साख गिराउने खेल नदोहोरियोस्, समयमै सचेत होऔं ।


मैले समाचार च्यानलहरुमा देख्ने गरेको छु—सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुले थर्मल गनको प्रयोगबाट स्क्रिनिङ गरिरहेका छन् जुन काम स्वास्थ्यकर्मी वा स्वास्थ्य प्राविधिकको हो । ती प्रहरी स्वास्थ्यकर्मी नै हुन् भने ठिकै छ, अन्यथा सुरक्षामा खटिने प्रहरीलाई थर्मल गन स्क्रिनिङको कार्य गर्नु, गराउनु व्यावसायिक हो जस्तो लाग्दैन, यसमा मैले खासै व्याख्या गर्नु छैन ।


अन्तिममा यस संकटको घडीमा नेपाल प्रहरीलगायत सरकारका सबै निकाय सचेत हुनुपर्ने विषय हो– संकट पछिको संकट अर्थात् लकडाउन पछिको अवस्था । यस लकडाउन अवधिमा सबै नागरिकले आआˆनो ज्यानको जोखिमलाई मध्यनजर गर्दै केही समयसम्म अभावलाई झेलेर पनि बस्न सक्छ ।


तर लकडाउनको अवधि लम्बिन गई लामो समयपश्चात् संकट समाधान भएपछि अर्को संकट उत्पन्न हुनसक्छ, त्यो हो चरम अभाव । यस चरम अभावबाट उत्पन्न हुनसक्ने यावत् विकृति, विसंगति र छरपष्ट अपराधलाई रोक्न पनि यही युद्धको बिचमै तयारी गर्नुपर्ने पनि आजको आवश्यकता हो (इटालीको अहिलेको अवस्थाः लुटपाटबाट हामीले समय नघर्किंदै सिक्नु पर्छ) ।


यस संकटको घडीमा महायुद्ध लड्न कठिन छ, तर हाम्रो एकताले यसलाई परास्त गर्ने अवश्यम्भावी छ ।


लेखक पूर्वप्रहरी नायब महानिरीक्षक हुन् । प्रकाशित : चैत्र २२, २०७६ १९:४९

प्रतिक्रिया
पठाउनुहोस्

जसले प्याडलाई सुलभ बनाए र फोर्ब्समा पुगे 

काठमाडौँ — नेसनल ल युनिभरसिटी दिल्लीबाट स्नातक गरेर जेसलीना राणा दुई वर्षअघि नेपाल फर्किइन् । शुभाङ्गी राणा पनि त्यही समय नेसनल इन्स्च्युट अफ इन्जिनियरिङ, वारङ्गलबाट सिभिल इन्जिनियरिङ सकेर नेपाल आएकी थिइन् । उनीहरुको चिनजान थिएन ।

एउटा सामूहिक जमघटमा संयोगले चिनापर्ची भयो । पढाईको सिलसिलामा दुवै लामो समय नेपाल बाहिर बसे । त्यसैले स्वदेश फर्केर ‘केही गरौं’ भन्ने हुटहुटी थियो । तर, के गर्ने, टुंगो थिएन ।

जेसलीनालाई मावनअधिकार र महिला सशक्तिकरणको क्षेत्रमा रुचि थियो, शुभाङ्गीलाई इन्जिनियरिङ र सरसफाईमा । समाजमा प्रभाव देखिने काम गर्नुचाहिँ दुवैको साझा रोजाई । केही समय घोत्लिएपछि दुवैको चाह सम्बोधन हुने आइडिया फुर्‍यो– रजस्वला हुँदा अत्यावश्यक पर्ने प्याडमा महिलाको पहुँच सहज बनाउने । त्यसका लागि स्यानिटरी न्याप्किन भेन्डिङ मेसिन वितरण गर्ने । यही सपनालाई मूर्त बनाउन स्थापना गरे– प्याडटूगो, अक्टोबर २०१८ मा ।

‘प्याडटूगो’कै कारण कोभिड–१९ को त्रासबीच शुभाङ्गी र जेसलीना सुखद समाचारको स्रोत बनेका छन् । अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरुको सुचीमा शुभाङ्गी र जेसलीना पनि परेका छन् । ‘द फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२०’ मा उनीहरुसँगै नेपालका युवा उद्यमीहरु निकिता आचार्य र किरण तिम्सिना (अर्वन गर्ल), रोहित तिवारी (फुडमारियो) र प्रतिमा शेर्पा (गल्फर) अटाएका छन् । शुभाङ्गीले शनिबार कान्तिपुरसँग खुशी साटिन्, ‘यति छिट्टै फोर्ब्सको सुचीमा परिएला भन्ने कल्पनै थिएन । एकदम गर्व महसुस भइरहेको छ ।’

यो खबर शुभाङ्गीलाई जेसलीनाले सुनाएकी थिइन् । ‘काठमाडौंमै छौं तर लकडाउनका कारण भेटेर खुशीयाली मनाउन पाएका छैनौं । फोनमा धेरै कुरा गरेर चित्त बुझाइयो,’ शुभाङ्गीले सुनाइन् ।

जब ‘प्याडटूगो’ सुरु गरे, फोर्ब्समा पुग्ने सपना देख्न थाले । तर, ठूलो समूदायका लागि प्रभावकारी काम नगरी त्यहाँ पुगिन्न भन्ने थाहा थियो उनीहरुलाई । पहिले बाजुराको दुर्गम भेगमा शौचालय बनाउने अनि फोर्ब्समा आवेदन दिने योजना बुनेका थिए । फोर्ब्सको प्रभावशाली सुचीका लागि कि आफैं आवेदन दिनुपर्छ कि कोही आधिकारिक व्यक्तिले नोमिनेसन गर्नुपर्छ । उनीहरुलाई चाहिँ फोर्ब्स इन्डियामा कार्यरत कर्मचारीले अन्तरवार्तापछि सिफारिस गरेका थिए । तीन महिना अगाडि फाइनल राउन्डमा छानिएको जानकारी पाएका थिए । ‘तर, अन्तिम सुचीमा परेकोचाहिँ फोर्ब्सको अनलाइनमा प्रकाशित भएपछि मात्र थाहा पायौं,’ जेसलीनाले भनिन् ।

गत वर्ष उनीहरु स्वीट्जरल्यान्डमा ‘अगुसन वर्कसप’ मा प्रथम भएका थिए । लगत्तै महिलाले नेतृत्व गरेको एसियाभरका स्टार्ट–अपको सिंगापुरमा प्रतियोगितामा भएको थियो, जहाँ ‘प्याडटूगो’ ले दोस्रो स्थान हासिल गर्‍यो । यही सफलतालाई फोर्ब्सको सुचीले नयाँ उचाईमा पुर्‍याएको छ ।

शुभाङ्गी र जेसलीनाले कहिल्यै रजस्वला हुँदा विभेद सहनुपरेन, न स्तरीय प्याडकै अभाव खेप्नुपर्‍यो । तर, राजधानीमै महिनावारी भएका महिलालाई गर्ने छिछिः दुरदुरचाहिँ देखेका थिए । प्याड नपाउँदाको तनाव उस्तै । झन् दुर्गम भेगका महिलाले कति सास्ती झेल्नु पर्ला ? यो सोचाईले उनीहरुलाई लामो समय चिमोटिरह्यो । शौचालय र प्याडको अभावमा महिनावारी हुँदा स्कुल नजाने, कतिले त्यही कारण अध्ययन नै छोड्ने समाचार पनि पढेका थिए । त्यसैले प्याडलाई सुलभ बनाउँदा दीर्घकालमा महिला सशक्तिकरणमा योगदान पुग्छ भन्ने निष्कर्षमा पुगे ।

तर, पूर्ण गैरनाफामुलुक ढंगले काम गर्ने अवस्था थिएन । आर्थिक रुपमा आत्मनिर्भर हुनैपर्ने थियो । सोही कारण सोसल–इन्टरप्राइजको बाटो समाते । त्यो भनेको, पैसा पनि आर्जन गर्ने, समाजमा प्रभावकारी देखिने काम पनि गर्ने । शुभाङ्गी भन्छिन्, ‘हामी व्यापार र सामाजिक दायित्वको सन्तुलन मिलाउँछौं । सकेसम्म कम नाफा लिएर धेरैभन्दा धेरै महिलासम्म प्याड पुर्‍याउने प्रयास गर्छौं ।’ नाफाको निश्चित प्रतिशत आफूलाई राखेर बाँकी रकम फेरि लगानी गर्छन्, रवस्वलासम्बन्धि साँघुरो सोचमा परिवर्तन ल्याउने जमर्को गर्छन् । यही मोडलले उनीहरुलाई फोर्ब्समा पुर्‍याएको हो ।


जेसलीनाको कलेजमा प्याडको भेन्डिङ मेसिन थियो, जहाँ क्वाइन हालेपछि प्याड आउँथ्यो । कहिलेकाहीँ उनले पनि प्रयोग गरिन् । शौचालय नजिकै राखिएको हुन्थ्यो । तर, नेपालमा यस्तो मेसिन देखेकी थिइनन् । म्यानुअल भएकाले मेसिन जहाँ पनि लान मिल्थ्यो । जेसलीना भन्छिन्, ‘हामीले भारतबाट यस्तै मेसिन ल्याएर बेच्न थाल्यौं । नयाँ र प्रभावकारी भएकाले धेरैको ध्यान तानिदै गयो ।’

सुरुवातको लगानी थियो– ६ लाख । राजधानीका स्कुल/कलेज पुगेर मेसिनबारे बुझाउन थाले । मल्टिप्लेक्स चेन क्युएफएक्सको सबै शाखामा यो मेसिन राखिएको छ । डेढ वर्षमा ‘प्याडटूगो’ देशका ६ प्रदेशमा फैलिसक्यो, कैलालीदेखि धादिङ अनि सिन्धुपाल्चोकसम्म । अहिले एक सय १० मेसिन चालु छन् । एउटामा २५ वटा प्याड अट्छ, अर्कोमा ५० । युनिभिलरको विस्पर्ड र नेपालमै बन्ने जास्मिनको पाँच रुपैयाँ र दश रुपैयाँ दरका प्याड राखिएका हुन्छन् । शुभाङ्गी भन्छिन्, ‘प्याडको गुणस्तरीयता कायम गर्न प्रतिष्ठित कम्पनीसँग सहकार्य गरेका हौं ।’ हिमालय बैंक, लायन्स क्लब, बुद्ध एयर, मल्टिप्लेक्स चेन क्युएफएक्स, होटल साम्बालामा यो मेसिन राखिएको छ ।

तर, ‘प्याटूगो’मार्फत शुभांगी र जेसलीना मेसिन मात्र बेच्दैनन् । रजस्वला र सरसफाईसम्बन्धी सचेतनामुलक कार्यक्रम पनि चलाउँछन् । प्रायः स्कुल/कलेजमा मेसिन राखेपछि महिला र पुरुष दुवैलाई एकै ठाउँमा राखेर अन्तरक्रिया गर्छन्, रजस्वलासम्बन्धि गलत धारणाहरु मेट्न खोज्छन् । जेसलीना भन्छिन्, ‘रजस्वलाबारे महिलामात्र होइन, पुरुषले पनि बुझ्नु आवश्यक छ । खुलेर कुरा गर्ने वातावरण बन्यो भने मात्र विभेद हट्छ ।’

यस्तै कार्यक्रम लिएर केही समयअघि उनी बाँके पुगेकी थिइन् । त्यहाँका स्कुलमा पढ्ने छात्राहरुसँग महिनावारी र प्याडबारे कुराकानी गरिन् । उनले दुखीत हुँदै सुनाइन्, ‘कतिले स्कुलमा टाँगिएको पुरानो ब्यानर च्यातेर प्याडका रुपमा प्रयोग गर्दा रहेछन्, कतिले कागज र अरु पुराना कपडा । यस्तो थाहा पाएपछि प्याड सुलभ बनाउन अझ दायित्वबोध भयो ।’ ग्राहकसँग प्रत्यक्ष संवाद गर्न मेसिनमा प्याड ‘रिफिल’ गर्न सकेसम्म उनीहरु आफैं जाने गर्छन् । मेसिनको प्रभावकारीता र कमजोरीबारे बुझ्छन्, ताकि सुर्धान सकियोस् ।

शुभाङ्गीले मेसिनको १० प्रतिशत र प्याडको सबै नाफा सेवामुलक कार्यक्रममा खर्च गर्ने बताइन् । जस्तो ः बाजुराको दुर्गम स्कुलमा महिला, बालबालिका र अपांगमैत्री शौचालय बनाउने तरखरमा छन् । सहरभन्दा गाउँमा मेसिन र चेतनाको खाँचो भएकाले गाउँतिर केन्द्रित हुँदैछन् । स्थानीय तह, स्कुल, कलेज र अन्य संघसंस्थासँग सहकार्य गर्छन् ।

जेसलीना एमनेस्टी इन्टरनेसनलकी मानवअधिकार अधिकृत हुन् भने शुभाङ्गी सानिमा हाइड्रोपावरमा कार्यरत छिन् । बिहान ९ देखि साँझ ५ बजेसम्म अफिसमै बित्छ । त्यसबाहेकको समय ‘प्याटटूगो’लाई दिन्छन् । बिदामा पनि यसकै प्रबर्द्धनमा लाग्छन् । ‘महिनावारीसम्बन्धी काम गर्ने भन्नासाथ धेरैले एजजिओ भन्ठान्छन् तर हामी व्यापार गरेरै सकारात्मक परिवर्तनमा योगदान गर्न प्रयत्नरत छौं,’ शुभाङ्गी भन्छिन्, ‘हामीकहाँ सोसल–इन्टरप्राइजको अवधारणालाई व्यापक बनाउन आवश्यक छ । फोर्ब्सले हामीलाई थप उर्जा दिएको छ ।’

प्रकाशित : चैत्र २२, २०७६ १९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×