ब्लग : क्‍वारेन्टाइनमा न्युयोर्क !

दिनेशजंग शाह

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को अमेरिकी ईपिसेन्टर सेन्टर भनिएको न्युर्योक सिटीमा सन्नाटा छ । भागदौडको ‘न्युर्योक जिन्दगी’ टक्क अडिएझैं छ ।

सडक रित्ता छन्, यद्यपि छेउका पार्किङ लट भने भरिभराउ छन् । क्वारेन्टाइनको छैठौं दिन भित्रको दैनिकी त झनै पट्यारलाग्दो छ । कतिन्जेल यसरी बस्ने पर्ने हो ? के गर्ने ? यस्तै यस्तै ।


अपरान्हको एक बजे । बिहानै देखिको अनलाईने कामलाई थाँती राख्दै सोफामा पल्टिरहेको थिएँ । फोनको रिङ बज्यो । उठाउनु पर्ने । टक्क अडिएँ म । भर्खरै धोएको हातले कसरी समाप्ने फोन ? दिमागमा उही भाइरसको कुरो चल्यो । सोचें, पहिले ‘ह्यान्डसेनेटाईजर’ ले फोनलाई पुछनु पर्‍यो । कल मिस भईहाल्यो । एकै छिनमा फोन फर्काएँ । चीरपरिचित मित्रले अनुरोध गरे, ‘एकछिन ज्याक्सन हाइटमा आउनुस् । एउटा सानो सहयोग गर्नु पर्‍यो ।’


मनमा दुविधा भयो । कोरोनोको त्रास एकातिर छ । अर्कोतिर सहयोगी मित्रको आग्रह । मित्रलाई एकमुष्ट ठूलै रकम नेपाल पठाउनु पर्ने रहेछ । कानूनतः उनी एक्लैले त्यत्रो रकम पठाउन नसक्ने भएको स्थितिमा म जानुपर्ने भयो ।


गुगल टाईमसिटमा लन्च ब्रेक लिएँ । हातमा पन्जा अनि मुखमा मास्क लगाएर, निस्किए मँ । बाटोमा थोरै अरु मास्कधारी पनि देखिए । बाटो काट्दा, सडकपेटीमा ती अपरिचितहरुसँग केही दूरि राख्नैपर्‍यो । नजिकिँदा श्वासप्रश्वासलाई रोक्दै ज्याक्सन हाइट पुगे ।


मास्क, पन्जा लगाएका मित्र चोकमै उभिएका थिए । एक हातमा फोन, अर्को खल्तीमा राख्दै उभिएका उनले टाढैबाट हात उठाए । मैले पनि हात उठाएँ । मास्कधारी उनी मुस्कुराएजस्तो मलाई लाग्यो । किनकि उनको आँखा वरिपरिको छाला तन्कियो । हात सल्बलाउन सक्ने प्रति सचेत रहँदै मैले हत्तपत्त हात खल्तीमा हाले ।


करिब अढाई मिटरको दूरिमा हामी आमने–सामने भयौं । मास्क लगाएका कारण लर्बराउँदो बोलीमा उनले भने, ‘तपाईले मलाई, मैले तपाईलाई शंका गर्नुपर्ने स्थिति आयो । हामीले अलि विचार गर्नुपर्छ ।’ मैले सहमति जनाउँदै थपें, ‘कोभिड १९, शरीरमा प्रवेश गरेको दुई सातापछि मात्र लक्षण देखिन्छ रे ।’ उनले लामो श्वास फेर । अनि म हच्चकिएँ । अलि पछि हटें ।


केही गन्थनपछि मनी ट्रान्सफर सर्भिसतिर लाग्यौं । ढोकानिर पुगेपछि म फेरि हच्किएँ । पन्जा लगाए पनि, बेकारमा कतिले समातेको ढोका के समात्नु भन्ने लाग्यो । मित्रले ज्याकेटको बाहुलालाई तल सार्दै, ढोका खोले । फिस्स हाँस्दै भने, ‘यस्तो गर्नैपर्‍यो ।’ गोली रोक्ने प्रतिरोधात्मक क्षमताको सिसाको काउन्टरभित्र मास्क लगाएकी एक नेपाली कर्मचारी थिइन् । उनले टेबलमा रहेको ‘हेनेसेन्टाईजर’ को बोत्तल देखाउँदै भनिन्, ‘पैसा गन्नुअघि हातमा ‘सेन्टाईजर’लगाउनुस् है । के थाहा, तपाईले ल्याएको नोटमा पो छ कि कोरोना भाइरस ?’ उनको शंका अहिलको स्थितिको जायज उपज थियो ।

कोरोना भाइरस, खतरनाक भन्नेमा अब दुविधा रहेन । यो भाइरस कसरी भाईरल भइरहेको भन्ने बिषय संसारभरिका तथ्यांकहरुले पुष्टि गर्दैछन् । तर, भाइरस कतिन्जेल हावा वा जमिनमा बाँचिरहन्छ, त्यसबारे विविध टिपोट बाहिरिएका छन् । धेरै विज्ञहरुको समान धारणा पाईन्छ, ‘कोरोना भाइरस, हावामा तीन घण्टासम्म, टेबल, नोट वा प्लाष्टिकमा तीन दिनसम्म बाँचिरहन सक्छ ।’


यो पृष्ठभूमिमा कहाँ कसरी सर्छ वा भाइरसको फन्दाको परिन्छ । यो चिन्ता, अहिले दैनिकी बनेको छ । न्यूयोर्क सहर, धेरै हिसाबले अमेरिकाको अन्य सहरहरुभन्दा पृथक छ । आर्थिक, सामाजिक परिवेश भिन्न छ । समाज अधीक विविध छ । सार्वजनिक यातायातको ‘चेन’ विशाल छ । लाखौं मानिसको दैनिकीको महत्वपुर्ण हिस्सा हो, सार्वजनिक यातायात । अमेरिकाको सबैभन्दा ठूलो पब्लिक एजुकेसन नेटवर्क, न्युयोर्क सहरमै छ । हमेसा भीडभाड हुने न्युयोर्क सहरमा संक्रमित हुनेको संख्या ११ हजार नाघिसक्यो । कति संक्रमित हुने लाइनमा छन्, यसको लेखाजोखा अहिलेलाई छैन ।


यस्तै केहीबेर गफिदै ती मित्रसँग बिदावारी भएर, म बाटो लागें । ‘सेल्फ क्वारेन्टाइन’ भने पनि पूर्णरुपमा घरभित्रै बसिरहने पनि स्थिति छैन । अत्यावश्यक किनमेलका लागि बाहिर निस्किनै पर्छ । यही मौकामा म पनि तरकारी पसलमा छिरें । एक परिचित धनगढीका नेपाली उबर चालकसँग जम्काभेट भयो । उनी स्याउ किन्दै थिए । हातको साटो, उनले कुहिनो अघि बढाए । दुवैले कुहिनो ठोक्यौं । मास्क लगाएकै कारण, गफ गर्न संकोच भएन ।


मैले उनलाई एकजना नेपाली उबर चालक संक्रमित भएको खबर सुनाएँ । उनी चिन्तित थिए । बात मार्दै उनी स्याउ झोलामा हाल्दै थिए, छेउमा रहेका ब्यक्तिले हिन्दीमा प्वाक्क भने ‘भाईसाब, एप्पल त खुले पडे हैं, नजाने कितने लोगो ने टच किया होगा । क्या पता, भाइरसका ।’ मतिर पुलुक्क फर्किदैं ती चालकले भने, ‘के भन्छ, यो भईया ?’


मैले उनलाई राम्रोसँग धोएर खानु होला भन्दै सुझाएँ । उनी हच्किए, स्याउ नै किनेनन् । कफी खाएर, गफिऔं न भन्ने कुरा भयो । तर कहाँ जाने ? कफी पसलको सरसफाई र त्यहाँका कामदारको स्वास्थ्यस्थिति बारे शंका उठ्यो । ‘भो कफी नखाउँ । जान हे तो, जहान है’ भन्दै हामी आ–आफनो बाटो लाग्यौं ।


केटाकेटी भएको घर, लुगा–जुत्तालाई छुटटै क्लजेटमा राखें । हात मुख धोएर, पुछपाछ सुरु भयो । अल्कोहोल मिश्रित ‘वाईप’ ले ढोकाको लकदेखि फ्रिजको ह्याण्डिलसम्म । कम्प्युटरको किबोर्डदेखि केटाकेटीको खेलौनासम्म ।


दैनिकी यसरी नै चलिरहेको छ । सबैतिर शंका, सबैलाई शंका । आफ्नो घरमात्र होइन, आफ्नै लुगा र शरीरमाथि समेत शंका । यसो सोच्यो भने अहिले हामीलाई बचाउने यही डर र शंकाले त हो ! प्रकाशित : चैत्र ११, २०७६ ११:०५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपालगन्ज बजार सुनसान

रूपा गहतराज

नेपालगन्ज — सरकारले कोभिड–१९ (कोरोना भाइरस)को जोखिम रोकथामका लागि देशभर सजगता अपनाउन गरेको लकडाउनसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार राति १२ बजेबाट जनता कर्फ्यू घोषणा गरेको छ । 

घोषणासँगै नेपालगन्ज बजार सुनसान भएको छ । मंगलबार बजारका सम्पूर्ण पसल, व्यवसाय बन्द भएसँगै सडकमा हिँड्ने पैदलयात्रु पनि निस्किएका छैनन् । सवारी साधन चलाउन पूर्ण रुपले निषेध गरिएको छ ।

मानिसहरु बेफिक्रि हिँडिरहेको पाएपछि प्रशासनले सोमबार १२ बजेदेखि जनता कर्फ्यूको घोषणा गरेको हो । प्रशासनले कडाइका साथ नियमको पालना गराउने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘एक जनाको लापरबाहीका कारण परिवार, टोल, समाज र राष्ट्र नै जोखिममा पर्ने सम्भावना बढ्छ, उनले भने, ‘त्यसैले कोरोना विरुद्ध सेल्फ क्वारेन्टाइनमा बस्नुको विकल्प हामीसँग छैन ।’

प्रकाशित : चैत्र ११, २०७६ ११:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×