कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाइसौं शताब्दीका महिलाहरू !

महिलाको क्षमतामा प्रश्नचिन्ह लगाएर कुनै पुरुष सफल भइरहन सक्दैन । लैङ्गिक समानताको चेतना नभएको पुरुष जतिसुकै क्षमतावान भए पनि सफलताको शिखरमा टिकिरहन सक्दैन ।
माधवी भट्ट

बिसौँ शताब्दीमा पुरुषत्व वा पुरुष गुणहरूले विश्वलाई नराम्ररी हल्लायो । सफलता हात पार्न पुरुष नै भएर जन्मनुपर्थ्यो । जैविक रूपमा फरक अर्थात् नारी भएर जन्मेकाहरूले पनि अघि बढ्न पुरुषकै गुण ल्याउनुपर्ने अवस्था थियो । एक्काइसौँ शताब्दीको एक चौथाइ समय व्यतीत हुनलाग्दा सम्भवतः पितृसत्ताबाट निर्देशित समाजको अन्त्यमा हिँडिरहेका छौँ, हामी ।

बाइसौं शताब्दीका महिलाहरू !

आशा गर्न सकिन्छ, २२ औं शताब्दी विलकुलै फरक हुनेछ । महिलाहरूको शताब्दी बन्नेछ, त्यो । किनकि हामीले विश्व परिवेशमा र हाम्रो आफ्नै समाजमा पुरुषहरूको ‘होल्ड’ गुमिरहेको पाएका छौं । पुरुषजन्य गुणहरूले मात्र सफलता चुम्न नसकिने अवस्था देखेका छौँ । अमेरिकी पत्रकार हाना रोजिनको सन् २०१४ मा प्रकाशित पुस्तक ‘दि एन्ड अफ मेन : एन्ड द राइज अफ वोमेन’ मा दाबी गरेजस्तै महिलाहरूको निम्ति उदाउँदो समय छ, अहिले ।


महाशक्ति राष्ट्र अमेरिकामा सभामुख न्यान्सी पलोसीले शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थर्काइरहेकी छन् । त्यसो त यसअघि नै पुरुषहरूलाई उछिनेर हिलारी क्लिन्टन विश्वको अगुवाइ गर्न तम्सिएकी थिइन् । कुनै समयको साम्राज्यवादी बेलायतले कठोर महिला नेताहरूको शासन अनुभव गरिसकेको छ । आधुनिक विज्ञानको जननी मानिने जर्मनीमा ‘आइरन लेडी’ एन्जेला मर्केलले तेस्रोपटक शासन गरिरहेकी छन् । दक्षिण एसिया त महिलाहरू नेतृत्वमा स्थापित हुने उर्वर ठाउँ नै मानिन्छ । पिता र पतिको विरासत धान्ने क्रममा नै किन नहोस्, यस भूमिमा दर्जनौँ महिलाहरूले राष्ट्र प्रमुख र सरकार प्रमुख भएर मुलुक हाँकिसकेका छन् । महिलाको राजनीतिक सहभागितामा नेपालको स्थान पनि उत्तिकै उच्च छ । कुनै समय नेता पत्नी र दुई छोरीकी समर्पणवादी आमाको परिचयमा सीमित विद्या भण्डारी ‘सेरेमोनियल’ नै सही राष्ट्र प्रमुख बनेकी छिन् । खासमा संविधानले प्रदान गरेको ‘पोटेन्सियल’ शक्तिभन्दा राष्ट्रपति भण्डारीले प्रयोग गरिरहेको ‘एक्चुयल’ शक्ति सघन देखिएको छ ।

पूर्व लडाकु ओन्सरी घर्ती मगरले संसदको पहिलो महिला सभामुख बनेर इतिहास रचिसकेकी छन् । पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्कीको कार्यकाल अदम्य साहसले भरिएको थियो । जुन इतिहासमा मानक बनेर अङ्कित हुनेछ । हो, केही थान महिला शक्ति र पदमा पुग्दा महिलाको समग्र विकासमा के कस्तो प्रभाव पर्‍यो भन्ने अनुसन्धान र अध्ययन बाँकी नै छ । महिला नेतृत्वको नयाँ परिचय र प्राप्त उपलब्धिले नेपाललाई पनि अब पितृसत्ताको घेराबाट बाहिर निकाल्ने सङ्केत गरेको छ । बरु ढल्दै गरेको पितृसत्तालाई पुरातन सोचबाट हेर्ने र गाली गर्ने सोचमा भने परिवर्तन जरुरी छ ।


हाम्रा नेता को हुन् भन्ने बारेमा नेपाली समाजमा पुरातनवादी र एकाङ्की सोच हावी छ । हामीले नेताको परिभाषाभित्र राजनीतिक क्षेत्रका उदाउँदा व्यक्तिलाई मात्र राख्ने गरेका छौँ । विकसित देशमा नेता राजनीतिक क्षेत्रबाट मात्र चुनिने होइनन् भन्ने मान्यता स्थापित भइसकेको छ । नेता राजनीति लगायत समाजका विभिन्न क्षेत्रबाट छानिन्छन्, जसले समाज परिवर्तन र रूपान्तरणलाई सार्थक योगदान पुर्‍याएको छ । अहिले राजनीतिमा जस्तै प्रशासनिक संयन्त्र, प्राज्ञिक संस्था र व्यापार–व्यवसायमा पनि विश्वभरि नै महिलाहरूको उपस्थिति बाक्लिँदैछ । युरोप र अमेरिका लगायत विकसित देशहरूमा विद्यालय तथा कलेज ग्राजुएसन गर्ने पुरुषको भन्दा महिलाको संख्या बढी हुँदै गएको छ । नेपालमा पनि शैक्षिक संस्थाहरूमा महिलाको संख्यात्मक र गुणात्मक उपस्थितिले पुरुषलाई कडा टक्कर दिइरहेको छ । निजी र सार्वजनिक दुवैमा महिला रोजगारीको अवस्था पनि बढ्दै गएको छ । यसरी द्रुतगतिमा भइरहेको महिलाहरूको क्षमता अभिवृद्धि र गुणात्मक सुधारले २२ औं शताब्दी महिलाको शताब्दी बन्नेछ भन्न सकिन्छ ।


विश्वमा भइरहेको विज्ञान र प्रविधिको चमत्कार, सूचना र सञ्चारको क्षेत्रमा भइरहेको अभूतपूर्व क्रान्ति र विकासोन्मुख देशमा समेत तीव्र रूपमा भइरहेको सांस्कृतिक–सामाजिक रूपान्तरणलाई आधार मान्ने हो भने आगामी भविष्य महिलाको निम्ति अझ बढी अनुकूल बन्दै गएको देखिन्छ । विगतमा अनिवार्य मासिक चक्र र अनियन्त्रित गर्भधारणका कारण महिलालाई कमजोर बनाएको थियो । स्थायी र अस्थायी परिवार नियोजनका साधनहरूको सहज पहुँचले सन्तान महिलाको इच्छामा निर्भर गराइदिएको धेरै भइसकेको छ । महिलालाई जैविक रूपमा नै कमजोर भनी बलको काम गर्न नसक्ने ठानिएको थियो । विश्व परिवेशमा आविष्कार भएका नयाँ नयाँ उपकरणहरूले मानव जीवनमा बलको प्रयोग कम हुँदै गएकाले महिलाहरूको पुरुषमाथिको परनिर्भरतामा ह्वात्तै कमी आएको छ । युरोप र अमेरिकाजस्ता उत्तरऔद्योगिक युगमा रमाइरहेका देशमा मात्र होइन, नेपालजस्तो औद्योगीकरण उन्मुख देशमा पनि सन्तानको लालन–पालन र समग्र केयरिङमा बाबुको संलग्नता अनिवार्यजस्तै भएको छ । यसले घरभित्र र बाहिरको काम महिला र पुरुष दुवैमा विभाजित भई लैङ्गिक समानता र सन्तुलन कायम गर्न मद्दत गरेको छ । सम्भवतः अब महिलालाई कम आँकेर वा महिलाको क्षमतामा प्रश्नचिन्ह लगाएर कुनै पुरुष सफल भइरहन सक्दैन । लैङ्गिक समानताको चेतना नभएको पुरुष जतिसुकै क्षमतावान भए पनि सफलताको शिखरमा टिकिरहन सक्दैन ।


लैङ्गिक समानताको यो उचाइ प्राप्त गर्न विभिन्न समयमा भएका महिलावादी आन्दोलनको मुख्य भूमिका छ । पश्चिमा जगतमा उन्नाइसौँ र बिसौँ शताब्दीको प्रारम्भमा महिलावादको पहिलो लहर चल्यो । जसले महिलाको मताधिकार लगायतका राजनीतिक अधिकार स्थापित गरायो । सन् १९६० देखि सन् १९७० सम्म चलेको महिलावादको दोस्रो लहरले महिलाको समान कानुनी, सामाजिक र पेसागत अधिकारको वकालत गर्‍यो । अमेरिकी लेखक बेटी फ्रिडानले सन् १९६३ मा लेखेको पुस्तक ‘दि फेमिनिन मिस्टिक’ नै महिलावादको दोस्रो लहरको आधारशिला मानिन्छ । सन् १९५० को दशकसम्म अमेरिकामा विवाह घरपरिवार र मातृत्वले महिलालाई सन्तुष्टि दिलाउँछ र पूर्णता प्रदान गर्छ भन्ने मान्यता थियो । फ्रिडानको पुस्तकले भौतिक सम्पन्नता प्राप्त गृहिणी महिलाहरूको चरम बेखुसीलाई उजागर गर्‍यो ।

सन् १९९० मा चलेको तेस्रो लहरले महिलावादको दोस्रो लहरको आलोचना गर्दै त्यसलाई निरन्तरता पनि दियो । महिलावादको दोस्रो लहरले मध्यमवर्गीय गोरा जातिका महिलाको दृष्टिकोणलाई मात्र मुखरित गरेको आरोप लगाउँदै यसले नयाँ आयाम थपेको छ । सन् १९९१ मा भएको यौन दुर्व्यवहारको प्रतिकारसँगै महिलावादको तेस्रो लहर फैलिएको देखिन्छ । सम्भवतः यतिबेला विश्वमा महिलावादको चौथो लहर फैलिरहेको छ, जसको इपिसेन्टर बनेका छन्, तेस्रो विश्वका गरिब र अविकसित राष्ट्रहरू । ऐतिहासिक रूपमा आर्थिक, सामाजिक र सांस्कृतिक उत्पीडन भोगेका महिलाहरूलाई ग्लोबलाइजेसन र प्रविधि तथा सामाजिक सञ्जालको क्रान्तिले जागरुक बनाइदिएको छ । लैङ्गिक मुद्दामा केन्द्रित अनलाइन मुभमेन्ट, मी टू अभियान आदिलाई उदाहरण मान्न सकिन्छ । इन्टरनेट प्रविधि र सामाजिक सञ्जालको उपस्थितिले महिलाहरूको आवाज बुलन्द पार्न निकै ठूलो मद्दत पुगेको छ । यति हुँदाहुँदै पनि महिलावादको सैद्धान्तिक र व्यावहारिक पक्ष दुवै विवाद र आलोचनारहित छैन । र कानुनी अधिकार जति स्पष्ट थियो, सामाजिक–सांस्कृतिक अधिकार त्यति नै अस्पष्ट र जटिल देखिएको छ ।


सकारात्मक सोचले विश्लेषण गर्‍यौं भने समाज रूपान्तरण भएका सयौँ उदाहरण हाम्रै घरपरिवारभित्र र समाजमा देख्नेछौं । अनि देखिरहेका छौं, राजनीतिमा र कार्यक्षेत्रमा । नेपालका विद्यालयमा छात्राहरूको संख्यात्मक उपस्थितिमात्र बाक्लिँदै गएको छैन, गुणस्तरमा पनि लामो ‘जम्प’ गरेका छन् । त्यसले प्रस्ट पार्छ, अबका किशोरीहरू घरपरिवार र मातृत्वमा सीमित हुनका निम्ति हुर्किरहेका छैनन् । उनीहरू सपना सजाउँदै अघि बढिरहेका छन् । विवाह संस्था र यसको पद्धतिमा परिवर्तन आएको देखिन्छ । दुई दशक अघिसम्म सामान्यजस्तो लाग्ने केटा हेर्न आउँदा ‘मेकअप’ र राम्रो पहिरनमा सजिएर बस्ने उपक्रम करिब–करिब सकिएको छ ।

विवाहमा केटीको पनि निर्णायक भूमिका देखिनुलाई परिवर्तन मान्नुपर्ने हुन्छ । अविवाहित रहने बढ्दो प्रचलन, ढिलो विवाह र एक सन्तानमा सीमित रहने प्रवृत्ति तथा प्रौढ अवस्थामा बढ्दै गएको सम्बन्धविच्छेदको कारण महिलामा बढ्दो आत्मविश्वास नै हो । विगतमा छोरा नजन्माउने महिलाको भविष्य अन्धकार नै मानिन्थ्यो । अहिले एउटैमात्र छोरी भए पनि उसको अंश र वंशमाथि कसैले प्रश्न गर्दैन/गर्न सक्दैन । कानुनी सुधार र सामाजिक रूपान्तरणको परिणाम हो यो । सन् १९९० को सुरुतिर विवाह गरेका जोडीहरू यतिबेला वैवाहिक र उमेरका हिसाबले प्रौढ अवस्थामा ढल्किरहेका छन् । त्यही पुस्ताका महिलामा परिचय र अधिकारको लडाइँ युवा पुस्तामा भन्दा चर्को छ । सहरमा अध्ययन गर्‍यौं भने ४५ वर्ष उमेर ढल्किएकाहरू पेसा र व्यवसायमा प्रवेश गरिरहेका देखिन्छन् ।


विभिन्न देशका विश्वविद्यालयका पढाइहरूमा दुइटा यस्तो अवस्था छ, जहाँ दक्षिण एसिया उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । जति बेला गरिबी र अर्थतन्त्रको विषय आउँछ, यो क्षेत्र विश्वका तमाम गरिबहरूको राजधानी भनी पढाइन्छ । अर्कोचाहिँ ‘वोमेन लिडरसिप’को अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूमा जब विश्व हाँक्ने महिलाहरूको कुरा उठ्छ, तब त्यहाँ दक्षिण एसियाको पनि नाम आउँछ । आशा गरौं, एक्काइसौं शताब्दीको अन्त्यसम्ममा नेपाललगायत विश्वभरि नै लैङ्गिक समानताको लडाइँ अन्त्य हुनेछ । बाइसौं शताब्दी महिला–पुरुष समानताको शताब्दी बन्नेछ । शैक्षिक, प्रशासनिक र राजनीतिक नेतृत्व महिलाको हातमा हुनेछ ।

प्रकाशित : चैत्र १, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?