स्वास्थ्यमन्त्रीलाई खुलापत्र : बतासे तर्कले महामारी रोक्न सकिन्‍न- विविधा - कान्तिपुर समाचार

स्वास्थ्यमन्त्रीलाई खुलापत्र : बतासे तर्कले महामारी रोक्न सकिन्‍न

स्वरूप आचार्य

काठमाडौँ — माननीय स्वास्थ्यमन्त्रीज्यू,
तपाईंलाई अहिलेसम्म कोभिड–१९ को संक्रमण भएको छैन र भविष्यमा पनि हुँदैन होला भन्ने आशासहित यो पत्र लेख्दैछु ।

आफ्नो समाचारकक्षमा बसेर यो पत्र लेख्दै गर्दा मेरो पछाडि खुला रहेको टिभीमा सीएनएनका पत्रकारहरू कोरोनाकै महामारीबारे चर्चा गरिरहेका छन् । त्यो सबै सुनेर मन अझ बढी उद्वेलित भइरहेको छ ।


झन् क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडोकी श्रीमती सोफी, हलिउड अभिनेता टम ह्यांक्स जस्ता हस्तीहरूसमेत कोभिड–१९ को संक्रमणबाट जोगिन नसकेको सुनेसँगै मन झनै अत्तालिएको छ ।


मन्त्रीज्यू, तपाईं र तपाईं मातहतको संयन्त्र कोरोना भाइरसको महामारी रोकथामका लागि रणनीति बनाइरहेको भनेर हावा गफ गरिरहेका छन् । त्यो गफले सर्वसाधारणलाई त केही सान्त्वना दिन्छ पनि होला । तर, मुलुकको स्वास्थ्य अवस्थाबारे जानकारका लागि भने यस्तो बतासे गफको कुनै तुक छैन ।


यो पत्र लेख्दै गर्दा विश्वका १ सय २७ राष्ट्रमा कोभिड–१९ को भाइरस देखिएको तथ्यांक मेरो अगाडि छ । विश्वस्वास्थ्य संगठनले बुधबार मात्रै कोभिड–१९ को संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेको छ । डिसेम्बर अन्तिम सातादेखि चीनको हुबेइ प्रान्तको वुहानबाट फैलिएको यो भाइरस संक्रमणका कारण विश्वका ३९ राष्ट्रमा गरेर हालसम्म ४ हजार ९ सय ८३ जनाको ज्यान गइसकेको छ ।


नेपालको उत्तरी छिमेकीकहाँ शुरूमा देखिएको संक्रमण दक्षिणी छिमेकीकहाँ पनि फैलन शुरू भइसकेको छ । त्यहाँ कम्तिमा एकजनाको यसैका कारण मृत्यु भएको खबर शुक्रबार सार्वजनिक भएको छ । यति हुँदा पनि हामीले अहिल्यै आपत्कालीन तयारी गरेनौँ भने खुला सिमाले घेरिएका हामी नेपालीको स्थिति के होला, त्यो कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ ।


हिजो एकजना चिकित्सक मित्रले धेरै अध्ययन गरेर फेसबुकमा स्ट्याटस लेखे । उनले स्ट्याटसमा जे तर्क गरेका छन्, त्यो नै हाम्रो स्वास्थ्य पूर्वाधारको वास्तविक ऐना हो । म उनको कुरामा किन पनि सहमत छु भने उनी वास्तवमै अध्ययनशील व्यक्ति हुन् र उनले प्रस्तुत गरेको तर्क र तथ्यांकमा दम छ । त्यस तथ्यलाई तपाईंको बतासे तर्कले पाखा लगाउन मुस्किल पर्छ । काठमाडौँको विद्यमान स्वास्थ्य प्रणालीले कोरोना महामारीलाई थेग्न नसक्ने उनको तर्क छ ।



काठमाडौैं उपत्यकाको जनसंख्या ५० लाखभन्दा बढी छ भनिन्छ । यो जनसंख्याको १ प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण भयो भने ५० हजार नागरिक यसको चपेटामा पर्छन् । त्यो भनेको संक्रमित भएका ७ जनामध्ये एकजनालाई अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ । यो ‘जामा’ नामक मेडिकल जर्नलमा प्रकाशित भएको लेखमा आधारित अनुमान हो । यसरी अस्पताल भर्ना भएकामध्ये पनि ५ जनामा एकजनालाई आईसीयूकै आवश्यकता पर्छ । ‘लानसेट’मा प्रकाशित लेखमा यो कुरा उल्लेख छ । त्यसको मतलब हामीलाई थोरैमा पनि १ हजार आईसीयू शैयाको आवश्यकता पर्छ । बेडसँगै चिकित्सक, नर्स र अन्य आवश्यक उपचार सामग्री तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्ने सामग्री पनि चाहिन्छन् ।


अब कुरा गरौं, काठमाडौँमा भएका आईसीयूबारे । सम्पूर्ण सरकारी अस्पतालमा रहेका आईसीयू शैयाको हिसाब गर्ने हो भने धेरैमा १ सय ५० शैया होला, जुन हरेक दिन भरिभराउ नै हुने गर्छ । यदि भेन्टिलेटर सुविधासहितको नीजि अस्पतालको शैया संख्यालाई पनि जोड्ने हो भने त्यो संख्या धेरैमा ३ सयको हाराहारी होला । बरू त्यसभन्दा कमै होला, बढी अवश्य छैन ।


मेडिकल जर्नल ‘लानसेट’मा प्रकाशित लेखका अनुसार कोभिड–१९ को संक्रमण भएका बिरामीलाई औसतमा ७ दिनसम्म आईसीयूमा राख्नुपर्ने हुन्छ । त्यसको मतलब ८ सयभन्दा बढी बिरामीका लागि आईसीयू सेवा आवश्यक भए पनि उपलब्ध गराउन सम्भव नै छैन ।


नेपालभन्दा कयौँ गुणा विकसित देश इटालीको स्वास्थ्य क्षेत्र यो महामारीका कारण कसरी निरीह बनेको छ भन्ने उदाहरण नै माथिका सबै तर्कलाई पुष्टी गर्न काफी छ । महामारी फैलिएको केही दिनको अन्तरालमा नै इटालीमा १५ हजार १ सय १३ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पनि १ हजार २ सय ५८ नाघेको छ । त्यहाँ आईसीयू र भेन्टिलेटर नपुगेर विश्व समुदायसँग हारगुहार गर्नु परिरहेको छ ।


अर्को कुरा, संक्रमण फैलिएमा उपचारमा संलग्न हुने र अस्पतालमा कार्यरत रहने कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि के व्यवस्था गर्नुभएको छ ? ती सामग्रीहरूले कतिजना संक्रमितको उपचारलाई धान्न सक्छ ? के विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्ने गरी सबै अस्पतालमा आवश्यक सामग्रीहरू उपलव्ध छन् त ?


अब भन्नुस् मन्त्रीज्यू, कोरोना भइरसको महामारी नेपालमा फैलिएमा संक्रमितको उपचारका साथै नियन्त्रणका लागि कहिलेबाट गम्भीरतापूर्वक कदम चाल्ने ?


अहिलेसम्म अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रने डरले न संक्रमण फैलिएको देशबाट हवाई उडान नै बन्द गराउन पहल गर्नुभएको छ, न त विमानस्थलमा पर्याप्त ‘स्क्रिनिङ’कै व्यवस्था छ । जनताको आँखामा छारो हाल्न गरेको व्यवस्थालाई ठूलै पूर्वाधार खडा गरे जसरी बयान गर्नेबाहेक के काम भएका छन्, औँला भाँचेर भन्न सक्नुहुन्छ ? मन्त्रीज्यू, याद राख्नुस् महामारीले प्रवेश पायो भने हाम्रो देशमा रहेका कुनै पनि प्रयोगशालाले ‘स्याम्पल टेस्ट’ गरेर भ्याउँदैनन् ।


मन्त्रीज्यू, देश र जनतालाई आवश्यक परेका बेला नेतृत्व गरेर समस्याबाट पार लगाउन सक्ने व्यक्ति नै इतिहासमा खास नेताका रूपमा गनिन्छन् । यो तपाईंको नेतृत्व क्षमताको परीक्षणको घडी हो । देश र जनतालाई विश्वव्यापी महामारीबाट जोगाउने पहिलो जिम्मेवारी तपाईंकै हो । यदि आफ्नो अकर्मण्‍यतालाई मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्रीकै मथिङ्गलमा थोपर्ने सोच छ भने त मेरो भन्नु केही छैन ।


हरेक कुराको निर्णय गर्न मन्त्रिपरिषदकै बैठक र प्रधानमन्त्रीकै निर्देशन आवश्यक पर्ने हो भने तपाईं जनताको आँखामा छारो हाल्दै गर्नुस्, यो संकट पशुपतिनाथकै कृपाले रोकथाम हुनेछ । त्यतिले नपुगे नेपालीको मनोबल त सँधै उच्च छँदै छ नि ।


अन्तिममा, कामना गर्छु– नेपालमा कोरोनाको संक्रमण भित्रिए पनि तपाईंको परिवारजन र तपाईं सुरक्षित रहनुहोस् ।


श्री पशुपतिनाथले कोभिड–१९ को संक्रमणबाट सबै नेपालीको रक्षा गरून् ।


प्रकाशित : फाल्गुन ३०, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्

चितवन : सौराहा मात्रै होइन

विमल खतिवडा

चितवनमा घुम्ने ठाउँ भन्नेबित्तिकै प्रायः ले सम्झिने गन्तव्य हो सौराहा । यो स्थान देशकै लागि पनि मुख्य पर्यटकीय गन्तव्यमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित एकसिंगे गैंडा मुख्य आकर्षण हो । चितवनमा घुम्ने र रमाउने ठाउँ अरू पनि छन् । गाउँदेखि सहरी जनजीवनलाई यहाँ सजिलै देख्न सकिन्छ । त्यस्ता गन्तव्यमा पुग्दा समय बितेको पत्तो पाइँदैन । भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीका अनुसार संघीय सरकारले छनोट गरेको नेपालका १ सय गन्तव्यमा चितवनका सोमेश्वरगढी, बीस हजारी ताल र पटिहानी परेका छन् । स्थानीयस्तरबाट ६० वटा पर्यटकीय गन्तव्यको पहिचान गरिएको छ । यीमध्ये चितवनका ७ गन्तव्य :


इच्छाकामना
चिसो ठाउँ । घमाइला डाँडापाखा । इच्छाकामना मन्दिरबाट देखिने लस्करै हिमशृंखला । यस्ता दृश्यले सबैलाई लठ्याउँछ । इच्छाकामना गाउँपालिकामा पर्ने यो ठाउँ समुद्री सतहबाट १८ सय मिटरको उचाइमा छ । फागुन–चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रंगीन बनाउँछ । यो बेला घुम्न आउनेको जमात बाक्लो हुन्छ । जिप, मोटरसाइकल लिएर फिस्लिङबाट २ घण्टाको यात्रामा पुग्न सकिन्छ इच्छाकामना । सूर्योदयसँगै यो ठाउँबाट मनास्लु, माछापुच्छ्रे, गणेश हिमाल देखिन्छन् । मुग्लिनबाट पैदल हिँडेर करिब ५ घण्टामा पुगिन्छ यहाँ ।

लामो झरना
मुग्लिन बजारबाट नारायणगढतर्फ लागेपछि ७ किमि दूरी छिचोल्नसाथ पुग्ने ठाउँ हो जलवीरे । गर्मी मौसममा धेरैले यो ठाउँलाई गन्तव्य बनाउन बिर्संदैनन् । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने जलवीरेबाट करिब आधा घण्टा उकालो पैदल हिँडेपछि झरना पुगिन्छ । झरना छेउसम्म जिप, मोटरसाइकल सहजै पुग्छ । १०२ मिटर लामो झरनामा जो पुग्छ, घन्टौं भुल्छ । थकान मेटिएको अनुभूति गर्छ । गर्मी मौसममा अघिपछिभन्दा बढी भीड हुन्छ । पछिल्लो समय यहाँ फिल्म र म्युजिक भिडियो छायांकन गर्ने बढेका छन् । त्रिशूलीमा र्‍याफ्टिङ गर्न आउनेहरू यहाँ क्यानोनिङ गर्छन् ।

पटिहानी
भरतपुर महानगरपालिका–२२ मा रहेको पटिहानी सूर्योदय र सूर्यास्तको दृश्य नियाल्नका लागि आकर्षक गन्तव्य हो । यो क्षेत्रको पर्यटन विकास गर्न स्थानीय सक्रिय छन् । यहाँ बनाइएको ‘अम्रेला स्ट्रिट’ ले सबैको ध्यान तानेको छ । जहाँ ५ सय छाता राखिएको छ । नजिकै चितवन निकुञ्ज पर्छ । सीतामाई देवालय, कमलपोखरी यही क्षेत्रमा पर्छ । ठूला ३ वटा र साना २५ होटल छन् । होटल थपिरहेको छ । राप्ती किनारमा बसेर साँझबिहान रमाउँदै थारू र बोटे संस्कृति नियाल्न सकिन्छ । नदी किनारमा चरिरहेका हरिण, मृग र हिँडिरहेका गैंडाले ध्यान खिच्छ ।

उपरदाङगढी
चितवनको पुरानो सदरमुकाम हो उपरदाङगढी । पृथ्वीनारायण शाहका पनाति शत्रुभञ्जन शाहले किल्ला निर्माण गरी गढीको संरचना बनाएको मानिन्छ । यहाँबाट २०१४ सालमा सदरमुकाम भरतपुर सारिएको हो । सडकको पहुँच भएपछि यहाँ घुम्नेको भीड बढेको हो । पैदलै पुग्नेहरू पनि हुन्छन् । यहाँ एक रात बिताएर सूर्योदय नियाल्नुको छुट्टै मज्जा छ । वरिपरिका अग्ला पहाडले मन लोभ्याउँछ । ऐतिहासिक थलो भएकाले यहाँ पुराना पर्खाल, ढोकालगायत संरचनाको संरक्षण गरिएको छ । समुद्री सतहबाट १,२७५ मिटर उचाइमा रहेको यो गन्तव्य शक्तिखोरबाट करिब ५ किमि टाढा पर्छ ।

मेघौली
मेघौली भरतपुरबाट २५ किमिमा पर्दछ । यो चितवन राष्ट्रिय निकुञ्ज तथा दुई ठूला नदी राप्ती र नारायणी नदीले घेरिएको सुन्दर टापुका रूपमा रहेको छ । थारू, कुमाल र मुसहरको संस्कृति यहाँ हेर्न सकिन्छ । मेघौली सामुदायिक वनको साढे ५ सय बिघामा राइनो पार्क निर्माण थालिएको छ । यही ठाउँमा मेघौली विमानस्थल छ । यो ठाउँबाट सहजै गैंडा देख्न पाइन्छ । जल यात्राका लागि गोलाघाट उपयुक्त गन्तव्य हो । साँझपख राप्ती र नारायणीको संगमस्थल गोलाघाटमा सूर्यास्तको दृश्यले मनमोहक पार्छ । जंगल सफारी सुरु गरिएको क्षेत्र पनि मेघौली नै हो ।

सिराइचुली
पृथ्वी राजमार्गको हुग्दीबाट १४ किमि गाडी यात्रापछि सिराइचुलीको फेदी पुगिन्छ । समुद्री सतहबाट १,९४५ मिटर उचाइमा अवस्थित यो ठाउँ सूर्योदयको दृश्यावलोकनका लागि चर्चित छ । त्यसैले यहाँ एक रात बस्ने गरी जानु राम्रो हुन्छ । हात्तीबाङमा १० वटा होमस्टे छन् । यहाँबाट करिब ९० मिनेट पैदल हिँडाइमा सिराइचुलीको चुचुरो पुगिन्छ । सिराइचुलीबाट चेपाङ हिल देखिन्छ । जंगल र चराचुरुङ्गीको आवाजले मन प्रफुल्लित बनाउँछ । लालीगुराँस फुल्ने समयमा यहाँको जंगल सुन्दर देखिन्छ । ऐंसेलु र काफलको स्वाद लिन पाइन्छ ।

सोमेश्वरगढी
माडी नगरपालिका ५ स्थित सोमेश्वरगढी भरतपुरबाट ५० किमि दूरीमा पर्छ । नगरपालिकाको सक्रियतामा राष्ट्रियस्तरका मूर्तिकार जम्मा गरेर ५० बढी ढुंगामा विभिन्न देवदेवीका मूर्ति कुँदिएको छ । यो नेपाल र भारतको सीमा पनि हो, जहाँ सोमेश्वर कालिकाको मन्दिर छ । चैते दसैं र ठूलो दसैंमा मेला लाग्छ । साना गाडी र मोटरसाइकल सहज रूपमा गढीसम्म पुग्छन् । लुम्बिनीमा जस्तै यहाँ पुरातात्त्विक वस्तुहरू पाइन्छन् । मूर्ति स्थापनापछि यहाँ आन्तरिक पर्यटक बढेको हो । यहाँबाट माडी र भरतपुरलाई हेर्न सकिन्छ । समुद्री सतहबाट १३०० मिटरमा रहेको यहाँ पाल्पाका राजा मंगलसेनले गढी बनाएको भनिन्छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १५:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×