कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यमन्त्रीलाई खुलापत्र : बतासे तर्कले महामारी रोक्न सकिन्‍न

स्वरूप आचार्य

काठमाडौँ — माननीय स्वास्थ्यमन्त्रीज्यू,
तपाईंलाई अहिलेसम्म कोभिड–१९ को संक्रमण भएको छैन र भविष्यमा पनि हुँदैन होला भन्ने आशासहित यो पत्र लेख्दैछु ।

स्वास्थ्यमन्त्रीलाई खुलापत्र : बतासे तर्कले महामारी रोक्न सकिन्‍न

आफ्नो समाचारकक्षमा बसेर यो पत्र लेख्दै गर्दा मेरो पछाडि खुला रहेको टिभीमा सीएनएनका पत्रकारहरू कोरोनाकै महामारीबारे चर्चा गरिरहेका छन् । त्यो सबै सुनेर मन अझ बढी उद्वेलित भइरहेको छ ।

झन् क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडोकी श्रीमती सोफी, हलिउड अभिनेता टम ह्यांक्स जस्ता हस्तीहरूसमेत कोभिड–१९ को संक्रमणबाट जोगिन नसकेको सुनेसँगै मन झनै अत्तालिएको छ ।

मन्त्रीज्यू, तपाईं र तपाईं मातहतको संयन्त्र कोरोना भाइरसको महामारी रोकथामका लागि रणनीति बनाइरहेको भनेर हावा गफ गरिरहेका छन् । त्यो गफले सर्वसाधारणलाई त केही सान्त्वना दिन्छ पनि होला । तर, मुलुकको स्वास्थ्य अवस्थाबारे जानकारका लागि भने यस्तो बतासे गफको कुनै तुक छैन ।

यो पत्र लेख्दै गर्दा विश्वका १ सय २७ राष्ट्रमा कोभिड–१९ को भाइरस देखिएको तथ्यांक मेरो अगाडि छ । विश्वस्वास्थ्य संगठनले बुधबार मात्रै कोभिड–१९ को संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेको छ । डिसेम्बर अन्तिम सातादेखि चीनको हुबेइ प्रान्तको वुहानबाट फैलिएको यो भाइरस संक्रमणका कारण विश्वका ३९ राष्ट्रमा गरेर हालसम्म ४ हजार ९ सय ८३ जनाको ज्यान गइसकेको छ ।

नेपालको उत्तरी छिमेकीकहाँ शुरूमा देखिएको संक्रमण दक्षिणी छिमेकीकहाँ पनि फैलन शुरू भइसकेको छ । त्यहाँ कम्तिमा एकजनाको यसैका कारण मृत्यु भएको खबर शुक्रबार सार्वजनिक भएको छ । यति हुँदा पनि हामीले अहिल्यै आपत्कालीन तयारी गरेनौँ भने खुला सिमाले घेरिएका हामी नेपालीको स्थिति के होला, त्यो कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ ।

हिजो एकजना चिकित्सक मित्रले धेरै अध्ययन गरेर फेसबुकमा स्ट्याटस लेखे । उनले स्ट्याटसमा जे तर्क गरेका छन्, त्यो नै हाम्रो स्वास्थ्य पूर्वाधारको वास्तविक ऐना हो । म उनको कुरामा किन पनि सहमत छु भने उनी वास्तवमै अध्ययनशील व्यक्ति हुन् र उनले प्रस्तुत गरेको तर्क र तथ्यांकमा दम छ । त्यस तथ्यलाई तपाईंको बतासे तर्कले पाखा लगाउन मुस्किल पर्छ । काठमाडौँको विद्यमान स्वास्थ्य प्रणालीले कोरोना महामारीलाई थेग्न नसक्ने उनको तर्क छ ।

काठमाडौैं उपत्यकाको जनसंख्या ५० लाखभन्दा बढी छ भनिन्छ । यो जनसंख्याको १ प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण भयो भने ५० हजार नागरिक यसको चपेटामा पर्छन् । त्यो भनेको संक्रमित भएका ७ जनामध्ये एकजनालाई अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ । यो ‘जामा’ नामक मेडिकल जर्नलमा प्रकाशित भएको लेखमा आधारित अनुमान हो । यसरी अस्पताल भर्ना भएकामध्ये पनि ५ जनामा एकजनालाई आईसीयूकै आवश्यकता पर्छ । ‘लानसेट’मा प्रकाशित लेखमा यो कुरा उल्लेख छ । त्यसको मतलब हामीलाई थोरैमा पनि १ हजार आईसीयू शैयाको आवश्यकता पर्छ । बेडसँगै चिकित्सक, नर्स र अन्य आवश्यक उपचार सामग्री तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्ने सामग्री पनि चाहिन्छन् ।

अब कुरा गरौं, काठमाडौँमा भएका आईसीयूबारे । सम्पूर्ण सरकारी अस्पतालमा रहेका आईसीयू शैयाको हिसाब गर्ने हो भने धेरैमा १ सय ५० शैया होला, जुन हरेक दिन भरिभराउ नै हुने गर्छ । यदि भेन्टिलेटर सुविधासहितको नीजि अस्पतालको शैया संख्यालाई पनि जोड्ने हो भने त्यो संख्या धेरैमा ३ सयको हाराहारी होला । बरू त्यसभन्दा कमै होला, बढी अवश्य छैन ।

मेडिकल जर्नल ‘लानसेट’मा प्रकाशित लेखका अनुसार कोभिड–१९ को संक्रमण भएका बिरामीलाई औसतमा ७ दिनसम्म आईसीयूमा राख्नुपर्ने हुन्छ । त्यसको मतलब ८ सयभन्दा बढी बिरामीका लागि आईसीयू सेवा आवश्यक भए पनि उपलब्ध गराउन सम्भव नै छैन ।

नेपालभन्दा कयौँ गुणा विकसित देश इटालीको स्वास्थ्य क्षेत्र यो महामारीका कारण कसरी निरीह बनेको छ भन्ने उदाहरण नै माथिका सबै तर्कलाई पुष्टी गर्न काफी छ । महामारी फैलिएको केही दिनको अन्तरालमा नै इटालीमा १५ हजार १ सय १३ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पनि १ हजार २ सय ५८ नाघेको छ । त्यहाँ आईसीयू र भेन्टिलेटर नपुगेर विश्व समुदायसँग हारगुहार गर्नु परिरहेको छ ।

अर्को कुरा, संक्रमण फैलिएमा उपचारमा संलग्न हुने र अस्पतालमा कार्यरत रहने कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि के व्यवस्था गर्नुभएको छ ? ती सामग्रीहरूले कतिजना संक्रमितको उपचारलाई धान्न सक्छ ? के विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्ने गरी सबै अस्पतालमा आवश्यक सामग्रीहरू उपलव्ध छन् त ?

अब भन्नुस् मन्त्रीज्यू, कोरोना भइरसको महामारी नेपालमा फैलिएमा संक्रमितको उपचारका साथै नियन्त्रणका लागि कहिलेबाट गम्भीरतापूर्वक कदम चाल्ने ?

अहिलेसम्म अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रने डरले न संक्रमण फैलिएको देशबाट हवाई उडान नै बन्द गराउन पहल गर्नुभएको छ, न त विमानस्थलमा पर्याप्त ‘स्क्रिनिङ’कै व्यवस्था छ । जनताको आँखामा छारो हाल्न गरेको व्यवस्थालाई ठूलै पूर्वाधार खडा गरे जसरी बयान गर्नेबाहेक के काम भएका छन्, औँला भाँचेर भन्न सक्नुहुन्छ ? मन्त्रीज्यू, याद राख्नुस् महामारीले प्रवेश पायो भने हाम्रो देशमा रहेका कुनै पनि प्रयोगशालाले ‘स्याम्पल टेस्ट’ गरेर भ्याउँदैनन् ।

मन्त्रीज्यू, देश र जनतालाई आवश्यक परेका बेला नेतृत्व गरेर समस्याबाट पार लगाउन सक्ने व्यक्ति नै इतिहासमा खास नेताका रूपमा गनिन्छन् । यो तपाईंको नेतृत्व क्षमताको परीक्षणको घडी हो । देश र जनतालाई विश्वव्यापी महामारीबाट जोगाउने पहिलो जिम्मेवारी तपाईंकै हो । यदि आफ्नो अकर्मण्‍यतालाई मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्रीकै मथिङ्गलमा थोपर्ने सोच छ भने त मेरो भन्नु केही छैन ।

हरेक कुराको निर्णय गर्न मन्त्रिपरिषदकै बैठक र प्रधानमन्त्रीकै निर्देशन आवश्यक पर्ने हो भने तपाईं जनताको आँखामा छारो हाल्दै गर्नुस्, यो संकट पशुपतिनाथकै कृपाले रोकथाम हुनेछ । त्यतिले नपुगे नेपालीको मनोबल त सँधै उच्च छँदै छ नि ।

अन्तिममा, कामना गर्छु– नेपालमा कोरोनाको संक्रमण भित्रिए पनि तपाईंको परिवारजन र तपाईं सुरक्षित रहनुहोस् ।

श्री पशुपतिनाथले कोभिड–१९ को संक्रमणबाट सबै नेपालीको रक्षा गरून् ।


प्रकाशित : फाल्गुन ३०, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?