कोरोनाबाट बच्‍ने उपाय- विविधा - कान्तिपुर समाचार

कोरोनाबाट बच्‍ने उपाय

अरुणा उप्रेती

अहिले विश्वका विभिन्न देशले कोरोना भाइरस रोक्न ‘युद्धस्तरमा काम’ थालेका छन् । कोरोना भाइरसले विश्व अर्थव्यवस्था हल्लाएको छ । यस्तो लागिरहेछ, मानौं तेस्रो महायुद्ध भइरहेको छ र कोरोना भाइरस सबैको शत्रु हो । हामीले यही शत्रुलाई पराजित गर्नुपरेको छ । कोरोना भाइरस यति सूक्ष्म छ कि, एक मिलिमिटरको दस हजार भाग लगाउँदा एक भाग जति पनि यो छैन ।

तर यो जीवाणुले आकाश, धर्ती, समुद्रका अनेक रहस्य पत्ता लगाएको मानव मस्तिष्कलाई आच्छु–आच्छु पारिरहेको छ । यस्तो ‘खराब’ अवस्थामा कतिपय विज्ञ भन्छन्,‘यदि हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति छ भने यो जीवाणुसँग हाम्रो शरीर लड्न सक्छ ।’


हातमार्फत भाइरस सर्न सक्ने भएकाले पूर्वीय संस्कृति अनुसार हात मिलाउनुको सट्टा नमस्ते गर्ने चलन फेरि सुरु भएको छ । विभिन्न देशका नेताले एकअर्कोलाई भेट्दा हात नमिलाउनु, चुम्बन नगर्नु भनेका छन् । यसको विकल्पमा खुट्टा–खुट्टा वा कुइना–कुइना जोडेको दृश्य देखिन्छ । हेर्दा रमाइलो लाग्ने यी दृश्यले हाम्रो ‘नमस्ते’ संस्कृति विभिन्न रोगबाट बच्न बनाएको रहेछ भन्ने तथ्य उजागर गरेको छ । त्यसैगरी रोगसँग लड्नका लागि हाम्रा केही परम्परागत खानाले मद्दत गर्छ । तथ्यांकले कोरोना भाइरसको संक्रमितबाट पहिले नै विभिन्न किसिमका रोग लागिसकेका वृद्धहरू धेरै छन् भन्ने देखाउँछ । तथ्यांकमा संक्रमितमध्ये थोरै प्रतिशतको मात्र मृत्यु हुने देखिएको छ । केही वैज्ञानिक भन्छन्, ‘कोरोना भाइरसको कारणले असाध्यै आत्तिनुपर्ने स्थिति छैन ।’ रोगसँग लड्ने आन्तरिक शक्ति बलियो छ भने रुघाखोकी कम लाग्छ भन्ने सबैलाई थाहा छ । यही कुरा कोरोना भाइरसको सन्दर्भमा पनि लागू हुन्छ । रुघाखोकी लाग्ने बित्तिकै मृत्यु हुँदैन । तर रुघाखोकी जटिल भयो भनेमात्र मृत्यु हुने सम्भावना बढ्छ । पर्याप्त निद्रा, पौष्टिक भोजन, शारीरिक सक्रियताले रोगसँग लड्ने शक्ति बढाउँछ । त्यसैले यिनै कुरामा बढी ध्यान दिनुपर्छ । मैले बिहान कागतीको चियामा मरिच र अदुवाको धुलो मिसाएर बेसार पनि थप्न थालेको छु । चिया र चिनीको मात्रा दुवै मैले कम गरेको छु ।


खानपिनमा ख्याल नगर्दा रोगसँग लड्ने शक्ति कम हुन्छ । कोरोना भाइरसको संक्रमणको जोखिम रोगसँग लड्ने शक्ति कम हुनेलाई बेसी हुन्छ । रोगसँग लड्नका लागि भिटामिन ‘सी’ले मद्दत गर्छ । हरेक घरमा कागती, आलस, गोलभेँडा आदिको प्रयोग गर्दा पर्याप्त मात्रामा भिटामिन ‘सी’ प्राप्त हुन्छ । त्यसैगरी बजारमा सहजै पाइने अम्बा, अमला लगायतका फलफूलले पनि शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ । फलफूलका महँंगा बट्टाको रसले फाइदा गर्दैन । तराईतिर पाइने वनस्पतिले पनि शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ । चाकु, तिल, दही, खिचडी आदिले शरीरमा कम हेमोग्लोबिन (रगतको कमी) हुन दिँदैन । शरीरमा रगतको कमी हुँदा रोगसँग लड्ने शक्ति घट्छ । रोगसँग लड्न ‘प्रोटिन’ आवश्यक पर्छ । यसका लागि गेडागुडी, क्वाँटी, गहत, मास उपयुक्त हुन्छ । कालो मरिच, खुर्सानी, अदुवा, लसुन र प्याजले स्वाद र स्वास्थ्य दुवै दिन्छन् ।


गेलभेँडा र टिमुरको अचारसँगको भात, रोटी र ढिँंडोले खाना पचाउन र पेट सफा राख्न मद्दत गर्छ । पाचनतन्त्र स्वस्थ्य भए शरीरका अन्य अंग पनि स्वस्थ हुन्छ र रोगसँग लड्ने शक्ति बढ्छ । पुदिना, बाबरी, तुलसी, हरियो धनियाँ पनि स्वाद र स्वास्थ्य दिने साधन हुन् । बालबालिकालाई गुलियो र ‘चिसो’ पेय पदार्थ दिएर खुसी पार्ने बुबाआमाले यस्तो ‘मायालु तरिका’ नअपनाएकै वेश ।


घरमै बनाएको दही, मोही, कागती पानी र अदुवा हालेर बनाइएका शर्वत उत्तम पेय पदार्थ हुन् । यसले पैसा बचाउँछ । गर्मीका दिनमा चाहिने पानी पनि शरीरमा पुग्छ । खासै ध्यान नदिएका हाम्रा भान्छाका वस्तुको उचित उपयोग गरेर रोगसँग लड्ने शक्ति बढाउन सकिन्छ । सामान्य संक्रमण र विभिन्न किसिमका रुघाखोकीसँग लड्ने शक्ति पनि बढ्छ । यी तथ्य हाम्रा लागि नयाँ होइनन्, खाली बेवास्ता मात्र गरिएका हुन् । कोरोना भाइरससँग डराउने होइन, रोगसँग बच्ने उपाय खोज्नुपर्छ ।

प्रकाशित : फाल्गुन २४, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

मायाको नाममा मन खिस्रिक्क

अरुणा उप्रेती

पछिल्ला दुई महिनामा मलाई पाँच वटा निजी स्कुलका शिक्षकशिक्षिकाले बालपोषणबारे अभिभावकलाई कसरी बुझाउने भनेर छलफल गरिदिन आग्रह गर्नुभयो । शिक्षकशिक्षिकाले बालबालिकालाई स्कुलमै खाजा दिने कुरा सुनाउँदा म छक्क पनि परें र दुःखी पनि भएँ । 

मकवानपुरगढी गाउँपालिकाले उपलब्ध गराएको रकमले ज्वालादेवी प्राविका विद्यार्थी स्कुलमा खाजा खाँदै । तस्बिर : प्रताप/कान्तिपुर 

एउटा स्कुलकी शिक्षिकाले भन्नुभयो, ‘मेरो स्कुलमा ६ वर्षको एउटा बच्चा छ । उसले चपाउनै जान्दैन । उसलाई दालभात सबै मिसाएर पिसेर दिनुपर्छ । बच्चाका आमाबाबुले उसलाई ख्वाउन गाह्रो हुने भनेर सबै कुरा मिक्सरमा पिसेर खान दिने गर्दा रहेछन् । बच्चाको दाँतको पनि राम्रो विकास भएको छैन ।’ यो सुनेर मेरो मन खिस्रिक्क भयो ।
बिचरा बच्चाले आमाबाबुको ‘विषालु प्रेम’ को फल भोगिरहनुपरेको छ । मैले भनें, ‘बच्चाका मातापितालाई भनिदिनुस्, यसरी बच्चालाई सबै कुरा पिसेर दिइयो भने उसको दाँत बिग्रन्छ । उसको पाचनशक्ति पनि कमजोर हुन्छ । दाँतले चपाउँदा अनुहारका मांसपेशीहरू पनि बलिया हुन्छन् । चपाएर खान नजाने बच्चालाई शारीरिक–मानसिक
असर पर्छ ।’

अर्की शिक्षिकाले पनि भन्नुभयो, ‘मेरो पनि ४ वर्षको बच्चालाई सबै कुरा लेदो नै बनाएर दिनुपर्छ । भिडियोमा बालगीत र नृत्य नदेखाई खानै खाँदैन उसले । खुवाउन साह्रै गाह्रो छ ।’ यस्ता कुरा सुनेपछि मलाई लाग्यो, अभिभावकले मायाको नाममा बालबालिकालाई ‘अस्वस्थ’ बनाउँदै छन् ।

अहिले त बच्चा ६ महिना नहुँदै मोबाइल हेर्न थाल्छ । यसले बच्चालाई समस्या पर्छ भन्ने स्पष्ट नै छ । सहरमा मात्र होइन, गाउँघरमा पनि मोबाइल चलाउने बालबालिकाको जमात बढ्दो छ । ‘स्मार्ट मोबाइल’ अहिले ‘स्टाटस’ को प्रतीक भएको छ । यो ‘स्टाटस’ ले भविष्यमा पार्ने समस्याबारे, मोबाइल र फेसबुक लतबारे बल्ल केही छलफल सुरु भएको छ । तर प्रायः मातापिता के सोच्छन् भने, मेरो बच्चाले ४ वर्ष पुग्दासम्म मोबाइल चलाउन जानेन भने लाजमर्दो हुन्छ । यस्तो गलत विचारले बच्चाको मस्तिष्कमा विष भरिन्छ भन्ने कुरा बालरोग र मनोरोग विशेषज्ञहरूले भनिदिनुपर्छ । बच्चाले आमाबाबुले बोलेको, हाउभाउ गरेकोबाट धेरै कुरा सिक्छ । उसलाई मोबाइल मात्र दिँदा त्यो सिकाइबाट वञ्चित हुन्छ ।

कतिपय स्कुलमा गएर अभिभावकहरूसँग छलफल गर्दा मैले बच्चाले चिउरा र मकै चपाउन नसक्ने हुनाले दूधमा कर्न फ्लेक्स र मुसेली हालेर खान दिने गरेको कुरा पनि सुनें । यसबाट मैले बुझें, कर्न फ्लेक्स दिँदा बच्चालाई बढी पौष्टिक तत्त्व भएको खाना दिइएको भन्ने आमाबाबुले ठान्दा रहेछन् । कर्न फ्लेक्स मकैबाटै बन्छ भन्ने उनीहरूलाई ज्ञान रहेनछ । मकैमा बाहिरबाट रेसादार पदार्थ मिसाउनै पर्दैन, लौह तत्त्व पनि केही मात्रामा मकैमा हुन्छ । मकै, भटमास खाँदा र मोही पिउँदा पर्याप्त लौह तत्त्व पाइन्छ भन्ने जानकारी पनि नभएर मकै अपहेलित, तर कर्न फ्लेक्स राम्रो मानिन थालेको होला !

एक वर्षअघि सुदूर पश्चिम पुगेका बेला त्यहाँकी एक महिला स्वयंसेविकाले भनेको कुरा मलाई याद आउँछ । तिनले भनेकी थिइन्, ‘हामीलाई बालबालिकालाई पौष्टिक खाना पम्पकिनको खीर बनाउन सिकाउने मानिसहरू काठमाडौंबाट आए । हामी पनि खुसी नै भयौं, नयाँ कुरा सिकिन्छ भनेर । तालिम दिनेहरूले हामीलाई पौष्टिकताले भरिपूर्ण पम्पकिन देखाउँदा पो थाहा भयो, यो त हाम्रै बारीमा फल्ने फर्सी पो रहेछ !’

त्यसै गरी अर्की महिलाले भनेकी थिइन्, ‘बच्चालाई हामीले भात–खाजा दिँदा खानै मान्दैनन् । तर एक जनाले बाहिरबाट ल्याएको राइस फ्लेक्स दिँदा मजासँग खान्छन् ।’ यो सुनेर हाँसो उठे पनि मैले नहाँसिकनै भनेकी थिएँ, ‘राइस फ्लेक्स र च्युरामा उस्तै पौष्टिक तत्त्व हुन्छ । तपाईंले राइस फ्लेक्स नपाए च्युरा नै ख्वाए पनि हुन्छ ।’ उनी दंग परिन् । मलाई चाहिँ दुवै एउटै हुन् नभनेकामा नमज्जा लाग्यो ।

‘मोलासेस’ पौष्टिक खाना हो र यसमा पर्याप्त मात्रामा क्याल्सियम र लौह तत्त्व पाइन्छ भन्ने कुरा मैले अमेरिका जाँदा थाहा पाएँ । लौ त्यो वस्तु किनेर नेपालमा पनि लैजानुपर्‍यो भनेर एक परिचितलाई भनेँ । मोलासेस उनकै घरमा रहेछ । खाँदा थाहा भयो, यो त नेपालमा सजिलै पाइने ‘चाकु पो रहेछ । यसमा भएको पौष्टिकताका कारण नै माघे संक्रान्तिमा खाने चलन चलाएका रहेछन्, पुर्खाहरूले । सहरबजारका हाम्रा अभिभावकलाई ‘चाकु बालबालिकालाई दिने गर्नू’ भन्दा ‘त्यस्तो जाबो चाकुले पनि बालबालिकालाई के फाइदा गर्ला र’ पो भन्ने हुन् कि ?

बालबालिकालाई सहजै बनाउन र खुवाउन आमाबाबुले अलिकता ध्यान दिए पुग्छ । पैसा खर्च गरीगरी पत्रु खाना किनेर खवाउँदा एक दिनका लागि त सजिलो होला, तर बच्चालाई मधुमेह, उच्च रक्तचाप, मोटोपन भयो भने जीवनभर परिवारलाई नै दुःख हुन्छ । पत्रु खाना खुवाएर बच्चालाई एक छिन खुसी पार्नुभन्दा रैथाने खाना नै खुवाउनुपर्छ ।

प्रकाशित : पुस १५, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×