कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहुआयामिक आशावादी

धीरेन्द्र प्रेमर्षि

नाम भलै चतुर्भुज होओस् तर कामका हिसाबले उहाँ ‘चतुष्पाद’ हुनुहुन्थ्यो । चतुष्पाद किनभने उहाँको कलामा मुख्य भूमिका ‘पाद’ अर्थात् खुट्टाको हुने गर्थ्यो । सिर्जना र साधनाको संसारमा उहाँको प्रवेश नृत्यकारका रूपमा भएको थियो । उहाँमा नृत्यको जुन वैशिष्ट्य तथा छरितोपना देखिन्थ्यो त्यसले सहज एउटा प्रश्न जन्माउँथ्यो, साधारण मानिसले दुई खुट्टाका भरमा यस्तो नृत्य गर्न सक्छ ? यद्यपि आज नृत्य वा अन्य जुनसुकै विधाको उचाइ जहाँ पुगिसकेको छ, त्यहाँ प्रायः सबै पुराना धारणाहरूको भञ्जन भइरहेको छ ।

बहुआयामिक आशावादी

आजभन्दा ५–६ दशकअघि माथिका वाक्य अतिशयोक्ति लाग्दैनथ्यो होला । त्यसमा पनि लगभग सय किलोग्राम बढ्ता वजनको शरीरलाई नचाउन सक्ने खुट्टाका सन्दर्भमा यो जायज थियो । २०२३ सालतिर रूसमा यस्तो भीमकाय शरीरका साथ उहाँले घन्टौँ नाचेको देखेर मञ्चबाट सोझै अस्पताल लगेर परीक्षण गरिएको थियो । आखिर यति विशाल शरीरमा यस्तरी र यतिन्जेलसम्म नाच्न सक्ने ‘स्टामिना’ कहाँबाट आयो ? परीक्षणको क्रममा त्यस्तो अस्वाभाविक केही पाइएन । उहाँका हजुरबुबा सितारवादक हुनुहुन्थ्यो भन्ने थाहा पाएपछि रूसी चिकित्सकहरू यो वैशिष्ट्य वंशानुगत गुणका आधारमा प्राप्त भएको निर्क्योलमा पुगेको उहाँका जेठा छोरा प्रचण्ड पौडेल बताउँछन् ।


यो प्रसङ्ग हो, सांस्कृतिक अभियन्ता, नृत्यकार, निर्देशक र मैथिली नाटककार चतुर्भुज आशावादीको । संगीत, नृत्य–नाटक, अभिनय–निर्देशन र सांस्कृतिक अनुसन्धानमा उहाँको संलग्नता पाइन्थ्यो । यी सबै काम समाजप्रतिको दायित्वबोधका कारण स्वयंसेवी प्रकृतिका हुन्थे । त्यसैले परिवारको भरण–पोषणका निम्ति फाट्टफुट्ट व्यापार र जागिर गर्नुहुन्थ्यो । नामको पछिल्तिर आशावादी झुन्डेकाले निराशाका लागि ठाउँ थिएन । उहाँको जीवन सफल हुनुमा सकारात्मक सोचको प्रमुख हात थियो ।


मिथिला क्षेत्रमा फागु आनन्दको उत्सवको रूपमा मनाइन्छ र यस पर्वमा कुनै किसिमको बन्धन हुँदैन । जात, धर्म, समुदाय, लिङ्ग, अर्थ आदि कुनै कुराले यस उत्सवको आनन्दमा भाँजो हाल्दैन । समाजमा बिद्यमान छुवाछूत तथा जातीय विभेदजन्य कुरीतिहरूमा प्रहार गर्नका निम्ति अनेकौं अभियन्ताले यस पर्वलाई अझ फराकिलो ढङ्गले उपयोग गरेको इतिहास पाइन्छ । मैथिलीका प्रसिद्ध जनकवि वैद्यनाथ मिश्र यात्री (हिन्दीमा नागार्जुन) आफ्नो जीवनकालमा प्रायःजसो होली खेल्न डोम जातिको बस्तीमा पुग्थे । यसैगरी चतुर्भुज आशावादीले विराटनगरमा फागु पर्वलाई विशेष उत्सवको रूपमा मनाउने गर्नुहुन्थ्यो । साहित्य–कला क्षेत्र, नागरिक समाज र राजनीतिक क्षेत्रका व्यक्तित्वको सहभागिता यसमा हुन्थ्यो । उहाँको जन्म २००१ साल मंसिर १ गते र मृत्यु २०५९ साल साउन ४ गते भएको हो । तथापि चतुर्भुजको फागुप्रतिको प्रेमका कारण जन्म जयन्ती फागुनमा मनाइन्छ भन्ने जानकारी उहाँको पत्नी माया पौडेलले दिनुभयो । आशावादी उपनामले सकारात्मक सोचलाई दर्शाउथ्यो । जातपातको भावनाभन्दा माथि रहन सकियोस् भनेर उहाँले आफ्नो थरको ठाउँमा आशावादी लेख्नु भयो ।


नयाँ कलाकार खोज्ने र तिनलाई प्रशिक्षण दिनमा उहाँ सधैँ तत्पर हुनुहुन्थ्यो । र, जीवनको धेरै समय प्रतिभाको खोजीमा लाग्नुभयो । यसै क्रममा दलित समुदायका गरिब प्रतिभाहरूलाई घरमै राखेर सिकाउने गर्नुहुन्थ्यो । दलितलाई उहाँको भान्साकोठा मात्र नभई पूजा कोठासम्मै सहज प्रवेश हुन्थ्यो । परिवारको सदस्य बनेर उनीहरू सँगै बस्थे । यस्तो कार्य त्यसबेलाको समाजमा सहज थिएन । यसै कारण आफन्तहरू टाढिँदै गएका थिए । बाहुन भएर पनि पवित्र भइनस् भन्ने दोष उहाँलाई लाग्थ्यो । तर उहाँले यसको पर्वाह गर्नुहुन्नथ्यो । जातीय भेदभाव उहाँबाट कहिल्यै भएन ।


उहाँसँग चिनजान भएको धेरै समयसम्म पनि उहाँ पहाडी हो कि मधेशी भन्ने मैले थाहा पाउनसकेको थिइनँ । यस अर्थमा उहाँ समुदायगत रूपमा पनि निरपेक्ष हुनुहुन्थ्यो । तत्कालीन समयमा अन्तर्राष्ट्रिय मैथिली नाटक सम्मेलन उहाँले सात पटकसम्म गर्नुभयो । अन्तर्राष्ट्रिय मैथिली नाटक सम्मेलनको तयारीमा लागिरहेकै बेला उहाँले संसार छोड्नुपर्‍यो । उहाँको कामकाजमा धेरथोर मेरो पनि सहयोग र संलग्नता थियो । चतुर्भुजमा हरेकजसो विधामा दक्ष भए पनि लेखाइको काममा झिँझो मान्नुहुन्थ्यो । त्यसैले केही लेख्नुपर्‍यो भने मलाई डाक्नुहुन्थ्यो ।


२०४९ सालतिर मेरो मैथिली कवि–लेखकको परिचय बनिसकेको थियो । जोशैजोशमा मैले ‘पल्लव’ पत्रिकाको सुरुआत गरेको थिएँ । पल्लवले २४ अंकसम्मको यात्रा गर्‍यो । यसले मलाई मैथिली साहित्य र साहित्यकारमाझ भिजायो । चतुर्भुजकै संगतमा मैले नेपालका परम्परागत संगीत र नृत्यबारे केही बुझ्ने अवसर पाएको थिएँ । सल्लाह लिनुपर्दा आँखा अगाडि चतुर्भुजको छवि आज पनि नाच्न थाल्छ । चतुर्भुज बित्नुभएको १७ वर्ष भइसक्यो । उहाँलाई मैथिली लोककला र समुदायले अझै सम्झिरहेका छ ।

प्रकाशित : फाल्गुन २४, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?