कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

समाजवादलाई लागेको घाउ

रमेश के.सी.

हिजो सत्य लागेका कुरा आज कम सत्य र असत्य लाग्न थालेको छ । बिसौं शताब्दीमा आधा विश्व प्रभाव पारेको समाजवादी चिन्तन आज प्रश्नको घेरामा छ । एक्काइसौं शताब्दीमा समाजवाद के हो ? यसले मानव समस्या समाधान गर्न सक्छ ? जस्ता प्रश्नहरू आज उठ्न थालेका छन् । विश्वमै प्रभावशाली विचारको आज विस्तारै रङ्ग खुइलिँदै गएको छ । 

विशेष गरेर ल्याटिन अमेरिका जहाँ समाजवादीहरूको गहिरो पकड थियो, त्यो विलिन हुँदै गइरहेको छ । यसै सन्दर्भको अलजजिरामा प्रसारित ‘ल्याटिन अमेरिका ः आ–जायन्ट इन टर्मोइल’ वृत्तचित्रले उठाएका प्रश्नहरू नेपाली समाजमा पनि सान्दर्भिक छन् ।


समाजवाद उन्मुख संविधान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टीको निर्वाचित दुई तिहाइको सरकार छ । सन् १९५९ मा सम्पन्न क्युबाली क्रान्ति फिडेल क्याष्ट्रोको नेतृत्वमा सम्पन्न भएको थियो । यसै क्रान्तिले सम्पूर्ण भूभागलाई समाजवादतर्फ आकर्षित गरेको थियो, जसलाई वामपन्थी ‘आइकन’ चेग्वे भाराले साथ दिएका थिए । क्याष्ट्रो मूलतः अमेरिकी साम्राज्यवाद विरोधी राष्ट्रवादी थिए । पछि मार्क्सवादी–लेनिनवादी कम्युनिष्ट भए ।


अमेरिकी समर्थित वाटिष्टाको सरकारलाई सत्ताच्युत गरी गुरिल्ला युद्धमार्फत सत्तासीन चे जीवनकालभरि क्युबाका नेता भए । ल्याटिन अमेरिकामा अमेरिकी साम्राज्यवाद विरोधी लहरको क्रममा भनेजुएला, बोलिभिया, पाराग्वे र चिली लगायत राष्ट्रहरू कुनै न कुनै कालखण्डमा समाजवादी शासन प्रणालीबाट गुज्रिसकेका छन् । तर आज पुँजीवादको विरुद्ध ल्याटिन अमेरिकामा कुनै दह्रो आवाज छैन । जताततै दक्षिणपन्थी लोकप्रियतावादी शासकहरू छन् ।

भेनेजुएलामा संकट छ । निकोलस मडुरो विरुद्ध अमेरिका समर्थित अर्को सरकार प्रमुख छन् । बोलिभियामा इभो मोरालेसको समाजवादी शासन समाप्त भयो । अन्ततोगत्वा उनी अर्जेन्टिनामा शरण लिन पुगे । ब्राजिलमा बोल्सेनोराको दक्षिणपन्थी शासन छ । कुनै समय लुला डि सिल्भाको लोकप्रिय वामपन्थी सरकार भएको ब्राजिल अहिले संसारकै प्रमुख लोकप्रियतावादी राष्ट्रमा पर्छ ।


समाजवादको विघटन बिसौं शताब्दीको प्रमुख घटना हो । साम्यवादमा सबै अन्तरविरोधहरूको हल हुन्छ भन्ने यो दर्शन पराजित हुनुमा यो गैरप्रजातान्त्रिक हुनु नै हो । हुन त सन् १९४० मा भियनाका दार्शनिक कार्ल पोपरले ‘खुला समाज र यसका शत्रुहरू’ पुस्तकमा साम्यवादी चिन्तन जगैदेखि अधिनायकवादी भएको आरोप लगाएका थिए ।


सन् १९९० मा युरोपेली समाजवादको अन्त्य भए पनि ल्याटिन अमेरिकामा उनीहरू निर्वाचनमार्फत सत्तामा टिकिनै रहेका थिए । एक्काइसौं शताब्दीको दोस्रो दशकमा आइपुग्दा उनीहरू कमजोर बने ।


समाजवादी चिन्तनको स्रोत खोज्दै जाँदा १६ औं शताब्दीका दार्शनिक थोमस मुरको ‘युटोपिया’सम्म पुग्नुपर्ने हुन्छ । यो भूस्वर्ग इसाई धार्मिक चिन्तनसँग पनि जोडिएको छ । तर त्यस्तो ‘युटोपिया’ हासिल गर्न कुनै पनि राष्ट्र सफल भएन । ७० वर्षको राजनीतिक प्रयोगपछि सोभियत जनता सन् १९९० मा रोटीका लागि लाइनमा बस्नुपर्‍यो ।


त्यसपछिको पुँजीवादी प्र्रजातन्त्र र खुल्ला बजारको विस्तारले मानव समस्या समाधान गर्न सकेन । अहिले चुनावमार्फत निर्वाचित तर गैरप्रजातान्त्रिक लोकप्रियतावादीहरू हावी छन् । अमेरिकाका डोनाल्ड ट्रम्प, रूसका भ्लादिमिर पुटिन, ब्राजिलका बोल्सेनारो र भारतका नरेन्द्र मोदी यस्ता उदाहरण हुन् जसले नवउदारवादको असफलतालाई देखाउँछ ।


संसारका अधिकांश जनता राजनीतिक चिन्तनको स्वप्न लोकभन्दा दैनिक समस्या समाधान गर्न चाहन्छन् । ल्याटिन अमेरिकी समाजवादको असफलताबाट वर्तमान नेपाली राजनीतिले पनि सिक्नुपर्छ । संविधानमा समाजवाद उन्मुख भनिए पनि कस्तो समाजवाद र कसरी प्राप्त गर्ने भन्ने स्पष्ट छैन । संविधान निर्माण गर्दा वामपन्थीहरूको पहुँच बढेकोले यो उल्लेख गरिएको हो ।


अलजजिराको वृत्तचित्रमा बोलिभियाका तत्कालीन राष्ट्रपति मोरालेसले समाजवादको सफलताका लागि आफ्नो मुलुकबाट अमेरिकी राजदूतलाई निष्काशन गर्नुपर्छ भनेका छन् । तर त्यो सम्भव छ ? वर्तमान विश्वको जिउँदोजाग्दो यथार्थ भनेको पुँजीवाद नै हो । कस्तो पुँजीवाद भन्ने विषयमा विवाद हुनसक्छ ।


सोभियत पतनपछिको पछिल्लो समय अपवाद बाहेक कम्युनिस्टले चुनाव जितेनन् । यसरी पराजित हुँदै गएको समाजवादी चिन्तनको पुनर्परिभाषा गर्नुपर्छ । नत्र आजको जटिल ‘टेक्नो–कल्चर’ले गाँजेको विश्वमा समाजवाद सम्भव छैन ।


नेपालमा साम्यवादीहरूको सरकार भए पनि यो मूलतः लोकप्रियतावादी दक्षिणपन्थी चरित्रको सरकार हो । समाजवाद यसको देखाउने दाँत हो । चीनलाई रूपान्तर गर्ने देङ सियाओ पिङले भनेका थिए कि बिरालो कालो होस् वा सेतो मुख्य कुरा मुसा समात्नु हो ।


वर्तमान नेकपाको ओली सरकारका सञ्चालकहरूले बुहदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादमा विवाद गर्ने गरेको पाइन्छ । जुन जनवाद भने पनि त्यो बिरालोले मुसा समात्नुपर्‍यो । तर सरकार पुँजीवादको घेरामा छ । जनताका सामान्य समस्या हल गर्न असफल छ ।


साम्यवादीहरूले निर्वाचनमार्फत पाएको यस्तो अवसर गुम्ने सम्भावना छ । नेकपाका नेताहरूले ल्याटिन अमेरिका हेरे पुग्छ । बाटो लोकप्रियतावादी हुँदै गैरप्रजातान्त्रिक हुनेतर्फ नै तेर्सिन्छ ।


आजको विश्वमा समाजवादको कुरा गर्नु गरिबका लागि आकर्षणको विषय हुनसक्ला । तर यसले सही परिणाम ल्याउन सक्दैन । जनताका आधारभूत आवश्यकता पूरा गर्ने विचार हो । जुन जहाँबाट, जुन प्रयोगबाट सम्भव हुन्छ, त्यहींबाट लिनुपर्छ । समाजवादको साँघुरो घेराबाट सम्भव छ्रैन । हामी चीन, सिङ्गापुर, रुवान्डा, जापान र भूटानबाट पनि सिक्न सक्छौं । वादको आग्रह राखेर आज कुनै पनि शासन सञ्चालन नै हुन सक्दैन । आज विश्व उत्तरविचारधाराको युगबाट गुज्रिरहेको छ । व्यवहारवाद जस्तो कि चीनले गरेर देखायो, त्यस्तै नेपाली मौलिक परिवेश र भूगोलमा गर्न सक्छौं । नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा सुदूर लक्ष्यको रूपमा साम्यवादलाई राखेको छ । जुन असम्भव हो । जनताको दैनिक जीवनमा आउने समस्या समाधान गर्न नसक्ने गरिब राष्ट्रको सरकारले कसरी साम्यवाद ल्याउँछ ?

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?