कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समान भएर हेरौं 

सुशीला शर्मा

गतवर्ष जुन महिनामा भारतको धर्मशालास्थित जगोरी तालिम केन्द्रमा प्रसिद्ध नारीवादी अभियन्ता श्री कमला भासिनको प्रशिक्षणमा नारीवादबारे केही सिक्ने मौका मिल्यो । भासिनले नारी र पुरुषबीच एसिया तथा संसारमै रहिरहेका असमानताका खाडलहरूलाई उजागर गरेर महिला र पुरुषबीच न्यायिक संसार बनाउनुपर्छ भन्ने मूल आशयका साथ महिलाहरूलाई यस आन्दोलनमा सामेल गराइरहनुभएको छ । महिला र पुरुषबीच समानता नभई शासकहरूले भन्ने गरेको समृद्ध समाजको नारा कहिले पूरा होला ?

हरेक समाजको मूल्य–मान्यता, धर्म, विश्वास फरक–फरक हुन्छन् । कतिपय शब्द र व्यवहार अनि सोच हाम्रो मस्तिष्कमा जोडिइ नै सक्यो कि हामी ती चिजहरूलाई पछाडि फर्केर हेर्न नै चाहँदैनौं । प्रकृतिमा विविधता छ, तर प्रकृतिकै बीच भेदभावचाहिँ छैन । तर समाजले समाजकै अन्य समुदाय या व्यक्ति–व्यक्तिबीच भेदभाव गराइदिन्छ । यदि समाज र प्रकृतिलाई अलग–अलग गरेर हेर्‍यो भने समाजले असमानतालाई प्रकृतीकरण गरेको र प्रकृतिले विविधतालाई पनि एकीकृत गरेको देख्न सकिन्छ ।


लैङ्गिकताबारे सोच्न सुरु गर्ने हो भने हामीले यी सवालबारे जवाफ दिनुपर्ने हुन्छ । बाल्यकालमा तपाईंको परिवारमा लैङ्गिकता के थियो र अहिले के छ ? महिला हुनु र पुरुष हुनुले तपाईंको जीवन र भोगाइलाई कति फरक पारेको छ ? हामीले कहिल्यै असमानताको, विभेदको इतिहासको, यथार्थको लडाइँको, विजयको बारेमा गहिराइमा पुगेर सोचेका छौं ? यी ज्ञानले हामीलाई आफ्नो धारणा मजबुत बनाउन या निर्माण गर्न पनि मद्दत पुग्छ । लैङ्गिकताभित्र मानव इतिहास, व्यक्तिगत सम्पत्ति, उद्योगधन्दा विकासका प्रसंग आउँछन् । विश्व साम्राज्य, पितृसत्ता र पुरुषत्व अनि पुँजीवाद र असमानताका कुरा पनि आउँछन् । पितृसत्ताभन्दा पुरुष अस्तित्वकै विरुद्धको अवधारणा ठानेर समाज भाँडेको, नैतिकता हराउँदै गएका महिलाहरू भन्ने भान पनि एकपक्षलाई पर्न सक्छ । प्रकृति प्रदत्त दुई प्राणी महिला र पुरुषमा एकथरी शक्तिमा हावी भएर पितृसत्ता निर्माण हुनपुग्यो र यो व्यवस्था झन्डै ४ हजार वर्ष पहिलेदेखि नै सञ्चालित छ भन्ने यथार्थलाई हाम्रो मनमस्तिष्कले स्वीकार्न मुस्किल छ ।


लैङ्गिकताले केवल महिलासंँग मात्र सम्बन्ध राख्दैन । नारीत्वको अस्तित्व नै पुरुषत्वको साथमा हुन्छ । यसमा एउटा विशेषणको छवि या शक्तिलाई अर्को विशेषणले तय गरिराखेको हुन्छ । महिलालाई कमजोर त्यतिबेला सम्झिइन्छ, जतिबेला पुरुषलाई बलवान या शक्तिशाली सम्झिइन्छ । महिला त्यतिबेला अधीनस्थ हुन्छन्, जतिबेला पुरुषलाई शासन गर्न सिकाइएको हुन्छ । धेरै वर्षदेखि महिला हिंसाको मुद्दालाई महिला संगठनले आवाज उठाउँदै आएका छन् । मानौं कि यसमा पुरुषको केही लिनुदिनु छैन । यो अवस्थालाई परिवर्तन गर्नु जरुरी छ । पुरुषहरूले पनि यस मुद्दाका लागि अगाडि आउनुपर्छ । पुरुषले पनि नारीवादी संघर्षमा भाग लिएर यस सामाजिक मुद्दामा सरिक हुनुपर्छ ।

हामी त्यस्तो पितृसत्तात्मक समाजमा छौं, जहाँ पुरुषले पनि पीडा तथा अन्यायहरू सहनु परिराखेको छ । पुरुषलाई भावनात्मक हुन, कमलो मन हुन, आफ्नो कमजोरी देखाउन, डर देखाउन या स्वीकार गर्न यस समाजले रोकिराखेको हुन्छ । उनीहरूलाई हमेसा परिवारको रक्षक, जवान, पालन–पोषणकर्ताको भूमिकामा रहन दबाब परिराखेको हुन्छ । धेरै पुरुषहरू शासकीय या शक्तिशाली पुरुषत्वको कथित मान्यताको मापदण्डमा पुग्न सक्दैनन्, यदि उनीहरू आक्रामक हुन सकेनन् भने । त्यस्तो अवस्थामा उनीहरूको खिल्ली उडाइन्छ, नारी, महिला, आइमाईजस्ता उपमा दिएर । सोझो, विनम्र केटाहरूलाई अन्य बलिया, दादा भनिएका पुरुषहरूले हिंसा गर्न पछि पर्दैनन् । पुरुषत्वलाई उनीहरूको यौनशक्तिसँंग पनि जोडेर हेरिने हुनाले कतिपय पुरुष आफूलाई यो मामिलामा असुरक्षित महसुस गर्छन् र चिन्ताको सिकार भइरहेका हुन्छन् । यस्ता मुद्दामा संवेदनशील भएर चर्चा गर्न जरुरी हुन्छ । विश्व महिला आन्दोलनको अर्थ पितृसत्ताको ठाउँमा मातृसत्ता स्थापना गर्नु होइन । यस महिला आन्दोलनको माग हो—समानता, विकास र शान्ति ।

जसरी पितृसत्ताले महिलामाथि के कस्ता अन्याय गर्छ भन्ने बुझ्नु जरुरी छ, त्यसैगरी पुरुषहरूको मस्तिष्क, सोच, मानसिकतामा पनि शताब्दियौंदेखि अभ्यासमा रहेको यस विचारधाराले के असर गरिरहेको छ भन्ने बुझ्नु त्यतिकै जरुरी छ । यदि हामी साँच्चै दिगो विकास चाहन्छौं भने पुरुष र पुरुषत्व तथा स्त्री या स्त्रीत्वको वास्तविकतालाई बुझ्नुपर्छ । महिलाहरू तथा पुरुषहरूबीच मित्रवत् र बराबरी भूमिकाको भावना विकसित गर्नुपर्ने हुन्छ । जसले महिला, पुरुष, बालबालिकाको लागि अझ सुन्दर समाज बनोस् । यस आन्दोलनको अगुवाइ महिलाले नै गर्नुपरे महिला तयार छन्, तर बढीभन्दा बढी पुरुषहरू यस समानताको लडाइँमा सरिक हुनु पर्नेछ ।

नारीवाद अनुसार स्त्रीको बारेमा अहिलेसम्मको परिभाषित गर्ने अधिकार पुरुषले लिएका छन् । जति पनि समाज र सामाजिक सिद्धान्तहरू बने, त्यसका सिद्धान्तकारहरू अधिकांश पुरुषहरू नै थिए । उनीहरूले आफू अनुसार नारीलाई परिभाषित गरेका छन् । संस्कृतिभित्र रहेको हिंसाजन्य अभ्यासहरूलाई अझै पनि हाम्रो समाजले हिंसा मान्न सकिरहेको छैन । यो सत्य हो कि सबै पुरुषहरू पीडक हुँदैनन् । केही पुरुष महिला हिंसा अन्त्यका लागि लागिरहेका पनि छन् । अध्ययन अनुसार जो पुरुष आफैंले हिंसा बेहोरेको छ, ऊ अरु पुरुष या महिलाप्रति हिंसा गर्न उद्दत हुने गर्छ । त्यसैले नारीवादको अवधारणाले विद्यमान पितृसत्तात्मक सामाजिक ढाँचालाई बदल्ने कोसिस गर्छ । समाजमा महिलालाई पनि पुरुष जत्तिकै समान सामाजिक तथा राजनीतिक हक हुनुपर्ने मान्यताको वकालत गर्छ । नारीवादी हुन विद्रोही नारीमात्र हुनुपर्छ भन्ने छैन, यहाँ महिला–पुरुष मानव बराबर हुन् र यी दुबैको यो धर्तीमा समान अस्तित्व छ भन्ने कुरालाई स्वीकार गर्ने जोकोही पनि नारीवादी हुन सक्छन् ।

प्रकाशित : माघ १८, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?