विज्ञानको सहज सिकाइ

मधु राई

‘रातो बत्ती भन्छ– रोक्, रोक्, रोक्

ZenTravel

पहेंलो बत्ती भन्छ– पर्ख, पर्ख, पर्ख
हरियो बत्ती भन्छ– जाऊ, तिमी जाऊ ।’

Meroghar


युकेजीका विद्यार्थीलाई सडक बत्तीबारे पढाउँदा म पहिले नेपालीमा अभिनय गर्दै उक्त गीत गाउन सिकाउँछु । यसरी गीत गाउन सिकेपछि बल्ल अंग्रेजी शब्द राखी उही लयमा गीत गाउन सिकाउँछु । यस्तो अभ्यासले उनीहरूले सहजै शब्द उच्चारण गर्न सिक्छन् भने विषय–वस्तु बुझाउन पनि सहज हुन्छ । यसरी सिकाउँदा विद्यार्थी थप सिक्न उत्साहित हुन्छन्, शिक्षण सिकाइ प्रभावकारी र जीवन्त हुन्छ ।

पूर्व प्राविका विद्यार्थीलाई यसै पनि अंग्रेजी भाषाका नयाँ–नयाँ शब्द सिकाउन र त्यसको अर्थ बुझाउन गाह्रो हुन्छ । विज्ञान शिक्षकले विद्यार्थीको उमेर र रुचिलाई ध्यानमा राखी यस्तो शिक्षणविधि अपनाउने हो भने विज्ञानप्रति उनीहरूको सिक्ने अभिरुचि बढ्दै जान्छ । माथिल्ला कक्षामा पनि शिक्षकहरूले माथिको विधि अपनाई शिक्षण सिकाइ गर्ने हो भने विद्यार्थीमा घोकेर होइन, बुझेर पढ्ने बानीको विकास गराउन सकिन्छ ।

विज्ञान सिकाइलाई प्रभावकारी, रमाइलो र जीवन्त बनाउने अभिभारा शिक्षककै हो । तर अपसोच, बहुसंख्यक शिक्षकलाई शिक्षण सिकाइ प्रभावकारी र जीवन्त बनाउनेभन्दा पनि ‘कोर्स’ सक्नै हतारो हुन्छ, उनीहरू व्यावहारिक कक्षाबारे कल्पनै गर्दैनन् । विज्ञान विषयको सैद्धान्तिक ज्ञान, व्यावहारिक ज्ञानबिना अपुरो र अधुरो नै हुन्छ ।

विज्ञानका अधिकांश शिक्षकले आफ्ना शिक्षकबाट जसरी हतारोमा सिके, त्यसरी नै विद्यार्थीलाई हतारोमै ‘कोर्स’ पूरा गराउन सैद्धान्तिक शिक्षामात्रै बाँडिरहेका छन् । यस्ता शिक्षकले विद्यार्थीमा आफूले पाएको सूचना र जानकारीमात्र हस्तानान्तरण गरिरहेको अनुसन्धानले देखाएको छ । हिजो आफू विद्यार्थी छँदा किन र केका लागि विज्ञान पढेँ भन्ने आधारभूत कुरा थाहा नपाएका यस्ता शिक्षकले आज आफ्ना विद्यार्थीले किन विज्ञान पढ्ने भन्नेबारे बुझाउन सकेको देखिँंदैन । यसैकारण विज्ञान विषय बहुुसंख्यक विद्यार्थीका लागि हाउगुजी बनेको छ ।

विज्ञान विषयलाई हाउगुजी बनाउने पहिलो काम शिक्षकले गर्दै आएका छन् । आफूले पाएको ज्ञानलाई जीवन र जगतसँग जोड्न बिर्सेका कतिपय शिक्षकले आफ्नो विषयभन्दा फरक र भिन्न विषय र कार्यक्रमहरूमा बढी ऊर्जा र समय खर्चने गरेको देखिन्छ । यसमा विज्ञान मात्र होइन, फरक विषय लिएर उच्चशिक्षा हासिल गरेका प्रधानाध्यापक र प्राचार्य लगायत व्यवस्थापन पक्ष पनि दोषी छन् । विज्ञान विषय पढाउने शिक्षकलाई जीवन्त र प्रभावकारी शिक्षण सिकाइका लागि विद्यालय व्यवस्थापनले सोही अनुरुपको शैक्षिक सामग्री जुटाइदिनुपर्ने हुन्छ, विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान दिनका लागि । जस्तो—वनस्पतिबारे पढाउँदा विद्याथीलाई बोटबिरुवा देखाउँदै, छुवाउँदै पढाउनुपर्ने हुन्छ ।

वनस्पति विज्ञान पूर्वप्रावि तथा प्रावि तहमा पढ्ने विद्यार्थीका लागि बोटबिरुवा सबैभन्दा उत्कृष्ट र जीवन्त शैक्षिक सामग्री हुन् । यसो गर्नाले बोटबिरुवाको जीवनचक्रबारे बुझ्न र बुझाउन उनीहरूलाई थप मद्दत पुग्छ । विद्यालय परिसरमा भएको बगैंचा वा करेसाबारी अवलोकन गर्दै विउबाट कसरी बिरुवा निस्कन्छ भन्ने थाहा पाउँदा विद्यार्थी पक्कै उत्साहित हुन्छन् । उनीहरू स्वयम्लाई विउ रोप्न लगाई बिरुवा स्याहार्ने परियोजना काम दिने हो भने उनीहरूमा बोटबिरुवाप्रतिको कौतुहल बढ्दै जान्छ । आफैले विउ रोपी उम्रेका बिरुवा ठूलो भएर त्यसमा तरकारी र फलफूलको चिचिला लागेको देख्दाको क्षण विद्यार्थीका लागि पक्कै पनि अविस्मरणीय र रमाइलो हुन्छ ।

विज्ञानलाई विकसित मुलुकहरूले विकास र समृद्धिको मुख्य आधार बनाउँदै आएको वर्षौं बितिसक्दा पनि हामीकहाँ सैद्धान्तिक शिक्षाको निष्क्रिय शिक्षण सिकाइले न त शिक्षकलाई अध्ययन–अनुसन्धान गर्न प्रेरित गर्‍यो, न विद्यार्थीमा विज्ञान विषयले कौतुहलता नै जगाउन सक्यो । आफ्ना विद्यार्थीलाई वैज्ञानिक बन्नुपर्छ भनेर अभिप्रेरणा दिने पहिलो गुरु भनेकै शिक्षक हो । यस्ता गुरुकै अभावमा अहिले वैज्ञानिक बन्न सक्ने हाम्रा कतिपय शिक्षित युवा कोही पलायन भएका छन् भने कोही जागिरे जीवन बिताउन बाध्य छन् ।

विज्ञानलाई प्राविधिक विषय मान्नुको सट्टा मानव उद्यम र मानवीय भावनाहरूको उत्कृष्ट अभिव्यक्ति मान्नुपर्छ भन्ने भारतका आधुनिक विज्ञानका प्रोफेसर भीभी रमणको भनाइ छ । त्यसैले विज्ञानका शिक्षकहरूले पनि यस्तो दृष्टिकोण अपनाई आधुनिक विज्ञानलाई कसरी जीवन र जगतसँग जोड्न सकिन्छ भनी चिन्तन गर्नुपर्छ ।

प्रकाशित : माघ ४, २०७६ ०८:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

असामान्य समय

लोकरञ्जन पराजुली

अहिले संसारभर जे भइरहेको छ, अचम्म भइरहेको छ । यी घटनावली दिनदिनै र जताततै भएकाले हामी कतिपयलाई सामान्य नै जस्तो लाग्दो हो । तर अलि ठन्डा दिमागले, अलि निरपेक्ष भावले सोच्ने हो भने खासमा अहिले जताततै अनौठै र उल्कै भैरहेको छ । हामीले पढिआएका पुस्तक, हाम्रा संग्रहित ज्ञान, हाम्रो समाज विज्ञानले अहिले जे भैरहेको छ, त्यसलाई व्याख्या गर्न, बुझाउनसकेका छैनन् । तिनले तर्कहरूलाई धुलो चटाइदिएका छन् । 

यो आलेख अहिले हामीले जिइरहेको समय— जसलाई मैले असामान्य समय भनेको छु— बुझ्ने र अर्थ लगाउने मेरो एउटा सानो प्रयत्न हो । समय असामान्य भएका कारण सामान्य समयका सामाजिक–राजनीतिक सिद्धान्तहरूले काम गरिरहेका छैनन् । हामी सबैजसोले आफूलाई पीडित (भिक्टिम) को रूपमा देखिरहेकाले हामी रातोदिन आवेग, उत्तेजना र क्रोधमा छौं, जुन असामान्य हो । हामी उत्तेजनामा हुँदा त्यसले के गर्दो रहेछ र हाम्रो आक्रोशलाई कसरी नयाँ दुई परिस्थिति— पीसी कल्चर र (अ)सामाजिक मिडिया—ले थप मलजल गरेका छन् भनेर यो आलेखमा मैले चर्चा गरेको छु ।

किन असामान्य समय ?
हामी सिधा हिसाबले कुनै मुद्दा या विषयसँग जोडिन्छौं, हामीले निरपेक्ष हिसाबले त्यसलाई पर्गेल्ने क्षमता गुमाउँछौं । कि त भौगोलिक कि त समयको हिसाबले दूरी बनाउँदा हामीले अलि राम्ररी देख्न–बुझ्न सक्छौं र हाम्रो विश्लेषण गहन हुन्छ जस्तो मलाई लाग्छ । त्यसैले कुरा अलि टाढैको मुलुक संयुक्त राज्य अमेरिकाबाट सुरु गरौं । अमेरिकामा सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा अर्धश्वेत बाराक ओबामा विजयी भए । अमेरिका जस्तो पुरातनपन्थी–बहुल मुलुकमा उनको चयनलाई प्रगतिशीलताको विजयको रूपमा हेरियो । उनी अर्कोपटक पनि चुनिए । ओहो, साँच्चै जमाना फेरिएछ, समयले ठूलै फड्को मारेछ भनियो ।

तर उनी लगत्तै अमेरिकामा यस्तो व्यक्ति निर्वाचित भए (हुन त उनले आफ्नो प्रतिद्वन्द्वीभन्दा करिब ३० लाख कम मत पाएका हुन्) जो धेरै हिसाबले ओबामाभन्दा ठ्याक्कै विपरीत देखिन्छन् । डोनाल्ड ट्रम्पको विजयमा अन्य पक्षका अतिरिक्त ती मतदाताको ठूलै भूमिका छ, जसले पहिले ओबामालाई मत दिएका थिए र पछि ट्रम्पलाई मत दिए । ओबामालाई भोट हालेको व्यक्तिले लगत्तैको चुनावमा ट्रम्पजस्तो व्यक्तिलाई अमेरिकाको सर्वोच्च पदमा कसरी सहजै मत दिन सक्छ, प्रश्न उठ्छ ।

कुनै राम्रो र नैतिक काम गरेपछि मानिसहरूलाई अर्को नराम्रो वा अनैतिक काम गर्न मनले छुट दिने मनोवैज्ञानिक प्रक्रियालाई ‘मोरल लाइसेन्सिङ’ भनेर व्याख्या गरिएको पाइन्छ । यहाँसम्म ठिकै छ, ‘मोरल’ या ‘सेल्फ लाइसेन्सिङ’का कारण मतदाताले एउटा अनैतिक वा नराम्रो काम गरे भनेर मानौं । तर निर्वाचनपछि मात्रै सार्वजनिक भएका ट्रम्पका हर्कत र उनका झुटका फेहरिस्त (आफू निर्वाचित भएयता उनले १५ हजारभन्दा बढीपटक झुट बोलिसके) हेर्ने हो, उनलाई मत दिने जनता पछुताउनुपर्ने हो । त्यस्तो भएको छैन, अमेरिकी मूल्य–मान्यताको कुरा गरेर नथाक्ने रिपब्लिकनहरू र अझ इभान्जेलिकल क्रिस्चियनहरू एउटा नश्लवादी, महिलाद्वेषी, र झुठ र फरेबको पिण्डको समर्थन र प्रतिरक्षामा अटल उभिएका छन्, उनले जेजस्तो घिनलाग्दो हर्कत गरे पनि । त्यसैले यो वर्ष हुने निर्वाचनमा उनी पुन: विजयी भए भने त्यो अनौठो मानिने छैन ।

भर्खरै बेलायतमा भएको निर्वाचन वा छिमेकी भारतको संसदीय निर्वाचनमा पनि त्यस्तै भयो । वर्षौंदेखि लेबर पार्टीलाई मत दिएर आएकाहरू र आफूलाई अझै लेबर समर्थक भन्नेहरूले खुला रूपमा ‘हो, हामी धनीहरूको, उद्योगीहरूको हित हेर्छौं’ भन्नेहरूलाई मत दिए, लेबरलाई हराए । भारतमा हालैको लोकसभाको निर्वाचनअघि र पछि भएका विधानसभा निर्वाचनमा मतदाताले भारतीय जनता पार्टी (भाजपा) लाई रुचाएनन् । तर लोकसभामा पुन: नरेन्द्र मोदी र भाजपालाई विजयको ताज पहिर्‍याइदिए, पहिलेभन्दा ज्यादा सिटसहित ।

यो त्यही मोदी/भाजपाको सरकार हो, जसले लिएका नीतिका कारण, चाहे त्यो ‘डिमनिटाइजेसन’ होस् वा ‘जीएसटी’, सामान्य भारतीयको खल्तीमा प्वाल पर्‍यो । हामीले देख्दै, पढ्दै, बुझ्दै आएको कुरा के हो भने ‘अर्थ’ ले ठूलै अर्थ राख्छ । प्रतिस्पर्धात्मक राजनीतिमा सत्तामा भएको दलले मुलुकको आर्थिक स्थिति सुधार्दैमा त्यो दलले आउने चुनावमा राम्रै गर्छ भन्ने छैन । तर सामान्यतया जुन सरकारका पालामा जनताको जीवनस्तर खस्कन्छ, त्यो दलले आउने चुनावमा सत्ता गुमाउँछ । तर भारतमा, बेलायतमा त्यो भएन । अहिले ‘इट्स द इकोनोमी, स्टुपिड’ भन्नेहरू स्वयंलाई चुनावी नतिजाले मूर्ख देखाइरहेका छन् ।

मानिसहरू आफ्नो खल्तीमा लामो हात गर्ने दल/व्यक्तिलाई समेत मत दिइरहेका छन् । हिजो काश्मीरमा भाजपाले जे गर्‍यो र आज मुलुकैभरि आफ्नै नागरिकमाथि जे गर्दैछ, त्यो अकल्पनीय छ, यद्यपि त्यसलाई पनि पूर्वीय संस्कृति र मूल्य–मान्यता भन्दै ठूला कुरा गर्नेहरू जोडतोडले समर्थन गर्दैछन् । यो फगत ‘फल्स कन्ससनेस’को कुरामात्र होइन ।
आवेग र पीडितको मनोविज्ञान
किन हामीहरू सही–गलतको भेद छुट्याउन सकिरहेको छैनौं ? किन हाम्रो समाज सामूहिक अधपतनको दिशामा गइरहेको छ ? किनभने अहिले हामीहरू सबैजसो या त उत्तेजित छौं या क्रोधित । एकादुई व्यक्तिको म कुरा गरिरहेको छैन । उत्तेजित हुनु, आक्रोशित हुनु स्वाभाविक हो । हामी पहिले पनि हुन्थ्यौं, तर कहिलेकाहीँ । तर अहिले दिनैभर जस्तो आवेगमा हुन्छौं । दिमागमा आवेग, आक्रोश, प्रेम, रिस, घृणा हुँदा हामीले सोच्ने, विचार्ने, लामो दूरीमा राखेर निरपेक्ष हिसाबले हेर्ने काम कठिन हुन्छ । हामी जीवनका फगत दुई रङ कालो र सेतो देखिरहेका छौं, ती दुई बीचको ठूलो खैरो रङ छुटाइरहेका छौं ।

हामी निरन्तर आवेगमा, उत्तेजनामा किन छौं भने सबैले आफूलाई पीडित देखिरहेका छौं, अरूलाई पीडक । पहिले दमित, शोषित भनिएकाहरू अहिले धेरै हदसम्म बिउँतिएका छन् । व्यक्ति र संस्था (सिस्टम) मिलेर आफूहरूलाई दमनचक्रको घानमा पिसेको उनीहरू देखिरहेका छन् । त्यसैले हक–अधिकारका लागि उनीहरू संघर्ष गरिरहेका छन् ।

उनीहरू दुई कारणले आक्रोशित छन् । एक त दमनचक्रको सपाट तस्बिर हुँदा पनि दमनकारीहरू र ‘प्रिभिलेज्ड’ हरू यो मान्न तयार छैनन् कि उनीहरू दमन गरिरहेछन्, विशेष सुविधा पाइरहेका छन् । दोस्रो, उनीहरू आफैप्रति पनि आक्रोशित छन्, किन यतिका वर्षदेखि हामी यो सहेर आइरहेको भनेर । हामीहरू के हेरिरहेका थियौं भनेर । यसले उनीहरूलाई निरन्तर आवेगको अवस्थामा राखेको छ । उनीहरू आफू जस्तैसँग एकाकार हुन खोजिरहेका छन् । र व्यक्ति/संस्थाको दमनको प्रतिकार गर्न चाहन्छन् ।

अर्कोतर्फ दमनकारीहरू त आतंकित हुने नै भए, दमितहरूका पहिले कहिल्यै नदेखिएका, नसुनिएका समवेत स्वरहरूबाट । हिजोसम्म प्रिभिलेज्ड भएकाहरू पनि भयभित र आक्रोशित छन् । एक त विशेष सुविधा खोसिने डरले । अझ अर्को ‘आफूले नगरेको दोष’ भागी हुनपरेकाले । उनीहरूलाई लागिरहेको छ, ‘होला विगतमा केही भयो होला, दमन पनि, उत्पीडन पनि भयो होला । तर त्यसमा मेरो दोष होइन नि । न मैले कुनै उत्पीडन गरेको छु, न कसैको निगाहबाट केही पाएको छु ।’ उनीहरू भनिरहेका छन्, ‘विगतका कसै अरूका कमी–कमजोरी या बदमासीका कारण मैले अहिले पीडित हुनपर्ने ? मेरो अधिकार खोसिने ?’ यो भयले उनीहरूलाई सगोल बनाइरहेको छ ।

त्यसैले हामी सबका–सब आफूलाई पीडित ठानिरहेका छौं । र आफू जस्तैको साथ खोजिरहेका छौं । गुणदोषका आधारमा होइन, ‘मेरिट’ को आधारमा होइन, मजस्तै मेरो रूपको, मेरो जातको, मेरो लिंगको, मेरो ठाउँको आदि भनेर पक्ष लिइरहेका छौं । गलत होस्, केही भएन । कामचोर या नैतिकहराम, केही फरक परेन । मजस्तै हो, मेरो बिरादरीको हो, सकियो । सबैजना भयाक्रान्त भएकाले गर्दा हामीमा ‘प्राइमेट इन्स्टिङ्कट/लोयल्टी’ हावी भएको छ । आफ्नो बथानको खोजी छ, त्यहाँ । राम्रो–नराम्रो, असल–खराब, सही–गलत केही हेरिएको छैन ।

पीसी कल्चर र (अ)सामाजिक सञ्जाल
पछिल्लो समयका दुई परिस्थितिले यो बथाने मनस्थितिलाई परिपोषण गरिरहेको जस्तो मलाई लाग्छ । एउटा हो, ‘पीसी कल्चर’ । निजी र सार्वजनिक जीवनमा एक–अर्कालाई नजिस्क्याई, नहियाई, नहोच्याई बोल्ने कुरालाई हामी ‘पोलिटिकल करेक्टनेस’ भन्न सक्छौं । मैले लेख्ने–बोल्ने कुराले अरूलाई नदुखाओस् भनेर म सचेत हुन्छु र धेरै हिसाबले त्यसो गर्न उपयुक्त नै हो भन्ठान्छु (जस्तो कि यो कुरा यहाँ गरौं कि नगरौं, लेखौं कि नलेखौं भनेर मलाई ठूलो द्विविधा थियो) । तर हामीले यो पीसीलाई अर्कै तहमा त पुर्‍याएनौं ?

म हुर्कंदा घरमा ‘काले’ पनि भएर हुर्किएको हुँ । माया गर्दा पनि काले र गाली गर्दा पनि । फगत ‘टोन’ फरक । स्कुल/कलेज पढ्दा हामी सबैजसोका हाजिरी खातामा लेखिनेभन्दा भिन्न नाम थिए । जिस्क्याउन राखिएका ती कति नामले हामीलाई बिझ्थ्यो होला, तर कतिले सहजै लिएका हुन्थ्यौं । म मेरा अत्यन्त नजिकका साथी बाहेक अरूलाई अहिले ती नामले सम्बोधन गर्दिन । कहिलेकाहीँ साथीहरूको इमेल पाउँदा मुन्तिर त्यही जिस्किने/जिस्काउने नाम पाउँदा पुलकित हुन्छु ।

घरमा, स्कुले जीवनमा (वा कलेजमै पनि) सुन्दै, बोल्दै आएका ती कतिपय नाम, शब्द हामी सार्वजनिक जीवनमा प्रवेश गर्नासाथ उच्चारण गर्न सक्दैनौं । अरू त अरू, साहित्य लेखनमा समेत बाँधिनुपर्ने भएको छ । कुनै पात्रले कसैको भावनामा चोट पुर्‍यायो भने लेखकको हुर्मत लिइन्छ । कथं कतै अनौपचारिक कुराकानी गर्दा केही फुस्कियो भने त्यसले पनि वितण्डा मच्चाउँछ । यसरी सानैदेखि र अनौपचारिक रूपमा सुनी–बोली आएका हाम्रा अभिव्यक्तिमा अकस्मात र अत्यधिक लगाम कसिँदा त्यसले हामीलाई ‘स्ट्रेस’ मा धकेलिरहेको छ । तर सार्वजनिक रूपमा अभिव्यक्त गर्न नपाएका कतिपय ती कुरा हामीले अर्कै ठाउँमा, अर्कै हिसाबले अभिव्यक्त गरिरहेका छौं । या त हामी आफ्नो बथानमा या विभिन्न सामाजिक भनिने सञ्जालमा (खुला वा अज्ञात हुँदै) अर्थात् हामी अन्तस्करणबाटै ‘सिभिल’ भैरहेका छैनौं, फगत सिभिल भएको पाखण्ड गरिरहेका छौं ।

मैले कुरा गर्न चाहेको अर्को नयाँ परिस्थिति कथित सामाजिक सञ्जाल हो, जुन खासमा असामाजिक सञ्जाल बनेको छ । हाम्रो आवेग सिर्जनामा म त्यसको प्रभाव पनि उत्तिकै देख्छु । अहिले हामी फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब लगायतका सञ्जालमा बाँधिएका छौं । यी सञ्जालले निर्माण गरेका ‘अलोगरिदम’का कारण हामी यस्तो ‘इको–च्याम्बर’मा छिरेका छौं, जहाँ हामीले सुन्न–बोल्न चाहेका कुरामात्रै सुनिन्छ–बोलिन्छ । पहिले हामी पत्रपत्रिका पढ्थ्यौं, टिभी–रेडियो हेर्थ्यौं, सुन्थ्यौं । तर हामीले पढ्ने–हेर्ने भनेको मोबाइल र कम्प्युटर भएको छ, पत्रपत्रिका पढ्नदेखि रेडियो–टिभी सुन्न/हेर्नसमेत ।

अहिले पनि पत्रिका, रेडियो, टिभीमा एक तहको विविधता पाइन्छ, फरक वैचारिक धारका सामग्री पनि केही हदसम्म पाइन्छ । तर कम्प्युटर/मोबाइलका कुरा अर्कै छ । फेसबुक वा ट्विटर वा युट्युबले हामीलाई हाम्रो सबैभन्दा नजिकको व्यक्तिले भन्दा ज्यादा चिन्छ । हामीले खाने खाना, हामीलाई मनपर्ने रङ वा फूल, मनपर्ने मानिस, हाम्रो विचारधारा सबै उसले बुझेको छ । हामीले कसैलाई नभनेका कुरा, हाम्रा ‘डार्केस्ट सेक्रेट्स’ सबै उसलाई थाहा छ । हाम्रो ‘डिजिटल फुटप्रिन्ट्स’ कैद गरेकोले ऊ ती सबै जाँची–परखी ऊ हामीलाई हामीले हेर्न–सुन्न–पढ्न खोजेको कुरा पस्किदिन्छ ।

अनि यी सब कुराले हामीलाई झन् साँघुर्‍याउँदैछ, खुम्च्याउँदैछ । हामीलाई थप ध्रुवीकरण गर्दैछ । हाम्रो बथानमा ऊ झन्–झन् हामीलाई धकेल्दैछ । हाम्रा मनका अन्तरकुन्तरमा सुषुप्त रहेका उग्र विचारलाई ऊ ‘रिइन्फोर्स’ गरिरहेछ । हाम्रो अहंलाई तुष्ट गर्दैछ । हामीमा अजस्र घृणा, आक्रोश मौलाउँदैछ । अर्को पक्षबाट हेर्ने, अर्काको धरातलमा बसेर पर्गेल्नै नसक्ने हुँदैछौं हामी ।

अब यदि यो असामान्य समय नै नयाँ सामान्य समय (न्यु नर्मल) हुने हो भने त्यसको व्याख्याका लागि, त्यसको सैद्धान्तीकरणका लागि नवीन शिराबाट, बाकस बाहिरबाट सोच्न आवश्यक भैसकेको छ । अनि यो निरन्तरको आवेग, क्रोधबाट उम्कन र बथाने मानसिकताबाट बाहिर निस्कन जरुरी भैसकेको छ । अन्यथा यसले हामीलाई निकै टाढा पुर्‍याउँदैछ ।

प्रकाशित : माघ ४, २०७६ ०८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×