अष्ट्रेलियामा डढेलोको प्रभाव- विविधा - कान्तिपुर समाचार

अष्ट्रेलियामा डढेलोको प्रभाव

जुद्धबहादुर गुरुङ

सुख्खा तथा गर्मीयाममा अष्ट्रेलियाली वन क्षेत्रमा वर्षेनि डढेलो लागिरहन्छ । यसको व्यवस्थापनका लागि विगतमा झैं सरकारले यस वर्ष २ अर्ब अष्ट्रेलियाली डलर बजेटमा छुट्याएको छ । यस पटकको डढेलो विगतको भन्दा भिन्न रह्यो । यसको प्रमुख कारण जलवायु परिवर्तन हुनसक्ने अनुमान गर्न सकिन्छ ।

प्रशान्त महासागरको पश्चिमी किनारमा रहेको अष्ट्रेलियाको पूर्वी क्षेत्र खासगरी न्यु साउथ वेल्स र भिक्टोरिया राज्यहरूमा तीव्र गतिमा हावा चल्ने गर्छ । साथै यो क्षेत्र दक्षिण गोलार्धमा पर्ने भएकाले सूर्य दक्षिणायान भई नोभेम्बर र डिसेम्बरमा बढी गर्मी हुने गर्छ । गत डिसेम्बर १७ मा तापक्रम औसतभन्दा १ डिग्री सेल्सियस बढेर ४१.९ डिग्री सेल्सियस पुगेको थियो ।


चट्टानी तथा मरुभूमि क्षेत्र बढी भएकाले अष्ट्रेलियामा सुख्खा तथा गर्मी भइरहन्छ । यस बाहेक अष्ट्रेलिया हरितगृह ग्यास खासगरी कार्बनडाइ अक्साइड बढी उत्सर्जन गर्ने देशमा पर्छ, वार्षिक रूपमा विश्व हरितगृह उत्सर्जनको १३ प्रतिशत । यिनै परिवेशले वातावरण तताउन सहयोग गर्छन् । जलवायु परिवर्तनका कारण जमिन सुख्खा भई वनका रुख, बुट्यान, घांँस, झारपात सुकेर झुरिला हुन्छन् । यसमा सामान्य मानवीय गतिविधिले उत्पन्न आगोको सानो झिल्को डढेलोमा परिणत हुनसक्छ । गत सेप्टेम्बरबाट त्यहाँको वनमा आगो सल्कियो । लगभग १०० भन्दा बढी स्थानमा आगलागी भएको थियो । समयमै निभाउन सकिएन र झन् वन डढेलोको प्रभाव बढ्दै गयो । नोभेम्बर ८ मा सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्‍यो । सरकारले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आह्वान गर्‍यो । यो डढेलो अष्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै खतरनाक मानिएको छ ।


पूर्वी सामुद्रिक तटीय क्षेत्रका प्रमुख सहरहरू सिड्नी, मेलबर्न र क्यानबेरा क्षेत्रको वन, बुट्यान वा झाडीमा लागेको आगो वा वन डढेलोबाट त्यहाँका मानिस त्रसित छन् । वनक्षेत्र वा झाडीबाट हावाको झोँक्कासँगै आगोको लप्का वा ज्वालाहरू मानव बस्तीतर्फ तीव्र गतिमा बढिरहेको छ । आगोका लप्काहरूलाई प्रशान्त महासागरबाट उत्पन्न हावाले झन् ऊर्जा दिएको छ । आगोको लप्काहरू सामान्य मानिसको गतिभन्दा केही बढी ११ किलोमिटर प्रतिघन्टाका दरले बढेको छ । यो दर घाँंसे मैदानको क्षेत्रमा लगभग २२ किमि प्रतिघन्टाका दरले बढ्छ । सन् २०२० जनवरी ८ सम्म डढेलोले लगभग १ लाख ७ हजार वर्गकिलोमिटर क्षेत्रफल फैलिएको छ । यस क्षेत्रका ५,९०० भवन नष्ट भएका छन्, २८ जना मानिसले ज्यान गुमाइसकेका छन् । ५० करोड वन्यजन्तु आगोले डढेर मरिसकेको समाचार छ । बोलीचालीमा ‘वुस फाएर’ अर्थात् झाडी/वन डढेलो भनिने यो आगलागी क्रमश: मानव बस्तीतर्फ बढिरहेको छ । आगो निभाउन न्युजिल्यान्डले समेत अग्नि नियन्त्रक दस्ता पठाएको छ । भर्खरैको भारी वर्षाले डढेलोको गति वा आगो नियन्त्रणमा केही राहत पुगेको छ ।


आगोबाट निस्केको धुवाँको मुस्लोले वायुमण्डल पूरै ढाकेको छ । निलो आकाशको रङ बदलिएर रातो भएको छ । खरानीको धुलो र धुवाँले वायुमण्डल छेकेर आधा किलोमिटरभन्दा टाढाको दृश्य देखिँदैन । विमान उडानमा बाधा पुगेको छ । स्थानीय वायुको गुणस्तरमा ह्रास आएको छ । मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । यस किसिमको प्रदूषित वायुमा लामो समयसम्म रहँदा समाजमा दीर्घरोग बढ्न सक्छ । गतसाल तास्मानिया राज्य सरकारले डढेलोका कारण मानव स्वास्थ्यमा देख परेको समस्या समाधानका लागि २५ मिलियन अष्ट्रेलियन डलर छुट्याएको थियो । यस वर्षको डढेलो विगतको भन्दा बढी तेजिलो र लामो समयसम्म लागेको छ । अझ वन डढेलो क्षेत्रमा तापक्रम वृद्धि हुन्छ र स्थानीय वायुमण्डलमा थप नकारात्मक प्रभाव पर्छ ।


वनक्षेत्र एक किसिमको प्राकृतिक रूपमा सञ्चालित पारिस्थितिक प्रणाली हो । अष्ट्रेलियाको वन कोला, कङ्गारुजस्ता दुर्लभ प्रजातिका स्तनधारी, किवीजस्ता पन्छी लगायत अनेकौं प्रजातिका सरिसर्प वा गोही, उभयचर, माछा र अन्य जलीय प्रजातिको प्रमुख वासस्थान हो । यी प्रजातिहरू विश्वमा अनौठा र आकर्षक वन्यजन्तु हुन् । तर डढेलोले लगभग ५० करोड जीवजन्तु नष्ट भएकाले तिनको वंशाणु मासिन पुगेको छ । घाइतेको त लेखाजोखा नै छैन । यी प्रजातिको वासस्थान समेत नष्ट भएको छ । यिनको अस्तित्व नै संकटमा परेकाले दीर्घकालीन वातावरणीय समस्या निम्तिन सक्छ । डढेलोले यस क्षेत्रको जैविक पारिस्थितिक प्रणालीलाई नै परिवर्तन गरिदिएको छ ।


आगोले खाएको वन क्षेत्रमा पारिस्थितिक प्रणाली ध्वस्त भई नयांँ पारिस्थितिक प्रणाली सिर्जना भएको हुन्छ । डढेलोको तापक्रमले वरपरको वनस्पति लगायत सजीवहरू नष्ट भएको छ । वायुमण्डल प्रदूषित भई सजीवहरूको लागि आवश्यक अक्सिजनको उपलब्धतामा समेत प्रभाव पर्छ । डढेलोले खाएको जमिनको सतह वा भुइँमा खरानीले नयांँ वनस्पतिको लागि पोषणको भूमिका खेले पनि यो वर्षाको पानीसित घुलिन्छ । वर्षाले सतहको पानीको प्राकृतिक शुद्धतामा पनि प्रदूषित पारिदिन्छ । पानी धमिलिने मात्र नभई अम्लियपन बढी हुन्छ । जसले पानीको तथस्टताको गुण गुमाउँछ र परिणामस्वरुप पानीको पीएच असन्तुलित भई जलिया सजीवहरू फटाफट मर्न थाल्छन् । खासगरी माछा प्रजातिका सजीवलाई बढी असर पर्छ । यस डढेलोले जल, जमिन र वायुमण्डलमा परेको प्रभाव आजै आँकलन गर्न हतारो हुन्छ ।


यसरी डढेलोले अष्ट्रेलियाको आर्थिक विकासको भौतिक पाटोमा ठूलो प्रभाव पारेको छ । प्रभावित समाजका वासिन्दामा नियमित काममा जान मनमा त्रास र भय सिर्जना हुन्छ । त्यसले उत्पादनमा ह्रास आउँछ । डढेलोले मानव निर्मित भवन, सडक, सवारीका साधन, भौतिक संरचनाहरूलाई नष्ट पुर्‍याएको छ । पर्यटनमा पनि प्रत्यक्ष असर परेको छ । सरकारले डढेलोलाई प्राकृतिक प्रकोपका रूपमा घोषणा गरेपछि ४,३०० जनाले २९७ मिलियन अष्ट्रेलियन डलरको बिमा दाबी गरेका छन् । यसरी, विश्व समुदायकै ध्यान तानेको डढेलोले समाजका सबै पक्षमा प्रभाव पारेको छ ।


प्रकाशित : पुस २६, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

कुरा सुन्नु बूढाको

ज्ञानमणि नेपाल

हाम्रो देशमा ज्येष्ठ नागरिक भन्ने शब्दको प्रयोग हुनथालेको पच्चीस वर्षजति भयो । त्यसबेलाका प्रधानमन्त्री मनमोहन अधिकारीले ज्येष्ठ नागरिकलाई सम्मान दिनुपर्छ भनेर एक सय रूपैयाँ मासिक दिन थालेका थिए । अहिले यो मासिक भत्ता एक सयबाट बढ्दै पाँच सय, हजार हुँदै तीन हजार रू. पुगेको छ । ज्येष्ठ नागरिक शब्दको अहिले चलेको अर्थ परिभाषा अलिक असहज लाग्दो छ । यस शब्दको पूर्ववृत्त यस प्रकारको छ । अघि प्राचीन कालमा युरोपमा विशेष गरेर रोममा नगरराज्य थिए ।

नगर राज्यका बासिन्दा ‘सिटिजन’ कहिन्थे । त्यसै शब्दको अनुवादको रूपमा भारत र नेपालमा पनि नागरिक शब्दको प्रयोग ल्याइयो । देशभरका स्त्री–पुरुष १८ वर्ष पुगेपछि नागरिकता लिएपछि भोट दिन पाउँछन् । राज्यले दिएका अरू अधिकार पनि उपभोग गर्न पाउँछन् । ‘सिटिजन’ को र ‘सिटिजनसिप’ को संस्कृतीकरण गर्दा नागरिक र नागरिकता बनाइयो र सो प्रयोग प्रचलनमा ल्याइयो । परन्तु संस्कृत व्याकरण अनुसार नागरिकको अर्थ अर्कै हुन्छ ।

प्राचीन आचार्य विष्णुगुप्त कौटल्य (चाणक्य) ले आफ्नो अर्थशास्त्रमा देशका वासिन्दालाई जनपद शब्द प्रयोग गरेका छन् । अर्को कुरा, ज्येष्ठ शब्द विशेषण लाएर प्रयोग गर्दा पनि कोभन्दा को जेठो भन्ने तर्क उठ्छ । ज्येष्ठ विशेषण सापेक्षित हो । जेठो, माइलो, साइलो, कान्छो भन्दा सुहाउँछ । सम्मानका लागि ज्येष्ठ जोडेर पनि आखिर वृद्धभत्ता त भन्नै पर्‍यो । तसर्थ वृद्धजन सम्मान वा वृद्धजन भत्ता भन्दा नै उचित होला । बुद्ध भगवान्ले आफ्ना गाउँ–सहरका वृद्धजनलाई महल्लक भनेर सम्बोधन गरेका छन् । धर्मशास्त्रकारले पनि उमेर खाएका वयोवृद्धहरू र विद्या पढेका युवा नै भए पनि ज्ञानवृद्धको रूपमा तिनलाई सम्मान गर्नुपर्छ, राज्यले वयोवृद्ध, ज्ञानवृद्धहरूका कुरा सुन्नुपर्छ भनेका छन् । हाम्रो देशले सत्तरी वर्ष उमेर पुगेका वृद्धजनलाई वृद्धवृत्तिले सम्मानित गर्दै आएको छ । यस उमेरलाई अझ पाँच वर्ष घटाएर पैँसठ्ठी वर्ष पुगेपछि नै वृद्धजन वृत्ति दिएर सम्मान दिनुपर्छ भन्ने आवाज पनि उठ्न लागेको छ । अघि–अघि कति उमेरदेखि वृद्धत्व हुने बुढ्यौली लाग्ने परम्परा थियो त भन्ने कुरा पनि हेरौँ । साठी वर्ष पुगेपछि बुढ्यौली लाग्ने कुरा भागवतको माहात्म्यमा ‘गतषष्ठिवर्ष’ भनेर उल्लेख छ । सप्तशती चण्डीको दुर्गास्तुतिमा पचासी वर्षको उमेरलाई परिपक्व वृद्धत्व हुने भनिएको छ— ‘मया पञ्चाशीते बयसी’ ।

हाम्रो वैदिक धर्म परम्परा अनुसार सय वर्षको मनुष्य जीवनलाई चार आश्रममा विभक्त गरिएको छ । पहिलो पच्चीस वर्षको उमेर गरुकुल विद्यालय गएर विद्या अध्ययन गरेर ज्ञानविज्ञानमा पारङ्गत भएर स्नातक भएपछि विवाह गरेर गृहस्थ आश्रममा रहने । अनि छोरालाई गृहस्थ आश्रम सुम्पेर ५० वर्षपछि शिक्षा–उपदेश दिंँदै वानप्रस्थ आश्रममा रहने । ७५ वर्षको उमेरमा संन्यास लिने र सबै कुरा छाडेर आत्माराम हुने । यति कुराबाट के बुझिन्छ भने साठी वर्षसम्मको उमेर शारीरिक कर्म गर्ने जीवनको अनुभव बटुल्ने त्यसपछि आफूले जानेका–बुझेका, अनुभव गरेका सत्कर्म सदाचारका उपदेश दिँदै अध्ययन–अध्यापन गर्दै सय वर्षसम्म आन्तरिक आत्मालाई सक्रिय राखिरहने । कुर्वन्नेव हि कर्माणि जिजीविषेत् शतम् समा : ।

एउटा इतिहासको प्रसंग छ, वृद्धकै प्रसंगमा । पृथ्वीनारायण शाह विसं १७७९ मा जन्मे, १८३१ म बाउन्न वर्षकोमा मृत्यु शैय्यामा हुँदा उनले आफूले गरेका, जानेका, सुनेका, अनुभव गरेका कुरा भाइभारदारलाई उपदेश दिनथाले । त्यसमा ‘बूढा मरे, भाषा सरे’ भनेका थिए । ‘मैले भनेका कुरा तिमीहरूले आफ्ना सन्तानलाई सुनाउला, तिम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र यो राज्यलाई थामी खानन्’ भनेका थिए । उमेरमा उनी बाउन्न वर्षकै थिए, आफ्नो जीवनका अनुभवले त उनी ज्ञान–वृद्धै थिए नै, यो उपदेश भारदारका र मेरा सन्तानमा सर्दै–सर्दै जानेछ र राज्य सञ्चालनको काँढी बुझ्नेछन्, यो राज्य थामी खानेछन् भनेका थिए । उनी बितेपछि उनका उत्तराधिकारी योग्य भएनन् । तापनि नायव बहादुर शाह र तिनै साधिएका भारदाररूले राज्य बढाएर एकीकरण गरेर पूरा पारे, पृथ्वीनारायण शाह बितेको ३० वर्षपछि । तर ती साधिएका अनेकौं भारदार मासिइहाले, उनका सन्तानले राज्य सञ्चालन गर्ने काँढी नै बुझेनछन् । उनका हातबाट राज्य सञ्चालनै भएन । उनको उपदेश लेखेर अरूले राखिदिएकाले पढ्न त पाएका छौँ, तर अहिलेका शासकहरू आफै–आफ छन् । पृथ्वीनारायणभन्दा कता हो कता जान्ने स्वयम्भू छन् । उनले गरेका, भोगेका, अनुभवले राज्य सञ्चालन गर्ने तत्त्व बुझ्नै चाहँदैनन् । बुझेको भए यस्तो अन्याय, अत्याचार, दण्डविहीनता फैलिने नै थिएन ।

वृद्धतम वर्षीयान्कै प्रसङ्गमा मैले पृथ्वीनारायण शाहको यो वृद्धोत्तम् कोट्याएको हुँ, अब एउटा लोकोक्तिको प्रसङ्ग पनि उल्लेख गर्न चाहन्छु । ‘जब पुग्यो साठी हातमा लाठी, जब पुग्यो सत्तरी खुट्टा लागे लत्तरी, जब पुग्यो असी थचक्कै बसी, जब पुग्यो नब्बे हब्बे न कब्बे, जब पुग्यो सय सबै दिन गए ।’

भगवान् बुद्धको उक्ति उद्धृत गरेर वृद्धतम पुरुषको सत्कार, सम्मान कसरी गर्नुपर्छ, किन गर्नुपर्छ भन्ने एउटा प्रसङ्ग छ । यो अढाई हजार वर्षभन्दा पहिलेको सिद्धार्थ गौतम बुद्धका पालाको प्रसङ्ग हो । त्यसबेला गंगा उत्तरतर्फ तराई पहाडसम्म ब्रजिक लिच्छविका आठ गणराज्य थिए । ती आपसमा मिलेर बसेका थिए, वैरीको आक्रमण भयो भने ती सबै एकजुट भएर जाइलाग्थे । त्यसबेला गङ्गा नदीमा ठूलठूला जहाजहरू नै यातायातका र मालसामान ओसार–पसारका साधन थिए । घाटमा– बन्दरगाहमा सामान लाध्दा, ओराल्दा लाग्ने भन्सार दस्तुर लिच्छविहरू नै लैजान्थे र गङ्गापारि आजात शत्रु भन्ने राजाको एकतन्त्री शासन थियो । उनीले कहिल्यै भन्सार महसुल लिन पाउँदैनथे । सधैँ आजात शत्रु राजाका सिपाही हारेर खाली हात फर्कन्थे ।

एकदिन राजाले विश्वासिला मन्त्री वर्षकार ब्राह्मणलाई लिच्छविहरू किन यसरी बलिया भएका रहेछन् ? बुद्ध भगवान्सँग सोधेर, बुझेर आऊ भनेर मन्त्रीलाई पठाएछन् । वर्षकार ब्राह्मण मन्त्रीले भगवान् बसेको विहारमा गएर लिच्छविहरू किन यसरी बलिया भएका रहेछन् भनेर सोधे ।

भगवान् बुद्धले आठगण राज्य मिलेकाले धेरै छन् लिच्छविहरू, यिनीहरू बलिया हुने यी सात कारणहरू भनेर सुनाएका थिए, तिनमा मुख्य यी हुन्– (१) जबसम्म लिच्छविहरू महिलाहरूमाथि अत्याचार, अनाचार गर्दैनन्, सत्कार, सम्मान पूजा गर्छन्, तबसम्म यी बलिया भइरहन्छन् । (२) जबसम्म यी लिच्छविहरू गाउँ–सहरका महल्लक– वृद्धतम वर्षीयान् जनहरूलाई हेला गर्दैनन्, सम्मान गर्छन्, सत्कार गर्छन्, पूजा गर्छन्, तबसम्म यी बलिया भइरहन्छन् । (३) जबसम्म यी लिच्छविहरू आपसमा मिलिरहन्छन्, कलझगडा गर्दैनन्, एकत्व भएर मिलेर बस्छन्, आपसमा फुट्दैनन्, मिलेर काम गर्छन्, मिलेर भोग गर्छन्, तबसम्म यी बलिया नै भइरहन्छन् । आदि–आदि । बुद्धका यस्ता ७ उपदेश अहिलेसम्म नै गणतान्त्रिक शासकका लागि आवश्यक उपयोगी पनि छन्, मननीय पनि ।

अहिलेसम्म विशेषत: बौद्धमार्गी नेवार वर्गमा वृद्धतम–महल्लकको सम्मान गर्ने परम्परा चलिआइरहेको छ । यिनमा सतहत्तर वर्षलाई वृद्धतम उमेर मानेको देखिन्छ । चौरासी वर्ष पुगेकालाई ‘सहस्र चन्द्रदर्शन’ गर्ने भनेर सम्मान, सत्कार, कदर पूजा गर्दै रथमा चढाएर नगर परिक्रमा गराइन्छ । बुद्धकालदेखि चलिआएको यस प्रथालाई नेपालले अहिलेसम्म कायम गरिआएको छ । अहिले त यो चौरासी गर्ने विधि अरू नेपालीमा पनि चल्नलागेको छ ।
देशमा वृद्धतम जनलाई तथा महिला वर्गलाई सम्मान, सत्कार गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएरै भर्खरै नेपाल सरकारद्वारा वृद्धभत्ताको व्यवस्था गरिएको छ । महिला वर्गलाई सम्मान, सत्कार गर्नुपर्छ, तिनमा अनादर, अत्याचार गर्नुहुन्न भन्ने भावना आइरहेछ । ‘यत्र नार्यस्तु पूज्यनते रमन्ते तत्र देवाता:’ भन्ने मनुको सदुक्ति तथा ‘मुढाको आगो ताप्नु बूढाको कुरा सुन्नु’ भन्ने लोकोक्ति पनि छ । यस्तै परदेश जाँदा बूढा मान्छेलाई खिस्सामा हालेर लानुपर्छ । अर्थात् बोकेरै भए पनि लानुपर्छ । त्यसबाट परदेश जाँदा सहयोग पुग्छ भन्ने भाव हो ।

घरगाउँमा बहुतै चलेको बूढाको महिमा दर्शाउने उक्ति पनि यहाँ सान्दर्भिक छ । जन्तीलाई घर गाउँलेले अड्को थाप्दै सोध्छन्—
कति आयौ बूढापाका, कति आयौ फुच्चा,
कति बाट्यौ नाम्ला–दाम्ला, कति बाट्यौ कुचा
जन्तीले उत्तर दिँदै यस्तो भन्छन्–
धेरै आयौँ बूढापाका, थोरै आयौँ फुच्चा
धेरै बाट्यौँ नाम्ला–दाम्ला, थोरै बाट्यौँ कुचा
यो सवाल–जवाफ बडो मार्मिक छ । घरगाउँलेले हाम्री छोरीले घरमा दु:ख पाउँछे कि सुख पाउँछे भनेर सोध्छन् । गाउँमा बूढा धेरै भए भने उनीहरूले मेलमिलाप राख्छन् र कलझगडा हुन पाउँदैन । युवा धेरै रहेछन् भने कलझगडा बढी हुन्छ, त्यस अर्थले सोध्दा धेरै बूढा आएका छन्, थोरै फुच्चा आएका छन्, घरमा धेरै वस्तुभाउ गोठ हुँदा दाम्ला धेरै चाहिने हुँदा दाम्ला धेरै बाट्नुपर्‍यो । काम गर्ने खरखेताला धेरै हुँदा काम गर्ने मान्छेका लागि नाम्ला धेरै चाहिने भएकाले नाम्ला धेरै बाटियो । काम गर्ने मान्छे धेरै हुँदा, तपाईकी छोरीले सुख पाउँछे भन्ने जन्तीको भाव हो । यस सवाल–जवाफमा पनि बूढापाकाकै महिमा गाइएको छ ।

प्रकाशित : पुस २६, २०७६ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×