कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ औंका १३

कुशल तिमल्सिना

काठमाडौंबाट ३५ वर्षअघि सुरु भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) सन् १९९९ मा पनि नेपालले आयोजना गरेको थियो  । नाम फेरिएर दक्षिण एसियाली खेलकुद (साग) भएको यो खेल उत्सवको १३ औं संस्करणको उद्घाटन दशरथ रंगशालामा आइतबार हुँदै छ  ।

१३ औंका १३

काठमाडौंबाट ३५ वर्षअघि सुरु भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) सन् १९९९ मा पनि नेपालले आयोजना गरेको थियो । नाम फेरिएर दक्षिण एसियाली खेलकुद (साग) भएको यो खेल उत्सवको १३ औं संस्करणको उद्घाटन दशरथ रंगशालामा आइतबार हुँदै छ । काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा मंसिर २४ सम्म हुने यसमा ७ हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, अफिसियल सहभागी हुँदै छन् । झन्डै ६ सय नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएका नेपाली टिमका १३ खेलाडी :

राजीव पुडासैनी
कराँते


बालाजु डोजोका उत्पादन राजीवले राष्ट्रिय टोलीबाट पहिलो खेल खेल्दै छन् । तर, २१ वर्षीय उनी ३ पल्टका दक्षिण एसियाली च्याम्पियन हुन् । बालाजु डोजोबाट सन् २०१६ मा भारत र २०१७ मा कोलम्बोमा भएको च्याम्पियनसिपमा स्वर्ण जितेका राजीवले गत महिना ढाकामा भएको पछिल्लो संस्करणमा ह्याट्रिक पूरा गरे । पुलिसबाट करारमा खेलिरहेका उनले ६० केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । झन्डै ६ फिटको उचाइले पनि उनलाई साथ दिनेछ । उनले किक राम्रो छ ।




मनीषा चौधरी
कराँते


मनीषा ढाकामा भएको दक्षिण एसियाली कराँते च्याम्पियनसिपको स्वर्ण विजेता नै हुन् । ५५ केजीमुनि देशको प्रतिनिधित्व गर्ने तयारी गरिरहेकी उनी २०७३ मा आयोजित सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेर राष्ट्रिय टोलीमा परेकी थिइन् । केन्द्रीय डोजो त्रिपुरेश्वरबाट आएकी २१ वर्षीया उनले एपीएफबाट घरेलु प्रतियोगिता खेल्ने गर्छिन् । प्रशिक्षक कुशल श्रेष्ठले सागमा आशा गरेको खेलाडीमध्ये मनीषा पनि भएको बताए । अनुशासित र लगनशील रहेकी मनीषाको एट्याकिङ राम्रो छ ।

वीरबहादुर महरा
तेक्वान्दो


१२ औं सागमा स्वर्ण जित्नबाट थोरैले चुकेका बीरबहादुरबाट यसपल्ट प्रशिक्षकले धेरै आशा गरेका छन् । ६८ केजीमुनि तौल समूहमा उनले त्यहीअनुसारको तयारी गरेका छन् । चीनमा बैदेशिक प्रशिक्षणका क्रममा ग्रान्डस्लाममा दक्षिण कोरियाली खेलाडीसँग प्रतिस्पर्धात्मक अवस्थामा पराजित भएका त्रिभुवन आर्मीका यी खेलाडीले त्यहीँ भएको जी वान प्रतियोगिताको पहिलो खेलमा चिनियाँ खेलाडीलाई पराजित गरेका थिए । आक्रमणमा अब्बल रहे पनि स्वर्णको सपना साकार पार्न ब्लकमा सुधार गर्नुपर्नेछ ।

आयशा शाक्य
तेक्वान्दो


सन् २००६ मा कोलम्बोमा सम्पन्न दसौं सागमा रजत र २०१० मा ढाकामा भएको ११ औं सागमा स्वर्ण जितेकी आयशाको यसपल्ट भूमिका फेरिएको छ । आयशाले विधा परिवर्तन गरी पुम्से अर्थात् प्रदर्शनीतर्फ खेल्न लागेकी छन् । पुरानो सफलता ग्ोरोगी (फाइट) तर्फको हो । पुम्सेको ३० वर्षमाथि स्पर्धामा एकल र युगलतर्फ उनको सहभागिता छ । तेक्वान्दोका लिजेन्ड दीपक विष्टसँग बिहे गरेकी आयशा २ सन्तानकी आमा पनि हुन् ।


इन्द्रबहादुर श्रेष्ठ
जुडो


नेपाल जुडो संघले कम्तीमा ४ खेलाडीबाट ‘ठूलो’ प्रदर्शनको अपेक्षा गरेको छ । तीमध्येका हुन्, २० वर्षीय इन्द्रबहादुर श्रेष्ठ । उनले ६६ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । सन् २०१७ मा नेपालमै भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा उनले भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेका थिए । नेपाली खेलाडीले भारतलाई हराएर पाएको दोस्रो सफलता थियो त्यो । दुवै हातमा पिलो आएको बेला उनले १२ औं सागमा कांस्य जितेका थिए । उनको पाचिवाजा (माथिबाट फाल्ने शैली) उत्कृष्ट छ ।



मनिता श्रेष्ठ प्रधान
जुडो


क्याडेट र जुनियरतर्फ एसियाकै तेस्रो बरीयताकी मनिता जुडो संघले स्वर्णको सम्भावना देखेको खेलाडी हुन् । १२ औं सागमा रजत जितेकी उनले डिफेन्स र नेवाजा (घाँटी, हातमा लक लगाएर होल्ड गर्ने) मा सुधार गर्नुपर्छ । थ्रो इनमा उनी उत्कृष्ट छन् । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदको टिम स्पर्धामा भारतविरुद्ध उनले मात्र एउटा खेल जितेकी थिइन् । उनी जुनियर एसियन क्याम्पियनसिप र क्याडेट च्याम्पियनसिपका कांस्य विजेता पनि हुन् ।



गौरिका सिंह
पौडी


११ वर्षको उमेरमै राष्ट्रिय प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गरेकी गौरिकाले तीन वर्षअघि गुवहाटीमा भएको १२ औं सागमा एक रजत र तीन कांस्यपदक जितेकी थिइन् । उनी सागको पौडीमा व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली हुन् । रियो ओलम्पिक २०१६ मा दस हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी रहेकी उनी अहिले १७ वर्षकी भएकी छन् । लन्डनमा तयारी गरिरहेकी उनले १३ औं सागमा स्वर्णपदक जित्ने अपेक्षा गरिएको छ ।


दीपक हमाल
उसु


कर्णाली प्रदेशको राजधानी सुर्खेतका दीपकले १२ औं सागमा रजत जितेका थिए । ४ वर्षदेखि राष्ट्रिय टोलीमा रहेका उनी गत महिना चीनमा सम्पन्न १५ औं विश्व उसु च्याम्पियनसिपमा नवौं भएका थिए । विश्व च्याम्पियनसिपमा शीर्ष दसमा नेपाली खेलाडी परेको दोस्रोपल्ट हो । थाउलोको नान–छ्वान विधामा उनले विश्व च्याम्पियनसिपमा फिलिपिन्स, कोरिया, थाइल्यान्ड, हङकङका खेलाडीलाई पनि पछि पारेका थिए । २२ वर्षीय उनी अनुशासित र अत्मविश्वासी छन् ।

सुस्मिता तामाङ
उसु


थाउलोको नान–छ्वान विधामै नेपालले स्वर्णको आशा गरेका अर्की खेलाडी हुन्, सुस्मिता तामाङ । भक्तपुरकी २१ वर्षीया उनले पनि १२ औं सागमा रजतपदक जितेकी थिइन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगितामा प्रतिस्पर्धा गर्छिन् । आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी उनले हालै चीनमा भएको विश्व च्याम्पियनसिप पनि खेलेकी थिइन् । त्यसमा उनले दक्षिण एसियाली प्रतिस्पर्धीलाई पछि पारेकी थिइन् । अहिले उनको प्रदर्शनमा निकै सुधार आएको प्रशिक्षक प्रकाश लामाले बताए ।

संगीता सुनार
बक्सिङ


संगीता बक्सिङको राष्ट्रिय टोलीबाट खेल्न थालेको ४ वर्ष भयो । महिला ६० केजीमुनि नेपालले स्वर्णको आशा राखेको खेलाडी हुन् उनी । २६ वर्षीया उनले एपीएफकी बक्सर हुन् । इन्डोनेसियामा गत वर्ष सम्पन्न एसियाली खेलकुदमा पनि सहभागिता जनाइसकेकी उनको ‘पन्च’ राम्रो छ । ‘उचाइका कारणले टाढा दूरीबाट पन्च मार्न सक्ने क्षमता छ । डिफेन्समा पनि राम्रो टेक्निक लगाउन सक्छिन्,’ प्रशिक्षक दीपक महर्जनले भने ।

विकास खवास
फुटबल


१९ वर्षीय विकास घरेलु फुटबलमा त्रिभुवन आर्मी क्लबबाट खेल्छन् । ५ वर्षको अन्तरालमा गत वर्ष आयोजित सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनी उत्कृष्ट युवा खेलाडी चुनिए । सेन्टरब्याक र राइट ब्याक गरी दुवै भूमिकामा खेल्न सक्ने उनको रक्षापंक्तिमा अनन्त तामाङसँगको तालमेल नेपालको सागमा स्वर्णपदक रक्षाको अभियानमा फलदायी हुन सक्छ ।

पारस खड्का
क्रिकेट


नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट खेल्दै छन् । सन् २०१० मा बंगलादेशमा भएको ११ औं सागमा उनी टिममा थिएनन् । हालै मात्र राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका उनले त्यसयता पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै छन् । ३२ वर्षीया पारस बलिङ र ब्याटिङ दुवैतर्फ टिमलाई आवश्यक गरेको स्थितिमा सानदार प्रदर्शन गर्ने क्षमता राख्छन् ।

सरस्वती चौधरी
भलिबल


नेपाली महिला भलिबल टोलीले यसपल्ट स्वर्ण जित्ने लक्ष्य लिएको छ । सन् १९९९ मा पहिलो सहभागितामै कांस्य जितेको नेपालले सन् २००६ र २०१६ को संस्करणमा पनि कांस्य हात पारेको थियो । श्रीलंका र भारतजस्ता बलियालाई पराजित गरी स्वर्णको लक्ष्य राख्दा सरस्वतीको प्रदर्शन निर्णायक हुन सक्छ । नेपालकी नम्बर १ स्पाइकर सरस्वतीले गत महिना ढाकामा सेन्ट्रल जोन च्याम्पियन बनाउन पनि भूमिका खेलेकी थिइन् । घरेलु भलिबलमा एपीएफलाई लगातार सफलता दिलाउनुका पछाडि उनकै योगदान अहम् रहँदै आएको छ ।

प्रकाशित : मंसिर १३, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?