कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
अन्तर्वार्ता

‘शरणार्थी प्रकरण केन्द्रीय समितिमा उठाएनौं भने कांग्रेसको औचित्य सकिन्छ’

संसदीय दलको नेता हुन्छु भनेर बोलेर मात्रै हुन्न, सांसदहरूलाई अन्तरक्रिया गरेर आफ्नो पक्षमा ल्याउन पनि सक्नुपर्छ
मैले वरिष्ठ नेता मागेको छैन; दिनुभयो भने दिनुभयो, दिनुभएन भने पनि ठीकै छ
मैले गगनजीलाई एकचोटि साथ दिएँ । सधैं शेखर कोइरालाले गगन थापालाई साथ दिन्छ, या गगन थापाले शेखर कोइरालालाई साथ दिन्छ भन्ने हुँदैन ।

काठमाडौँ — देशकै पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस पछिल्लो कालखण्डमा विचार, दर्शन र सिद्धान्तभन्दा पनि संसद्को अंकगणितमा खेलेर सत्तामा पुग्ने र टिक्ने खेलमा बढी रमाउन खोजेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले लिएको ‘सत्ता नै सबै चीज हो’ भन्ने मान्यताको परिणाम कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक नै एक वर्षपछि साउन २ देखि बस्दै छ ।

‘शरणार्थी प्रकरण केन्द्रीय समितिमा उठाएनौं भने कांग्रेसको औचित्य सकिन्छ’

संघ र प्रदेशको चुनावी समीक्षा हुनदेखि पार्टीका विभिन्न विभागको पूर्णता दिनसम्म सकेको देखिँदैन । यसबीचका सत्ता गठबन्धनको आरोह–अवरोह, नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणजस्ता भ्रष्टाचार मुद्दामा त झन् कांग्रेस रक्षात्मक छ । यस्तै यावत् विषयलाई केन्द्रमा राखेर कांग्रेसको संस्थापनइतर खेमाका नेता शेखर कोइरालासँग कान्तिपुरका कृष्ण आचार्यकुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेस केन्द्रीय समितिको बैठक बल्ल साउन २ देखि बस्ने भनिएको छ । एक वर्षपछि सुरु हुन लागिरहेको बैठकमा केकस्ता मुद्दाहरूमाथि छलफल हुनेछ ?

एजेन्डाहरू आइसकेका छैनन् । सभापति शेरबहादुर देउवा, महामन्त्रीहरूसहित पदाधिकारीहरू बसेर एजेन्डा बनाउनुपर्ने हो । त्यो एजेन्डा केन्द्रीय सदस्यहरूलाई दिनुपर्ने हो, दिइएको छैन । तर अर्कोतर्फ, नेपाली कांग्रेसमा एजेन्डा ल्याउने चलन पहिले पनि यस्तै थियो । एजेन्डासहित बैठक बस्ने कम्युनिस्टहरूको चलन हो । तर पनि केही एजेन्डामाथि छलफल हुने नै छ । नेपाली कांग्रेस र मुलुककै लागि यो बैठक महत्त्वपूर्ण छ । आम निर्वाचनमा हामी ठूलो पार्टी कसरी बन्यौं, उप–निर्वाचनमा हामीले कसरी पराजय भोग्यौं भन्ने समीक्षा गर्नु छ । हामी गठबन्धन गरेर निर्वाचनमा होमिएपछि ठूलो पार्टी बनेका हौं । राष्ट्रपति हुनुभएका रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रको पनि समीक्षा गर्नुपर्छ । रामचन्द्रजीले जितेको ठाउँ, कांग्रेसको गढमा हामी पराजित भयौं । त्यसको असर नेपाली कांग्रेसमा कस्तो परेको छ भनेर पार्टी कार्यकर्तादेखि आम सर्वसाधारणसम्मको मनोविज्ञानको पनि महत्त्वपूर्ण रूपमा समीक्षा गर्नु छ । यसले नेपाली कांग्रेसलाई कति क्षति पुर्‍याउँछ, कसरी सुधार गर्नुपर्छ, कांग्रेसलाई कता लैजाने भनेर छलफल गरेका छैनौं ।

दोस्रो विषय नीति महाधिवेशनको छ । पार्टीको निर्वाचनताका नै नीति महाधिवेशन भनेका थियौं । त्यो पूरा गर्नुपर्छ । नेपाली कांग्रेसको विधानमा एक–एक वर्षमा नीति अधिवेशन गर्नुपर्छ भन्ने छ । नीति महाधिवेशन गर्ने हो कि महासमिति बनाउने भन्ने विषयमा छलफल गर्नुपर्छ ।

तेस्रो, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण वा भोलिका दिनमा आउने अर्को कुनै मुद्दाका विषयमा पनि छलफल गर्नु छ । यी विषय हामीले उठाएनौं भने नेपाली कांग्रेसको औचित्य समाप्त हुँदै जान्छ । एजेन्डामा राख्नुस् वा नराख्नुस्, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले यो विषय उठाउँछन्, यसमा धेरै विवाद गरिराख्नैपर्दैन । असार २७ गतेको पदाधिकारी बैठकमा के भयो भनेर तपार्इंहरूलाई लाग्न सक्छ । म पदाधिकारी हैन, तर पनि मलाई बोलाइएको थियो, म अलि ढिलो पुगें । शेरबहादुरजी प्रधानमन्त्री प्रचण्डजीकी पत्नी सीताजीको मृत्यु भएकाले त्यतै जानुभएको रहेछ । उहाँ जानुभन्दा अगाडि एजेन्डाको विषयमा छलफल भएको रहेनछ । त्योभन्दा अघिल्लो दिन छलफल भएको भए मलाई थाहा हुने कुरा भएन ।

पदाधिकारी बैठकमा म ढिलो पुगे पनि साथीहरूलाई मैले नै पदाधिकारी बैठक कहिले गर्ने, केन्द्रीय समितिमा के गर्ने भनेर सोधें; पार्टी सभापति आएपछि छलफल गरौंला भन्ने भयो । तर शेरबहादुरजी ढिलो आउनुभयो । उहाँ आउनुअघि नै त्यहाँ भएकाहरूले अब बैठक सारौं भनेका हौं । त्यस दिन पदाधिकारीको रूपमा बैठक नै बसेको छैन । बैठक साउन २ गते पुर्‍याउनुको पनि कारण छ । असार २८ गते बजेट पास गर्नका लागि राष्ट्रिय सभा छ, त्यहाँ हामी बस्नैपर्छ भनेर मन्त्रीहरूले भन्नुभयो । असार २९ गते संसद्मा अन्य विधेयकको विषय छ, ३० गते शनिबार भयो, १ गते साउने संक्रान्ति छ भनेर बैठक २ गतेका लागि बोलाइएको हो ।

अहिले मुलुकको मूल मुद्दा भ्रष्टाचार बनेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण नै थुनामा छन् । आफ्नै पार्टीका नेता संलग्न रहेपछि सभापति देउवाले बैठक नै ढिलाइ गर्दै आउनुभएको थियो । अहिले पनि देउवाले निकटस्थहरूसँग खाणको मुद्दा केन्द्रीय समितिमा प्रवेश गराउन हुन्न भन्दै आउनुभएको छ । यसबारे तपाईंको धारणा के छ ?

नेपाली कांग्रेसको केन्द्रीय समितिका सदस्यहरू त्यसै केन्द्रीय सदस्य भएका छैनन् । आफ्नो भविष्यलाई गाँसेर उहाँहरू केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुनुहुनेछ । यो मुद्दा एजेन्डामा होस् वा नहोस्, कुरा उठ्छ–उठ्छ । यो मुद्दामा पदाधिकारी बैठकले एजेन्डा बनाए पनि नबनाए पनि केन्द्रीय सदस्यहरूले बोल्दैनन् र ? बोल्छन् । बोल्न पाइँदैन भनेर डिक्टेट गर्ने कम्युनिस्ट पार्टी हैन नि ! बोल्ने आ–आफ्नो तरिका हुन्छ, यो विषय बोल्छन्–बोल्छन् । म पनि बोल्छु । यो विषय दबाउन खोज्यो भने समस्या हुन्छ । कसैले कसैलाई दोष लगाउने कुरा हैन, नेपाली कांग्रेसलाई भोलि कता लैजाने भन्ने विषय हो ।

खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषय पनि लामो समयदेखि विवादित देखिन्छ नि ?

यसमा पहिलेको एउटा विषय पनि बुझ्न जरुरी छ । मलाई यसबारे अलि अप्ठ्यारो पनि लागिरहेको छ । नेपाली कांग्रेसको इतिहास पल्टाउँदै जानुभयो भने खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, विजयकुमार गच्छदारको बेलामा पनि यो विषय छलफल भएको हो । त्यति बेला केन्द्रीय समितिले निलम्बन नगर्ने भनेको थियो । तर पनि म बालकृष्ण खाणको ठाउँमा भएको भए, आफैंले सोझै मलाई निलम्बन गरिदिनुस् भनेर घोषणा गर्थें । तर उहाँले त्यो गर्नुभएन । नगरेपछि पार्टीले निलम्बन गर्नुपर्छ भन्ने दबाब छ । निलम्बन गर्दा पार्टीलाई फाइदा हुन्छ कि बेफाइदा भनेर बहस भइरहेको छ । उहाँलाई निलम्बन गरे पनि केही बेफाइदा हुन्छ जस्तो मलाई लाग्दैन । नेताहरूले यसबारेमा के सोचेका छन्, मलाई थाहा हुने कुरा भएन । खाणको मुद्दा कमजोर हुन्छ भन्ने सोचेर निलम्बन नगरेका रहेछन् भने पनि मलाई थाहा हुने कुरा भएन । न्यायपालिकाले स्वतन्त्र निर्णय गर्छ, अन्य विषयले फरक पार्दैन । त्यसकारण निलम्बन गर्दा नेपाली कांग्रेसलाई कुनै असर गर्दैन, मुद्दा कमजोर हुन्छ जस्तो पनि लाग्दैन । यो विषयमा केन्द्रीय समितिमा कुरा उठ्छ, तर भोटिङ त हुँदैन । नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने सभापतिले भने अनुसार हुन्छ । तर पनि शेखर कोइरालाले के बोल्छ भनेर धेरैले सोचिरहेका छन्, म बोल्छु ।

आफैं सामेल रहेको सरकारले भ्रष्टाचारका दुई ठूला काण्डमा कारबाही गर्दा मूलतः कांग्रेसको नेतृत्वले सार्वजनिक रूपमा केही बोलेको देखिँदैन । संसद्मा प्रमुख प्रतिपक्ष दलका नेताले चार–पाँच पटकसम्म बोलिसक्दा पनि कांग्रेस नेतृत्व मौन नै देखियो । यो मौनताका कारण कांग्रेसलाई भ्रष्टाचारको संरक्षक पार्टीका रूपमा पनि चित्रण गर्न थालिएको छ । यस्तै प्रकृतिका लेख, टिप्पणी र जनस्तरमा आलोचना पनि छ । यो त अति भयो भन्ने लाग्दैन ?

पार्टी सभापतिले किन बोल्नुभएन, उहाँलाई सोध्नुपर्छ । तर हामीले त यस विषयमा बोलिरहेकै छौं । मलाई चिन्ताचाहिँ प्रहरीको सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो), अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका निर्णयहरूमाथि पनि छ । कोही व्यक्ति शाखा अधिकृत छ, उप–सचिव छ, सह–सचिव छ, सचिव छ, १५–२० वर्षअघि टिप्पणी उठाएको आधारमा ऊचाहिँ थुनामा पर्ने तर निर्णय गर्नेहरूको विषयमा चाहिँ चुप लाग्ने ? सीआईबी पनि चुप लागेर बस्ने, अख्तियार पनि चुप लागेर बस्ने, सबै चुप लागेर बस्ने ? यो त ठीक भएन ।

यसको अर्थ ती काण्डबारे निर्णय गर्नेहरूसमेत छानबिनको दायरमा आउनुपर्थ्यो भन्ने हो ?

आउनुपरेन त ? म पक्राउ परेका सचिवलाई चिन्दिनँ, तर समाचार पढ्दा मलाई अचम्म लागेको छ । सञ्चार सचिव शाखा अधिकृत हुँदा उठाएको टिप्पणीको आधारमा पक्राउ पर्नुभएको छ । टिप्पणी लेखेबापत उहाँ जेल जाने, उहाँभन्दा माथि निर्णय गरेका मानिसहरूमाथि छानबिन नहुने ? एकदमै गलत भएको छ ।

यो मुद्दामा सूर्यनाथ उपाध्यायको पालामा अख्तियारले पनि उन्मुक्ति दिएको रहेछ । उहाँमाथि छानबिन किन नहुने ? अहिलेका अख्तियार प्रमुखमाथि छानबिन किन नहुने ? मेरो भनाइ— अनुसन्धान र छानबिनको विषयमा दुनियाँ कहाँ पुगिसक्यो, यहाँ अघि बढ्दैन । यहाँ किन त्यो भइरहेको छैन ? यो सब पूर्वप्रधानमन्त्रीहरूको सिन्डिकेटका कारण त भइरहेको छैन भन्ने कुरा आउँछ । उहाँहरूको संलग्नता छ कि छैन, मलाई थाहा छैन । नहोस् पनि । तर आम मानिसलाई त्यो भान भइरहेको छ । त्यसकारण अनुसन्धान गर्नुपर्‍यो, बयान लिनुपर्‍यो । आम सर्वसाधारणको मनमा उठेका प्रश्नहरूको निवारण गर्नुपर्छ ।

भ्रष्टाचार काण्डका फाइलहरू एकपछि अर्को खुल्न थालेपछि नेतृत्व तहका नेताहरूमा ठूलो डर देखिन्छ । तपाईंको विचारमा खासमा नेताहरू किन डराएका हुन् ?

प्रधानमन्त्री भैसकेको व्यक्तिले जानेर व नजानेर केही गल्ती, कमीकमजोरी गरेको हुन सक्छ । यो स्वाभाविक हो, यसलाई मैले अन्यथा लिन्नँ । जानेर होस् वा नजानेर, छुट्याउने काम अनुसन्धान गर्ने निकायले हेर्नुपर्छ । नीतिगत निर्णय गरेको छ, त्यसकारण अनुसन्धान गरिँदैन भन्ने गरिएको छ । नीतिगत निर्णय पनि कसरी भएको छ भनेर छुट्याउनुपर्छ । त्यसैका लागि अनुसन्धानकारी निकाय स्थापना भएका हुन् । म कानुनविद् हैन, तर अनुसन्धानकारी निकायले भनिदिनैपर्छ, छुट्याइदिनैपर्छ । तर पनि नेताहरू डराइरहनुभएको छ । किन डराउनुभएको हो, मैले बुझ्न सकिरहेको छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो तानिँदै जाँदा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू सत्ता समीकरण बदल्न सक्रिय रहेका खबरहरू पनि आए । भित्रभित्र भइरहेका यस्ता खेलले ठोस आकार लिनेजस्तो देख्नुहुन्छ ? कि एकअर्कालाई दबाबमा राख्न लिइएका रणनीति मात्रै हुन् यी ?

गठबन्धन भएदेखि नै भत्काएर अर्को बनाऔं भन्ने कुराहरू आइरहेकै छन् । गठबन्धन भत्काउने खेलमा शेखर कोइराला पनि छ कि भन्ने लाग्न सक्छ । कतैकतै त्यस्ता सूचना आएका पनि छन् । गठबन्धन भत्काउन मैले चाहिँ कतै पनि कहिले पनि कोही पनि शीर्षनेतासँग कुरा गरेको छैन ।

कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू यो गठबन्धन भत्काउन लागिरहेको विषय स्वाभाविक पनि हो, लागेका होलान् । भेटघाट गरेका होलान् । तर हाम्रा पार्टी सभापतिको प्रतिबद्धता यो गठबन्धन जोगाउनेमा छ । प्रचण्ड र देउवाबीच सुमधुर सम्बन्ध देखिन्छ । त्यसकारण यो गठबन्धन भत्कन्छ जस्तो मलाई लाग्दैन । गिरिजाप्रसाद कोइरालाको पालादेखि नै पार्टी सभापति बोल्नुहुँदैनथ्यो, अहिले शेरबहादुरजी पनि बोल्नुभएको छैन । अरूलाई बोल्न लगाउनुहुन्छ । तर पनि यो गठबन्धन तत्कालै भत्कन्छ भन्ने मलाई लाग्दैन ।

तपाईं नै प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग निरन्तर संवादमा हुनुहुन्छ भन्ने छ । उहाँको प्रस्ताव के थियो ? तपाईंले के भन्नुभयो ?

ओलीजीसँग मैले चुनावलगत्तै एक पटक भेटेको हुँ । त्यसपछि पुष्पकमल दाहाल ओलीजीको सहयोगमा प्रधानमन्त्री बनिसकेपछि संसद्मा भेट भएको थियो । मैले उहाँलाई कसरी यस्तो भएको हो भनेर सोधेको थिएँ । उहाँले शेरबहादुरजीसँग कुरा भएको विषय बताउनुभयो । तर अरू केही भन्नुभएन । त्यसपछि उहाँसँग भेट भएको छैन ।

कांग्रेस पार्टी नै सरकारमा छ । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेताहरूलाई फसाउन सरकार नै लागेको छ भनेर शेरबहादुर देउवापत्नी तथा कांग्रेस सांसद आरजु राणा देउवासहितका केही नेताहरू नै भनिरहनुभएको छ । यसको संकेत के हो ?

मिडियामा उहाँका बारेमा कुरा आइरहेका छन् । नक्कली भुटानी शरणार्थीलाई जोडेर एउटा अडियो टेप पनि आयो, प्रतिरक्षा गर्नुभयो । कतिपय अवस्थामा मान्छेको स्वभावले पनि काम गर्ने रहेछ; यही केसमा नाम जोडिएका कतिपय चुप लागेर बसेका छन्, कतिपय प्रतिरक्षा गर्छन् । आरजुजीले मलाई बदनाम गर्ने, पार्टीलाई बदनाम गर्ने वा शेरबहादुर देउवालाई बदनाम गर्ने काम भयो भनेर प्रतिरक्षा गर्नुभएको होला । त्यसलाई मिडियाले कसरी लिन्छ ? सरकारले बदनाम गराउने लाग्यो भन्ने हो भने सरकार त हाम्रै छ । पार्टी सभापति र संसदीय दलको नेताले यस्ता विषयमा कुराकानी गर्नुपर्छ ।

पक्कै पनि कुराकानीहरू भएकै होलान् । नक्कली भुटानी शरणार्थीमा फसाउन खोजियो भन्नुको अर्थ हो— सरकारले भ्रष्टाचार काण्डमा हात हालेको कांग्रेसलाई मन परेको छैन, त्यसैले केही नेताहरू स्पष्ट रूपमै गठबन्धन भत्काउन लागिपरेका छन् । यो पृष्ठभूमिमा वर्तमान गठबन्धनकै सरकार पाँच वर्ष पूरै टिक्ने सम्भावना कत्तिको देख्नुभएको छ ?

मलाई गठबन्धन परिवर्तन हुनेमा विश्वास छैन । शेरबहादुरजी पनि अहिलेसम्म गठबन्धनको पक्षमा चट्टानजस्तै हुनुहुन्छ । तर नेपालको इतिहासमा कुनै पनि सरकार (गठबन्धन) पाँचै वर्ष गएको देखिँदैन । अहिले पनि धेरै उतारचढावहरू छन् । मैले कसैसँग भेटेको छैन तर पछिल्लो समयमा छिमेकी र शक्तिराष्ट्रका धेरै स्वार्थहरू भएको आभास भइरहेको छ । स्वार्थ आ–आफ्ना होलान्, तर चलखेलहरू भइरहेका छन् । हामी त्यसलाई कसरी व्यवस्थापन गर्छौं, त्यसमा भर पर्छ । नेपालमा जहिले पनि केही अस्थिरता हुनासाथ छिमिकी र विदेशीको चलखेल देखिन थाल्छ । त्यसका धेरै कारण होलान् । एउटा कारण, रक्षामन्त्रीले वा आर्मीबाटै हो, चीनसँग एपीसी (आर्मौर्ड पर्सनेल क्यारियर) किन्ने विषयले अहिले गम्भीर बनाएको छ । चीनको नरिन्को भन्ने कम्पनीसँग एपीसी किन्न डिल भएको कुरा सुनिएको छ । तर, उक्त कम्पनी नै अमेरिकाले कालो सूचीमा रहेछ । नबुझीकनै गरिएको यस्तो निर्णयले नेपालको राजनीतिमा कस्तो असर पार्छ, हामीले हेर्नुपर्दैन र ?

चीनसँग हतियार किन्ने सन्दर्भ यो गठबन्धनलाई निरन्तरता दिने कि भत्काउने भन्ने कुरासँग सम्बन्धित हुन्छ र ?

संकेतले बुझ्नुहोस् । धेरै घटनाहरू घटिरहेका छन् । खालि अहिले नक्कली भुटानी शरणार्थी, ललिता निवास, भोलि आउन सक्ने ओम्नी, वाइडबडी, यती काण्ड मात्रै होइन, नदेखिने घटनाक्रमहरू पनि भइरहेका छन् । तिनले पनि यहाँको राजनीतिलाई, सरकारको स्थायित्वलाई असर पार्छन् ।

यी सबै घटनाक्रम, गुटबन्दी, सामाजिक मनोविज्ञान तथा टिप्पणीहरू हेर्दा कांग्रेस सभापति देउवाको राजनीतिक परिस्थिति प्रतिकूल बन्दै गइरहेको हो कि भन्ने पनि देखिन्छ । यस्तो अवस्थामा पार्टी सभापति तीन वर्षपछिको पालो कुरेर बस्नुहोला कि अहिल्यै नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री भइहालौं भन्ने छ ?

उहाँहरू (शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाल) बीच भएको भद्र सहमति कार्यान्वयन गर्ने हो भने कुर्नैपर्छ । तर, अहिलेको परिस्थितिमा शेरबहादुरजी पार्टी सभापति र संसदीय दलका नेता हुनुहुन्छ, पार्टीको इमेज दिनानुदिन बिग्रँदो छ । बिग्रँदो पार्टीको इमेजलाई कसरी सुधार्ने भन्नेबारेमा नेतृत्वले विचार गरेर निर्णय लिनुपर्छ । अहिले मुलुक लोकरिझ्याइँमा चलेको छ । हाम्रै पार्टीका केही साथीहरू पनि लोकरिझ्याइँको प्रवृत्तिमा छन् । यस्तो प्रवृत्तिको राजनीति अस्थायी हुन्छ । हामीले पनि यसैलाई राजनीतिको मूल मुद्दा बनाउने हो भने देश कता जाला ? हामीले लोकतन्त्रको मूल्यलाई तलमाथि हुन दिन हुन्न । सरकार छोड्न तयार हुनुपर्छ तर लोकतन्त्रको मान्यतालाई हामीले कदापि छाड्न हुन्न भनेर मैले बारम्बार भन्दै आएको छु ।

जस्तो, कोशी प्रदेशमा सरकार बनाउँदा सभामुखले हस्ताक्षर गर्नु गलत भयो भनेर पार्टीमा मैले मात्र बोलें । कोशीमा सभामुखको उत्साह लोकतन्त्रको मान्यताविरुद्ध हो । कांग्रेस हार्ला, तर कांग्रेसले लोकतन्त्र सिकाउनुपर्छ । प्रधानमन्त्रीको कुरामा शेरबहादुरजी वा शेरबहादुरजीको ठाउँमा शेखर कोइराला भए पनि कोसिस हुन्छ । ठूलो पार्टी भएकाले यो कोसिस प्राकृतिक पनि हो । अर्कोतर्फ, ललिता निवासको जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी काण्डमा बाहेक सरकारको काम पनि त्यस्तै–त्यस्तै छÙ अर्थतन्त्र चौपट छ । त्यो अवस्थामा जहिल्यै सरकार ढल्छ कि भन्ने हुन्छ । जो नेता हुन्छ, उसले जहिल्यै प्रयास गरिरहन्छ । त्यसलाई हामीले स्वाभाविक रूपमा लिनुपर्छ ।

हाल सबैभन्दा ठूलो पार्टी कांग्रेस हो तर तेस्रो स्थानको पार्टीको नेतृत्व स्वीकार गरी सरकारमा सहभागी छ । अब आलोपालो अनुसार राष्ट्रिय पार्टीको हैसियतसमेत नभएको दस सिटको पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुनेछ । लोकतन्त्रमा यस्तो पनि स्वीकार्य हुन्छ त ?

अहिल्यै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई प्रधानमन्त्री स्विकार्ने कि नस्विकार्ने भनेर भन्न धेरै छिटो हुन्छ । मचाहिँ राजनीतिको अलि बृहत् क्यानाभासबाट हेर्दै छु । हाम्रा साथीहरूले कसरी हेर्नुभएको छ, थाहा छैन । यही सरकारमा रहेका दलहरू मिलेर समाजवादी केन्द्र किन बन्यो ? प्रचण्ड, माधवजी वा उपेन्द्रजीको जोडमा समाजवादी केन्द्र बनाउनु भनेको त कांग्रेसलाई दबाब दिनु हो । त्यसलाई साधारण रूपमा नहेरौं ।

जे पनि हुन सक्छ भन्ने संकेत गर्नुभयो । तत्कालै कांग्रेसले सरकारको नेतृत्व पाउने अवस्था आयो भने तपाईंहरू देउवालाई नै प्रधानमन्त्री स्विकार्नुहुन्छ कि पार्टीभित्र विकल्प खोज्ने तयारीमा हुनुहुन्छ ?

संसदीय दलमा नम्बरको खेल हुन्छ । खेलमा जसले बहुमत पुर्‍याउँछ, उसैको जित हुन्छ । प्रणालीबाहिर हिँड्न सकिन्न । संसदीय दलको नेता हुन्छु भनेर मैले वा कसैले बोलेर मात्रै हुन्न । नम्बरको खेलमा शेरबहादुरजीलाई स्विकार्नुपर्ने हुन्छ । प्रयासको खेल त जुन दिनदेखि शेरबहादुरजी संसदीय दलको नेता बन्नुभयो, त्यसै दिनदेखि नै छ । यो स्वाभाविक हो । यसलाई अन्यथा लिन हुन्न । जुन दिन संख्या पुग्छ, त्यति बेला प्रयत्न गर्ने हो; अघि बढ्ने हो । अहिले बोलेरै मात्रै हुन्न । अन्तरक्रिया गरेर सांसदहरूलाई आफ्नो पक्षमा ल्याउन सक्नुपर्छ ।

महामन्त्री गगन थापाले हालै एक सार्वजनिक कार्यक्रममा ‘अब पार्टी सभापति देउवा प्रधानमन्त्री बन्न हुन्न, संसदीय दलको नेता परिवर्तन गरेर भए पनि विकल्प खोज्ने हो, सके आफू हुने र नसके अरूलाई बनाउने हो’ भन्नुभएको छ । संसदीय दलको नेता परिवर्तन गर्ने क्रममा तपाईंको साथ गगनलाई हुन्छ कि आफैं अघि बढ्नुहुन्छ ?

मैले गगनजीलाई एकचोटि साथ दिएँ, अब त्यहीँ ‘स्टप’ गर्नुहोस् । सधैं शेखर कोइरालाले गगन थापालाई साथ दिन्छ, या गगन थापाले शेखर कोइरालालाई साथ दिन्छ भन्ने कुराको पछि नलाग्नुहोस् । अहिले हामी सहकार्य गरेर अघि बढिरहेका छौं । जबसम्म संख्या पुग्दैन, तबसम्म शेरबहादुरजीलाई हटाउन प्रयत्न गर्नु अपरिपक्व हुन्छ । यसले पार्टीलाई नोक्सान पुर्‍याउँछ । जुन दिन हाम्रो पक्षमा ४६ सांसद पुग्छन्, त्यसै बेला प्रयत्न गर्ने हो ।

गगन थापाले शेखर कोइरालालाई नै संसदीय दलको नेता स्विकारेर प्रस्ताव गर्नुभयो भनेचाहिँ के हुन्छ नि ?

सबैभन्दा पहिला गगन थापा र शेखर कोइराला एउटै समूहमा काम गरिरहेका छन् भन्ने बुझ्नुपर्‍यो । तपाईंहरू शेखर कोइराला र गगन थापा दुइटा समूहका हुन् भनेजसरी प्रश्न सोधिरहनुभएको छ । यो कदापि होइन । हामीहरूको एजेन्डा एउटै छ भन्ने कुरा मिडियाले बिर्सिदिएको छ । गगनजी युवा हुनुहुन्छ, केही गरौं भनेर आक्रामक रूपमा लाग्नुभएको छ । मेरो स्वभाव त्यस्तो छैन, म नरम छु । काम गर्ने आआफ्नो तरिका हुन्छ । तर हामी सँगै छौं, सँगै काम गरेका छौं भन्नेमा शंका नराख्नुहोस् । प्रमुख कुरा नै मुद्दा हो । मुद्दामा हामी सँगै छौं ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

हामी सँगै छौं भन्नुभयो, तर सत्ताको भागबन्डामा महामन्त्रीलाई बाइपास गर्ने, सभापतिसँग मिल्ने र तपाईंले आफ्नै समूहका नेताहरूसँग परामर्श गर्न छाड्नुभयो भन्ने गुनासो गगन पक्षको छ नि ?

गगनजीले मन्त्री बनाउने कुरालाई लिएर भन्नुभएको हो भने एकदमै गलत हो । गगनजीको आफ्नो र मेरो आफ्नै प्रतिनिधि थिए होलान्, त्यो स्वाभाविक हो । तर गगनजी र मैले मेरै सम्पर्क कार्यालयमा दुई घण्टा बसेर छलफल गरी मन्त्रीका नाम दिएका हौं । मलाई त्यति बेला सिंगापुर जानुपर्ने थियो । जानु अघिल्लो दिनमा हामी बस्यौं । म र गगनजीको बीचमा धनराज गुरुङ, डिकबहादुर लिम्बू र सुरेन्द्र आचार्यका नाममा सहमति भएको हो । भोलिपल्ट शेरबहादुरजीसँग टाइम लिएर मन्त्री बन्नेहरूका नाम दिएका हौं । म त्यहीँ नाम दिएर सिंगापुर गएँ । म उता हुँदा शेरबहादुरजीले धनराज र डिकबहादुरजीलाई मात्रै मन्त्री बनाउनुभएछ । मैले प्रधानमन्त्रीजीलाई फोन गरें र एकदमै रिसाएँ । शेरबहादुरजीलाई पनि फोन गरें । केही दिनपछि सुरेन्द्र आचार्यलाई पठाउनुभयो । अहिले गगनजीले मेरो अगाडि होइन भनेर भन्नुहोस् न अनि म कुरा गर्छु ।

सभापतिमा प्रतिस्पर्धापछि सामान्य बोलचालसम्म टुटेका तपाईं र देउवाबीच पछिल्लो पटक सम्बन्ध सुमधुर बन्दै गएको छ । देउवाले तपाईंलाई वरिष्ठ नेताको उपाधि दिने, उस्तै परे प्रधानमन्त्री नै दिने प्रतिबद्धता जनाएको पनि चर्चामा छ नि ?

पहिलो कुरा, शेरबहादुरजी पार्टी सभापति हुनुहुन्छ । मलाई शेरबहादुरजीका र हाम्रै समूहका केही साथीहरूले पनि शेरबहादुरजीसँग मिल्यो भनेर आरोप लगाइरहेका छन् । सामाजिक सञ्जालमा पनि मविरुद्ध आरोपहरू आउने गरेका छन् । पहिला मैले सामाजिक सञ्जालका कमेन्टहरू हेर्दिनथें, अहिले पढ्न थालेको छु । कतिपयले यो त शेरबहादुरजीको टाङमुनिबाट छिर्‍यो भन्छन् । शेखरलाई ती व्यक्तिहरूले चिनेकै छैनन् । म त्यस्तो होइन । यो दिनुहोस्, त्यो दिनुहोस् भनेर लोलोपोतो गर्ने मान्छे होइन । मैले वरिष्ठ नेता पनि मागेको छैन । दिनुभयो भने बनुँला । मसँग कुरा भएको छैन । तर, शेरबहादुरजीको कानमा यो सन्देश साथीहरूले पुर्‍याएका भने छन् । पाउने मैले हो । दिनुभयो भने दिनुभयो, दिनुभएन भने पनि ठीकै छ ।

१४ औं महाधिवेशनपछि तपाईंलाई देउवाले चालीस प्रतिशत हैसियतको मात्रै सम्झिने होइन, इग्नोर नै गरेर हिँड्नुभयो । तर, अहिले आएर तपाईंले ‘युटर्न’ भएर देउवाको आलोचना कम गर्ने, सम्बन्ध बढाउँदै लैजाने गरेको देखिन्छ । यसको कारण के होला ?

महाधिवेशनअघि मैले कस्तो आलोचना गरेको थिएँ ? पार्टी सञ्चालन राम्रो भएन, पार्टी कमजोर भयो, विभाग बनेनन्, भ्रातृ संस्थाको अधिवेशन भएन — यही न हो भनेको ! जुन कुरा मैले अहिले पनि भनिरहेको छु । मैले शेरबहादुरजी हट्नुपर्छ भन्दा कट्टर विरोधी हुने, सुधारको कुरा गर्दा आलोचना गर्न छाड्नुभयो भन्ने हुन्छ ? हरेक मान्छेको काम गर्ने स्वभाव फरक हुन्छ । अरूले जे बोले पनि सहनुपर्छ, आफू रिसाउन हुन्न, गाली नगर, लागेको कुरा राम्रोसँग व्याख्या गर भन्ने संस्कार कोइरालाहरूको छ । म त्यही गरिरहेको छु । महाधिवेशनमा चालीस प्रतिशत मत मैले ल्याएँ । तर, महाधिवेशनलगत्तै हाम्रो समूहको बैठकबाटै चालीस प्रतिशत भाग खोज्दिनँ, न्याय खोज्छु भनेको छु । अहिले पनि त्यही भनिरहेको छु । विभाग बनाउँदा, भ्रातृ संस्थाहरू बनाउँदा न्याय गर्नुहोस् भनिरहेको छु । मलाई सुरुमा बोलाउनुहुन्थेन । नबोलाई नजाने मेरो बानी छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कुनै सूचना पाएँ भने मात्रै शेरबहादुरजीलाई फोन गर्थें, जान्थें, सुनाउँथें ।

पछिल्लो पटक देउवा र तपाईंबीच सघन भेटघाट हुन थालेको छ नि ?

शेरबहादुरजीलाई १४ औं महाधिवेशनमा एउटा शेखर कोइराला लड्दा पनि कसरी चालीस प्रतिशत मत आयो भन्ने परेको छ । त्यो कुरा मलाई एकचोटि होइन, धेरैचोटि भनिसक्नुभएको छ । हुन पनि हो, यो कुनै जोक होइन । सुरुमा को थियो र मसँग ? रामचन्द्रजी, शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, विमलेन्द्र निधि कोही थिएनन् । तर, यत्रो भोट कसरी आयो भनेर सभापतिजी आश्चर्यमा पर्नुभएको छ । कतिले पार्टी कार्यालयमा कोठा दिएको विषय उठाउने गर्छन् । मैले कोठा पाउनु तार्किक हो कि होइन ? पदाधिकारीहरूले सभापतिसँग कुरा गरेर दिलाएका हुन् । सुरुमा शेरबहादुरजीबाट हुँदैन भन्ने खबर आयो । शेखर रिसाएको छ भन्ने खबर पनि शेरबहादुरजीसम्म पुग्यो । मलाई बोलाउनुभयो । म गएँ । मैले तपार्इं पार्टी कार्यालयमा एउटा कोठा त दिनुहुन्न, चालीस प्रतिशत त मैले पनि जितेको हुँ भनें । जुन दिन भनें, त्यसै दिन उहाँले कोठा उपलब्ध गराउनुभयो । शेखर शेरबहादुरजीको नजिक नहोस्, टाढै होस् भन्ने एउटा समूह त पक्कै हुन्छ । शेरबहादुरजीले अहिले अलि बढी बोलाइरहनुभएको छ । त्यसले गर्दा हाम्रा साथीहरूलाई पनि शंका हुन सक्छ । बोलाएपछि जानुपर्‍यो, नाइँ भन्न त सक्दिनँ ।

तपाईंले केही दिनअघि कान्तिपुर टेलिभिजनमार्फत १५ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार हुने घोषणा गर्नुभयो । तपाईं अब देउवाले प्रस्ताव गरेको सभापति हुनुहुन्छ कि अहिलेकै टिमबाट बन्नुहुन्छ ?

नेपाली कांग्रेसमा दुइटा समूह छन् । त्यो स्वाभाविक हो, मैले अन्यथा लिन्नँ । शेरबहादुरजी आफू अब उठ्नुहुन्न, सार्वजनिक रूपमा भनिसक्नुभएको छ । कसलाई सहयोग गर्नुहुन्छ, कसैलाई थाहा छैन । मलाई लाग्छ, शेरबहादुजीलाई पनि थाहा छैन । तर, शेखर कोइराला १५ औं महाधिवेशनमा उठ्छ भन्ने प्रस्ट छ । शेरबहादुरजीले समर्थन गर्नुहुन्छ कि गर्नुहुन्न, गौण कुरा हो । मैले १४ औं महाधिवेशनमा पाएको चालीस प्रतिशत मतलाई अब साठी प्रतिशत पुर्‍याउनु छ । आफ्नो मात्रै समूह भनिराख्यो भने कहिल्यै बढ्दैन । शेरबहादुरजी पनि पहिला चालीस प्रतिशतमै रहनुभएको थियो । पछि साठी प्रतिशत पुर्‍याउनुभयो । भोलि उहाँले के गर्नुहुन्छ भन्दा पनि यो पार्टी कसरी बनाउने भन्ने मेरो चिन्ता हो ।

देउवाले ‘कांग्रेस कोइरालाहरूले नै बनाएका हुन्, मैले छोड्दा कोइरालाहरूलाई नै छोड्छु’ भन्दै आउनुभएको छ । भोलिको उत्तराधिकारीका रूपमा तपाईंलाई अघि सार्ने कुनै संकेत गर्नुभएको छ कि छैन ?

त्यो त भनिरहनुभएको छ । १४ औं महाधिवेशनदेखि नै भन्दै आउनुभएको छ । त्यति बेला मलाई महामन्त्री हुनुहोस् भनेर आफ्नो टिमबाट लडाउन पटक–पटक खोज्नुभएको थियो । तर, मैले नमानेको हुँ । महाधिवेशन समयमा (साढे दुई वर्षपछि) होस् भन्ने हो । महाधिवेशनको विषयमा गगनजीसँग कुराकानी भएको छ ।

गगन थापा पनि अब पार्टी सभापति हुने, संसदीय दलको नेता बन्ने भन्ने प्रस्ट रोडम्यापमा हिँड्नुभएको देखिन्छ । तपाईं पनि त्यही रोडम्यापमा देखिनुहुन्छ, अर्कोतिर हामी एउटै समूह हौं भन्दै हुनुहुन्छ । तपाईंहरूबीचको सहकार्य कति परसम्म जान्छ ?

राजनीति गर्ने सबैले म भोलि सांसद, मन्त्री, प्रधानमन्त्री हुन्छु भनेर सोच्छन् । कसैले बोल्छ, कसैले बोल्दैन । कोही मन्त्री होलान् । तर पनि हामीबीचको सहकार्य सँगै जान्छ । एजेन्डामा फरक भयो भने अप्ठ्यारो आउने हो । एजेन्डा एउटै भएपछि फरक आउँदैन । गगनजीका मानिसहरूले, शेखर कोइरालाका मानिसहरूले खेल्न खोज्छन् हाम्रो बीचमा । व्यक्तिका स्वार्थहरू हुन्छन्, त्यसलाई स्वाभाविक रूपमा लिन्छु । तर, हामी एकै ठाउँमा उभिएका छौं । गगनजीका एजेन्डामा मेरो विमति कहाँ छ ? संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डामा असहमत हुने अवस्था कहाँ छ ? अहिले संसदीय दलको नेता बदल्ने समय आइसकेको छैन, सम्भावना पनि देखिएको छैन । अहिले अघि बढ्नु अपरिपक्व हुन्छ । परिणाम नआउने गरी अघि बढ्दा पार्टी कमजोर हुन्छ ।

संसदीय दलको नेता फेरौं भन्दा पार्टी कमजोर हुने तर तपाईंलाई पार्टी कार्यालयमा छुट्टै कोठा दिइएको छ । यता सम्पर्क कार्यालय पनि राख्नुभएको छ । यसरी गुटबन्दी गरेर मात्रै पार्टी बलियो हुन्छ ?

यसमा म गम्भीर छु । बिस्तारै सम्पर्क कार्यालय बन्द गर्नुपर्छ भन्ने सोचिरहेको छु ।

तपाईंले अर्को विरोधाभास पनि देखाइरहनुभएको छ । जस्तो कि— गठबन्धन, नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, कोशीको सभामुखको विषयमा बोल्नुहुन्छÙ कोशीको सरकार गठनमा सभामुखको भूमिकालाई गैरसंवैधानिक भनेर प्रश्न उठाउनुभयोÙ फेरि त्यही सरकारमा तपाईंले आफ्नोतर्फबाट मन्त्री पठाउनुभयो ।

कोशीमा सरकार कांग्रेस नेतृत्वमा बनेको छ, खुसी लागेको छ । तर, सभामुखको हस्ताक्षर लिएर सरकार बन्नु संवैधानिक होइन, लोकतान्त्रिक मान्यता पनि होइन । मैले मुख्यमन्त्रीलाई तत्कालै फोन गरेर ‘बधाई छ । तर माइन्ड नगर्नुहोस्, पार्टीलाई बचाउन पनि हामीले यस्तो पद्धतिको समर्थन गर्न हुन्न’ भनें । अब मुद्दा अदालत गइसक्योÙ जस्तो फैसला गर्छ, त्यसलाई मान्नुको विकल्प छैन । मैले सरकारलाई अवैधानिक भनेको होइन, सभामुखको हस्ताक्षरप्रति प्रश्न उठाएको हुँ । मन्त्री पठाउँदा गगनजीसँग पनि सल्लाह गरेको हुँ । अरू विषय पनि बोलिरहेको छु । म अहिले बोल्ने भूमिकामा छु, बोल्छु ।

कोइराला परिवारका सदस्य १४ औं महाधिवेशनमा तीनतिर हुनुभयो । अझै एक ठाउँ हुने सम्भावना देखिँदैन । परिवार नै मिलाउन नसकेको अवस्थामा तपाईं कांग्रेसमा आफ्ना समर्थक बढाउँछु भनेर कुन आत्मविश्वासले अघि बढ्नुभएको छ ?

उनीहरूलाई मिलाउन नसक्नु मेरो कमजोरी हो । मैले उनीहरूलाई सम्झाउन सकिनँ । तर परिवारका भाइबहिनीले समर्थन नगर्दा पनि चालीस प्रतिशत आएको छ भने त्यसको अर्थ बुझ्नुपर्‍यो । भाइबहिनीले मलाई समर्थन गरेनन् भन्नेमा कुनै शंका छैन, तर पनि मैले चालीस प्रतिशत मत ल्याएँ । उनीहरूले समर्थन नगर्दा दुःख लागेको छ । राजनीति उनीहरू पनि गर्दै छन् । उनीहरूलाई पनि अघि बढौं भन्ने लागेको होला, मलाई पनि छ । जसले सक्यो, ऊ अघि जाने हो । मैले उनीहरूलाई मिलाउन सकिनँ । त्यो मेरो कमजोरी हो । अब मिलाउने कोसिस गर्छु ।

अहिले पुराना दलहरू र नेताप्रति जनस्तरमा त्यति धेरै आशा, भरोसा र विश्वास देखिँदैन । नयाँ–नयाँ दल तथा नेताहरू उदाइरहेका छन् । यसलाई कसरी लिनुभएको छ ?

नयाँ दलहरूका बारेमा आजै केही भन्न सकिने अवस्था छैन । कुन मुद्दामा कसरी आए भन्ने पनि महत्त्वपूर्ण हुन्छ । हामीले कसरी धेरै सिट ल्यायौं भन्ने विषय पनि छ । गठबन्धनले गर्दा धेरै सिट आएको हो । हाम्रो पार्टी राम्ररी अघि बढेको छैन । अहिले त एकअर्काको आलोचना गर्ने काम भएको छ । हामी यसरी राम्रो कामका साथ हिँड्दै छौं भन्ने आभास दिनुपर्छ । कांग्रेस परिवर्तन हुँदै छ भन्ने आभास नेतृत्व र पदाधिकारीहरूले दिन सक्नुपर्छ । यो पाराले पार्टी अघि जान सक्दैन । नयाँ दलहरूको सिद्धान्त के हो, विचार के हो, प्रस्ट छैन । विचार प्रस्ट भइसकेपछि मात्रै ती कसरी अघि बढ्छन् भन्ने थाहा हुन्छ । लोकरिझ्यााइँले एउटा निश्चित समयमा काम गर्ने हो । उपनिर्वाचनपछि नै नयाँ दलहरूको प्रभाव घटिरहेको देख्छु । अहिले त काठमाडौं महानगरका मेयर बालेन अघि आइरहेका छन्, सबै चकित पनि छन् ।

तपाईंहरूसँगै लामो समय रहनुभएका स्वर्णिम वाग्ले उपनिर्वाचनमा रास्वपाबाट चुनाव लड्नुभयो, जित्नु पनि भयो । त्यसैले रास्वपासँग तपाईंहरूलाई सहकार्य, प्रशंसा वा ठीकै छ भनेर भन्न कठिन भएको हो ?

स्वर्णिम वाग्ले जानुभयो, सांसद बन्नुभयो; हाम्रा लागि राम्रो कुरा त होइन । रास्वपामा कांग्रेसबाट गएका शिशिर खनाल, मनीष झा हुनुहुन्छ; यो पनि राम्रो भएन । यो आफ्नो ठाउँमा छ । हाम्रोजस्तो मुलुकमा यता र उता गरिरहने हुन्छ । तर रास्वपाले लोकतान्त्रिक मान्यता बुझेको छ कि छैन, मान्यता के हो, सिद्धान्त के हो, स्पष्ट पार्नुपर्छ ।

प्रकाशित : असार ३१, २०८० ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?