'हामी अफताब आलमलाई मुक्त गर्छौं, उहाँले न्याय पाउनुहुन्छ' [भिडियो]- कुराकानी - कान्तिपुर समाचार
अन्तर्वार्ता

'हामी अफताब आलमलाई मुक्त गर्छौं, उहाँले न्याय पाउनुहुन्छ' [भिडियो]

मेरो बुबालाई जालझेल गरेर फसाइयो । यहाँ चुनाव लड्नुपर्ने परिस्थिति बन्यो । मलाई यहाँको नेता कार्यकर्ताबाटै प्रस्ताव आएपछि म आएको हुँ । म जिम्मेवारीबाट भाग्ने अवस्था थिएन । त्यही भएर मैले उम्मेदवारी दिएको हुँ ।
उमेश चौहान, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

रौतहट — ०६४ को संविधानसभा निर्वाचनमा बम बिस्फोट हुँदा घाइतेहरूलाई इँटाभट्टामा पोलेको आरोपमा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका मोहम्मद आफताब आलमका छोरा फिरदोस आलम आसन्न निर्वाचनमा रौतहट-२ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् ।

बुवा जेल परेपछि उनको विरासत थाम्न उम्मेदवार भएका फिरदोसले उनी निर्दोष भएको दाबी मात्र गरेनन्, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्रमा परेको आरोप समेत लगाए । उनका कान्छा छोरा डा.मो.राजिक आलम रौतहटको राजपुर नगरपालिकाको मेयर छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. फिरदोस आलमसँग कान्तिपुरका सम्पादक उमेश चौहानले परोहा नगरपालिकाको लौकाहामा गरेको कुराकानी:

यहाँको आफ्नो परिचय चिकित्सकको रूपमा छ तर त्योभन्दा ठूलो परिचय देश र आफ्नो निर्वाचन क्षेत्रले चिन्ने मोहम्मद अफताब आलमको छोराको रूपमा हो । उहाँको ठूलो विवादास्पद छवी छ र उहाँ अहिले जेलमा हुनुहुन्छ । तपाईं कुन मुद्दा लिएर अहिले निर्वाचनमा हुनुहुन्छ ?

मेरो सबैभन्दा मुख्य एजेन्डा भनेको तपाईंले भन्नुभएको जुन 'विवादास्पद एजेन्डा’ पनि हो । यो सबै जालझेल र षडयन्त्र हो । यो सबै असत्य हो । त्यो कुनै घटना भएको होइन । तथाकथित जुन घटना छ, त्यो राजपुर नगरपालिकाको भनिएको छ । त्यो घटना घटेको भए स्थानीय चुनावमा पनि मेरो भाइलाई अधिकतम मत दिएर जनताले जिताइसकेकाछन् । त्यसले पनि प्रमाणित गरिसकेको छ कि यो सबै असत्य हो । एउटा फिल्मी शैलीमा बनाइएको घटना छ । तत्कालीन केपी ओली सरकार र केही स्थानीय नेताहरूले रचेको षडयन्त्र हो । यसमा क्षमा चाहन्छु, तपाईंहरू पनि हुनुन्छ तर केही मिडियाका साथीहरूले पनि यसमा बढाइचढाइ अतिरञ्जित बनाए । हाम्रो कुरा सुनिएन । रौतहट क्षेत्र नम्बर २ का जनतालाई थाहा हुनुपर्‍थ्यो । राजपुरवासीलाई मुख्य कुरा के हो थाहा हुनुपर्‍थ्यो । त्यो कुरालाई बहिष्कार गरेर १–२ जना मान्छेसँगका कुरालाई मात्रै मिडियामा ल्याइयो र यो तपाईंले भनेजस्तो विवादास्पद बनाइयो । भनिएजस्तो अफताव आलम यहाँ विवादास्पद होइन । जनप्रिय नेता हो ।

तपाईंले पनि भन्नुभयो र हामीलाई पनि थाहा छ कि, शेख इद्रिस नेपाली कांग्रेसको एउटा ठूलो नेता हुनुहुन्थ्यो । त्यसपछि उहाँको भतिज मोहम्मद आफताब आलम यहाँबाट पटकपटक निर्वाचित हुनुभयो । यहाँको आर्थिक रुपमा सम्पन्न, राजनीतिक रुपमा शक्तिशाली परिवार रौतहटको राजापूर वा गौरमा मोहम्मद आफताब आलम यति कमजोर हुनुहुन्छ कि यहाँ कसैले षडयन्त्र गरेर फसाउन सक्ने ? तपाईंहरूसँग यत्रो जनता छ, यत्रो जनमत छ, यत्रो शक्ति र सम्पत्ति छ त्यति सजिलो छ र फसाउन ?

जनचाहना त छ तर सरकारभन्दा जो पनि कमजोर नै हुन्छ । विशेषतः तत्कालीन केपी ओलीको करिब २ तिहाइको सरकारभन्दा बलियो यहाँ कोही पनि थिएन । यहाँ बोल्न सक्ने अवस्था थिएन । त्योभन्दा त कमजोर जो पनि हुन्छ । आफताब आलम पनि जनता नै हो । राज्यभन्दा बलियो कोही पनि हुँदैन ।

राज्य पनि लामो सयसम्म तपाईंहरूकै साथमा थियो । २०६४ सालको चैत २७ गते त्यो घटना भयो तर २०७६ सालसम्म त्यो घटना दबाएर राखिएको थियो । चर्चामा तब आयो जब सर्वोच्च अदालतले मोहम्मद आफताव आलमलाई मुद्दा लगाउनु भनेर जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दियो । भनेपछि सत्ता र शक्ति त तपाईंहरूसँगै थियो नि ?

सर्वोच्च अदालतले पुनः अनुसन्धान गर्नु भनेको हो । मुद्दा लगाउनु भनेको होइन । त्यसपछिको जुन प्रक्रिया र अनुसन्धान गरिएको छ, पहिला पनि तथ्यगत अनुसन्धान भइसकेको मुद्दा हो । तर, त्यसलाई पूरै बहिष्कार गरेर नयाँ अनुसन्धानमा कुनै पनि भौतिक प्रमाण केही पनि छैन । गवाही खडा गरिएको छ ।

भौतिक प्रमाण त जो जीवित मान्छे हो तिनीहरूको भौतिक अवसान नै गरियो इटाभट्टामा राखेर, भौतिक रूपमा त नामेट बनाइसकियो नि ?

भौतिक प्रमाण भनेको जहाँ बम बिस्फोट भनेर भनिन्छ, त्यहाँ केही न केही त भेटिनुपर्छ हैन ? त्यो घटनास्थल मुचुल्का हेर्नुस् । घटनास्थल मुचुल्काले केही न केही त देखाउँछ त्यहाँ ?

घटनास्थल मुचुल्काले गोठको माथिल्लो भागमा बमको छर्रा लागेको, क्षति भएको र युवा जुन घाइते भएका थिए ।असी अख्तर र पिन्टु उनीहरू घाइते थिए । उनीहरूलाई इँटाभट्टामा हालियो भन्ने छ नि । प्रत्यक्षदर्शीले पनि भनेका छन् । पिन्टुका बुबाले अहिले पनि भनिरहनुभएको छ । असी अख्तरको बुबा, आमा र श्रीमतिले पनि भनिराख्नुभएको थियो र बयान पनि दिनुभएको छ नि अदालतमा र सरकारी वकिल कार्यालयमा ?

अदालतको बयान जिरह त तपाईंले पनि हेर्नुहोला नि । यो त विचाराधीन मुद्दा हो । त्यो अदालतमा गइसकेको बयान त हेर्नुहोला । घटनास्थलको मुचुल्काले बमछर्रा लागेको कहिँ पनि देखाएको छैन । माकुराको जालो देखाएको छ । माकुराको जालो कहिँ अरुले ल्याएर टाल्न सक्छ ? माकुराको जालो ल्याएर टाल्न सक्नुहुन्छ ? सम्भव छ त्यो ? सम्भव नै छैन ।

उहाँहरूलाई बयान फेर्न बाध्य बनाइएको छ, आर्थिक रूपमा प्रलोभन दिएर अथवा शक्तिको धाक धम्की दिएको भन्ने छ । त्यो किसिमले प्रभावित बनेर मुद्दा आफ्नो पक्षमा पार्ने कोशिस भइरहेको भनिन्छ नि ?

छैन । त्यस्तो केही पनि छैन । बरु त्यतिबेलाको प्रशासनले यहाँको विपक्षी नेताहरूले एक एक स्थानीयहरूलाई भगाइएको छ, तेरो पनि मुद्दामा नाम हालिदिन्छु भनेर । नाम भन्न सक्दैन तर अहिले पनि एकजना सामान्य व्यापारी घरबाट निस्किन सकेका छैनन् । उसबाट पैसा लिइएको छ बारम्बार त्यतिबेलाको प्रहरी प्रशासन र त्यतिबेलाको विपक्षी नेताहरूले । अहिले पनि घरबाट निस्किएको छैन । जबसम्म अफताब आलम आउँदैन, तबसम्म म निस्किन सक्दैन भन्छन् । विदेश पठाइयो इन्डिया पठाइयो, पैसा दे, नत्र भने यो मुद्दामा नाम हालिदिन्छु भनेर । २०७६ सालमा यति तर्साइएको थियो, रौतहट क्षेत्रका जनताहरूलाई जो पनि मुद्दामा पर्न सक्छ है भन्ने थियो ।

२०७६ सालमा तपाईंका बुवा मोहम्मद आफताब आलम पक्राउ पर्नुभयो । यहाँको पुलिस चौकीलाई सुरक्षा दिनको लागि जनकपुर र वीरगन्जबाट गाडीका गाडी प्रहरी मगाउनुपर्‍यो, ब्यारेक नै स्थापना गर्नुपर्‍यो भनेपछि त्रास त कसले फैलायो भन्ने देखिन्छ नि ?

त्यो क्लियर गर्न चाहन्छु । त्यतिबेलाको प्रहरी प्रशासनले मिडियालाई गुमराह गर्नका लागि अफताब आलमले यहाँ केही गर्छ, केही भयो त ? हुनुपर्‍थ्यो नि । मिडियालाई रोक्यो । सदरमुकामभन्दा एक मिटर पनि भित्र आउन दिएन । मिडियालाई भन्यो कि, त्यहाँ नजानुस् हामी सुरक्षा दिन सक्दैनौं । मिडियालाई यथार्थबाट टाढा राख्यो ।

त्यो किन पनि होला भन्दाखेरि जब डीएसपी नवीन कार्कीले उहाँलाई पक्राउ गर्नुभयो, तपाईंको बुबाले गाडीमै के भन्नुभएको छ भने "तपाईंले ठट्टा ठान्नुभएको छ ? यहाँ आग लाग्छ, यहाँ रौतहटमा’ भन्नुभएको थियो । बहालवाला सांसदले त्यत्रो ठूलो धम्की दिइसकेपछि प्रशासन पनि सतर्क भयो होला नि ?

सुनेको छु । सबैभन्दा पहिला त्यहाँ भिडियो बनाउनुपर्‍थ्यो ? त्यो गैरकानुनी हो कि होइन ? पक्राउ परेपछि त्यहाँ चोरेर भिडियो बनाएको हो । चोरेर त्यस्तो गर्न प्रहरी प्रशासनले पाइन्छ ? त्यो गाडीमा बसेर मेरो बुवाले म विवाहमा जाँदैछु । आँफै गौर जाँदैछु । जान्छु, सँगै जान्छु भन्नुभएको हो । भाग्ने मान्छे त उहाँ होइन । भाग्ने भए त धेरै पहिला भागिसक्नुहुन्थ्यो । त्यो भएर भिडियो बनाएको हो । आवेशमा मान्छेले जे पनि भन्छ । उहाँले बारम्बार भन्नुभएको छ, म चोर डाँका होइन । म आँफै हिँडिरहेको छु मलाई किन जबर्जस्ती गरेको ? पक्राउ पुर्जी छैन ।

उहाँलाई त विश्वासै थिएन कि यस्तो पनि हुन सक्छ भनेर । तपाईं भिडियो राम्ररी सुन्नुहोला । कान्तिपुरले नै रिलिज गरेको हो । ‘हैन हजुर हैन’ भनेर उक्साएर बोल्न लगाएको हो । यो त नेताहरूले त संसदमा देश तोडिदिन्छु भन्छ । तर आफताब आलमले त देश जोड्नुपर्छ भनेर संसद्मा बोलेको छ । मधेस आन्दोलनको बेला होस् कि जुनसुकै बेला होस्, को नेता छ समग्र राष्ट्रियताको कुरा गर्ने ? उहाँले त संसद्मा देश बचाउनुपर्छ देश जोड्नुपर्छ भनेर भन्नुभएको छ । तर मिडियामा पक्राउ गर्दाखेरि मेरो बुबालाई उक्साएर बोल्न लगाएर अतिरञ्जित बनाइएको छ ।

यो मुद्दापछि पटकपटक तपाईंहरूको बुवासँग पनि भेट भएको छ । उहाँ जेलमा हुनुहुन्छ । उहाँको अहिलेको मनस्थिति के छ ? तपाईंहरूलाई के सन्देश दिइरहनुभएको छ ? यो मुद्दा, परिवार र राजनीतिको विषयमा उहाँको के टिप्पणी छ ?

उहाँलाई पूर्ण विश्वास छ, र हामीलाई पनि विश्वास छ कि उहाँले न्याय पाउनुहुन्छ । यो घटनाले उहाँलाई मात्रै होइन, यहाँको रौतहट क्षेत्र नम्बर २ का जनता पनि दुःखी छन् । अहिले म जनताको घरदैलामा जाँदाखेरि सबैको इच्छा, चाहाना छ कि उहाँहरूको नेता अफताब आलम हो । यो चुनाव अफताब आलमले लड्नुपर्ने थियो भन्ने सबै जनताको इच्छा छ । तर, परिस्थिति यस्तो आइदियो । उहाँलाई जालझेल र षडयन्त्र गरेर फसाइएको हो । उहाँ कस्तो व्यक्ति हो भन्ने यहाँका घर घर गएर तपाईंले पनि सोध्न सक्नुहुन्छ । कोही नराम्रो व्यक्तिले पटक पटक एकै ठाउँबाट चुनाव जित्छ ? यहाँका जनताले त उहाँलाई चिनेका छन् नि !

एउटा लोकतान्त्रिक पार्टीमा एउटा नेताको विकल्पमा अरु नेताहरू हुँदैनन् ? हजुरबुबा शेख इद्रिस सांसद हुनुभयो । भतिज मोहम्मद अफताब आलम सांसद हुनुभयो, मन्त्री हुनुभयो । उहाँ अहिले चुनावमा उठ्न नसक्ने अवस्था भएपछि रौतहटमा अरु नेता कार्यकर्ता छैनन् ? उहाँको विकल्पमा आफ्नै छोराहरू एउटा मेयर, एउटा सांसद उठ्नुपर्ने ? परिवारवादमै जानुपर्ने हो र ?

तपाईंले जहाँसम्म परिवारवादको कुरा गर्नुभयो । शेख इद्रिसले त्याग, तपस्या गरेर लोकतन्त्र स्थापनाका लागि हिम्मतपूर्ण योगदान गर्नुभएको छ । त्यस्तै, मेरो बुवा अफताव आलमले पनि प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि धेरै दुःख र संघर्ष गर्नुभएको छ । जेल नेल भोग्नुभएको छ । के को लागि भन्दा यही लोकतन्त्रको लागि हो । उहाँहरूले लडेर ल्याएको लोकतन्त्र हो यो । त्यसैले यो लोकतन्त्रमा जो पनि चुनाव लड्न पाउँछ । म पनि यहाँको मतदाता हुँ, म पनि चुनाव लड्न पाउँछु ।

अर्को कुरा मेरो लागि यो कुनै पद होइन, यो संघर्ष हो । यो जनताको अधिकारको लागि, जनताको सेवाका लागि मैले पाएको संघर्षपूर्ण जिम्मेवारी हो । सेवाभावले म राजनीतिमा आएको हुँ । राजनीतिमा लाग्नेहरू सबै सेवाभावले आएका हुँदैनन् । त्यसैले यस्तो सेवाभावले कोही राजनीतिमा आउँछ, र त्यो एक पुस्तापछि अर्को पुस्ता हुँदै दशौँ पुस्तासम्म जान्छ भने त्यो घर–घरमा होस् ।

तर तपाईं त राजनीतिक पहुँचको कारणले होस्, आर्थिक सम्पन्नताको कारणले होस् पाकिस्तानमा गएर एमबीबीएस पढेर डाक्टर बनेर आउनुभयो । नेपाल प्रहरीमा प्रहरी अधिकृतको रुपमा कार्यरत रहनुभयो । तपाईंको भाइ पनि भारतमा गएर डाक्टर पढेर आउनुभयो । अब त्यो सेवा गर्ने हो भने त तपाईंले जुन अध्ययन गर्नुभएको छ, सरकारले जुन जिम्मेवारी दिएको थियो, त्यहाँबाट तपाईंले जनताको सेवा गर्न सक्नुहुन्थ्यो । त्यहाँबाट राजीनामा दिएर राजनीतिमा आउनुपर्ने, यहाँ तपाईंमात्रै योग्य हुने कारण के हो ?

मैले त्यहाँ राम्रै गरिरहेको थिएँ । यहाँ परिस्थिति आयो, मेरो बुबालाई जालझेल गरेर फसाइयो । यहाँ चुनाव लड्नुपर्ने परिस्थिति बन्यो । मलाई यहाँको नेता कार्यकर्ताबाटै प्रस्ताव आएपछि म आएको हुँ । म जिम्मेवारीबाट भाग्ने अवस्था थिएन । त्यही भएर म आफैँ उम्मेदवारी दिएको छु ।

रौतहट–२ भनेपछि देशमा त्रासद राजनीति भइरहेको ठाउँ भन्ने बुझिन्छ । हामी अघि आउँदा पनि तपाईंले अनौठो मान्नुभयो । यो देशमा एउटा पत्रकार एउटा निर्वाचन क्षेत्रमा आउँदा पनि अनौठो मान्नुपर्ने अवस्था छ । यस्तो छवि के कारणले बन्यो ? त्यसलाई चिर्न तपाईंको के योजना छ ?

त्यस्तो छवि यहाँ बनाइएको छ, र त्यो त्यति बेलाको केपी ओली नेतृत्वको सरकारले यस्तो बनाएको हो । प्रहरी प्रशासनले यस्तो बनायो कि रौतहट–२ त छिर्नै मिल्दैन । जबकि मेरो प्रतिद्वन्द्वी मेरो पल्लो घर छेउको मान्छे छ । मेरो बुबा ०७० सालमा छिमेकीसँग चुनाव हार्नुभएको हो । जबकी विरुद्धमा चुनाव लडेर जित्ने मान्छे र हामी एकै ठाउँमा बसिरहेका छौँ । अनि मिडियाहरू आउन नसक्ने कुरै कसरी आउँछ ? यसमा कुनै तर्क छ ? छ भने तपाईं नै भन्नुस् न । जब मुख्य प्रतिद्वन्द्वीहरू नै मेरो गाउँ ठाउँका मान्छेहरू छन्, उहाँहरू अहिले पनि यही हिँडिरहनुभएको छ भने हामीसँग त्यसरी आतंकित हुनुपर्ने के छ र ?

तपाईंले केपी ओलीले राज्य शक्तिको प्रयोग गरेर अफताब आलमलाई फसाएको भन्नुभयो । अहिले त तपाईंहरूकै पार्टी सभापति शेरबहादुर देउवाको सरकार छ । अब तपाईंहरू पनि राज्यशक्तिको प्रयोग गरेर उहाँलाई जेलबाट मुक्त गर्ने योजनामा हो ?

हामी उहाँलाई मुक्त गर्ने कुरामै छौं । हामीलाई थाहा छ, अदालतबाट उहाँले न्याय पाउनुहुन्छ । अहिले अदालती प्रक्रियामा छ, हामीलाई विश्वास छ, उहाँले न्याय पाउनुहुन्छ, र रौतहट–२ को जनताले पनि न्याय पाउँछ । यसमा हामीलाई पूर्ण विश्वास छ ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, कान्तिपुर

जसले सुरूमा मुद्दा हाल्नुभएको थियो, उजुरी दिनुभएको थियो । उहाँहरूले बयान फेर्नुपर्ने अवस्था किन आयो जस्तो लाग्छ यहाँलाई ?

जुन बयान प्रहरी प्रशासनमा गरिएको थियो, त्यो लजिकल नै थिएन । तपाईंलाई एउटा उदाहरण सुनाउँछु, अहिले मसँग जसपा–एमाले गठबन्धनबाट उम्मेदवार शैलेन्द्र साह जो हुनुहुन्छ, उहाँको दुई पटक बयान छ । एकपटक उहाँ आफैँ प्रत्यक्षदर्शी हो, मैले अफताब आलमको घरमा बम पड्किएको स्वयंले देखेको हुँ भन्ने छ । अर्को ०७६ मा बयान गर्दाखेरि उहाँले नै भन्नुभएको छ कि अफताब आलमको घरमा होइन, शेख इद्रिसको गोठ घरमा बिष्फोट भएको थियो । यस्तो यस्तो खालको नदेखेको, नसुनेको मान्छेहरूले त बयान फेरिरहन्छ नि ! उम्मेदवार मान्छे छ, ऊ आफुले देखेकै छैन, कुनै लजिक नै छैन । असत्य कुरा त आफैँ फेरिन्छ नि ।

तपाईंको आफ्नो राजनीतिक र पारिवारिक रुपमा जे विवाद छ, त्यो बाहेकचाँहि युवाहरूप्रति मान्छेको आकर्षण छ । तपाईं यहाँ उम्मेदवार हुनुहुन्छ, बुवाको विरासत र कांग्रेसको संगठनबाहेक तपाईंको आफ्नो एजेन्डाचाँहि के छन् ? जनतालाई के भन्नुभएको छ ?

अबको समय भनेको विकास र समृद्धिको समय हो । यो पनि नेपाली कांग्रेसकै नेतृत्वमा हुँदैछ, यो स्पष्टै छ । धेरै व्यवस्था परिवर्तन र संघर्षको लडाइँ पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको हो । अबको विकास र समृद्धिको नेतृत्व पनि कांग्रेसले मात्रै गर्न सक्छ । यो यहाँका सबै जनताले बुझेका छन् । रौतहट क्षेत्र नम्बर २ मा पहिले पनि धेरै विकास भएकै हो ।

अब मैले शिक्षा, स्वास्थ्य र सिंचाई गरेर मुख्य तीन वटा एजेन्डाहरू लिएर अगाडि बढ्दैछु । स्वास्थ्यमा के छ भने यहाँका बिरामीहरू भारतसम्म पुग्नुपर्ने अवस्था छ । यहाँ हरेक नगरपालिकामा सेकेण्डरी केयर स्तरको अस्पताल स्थापना गर्ने मेरो एजेन्डा हो । शिक्षामा फेरि अत्यन्तै असमानता छ । पढ्नकै लागि टाढासम्म पुग्नुपर्ने, काठमाडौं जानुपर्ने, वीरगञ्ज जानुपर्ने समस्याहरू छन् । त्यो अवस्थाको अन्त्यकालागि मैले केही योजनाहरू बनाएको छु ।


प्रकाशित : कार्तिक २६, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्

मेरो गठबन्धन जनतासँग भएको छ : महेश बर्तौला

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ मा भइरहेको चुनावी प्रतिस्पर्धाको चर्चा देशभर नै छ । कारण हो, चारपटकका विजेता विरोध खतिवडा एमालेका युवा उम्मेदवार तथा विद्यार्थी नेता महेश बर्तौलासँग प्रतिस्पर्धा गर्दैछन् । एमाले वाग्मती प्रदेश कमिटीको उपसचिव रहेका बर्तौलाको यो संसदीय निर्वाचन पहिलो अनुभव हो ।

एमालेको विद्यार्थी राजनीतिबाट उदाएका अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भएका बर्तौलाले विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षभित्रै संसदको टिकट हात पार्न सफल भएका हुन् । मुख्य प्रतिस्पर्धी खतिवडाको मताधिकार क्षेत्र नम्बर–१ बाट रहेको विषयलाई उचालेर उनलाई ‘टुरिस्ट’ उम्मेदवार भन्दै बर्तौलाले कटाक्ष गरिरहेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको विषयमा प्रताप विष्टसुवास विडारीले गरेको कुराकानीको अंश :

तपाईं घरदैलो कार्यक्रममा व्यस्त भइरहँदा जनताबाट कस्तो प्रतिक्रिया प्राप्त गरिरहनुभएको छ ?

निर्वाचनमा उम्मेदवार भएपछि घरदैलोमा व्यस्त हुनु स्वभाविक हो । घरदैलोको क्रममा मैले महत्त्वपूर्ण शिक्षा पनि प्राप्त गरिरहेको छु । मेरो प्रतिद्वन्द्वीका रुपमा रहेका नेकपा (एस)का उम्मेदवार विरोध खतिवडालाई यसक्षेत्रका बासिन्दाले २० वर्षसम्म जिताएका थिए । तर, हाम्रो समस्या, वेदनालाई कम गर्न कहिल्यै पनि फर्केर गाउँ आउनुभएन । हाम्रो क्षेत्रको विकास र समृद्धिलाई पूर्णरुपमा वेवास्ता गर्नुभयो । मैले पनि जितेपछि त्यस्तै पो गर्ने हो कि भन्ने प्रश्न घरदैलोको क्रममा सोधिने गरिएको छ । नागरिकमा राजनीतिप्रति धेरै वितृष्णा फैलिएको र प्रश्नैप्रश्न भएको देखिन्छ । यो हाम्रो राजनीतिक भविष्यका लागि विडम्बनापूर्ण कुरा हो । एउटा व्यक्ति सधैं पद र अवसरका लागि केन्द्रीत भइरहँदा यस्तो अवस्था भएको हो भन्ने मैले बुझेको छु ।

पाँच दल बीच गठबन्धन भए पनि मकवानपुरमा मैले टिकट पाएपछि युवाले अवसर प्राप्त गरेको छ । हामीले जिताउनुपर्छ भन्ने पनि प्रतिक्रिया मतदाताको रहेको छ । मकवानपुरबाट राष्ट्रिय राजनीतिमा युवालाई जोड्ने यो महत्त्वपूर्ण अवसर पनि हो र यसका लागि हामी सकारात्मक छौं भन्ने प्रतिक्रिया मैले प्राप्त गरेको छु ।

म एमालेबाट उम्मेदवार बनेपनि जिल्लाका युवाहरुको साझा भावनाको प्रतिनिधित्व मैले गर्ने नै भएँ । मैले अवसर प्राप्त गर्दा काम गर्न सक्छु भनेर प्रमाणित गर्ने चुनौती समेत रहेको छ । कांग्रेस, माओवादी र नेकपा (एस)मा आवद्ध युवाहरुबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छु । समग्रमा भन्नुपर्दा जिततर्फ अग्रसर भइरहेको प्रतिक्रिया मैले प्राप्त गरेको छु ।

तपाईंले मुख्य प्रतिद्वन्द्वीको रुपमा चित्रण गर्नुभएको विरोध खतिवडा चारपटक यसै निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको छ । यस्तो अवस्थामा तपाईं विजयी हुन कसरी सहज हुन्छ?

हामीले राजतन्त्रका विरुद्धमा लडेर गणतन्त्र किन ल्यायौं ? पहिला यो बुझ्न जरुरी छ । एउटा व्यक्तिको हातमा सिंगो राजनीतिक अधिकार केन्द्रीत थियो । त्यसविरुद्ध हामीले जनताको शासन र जनताको छोरो शासनमा पुग्ने कल्पना गरेर गणतन्त्र ल्याएका हौं । उहाँले म विभिन्न राजनीतिक परिवर्तनमा लडेको व्यक्ति हुँ भनेर भनिरहनुभएको छ । तर, अहिले उहाँ आफैं छोटे राजा बन्ने कसरतमा हुनुहन्छ । २० औं वर्ष उहाँ र उहाँको परिवारका लागि मात्र अवसर दिन सकिन्छ ? उहाँको पत्नी पनि सांसद हुनुभयो । एउटै घरभित्र सबै राजनीतिक अवसर ? हो, जनताले अब यो बुझेका छन् । उहाँले थकाइ कहिले मार्ने, आराम कहिले गर्ने ? त्यसकारण जनताले यसपटक मकवानपुरका छोटे राजालाई पराजित गर्नका लागि आममतदाता एकजुट हुनेछन् ।

अर्को कुरा उहाँ धेरैपटक सांसद हुँदा मकवानपुरमा एउटा पनि गतिलो गौरवको आयोजना ल्याउन सक्नुभएन । उहाँ मन्त्री पनि बन्नुभयो । तर, सम्झन लायक काम केही गर्नुभएन । त्यसकारण हामीले केका लागि उहाँलाई बारम्बार मतदान गर्ने ? यस क्षेत्रका मतदाताले उहाँलाई किन मतदान गर्ने ? यसक्षेत्रबाट उहाँले मतदान समेत गर्न पाउनुहुन्न । अर्को क्षेत्रमा भोट हाल्न जानुहुन्छ । भोट लिन यसक्षेत्रमा आउनुहुन्छ । यसक्षेत्रबाट पाहुनालाई जिताउँदा जनताले धेरै दुःख पाए । मात्रै सांसद विकास कोषको बजेट कनिका छरे जसरी छरियो । १०/२० लाखको योजना मात्र यसक्षेत्रमा ल्याइएको छ । अहिलेसम्म उहाँले कुन गौरवको आयोजना ल्याउनुभयो ? हेटौंडाको स्वास्थ्य अवस्था सुधार गर्न के काम गर्नुभयो ? प्रश्न गर्ने बेला आएको छ । प्रदेशको राजधानीमा भौतिक पूर्वाधार निर्माण गर्न के योगदान गर्नुभयो ? जनताले अब उहाँलाई बिदा गर्नुहुन्छ भन्ने मैले बुझेको छु ।

तपाईंले आफ्नो प्रतिद्वन्द्वीलाई बिदाई गर्नुपर्छ भनिरहँदा स्थानीय तहमा सत्तारुढ गठबन्धनले प्राप्त गरेको मत र तपाईंको दलले पाएको मत बीच धेरै ठूलो फरक छ । अनि कसरी तपाईंले उहाँलाई पराजित गर्नुहुन्छ?

कुरा ठिकै हो । स्थानीय तहको निर्वाचन र यो फरक विषय हो । उहाँले म २० हजारभन्दा बढी मतले विजयी हुन्छु भन्दै हिँडिरहनुभएको छ । म ३९ वर्षको युवा राष्ट्रिय राजनीति जोडिने सुनौलो अवसर लिएर जनतामाझ पुगिरहेको छु । गठबन्धन शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालको बीचमा माथि भएको हो । तर, यस क्षेत्रका जनताले सबै बुझेका छन् । मकवानपुरे जनतासँग मेरो गठबन्धन भएका कारण म सहजै चुनाव जित्छु भन्नेमा ढुक्क छु । यहाँको मतदातासँग मेरो समन्वय र सम्पर्क भइरहेको छ । यसक्षेत्रको विकास र समृद्धिका लागि मात्रै नभएर केन्द्रीय नीति निर्माण गर्ने थलोमा मकवानपुरको पहिचान झल्कने गरी सक्रिय भूमिका सदनमा निर्वाह गर्ने विश्वास मतदातालाई मैले दिलाएको छु । इमान्दार र लगनशीलता मसँग रहेको छ । उहाँ अन्तिमपटक उम्मेदवार बन्छु भनिरहनुभएको छ । त्यसकारण अब उहाँले जनताको काम गर्नुहुँदैन । आफ्ना लागि गर्नुहुन्छ भन्ने बुझ्न जरुरी छ ।

तपाईंले आफूलाई युवा भएका कारण जनताले मतदान गर्छन् भनेर दाबी गरिरहँदा सोही अनुसारको माहोल भने देखिएको छैन नि?

होइन । माहोल भनेको फरक विषय हो । राजनीतिमा ध्रुविकरण हुने हुँदा आ-आफ्नो तरिकाबाट अगाडि बढ्नुपर्ने बाध्यता पनि हुन्छ । मकवानपुरमा युवालाई भूमिका दिनुपर्छ भन्ने मनोविज्ञान र मत रहेको छ । अहिले एमालेका युवाहरु स्वभाविकरुपमा मलाई जिताउन मैदानमा हुनुहुन्छ । कांग्रेस, माओवादीका युवाहरु बन्देजमा छन् । उहाँहरुलाई युवाको नाममा बोलेको खण्डमा पार्टीबाट निकाल्नेसम्मको चेतावनी दिने काम भइरहेको छ । नेतृत्वमा अब युवा ल्याउनुपर्छ भनेर सबै पार्टीमा आवाज उठिरहेको छ । एउटै व्यक्तिले पञ्चायतकालदेखि गणतन्त्रसम्म अवसर पाइरहने हो भने युवाले कहिले पालो पाउने ? देश विकासमा हामीले कहिले योगदान गर्ने ? तरुण र वाईसिएलका नेताहरुले पार्टीबाट टिकट ल्याउन नसकेपनि अब मलाई मतदान गर्नुहुन्छ भन्नेमा ढुक्क रहेको छु । किन भने उहाँहरु पनि युवाले राजनीतिक नेतृत्व गर्नुपर्छ भनेर लबिङ गरिरहनुभएको छ ।

तपाईंलाई जनताले किन मतदान गर्ने ? मुख्य एजेन्डा के-के छन् ?

मेरो निर्वाचन क्षेत्रमा गरिबी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य सुविधाको अवस्था दयनीय छ । जनताले मलाई जिताएर पठाएपश्चात् सडक सञ्जालको विकास र स्तरीकरण मेरो पहिलो प्राथमिकतामा पर्नेछन् । खानेपानी, बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन भूमिका खेल्नेछु । म विद्यार्थी राजनीतिबाट यहाँसम्म आइपुगेका कारण देशका ७५३ वटै स्थानीय तहमा आवासीय विद्यालय निर्माण गरेर आफ्नै पालिकामा दुई सयजना विद्यार्थी अट्ने छात्रावास निर्माण गरी सहजै उच्च शिक्षा पढ्न पाउने प्रबन्ध मिलाउनेछु ।

हाम्रो जिल्लामा स्वास्थ्य क्षेत्र असाध्यै कमजोर छ । स्वास्थ्य क्षेत्रको स्तरोन्नतिका लागि केन्द्रीय नीति निर्माण गरी काम गर्नेछु । कृषि क्षेत्रमा युवा परिचालन गर्न वीमा, उत्पादनमा आधारित अनुदानको व्यवस्थाका लागि पहल गर्ने योजना बनाएको छु । सुशासन र भ्रष्टाचारलाई अन्त्य गर्ने योजना मसँग रहेको छ । हेटौंडा औद्योगिक नगरी हो, यसलाई थप व्यवस्थित गर्न प्रयत्न गर्नेछु ।

प्रकाशित : कार्तिक २६, २०७९ २०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×