कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘विगतका सहमति स्विकार्दा एकता बच्छ’

'एकतालाई बचाउने कुरामा पार्टी कमिटीभित्र भूमिका खेल्न पाउने परिस्थिति नहुँदाको परिणाम हो यो ।'
'समीक्षा गर्ने बिन्दुमा नेकपा आइपुगेको छ ।'

काठमाडौँ — केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताले राजीनामा मागेपछि नेकपाको भविष्य र ओलीको पदको निरन्तरतामाथि आशंका उब्जिएका छन् । नेकपाभित्र यो परिस्थिति के कारणले उब्जियो ?

‘विगतका सहमति स्विकार्दा एकता बच्छ’

यही विषयमा केन्द्रित रहेर पार्टी एकता प्रक्रियाका सबै छलफल र सहमतिका साक्षीसमेत रहेका नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग कान्तिपुरका दुर्गा खनालले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा जुन स्पिरिटमा एक भएको थियो, अब त्यो एकताबाट बाहिर जान थालेको हो ?

कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढ्ने सिलसिलामा एकता भएको हो । संविधानको स्पिरिट र जनताको चाहनालाई पक्रेर अघि बढ्ने भन्ने हो । यहाँसम्म आइसक्दा मुख्य नेताहरूबीच अन्तरविरोध प्रकट भयो । त्यसैले समस्या व्यहोरेका छौं । अहिले पनि हिजो जे थिए, ती सहमति पालना गरेर अघि बढ्नुपर्छ भन्ने हो ।

विगतमा सहमति गर्दा कतिपय सैद्धान्तिक र कतिपय पदीय जिम्मेवारीका कुरा थिए । तिनै जिम्मेवारीका कुरा नमिल्दा अहिले समस्या आएको हो ?

एकता गर्दा त्यो मर्म बुझेका, लागेका हामीले एकतालाई बचाउने कुरामा पार्टी कमिटीभित्र भूमिका खेल्न पाउने परिस्थिति नहुँदाको परिणाम हो यो । अब अहिले पनि मेरो भनाइ के हो भने विगतका सहमति स्विकार्दा एकता बच्छ । तर त्यो सहमतिमा जाने मनस्थिति र मनोविज्ञानमा नेताहरू नभएकाले यस्तो समस्या आयो ।

आजको अवस्थामा नेकपाभित्रको समस्या कुन बिन्दुमा छ ?

अहिले छलफलको चरणमा छौं । कसका के समस्या हुन् भनेर पहिचान गर्ने ठाउँमा नेकपा छ । समस्या कसका कति छन्, देशको आवश्यकता र जनताको माग के हो, जनता र देशको आवश्यकताअनुसार पार्टी अघि बढ्यो कि बढेन, सरकारबाट त्यसका लागि पहलकदमी भयो कि भएन भन्ने समीक्षा गर्ने बिन्दुमा नेकपा आइपुगेको छ ।

समीक्षा गर्दा प्रधानमन्त्रीको राजीनामा, अध्यक्ष पद छाड्नुपर्ने खालका कुरा पनि आएका छन् नि ?

मिटिङमा त आ–आफ्नो विचार व्यक्त हुन्छन् । मिटिङमा आफ्नो कुरा स्वतन्त्र रूपमा राख्न पाइन्छ । ती सबै कुरा आएपछि के निष्कर्षमा पुग्ने हो भन्ने टुंगो लाग्छ । हामी छलफलकै क्रममा भएकाले कुनै निष्कर्ष निकालिसकेका छैनौं ।

स्थायी कमिटीका धेरै नेताले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनिसकेका छन् । अब यो अडान यही रूपमा अघि बढ्छ कि केही पुनर्विचार भएको हो ?

ती छलफलमा आएका कुरा हुन् । एउटै भाषामा कुरा आएको छैन । आ–आफ्नो तर्क र भाषा छन् । समस्या छन् भन्ने विचार व्यक्त भएको हो । ती विचारलाई एक ठाउँमा राखेर कहाँ–कहाँ सच्याउनुपर्छ, कहाँ कमजोरी छ, त्यहाँ सच्याएर जाने ठाउँमा पुग्ने हो । पार्टीको प्रक्रिया यही हो । त्यहाँ पुग्न छलफलको क्रम जारी छ । बैठकको अन्त्यमा एउटा निष्कर्षमा पुग्छौं । पार्टी आन्दोलन र जनताको माग आवश्यकता र भावनालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा अध्यक्षद्वयले संश्लेषण गर्नुहुन्छ । कुन कुरा सच्याउने, कुन कुरामा यसरी जानुपर्छ भन्ने दुई अध्यक्षको छलफलबाट निष्कर्ष निस्कन्छ ।

प्रधानमन्त्रीको राजीनामा माग्ने कुराले पार्टी नै फुट्ने हो कि भन्ने आशंका पनि छ । खासमा अहिले कुरा मिल्नेतिर गएको छ कि भत्कनेतिर ?

पार्टी फुट्दैन । पार्टीमा छलफल बहस हुनु भनेको फुट्नु होइन । छलफल बहसमा लागेका कुरा राख्ने भनेको एकताको आधार तयार गर्ने नै हो, एकता र रूपान्तरणको आधार तयार गर्न जिम्मेवार बनाउने हो । कमीकमजोरी सच्याउने हो । नेपाली जनता र कार्यकर्ताले फुट चाहेका छैनन् । जनता र कार्यकर्ताको मनोविज्ञानअनुसार पार्टीलाई रूपान्तरण र एकताको नयाँ उचाइमा पुर्‍याउने हो । त्यसो भएर हामी त्यो प्रयासमा छौं ।

अब एकताको नयाँ शिरा के हुन्छ त ?

एकता प्रक्रियाबाट यहाँसम्म आउँदा भएका कमजोरी के–के हुन्, त्यसमा कसको कति कति भूमिका छ भन्ने स्पष्ट गर्छौं । बदल्ने कुरा के हो भन्ने प्रस्ट गर्छौं । नयाँ ढंगले जाने प्रतिबद्धता गर्छौं ।

यतातर्फ जान कसले कस्तो त्याग गर्नुपर्छ ?

कम्युनिस्ट पार्टीमा छलफल बहस खुला हुन्छ, औपचारिक हुँदैन । संश्लेषण नयाँ उचाइमा हुन्छ । त्यसैले समग्र पार्टीलाई एकताबद्ध गर्छ । विविध तर्क–वितर्क उठ्दा तरंगित हुनुपर्ने अवस्था छैन ।

राजीनामाको विषय छलफलबाटै मिल्न सक्छ ?

राजीनामाको कुरा आउँछ, रूपान्तरणको कुरा आउँछ । अन्य सबै कुरा आउँछन् । उठेका विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा कहाँ पुगिन्छ, त्यो बेला भन्न सकिन्छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार १९, २०७७ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×