एमाले फुटाउने खेल हो : भीम रावल- कुराकानी - कान्तिपुर समाचार

एमाले फुटाउने खेल हो : भीम रावल

‘षड्यन्त्रमूलक काम गर्ने व्यक्तिले जहाँ–जहाँ बोलायो, त्यहीं–त्यहीं हो–हो भन्दै सजिलै जाने कुरा भएन’
बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकबाट माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेपछि एमालेभित्र विवाद झन् चर्किएको छ । नेपाल समूहले बैठकको माग गरिरहँदा ओलीले अर्को पक्षका नेतालाई हटाउने र माओवादी केन्द्रबाट आएकालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेका हुन् ।

यस्तो निर्णयलगत्तै नेपाल समूहले शुक्रबार साँझ आफूपक्षीय स्थायी कमिटी सदस्यहरूको बैठक गरेर ओलीले पार्टी विभाजनै गर्न खोजेको निष्कर्ष निकालेको छ । बैठकले आफ्नो पक्षको राष्ट्रिय भेलासमेत गर्ने निर्णय लिएको छ । एमालेभित्र किन यो परिस्थिति आयो ? उपाध्यक्ष भीम रावलसँग कान्तिपुरकी बिनु सुवेदीले गरेको कुराकानी :

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले एउटा निर्णय गर्‍यो, लगत्तै तपाईंहरू पनि बस्नुभयो । तपाईंहरूले चाहिँ के निर्णय गर्नुभयो ?

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र त विभाजित भए नै । हामी नेकपा एमालेलाई एकताबद्ध बनाएर राष्ट्रको हितमा अगाडि बढाऔं भनेर लागेका थियौं । तर ओलीजीले बालुवाटारमा गुटको भेला गरेर एमालेको विधानविपरीत, कानुनी राज्य र लोकतान्त्रिक मान्यताविपरीत स्वेच्छाचारी किसिमले कसैलाई हटाउने, कसैलाई राख्ने हुकमीतन्त्रमा काम गरेपछि हामीले त्यसबारे समीक्षा गर्‍यौं । त्यसका विभिन्न पाटामा छलफल गर्‍यौं ।

गत वैशाखदेखि पार्टी फुटाउने, प्रतिनिधिसभा विघटन गर्ने, कसैलाई जानकारी नदिई प्रतिनिधिसभाको बैठक बन्द गर्ने, स्थायी कमिटीको निर्णय अबज्ञा गर्ने, विदेशी गुप्तचर प्रमुखसँग बालुवाटारमा लामा–लामा बैठक गर्ने जस्ता कुराले उहाँले नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलन र हाम्रो संविधानमाथि प्रहार गर्ने उहाँको सुनियोजित क्रियाकलाप छ, यसलाई त्यसैको अंगका रूपमा बुझेका छौं ।

यसलाई हामी अस्वीकार गर्छौं, निन्दा गर्छौं र एमालेको सम्पूर्ण पंक्तिलाई स्वेच्छाचारी, पार्टीको विधान, सिद्धान्तको प्रतिकूल गरिएको कामविरुद्ध आवाज उठाउन आह्वान गर्छौं । ठोस कार्ययोजनाका साथ हामी पनि अगाडि बढ्छौं । उहाँको निरंकुश र निर्लज्ज काम एमालेको एउटा पक्षमाथिको मात्रै प्रहार होइन, सिंगो लोकतन्त्रमाथि प्रहार हो । यो कम्युनिस्ट आन्दोलनमाथिको प्रहार हो । यो मुलुकको स्वाधीनता र स्वतन्त्रतालाई कुण्ठित बनाउने खेल हो भन्ने हाम्रो ठहर छ ।

तपाईंहरूले शनिबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ, राष्ट्रिय भेला पनि बोलाउनुभएको छ । समानान्तर रूपमा कमिटी अगाडि बढाउन खोज्नुभएको हो ?

उहाँको त्यो गुट हो । कैयौं समूहमा चालिएर अवसरका लागि गएका मान्छे, जसले एमाले निर्माणमा सिन्को भाँचेका छैनन्, तिनीहरूले हामीलाई स्वागत गर्ने रे ! हामी त एमाले पार्टी हौं । यसको रक्षा गर्न हामी चाहन्छौं । केपी ओलीले जहाँ–जहाँ समस्या खडा र पार्टीविरुद्ध गुटबन्दी गर्नुहुन्छ, त्यहाँ–त्यहाँ हामी आवश्यक पर्‍यो भने समानान्तर कमिटी बनाएर भए पनि यो आन्दोलन बचाउन र उहाँका निरंकुश क्रियाकलापलाई रोक्न प्रयास गर्छौं ।

निर्वाचित पदाधिकारीलाई हटाइएको छैन, जिम्मेवारी त आवश्यकताअनुसार हेरफेर गर्न सकिन्छ नि हैन र ?

यो तर्क नै मूर्खतापूर्ण छ । निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसेर जनतालाई ढाँट्ने, कार्यकर्तालाई छक्याउने काम मात्रै हो । कार्यविभाजन हेरफेर गर्नलाई त बैठक चाहिन्छ ।

हामी त महाधिवेशनबाट निर्वाचित हौं । म महाधिवेशनबाट निर्वाचित होइन ? मलाई हटाएर त्यहाँ केही पनि काम नगरेकालाई ल्याएर इन्चार्ज बनाउने ? योभन्दा निर्लज्ज, स्वेच्छाचारी के हुन्छ ? हिजोका शासकले पनि बरु कानुन मनपरि बनाउँथे तर बनाएको कानुन कार्यान्वयन गर्थे । महाधिवेशनबाट पारित विधानलाई मिचेर निर्लज्जतापूर्वक काम गरिएको छ अनि हेरफेर गर्‍यौं भन्नु हास्यास्पद कुरा हो ।

उहाँहरूले तपाईंहरूलाई औपचारिक रूपमा बैठकमा बोलाउनुभएको छ नि त ?

त्यही बैठकबाटै कसैले त्यस्तो भनेको छ भने त्यो मूर्खतापूर्ण कुरा हो । गुटको बैठक बसेर केपी ओलीको वरिपरिका मान्छेलाई राखेर, पार्टीको विधान मिचेर एमालेविरुद्ध हिजो काम गरेका र यो पार्टीका लागि सिन्को नभाँचेर पदका लागि गएका केही मान्छेलाई राखेर हामीलाई पार्टीका पदहरूबाट निष्कासन गर्ने अनि मनपरिसित महाधिवेशन गर्छु भन्ने ? यो आह्वान होइन, दुई ठूला कम्युनिस्ट पार्टीलाई अलग गरिसकेपछि एमालेलाई पनि फुटाएर देशीविदेशी प्रतिक्रियावादीको इच्छा पूरा गर्ने खेल हो ।

पार्टीको आन्तरिक कुरा नै होला नि ? जहाँ पनि देशीविदेशी प्रतिक्रियावादी जोड्न मिल्छ र ?

यो थाहा पाउन गत वैशाखदेखिकै सिलसिला हेर्नुपर्ने हुन्छ । त्यतिखेर उहाँले दल विभाजन गर्ने षड्यन्त्र गर्नुभयो । त्यसपछि उहाँले बालुवाटारमा सामन्त गोयलसँग गोप्य भेट गर्नुभयो । प्रधानमन्त्रीले एमसीसी सम्झौता जसरी पनि पास गर्छु भनेर देशमा उपनिवेशीकरण गराउन खोज्नुभएको छ, त्यो त्यसै होइन । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा निकालिसकेपछि त्यो पारित गर्ने प्रतिनिधिसभालाई नै उहाँले भंग गरिदिनुभयो ।

नागरिकता विधेयक राज्यव्यस्था समितिले पारित गरेर पेस गरेकै बेला उहाँले प्रतिनिधिसभा भंग गरिदिनुभयो । सँगसँगै गएको भदौ २६ मा पार्टी बचाउनका लागि हामीले उहाँलाई पाँच वर्षका लागि प्रधानमन्त्री हुनुस् भनेका थियौं । त्यसलाई पनि नमानेर पार्टी नफुटाई नहुने अवस्थामा पुग्नुभयो, यो सबै कुरालाई जोडेर हेर्नुपर्छ । त्यसैले के प्रस्ट हुन्छ भने केपी ओलीले योजनाबद्ध ढंगले साँठगाँठ गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पार्ने र मुलुकलाई कमजोर बनाउने षड्यन्त्रको अंग बनेर काम गर्नुभएको छ ।

अब निकास के त ? उहाँहरूले पनि तपाईंहरूसहितको बैठक ७ गतेका लागि बोलाउनुभएको छ नि ?

विधान मिचेर उहाँहरूले आज नेपालको कम्युनिस्ट आन्दोलनविरुद्धमा वितण्डा मच्चाउनुभएको छ । दुई ठूला कम्युनिस्ट पार्टीलाई अलग गरेर नपुगेपछि एमाले एक भएर कतै बलियो पो भइहाल्छ कि भनेर गरिएको यो षड्यन्त्रमूलक काम हो । यस्तो

षड्यन्त्रमूलक काम गर्ने व्यक्तिले जहाँ–जहाँ बोलायो, त्यहीं–त्यहीं हो–हो भन्दै सजिलै जाने कुरा भएन । त्यसैले हामी केन्द्रीय कमिटीका साथी र अरूसँग परामर्श गर्छौं । त्यसपछि जे निष्कर्ष निस्किन्छ । त्यही निर्णय गर्छौं ।

प्रकाशित : फाल्गुन २९, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

नेट टीभीको साझेदारीमा भ्वाइस अफ नेपालको सिजन ३

कान्तिपुर संवाददाता

काठमाडौँ — वल्र्डलिंक कम्युनिकेसन्स, यसका भगिनी कम्पनी नेटटिभी र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन–३ का सम्पूर्ण कार्यक्रममा सम्झौता गरेको छ ।

सम्झौतापछि सिजन–३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वल्र्डलिंकले उपलब्ध गराउनेछ । नेट टीभीले सम्पूर्ण गतिविधिको साझेदारका रूपमा आबद्ध भएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×