‘प्रधानमन्त्रीको राजीनामा र नेकपा विभाजन सम्भव छैन’

'समस्याको गाँठो सरकार र पार्टीभन्दा पनि नेताहरूको पारस्परिक सम्बन्ध र विश्वासमा परेको छ, अरू तपसिल हुन् ।'
'समस्या छन् र समाधान खोज्नुपर्छ भन्ने अनुभूति होस् भन्ने ढंगबाट राजीनामाको प्रसंग आएको जस्तो लाग्छ ।'

काठमाडौँ — केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताले राजीनामा मागेपछि नेकपाको भविष्य र ओलीको पदको निरन्तरतामाथि आशंका उब्जिएका छन् ।

‘प्रधानमन्त्रीको राजीनामा र नेकपा विभाजन सम्भव छैन’

नेकपाभित्र यो परिस्थिति के कारणले उब्जियो ? यही विषयमा केन्द्रित रहेर पार्टी एकता प्रक्रियाका सबै छलफल र सहमतिका साक्षीसमेत रहेका नेकपाका महासचिव विष्णु पौडेलसँग कान्तिपुरका दुर्गा खनालले गरेको कुराकानीको सम्पादित अंश :

नेकपाको एकता धर्मराएको हो ?

पार्टीको आन्तरिक जीवनमा हामीले अपेक्षा नगरेका केही गम्भीर प्रकृतिका समस्या पनि देखिएका छन् । तर यी समस्या हाम्रो काबुभन्दा बाहिर छैनन् । हामी समाधान गर्न सक्छौं, पार्टी एकतालाई डोर्‍याएर अघि बढ्न सक्छौं भन्ने विश्वास छ ।

अहिले देखिएका समस्या व्यक्तिहरूका प्रवृत्ति कि कार्यशैलीका समस्या हुन् ?

मुख्य रूपमा प्रवृत्तिगत र कार्यशैलीसँग जोडिएका छन् भन्दा पनि हुन्छ । समस्याको प्रकृति बहुआयामिक नै छ । तर यी समस्या समाधान हुने खालका छन् ।

सरकारले पार्टीसँग समन्वय नगरेको, पार्टीले चाहिँ सरकारलाई सहयोग नगरेको कुरा आएको छ । खास समस्याको गाँठो के हो ?

समस्याको गाँठो सरकार र पार्टीभन्दा पनि नेताहरूको पारस्परिक सम्बन्ध र विश्वासमा परेको छ । अरू तपसिल हुन् । समस्या बढ्दै गएर यो रूपमा प्रकट भएका हुन् । अब यी समस्यालाई हामी स्थायी रूपमा समाधान गर्ने तयारीमा छौं ।

पार्टी एकता गर्दाका सहमति पालनामा नेताहरूको कमजोरीले यो अवस्था आएको हो ?

हाम्रो पार्टी कुनै संयुक्त मोर्चाका रूपमा होइन, पार्टीका रूपमा अघि बढ्नुपर्ने हो । प्रत्येक नेता–कार्यकर्तालाई पार्टीको आवश्यकता र व्यक्तिको योग्यताअनुसार मिलाएर जानुपर्ने हो । तर एकता प्रक्रिया नटुंगिँदै बाँगिन थाल्यो । त्यसले गर्दा यो अवस्था आएको हो ।

स्थायी कमिटीमा सरकारको नेतृत्व परिवर्तन गर्ने र पार्टीको नेतृत्व पनि फेरिनुपर्ने कुरा आएका छन् नि ?

सरकार र पार्टीको नेतृत्व परिवर्तन गर्ने कुरा समय सान्दर्भिक र उपयुक्त छैन । यसले समस्याको समाधान दिँदैन । यसले समस्यालाई अझ जटिल बनाउँछ । यो सच्चाईलाई आत्मसात् गर्दै अरू विभिन्न प्रश्नमा समस्या छन् भने समीक्षा गर्दै हरेक नेतालाई यथोचित मर्यादा र कामको बाँडफाँट गर्ने परिस्थिति बन्छ भन्ने मेरो बुझाइ छ ।

गुटका यति धेरै भेला भए, बिहीबारसम्मका यी भेला र कुराकानी समस्या बढाउनेतर्फ केन्द्रित छन् कि मत्थर हुनेतर्फ ?

यसबीचमा व्यक्ति–व्यक्तिका अनुभूति पनि प्रकट भएका छन् । स्थायी कमिटीमा केही नेताले बोल्नुभएको छ । केहीले बोल्न बाँकी छ । सबैबाट आफ्नो अनुभूति व्यक्त होओस्, समस्या टेबुलमा प्रस्तुत होउन् । अनि त्यसको विवेचना गर्दै अघि बढ्नुपर्छ । सबैले विचार व्यक्त गरेपछि त्यसले नै आधा समाधान दिन्छ ।

एउटा पक्ष प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पोजिसनमा छ, अर्को पक्ष प्रधानमन्त्रीको काममा अनावश्यक हस्तक्षेप भयो भन्छ । तपाईं पार्टी महासचिवले बीचमा बसेर हेर्दा तालमेल कहाँ बिग्रेको देख्नुहुन्छ ?

समस्या तालमेल नमिलेर नै देखापरेको हो । तर यहाँ सरकार र पार्टीको नेतृत्व परिवर्तन गरेर समस्याको समाधान खोज्नुपर्छ भन्ने सोच छ, त्यो सोचबाट समस्याको समाधान हुन सक्दैन ।

के भयो भने समाधान हुन्छ त ?

अहिले हामी पार्टीका समग्र समस्याको समाधानका निम्ति लागेका छौं । विगतका समस्या समाधानका लागि हामीबीच जीवन्त छलफल भएका छन् । छलफलको निष्कर्ष निकाल्ने क्रममा हामीमा समस्या समाधानका सोच र दृष्टिकोण आउँछन् ।

विगतमा अध्यक्षहरूबीच प्रधानमन्त्रीको कार्यकाल बाँडफाँट गर्ने भन्ने सहमति थियो । पछि एक जना कार्यकारी अध्यक्ष र अर्को प्रधानमन्त्रीको भूमिका केन्द्रित हुने भनियो । तर ठोस रूपमा कार्यान्वयन भएन, अब त्यही सहमतिअनुसार अघि बढ्ने भन्ने कुराकानी भइरहेको हो ?

विगतमा सहमति धेरै भए । तर धेरै सहमति भए पनि पछिल्लो सहमति ‘प्रिभेल’ गर्ने हो । पछिल्लो सहमति कार्यान्वयनमा कहींनेर समस्या देखियो भने समाधान पनि त्यहींबाट गर्ने हो । सहमति कार्यान्वयनमा कहाँ समस्या देखियो, अहिले पनि त्यहींबाट समाधान गर्नुपर्छ ।

त्यसो भन्नुको अर्थ मंसिर ४ मा दाहाललाई कार्यकारी अध्यक्ष दिने भन्ने सहमति थियो, अब त्यो भूमिकालाई राम्ररी परिभाषित गर्ने भन्ने हो ?

त्यो पनि हो ।

अहिले दाहाल र अन्य वरिष्ठ नेताहरूले प्रधामन्त्रीको राजीनामा माग्नुभएको छ । राजीनामा आउँछ कि आउँदैन ?

जसले राजीनामा माग गर्नुभएको छ, उहाँहरूले साँच्ची नै राजीनामा भनेरै विचार व्यक्त गर्नुभएको जस्तो मलाई लाग्दैन । समस्या छन् र समाधान खोज्नुपर्छ भन्ने अनुभूति होस् भन्ने ढंगबाट राजीनामाको प्रसंग आएको जस्तो लाग्छ ।

प्रधानमन्त्रीले चाहिँ यो समग्र परिस्थितिलाई कसरी बुझ्नुभएको छ ?

अहिले प्रधानमन्त्री पनि विभिन्न नेतासँग संवादमा हुनुहुन्छ । हामी पनि संवादमै छौं । समस्या कहाँनिर छ, हामी खुट्याउँदै छौं ।

नेकपा फुट्ने, प्रधानमन्त्रीले राजीनामा दिने अर्को व्यक्ति प्रधानमन्त्री बन्ने जस्ता आशंका धेरै आएका छन् । स्थिति यसतर्फ मोडिन लागेको हो ?

नेकपा फुट्छ कि भन्ने आशंका गर्नुपर्दैन, त्यसखालको अपेक्षा कसैले गरेको छ भने त्यो व्यर्थ छ । नेकपामा विग्रह होस् र हामीले लाभ पाउँछौं भन्ने कसैले सोचेको छ भने त्यस्ता सोचाइ, चाहना पूरा हँुदैनन् । प्रधानमन्त्रीको राजीनामा सिरियस एजेन्डाका रूपमा उठेको जस्तो मलाई लाग्दैन । दुई–चार नेताले राजीनामा नै होस् भन्ने भन्दा पनि समस्यालाई गहिराइका साथ महसुस होस् भन्ने ढंगले उठाउनुभएको जस्तो लाग्छ । प्रस्ट शब्दमा भन्नुपर्दा अहिले प्रधानमन्त्रीको राजीनामा र नेकपामा विभाजन दुइटा चीज सम्भव छैन ।

प्रकाशित : असार १९, २०७७ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?