कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सीमा अतिक्रमणविरूद्ध स्रष्टा

काठमाडौँ — ‘छोड् छोड् हाम्रो भूमि छोड्
नालापानी छोड् हाम्रो लिम्पियाधुरा छोड्
सुस्ता पनि छोड् हाम्रो सबै भूमि छोड्....! 

सीमा अतिक्रमणविरूद्ध स्रष्टा

माइकमा यसरी गीत बज्दै गर्दा साहित्यकारहरू राजधानीको रत्नपार्कमा भेला हुँदै थिए । हातमा प्लेकार्ड बोकेका थिए– ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो !’, ‘भारतीय सेना नेपाल भूमि छोड् !’, ‘हाम्रो सीमा मिच्न पाइँदैन !’ सहर परिक्रमा गर्दै स्रष्टाहरू आइतबार दिउँसो भोटाहिटी नजिकै पुलछेउ पुगे, सीमा अतिक्रमणविरुद्ध कविता सुनाए, गीत गाए ।


भारतले हालै सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपाली भूमि पनि समेटिएको प्रति स्रष्टाहरू सडकमा उत्रिएका हुन् । प्रगतिशील लेखक संघले गरेको कार्यक्रममा जनसांस्कृतिक महासंघ, पारिजात स्मृति केन्द्र, रक्तिम सांस्कृतिक अभियन, इन्द्रेणी मिसा पुच, नेवाः संस्कृति अध्ययन प्रतिष्ठानलगायत संस्थाको ऐक्यबद्धता थियो । कार्यक्रममा एक दर्जनभन्दा बढी स्रष्टाले आआफ्ना रचनामार्फत सीमा अतिक्रमणको विरोध गरे । कवि विमल निभा, अनिल पौडेल, स्नेह सायमी, सीता शर्मा, गोविन्द आचार्य, शोभा दुलाल, नन्दु उप्रेतीलगायतले कविता सुनाए भने हेमराज आश्रम, कर्ण परियारलगायतले गीत सुनाए । परियारले सुनाएको ‘हामीलाई सिंगो देश चाहिन्छ, हिमाल, पहाड, तराई चाहिन्छ...’बोलको गीत निकै अर्थपूर्ण थियो ।


स्रष्टाहरूको विरोध सभालाई सम्बोधन गर्दै सीमाविद हिरण्यलाल श्रेष्ठले मिचिएको भूमिमा भारतीय सेना हटाउन सरकारले तत्काल पहल गर्नुपर्ने धारणा राखे । जनसांस्कृतिक महासंघका संयोजक खगेन्द्र राईले भारतले सधैं हेपाहा प्रवृत्ति प्रस्तुत गर्दै आएकाले स्रष्टाहरू सडकमा उत्रिनुपरेको बताए । प्रगतिशील लेखक संघका अध्यक्ष जीवेन्द्रदेव गिरी र उपमहासचिव आरसी न्यौपानेले नेपाली भूभागबाट भारतीय सेना फिर्ता नभएसम्म साहित्यिक अभियानलाई निरन्तरता दिने बताए ।

प्रकाशित : मंसिर २, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?