आहा भक्का !

राजवंशी समुदायमा छोरीचेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ
अर्जुन राजवंशी

(बिर्तामोड) — मंगलबार एकाबिहानै गाउँबाट एक हुल राजवंशी महिलाहरू ‘पेटानी’ (जातीय पहिरन) लगाएर बिर्तामोड आइपुगे । पूर्व–पश्चिम राजमार्ग किनारमै लस्करै बसे । र, भक्का बनाउन थाले । 

आहा भक्का !

नजिकै माछा तरकारी, भान्टा–कोपीको तरकारी र अर्को भाडामा टमाटरको अचार । नि:शुल्क खान पाइने थाहा पाएर माछा–भक्का खानेको भीड भयो । करिब एक हजार जनाले आदिवासी राजवंशी समुदायको भक्का विभिन्न परिकारसँग खाए । राजवंशी जातिले मंगलबार बिर्तामोडमा सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भक्का दिवस’ मनाएको छ ।


जाडो सिजनमा राजवंशी जातिमा भक्का खाने परम्परागत चलन छ । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रूपमा समेत खान पाइन्छ । अर्ग्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गको मौसमी व्यापारसमेत बनेको छ । भक्का खाजाको रूपमा लोकप्रिय छ । परम्परागत खाना व्यवसायी बन्दै गएपछि राजवंशी जातिले यसको संरक्षण र प्रवर्द्धन गर्न भन्दै केही वर्ष यता पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएको छ ।


मंगलबार उनीहरूले गैरराजवंशी समुदायलाई माछा, सब्जी, अचारसँग भक्का खुवाएर भाक्का दिवस मनाएका हुन् । दिवसका अवसरमा कोचिला गाभुर फ्रन्टले सांस्कृतिक नृत्यसहित नि:शुल्क भक्का खाने कार्यक्रम आयोजना गरेको थियो । ‘आम मानिसले भक्कालाई सामान्य खाजाको रूपमा मात्र बुझेका छन् । तर, त्यस्तो होइन । कोच राजवंशी समुदायमा भक्काको विशेष स्थान र महत्त्व छ । त्यसबारे जानकारी दिन प्रत्येक वर्ष पुस २९ गते भाक्का दिवस मनाउन थालेका हौं,’ फ्रन्टका अध्यक्ष अभय राजवंशीले भने । जाडो मौसममा राजवंशी जातिमा छोरी–चेलीलाई बोलाएर भक्का, पिठ खुवाउने चलन छ । छोरी–चेलीलाई चिसो छल्न हप्ता–दस दिनका लागि माइत बोलाएर मीठामीठा परिकारसँग भक्का खुवाएर खुसी बनाई घर पठाउने चलन छ ।


भक्का शुद्ध चामलको पीठोबाट बनाइन्छ । मात्राअनुसार चामललाई करिब दुई घण्टासम्म पानीमा भिजाउनुपर्छ । पानीबाट निकालेर थिग्राउनुपर्छ । ओखली, ढिकी वा मिलमा कुट्नुपर्छ । पिठोलाई मसिनो चाल्नीले चाल्नुपर्छ । त्यसपछि थोरै पानी हालेर मुछ्नुपर्छ । पानीले मुछेर पीठोलाई नरम बनाउनुपर्छ । त्यसपछि एउटा भाडामा पानी उमाल्नुपर्छ । भाडामाथि माटोबाट बनाइएको दुलो परेको ढकन राख्नुपर्छ । उक्त ढकनलाई भाडाभित्रको बाफ कतैबाट ननिस्किने गरी राख्नुपर्छ । उम्लिएको पानीबाट निस्किने बाफमाथि भक्का बनाइने गरिन्छ । पानीले मुछेर नरम बनाएको पिठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर बाफ निस्किँदै गरेको ढकनमा राखेपछि भक्का पाक्छ । बाफमा भक्का पाक्न दुई मिनेट लाग्छ ।


‘भक्कामा कुनै मिसावट छैन । स्वास्थ्यका लागि एकदम लाभदायी छ,’ बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले भने, ‘भक्का राजवंशी जातिको परम्परागत खान्की भए पनि अहिले सबैको लोकप्रिय बनेको छ ।’ भाक्का दिवस कार्यक्रममा भारतको मेघालय, असम, पश्चिम बंगाल र बिहारका राजवंशीहरू सहभागी थिए ।


प्रकाशित : माघ १, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?