कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थारूको माघी, मगरको सकराती

काठमाडौँ — सबैजना मौलिक पहिरनमा चिटिक्क । कोही नाच्दै, कोही गाउँदै । लस्करै स्टल । मगर समुदायको मौलिक खान चाख्न मन छ कि ? थारू समुदायको घुँगी ? शनिबार राजधानीको टुँडिखेल यसरी उत्सवमय बन्यो । मगर र थारू समुदायले माघेसंक्रान्तिका अवसरमा आ–आफ्नो मौलिक पर्वलाई महोत्सवको रूपमा टुँडिखेलमा मनाएका हुन् । 

थारूको माघी, मगरको सकराती

मगर संस्कृतिकर्मी सन्जोग लाफाका अनुसार मगर समुदायले हरेक माघेसंक्रान्तिको दिन मौलिक पर्व ‘सकराती’ मनाउँदै आएको छ । यो अवसरमा आफन्त भेटघाट, खानपान र रमाइलो गर्ने परम्परा छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको टुँडिखेलको महोत्सवमा मगर समुदायले मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, झ्याउरे, टप्पा, सालैजोजस्ता नाच प्रस्तुत गरेका थिए । थारू समुदायको ‘माघी महोत्सव’ को उद्घाटन भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।


थारू समुदायले पनि विभिन्न मौलिक नृत्य र झाँकी प्रस्तुत गरेको थियो । महोत्सवमा विभिन्न परिकार बनाएर खाने प्रचलनअनुसार तरुल, सख्खरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडी, घुँगीलागयत परिकार राखिएका थिए ।

त्यसैगरी हेटौंडामा पनि थारू समुदायको नयाँवर्ष माघी मनाइएको छ । हेटौडामा सांस्कृतिक झाँकी निकालेर थारू समुदायले नयाँवर्ष तथा दिदीभाइको सम्बन्ध प्रगाढ बनाउने माघी पर्व मनाएका हुन् । झाँकीसँगै उनीहरूले लाचारी गीतसँगै थारू पहिरनमा झमुको डण्डी नाच प्रस्तुत गरे ।


फेरिँदै माघी गीत

बर्दिया– पुर्खाले माघीमा परम्परागत मघौटा गीत गाउँथे । डफ बजाउँथे । घरघरमा गाएर धमार गाउँदै रमाइलो गर्थे । माघी स्नान गरेर आफूभन्दा ठूलालाई ढोग्दै आशीर्वाद लिन्थे । अचेल नयाँ पुस्ताले भने माघीको गीत फेरि दिएका छन् । हिन्दी, भोजपुरी र साउथ फिल्मका गीतहरूको कपी गर्दै माघी गीत गाउन थालेका छन् ।


कतिपयले यसरी नै म्युजिक भिडियो निकालेका छन् । माघीलाई लक्षित गरी केहीले यूट्युबमार्फत गीत सार्वजनिक गरेका छन् । यस्ता गीतमा पुरानो लोक पम्परा झल्किनुको सट्टा हिन्दी र भोजपुरीकै प्रभाव बढि देखिन्छ । नयाँ पुस्ताले डिजेमा गीत गाउन थालिसके । ‘धमार गीत गाउँमा सुन्नै छाडियो’, थारु समुदायमा प्रचलित संगीतका ज्ञाता गोविन्द चौधरीले भने, ‘केही पाकाले भने अझै धमार गाउने गरेका छन् ।’

उनका अनुसार माघीको गीतमा रमाइलोमात्रै होइन, दुःख र पीडा पोखिन्थे । खासगरी महिलाले भोग्नुपरेको पीडा गीतमार्फत पोखिन्थे–

मनमा सोंचु करम लागे आग, किहीन रे

लगाउ बदनामी हो

दुखकके दाहल गैनु मै नाइहर,

नइहरमा भौजी रिसानी हो

भौजी बिचारी मोर कौने करैदैया...

धमार गीतले भन्छ– मनमा सोंचे भाग्यमा लाग्यो आगो, कसलाई लगाउ बदनामी । दुःखको पीडाले म माइती गए, माइतीमा भाउजू रिसाउने, भाउजू बिचारीको पनि के गल्ती, मेरै भाग्यमा लाग्यो आगो । ‘यो गीतले महिलाले भोग्नुपरेको दुःख दर्साउँछ । तर, अचेल गुरीगुरी जाँर, सुँगुर सिकार खैली भन्दै डिजेमा चर्को गीत सुनिन्छ,’ चौधरीले भने ।


थारू समुदायमा महिना र मौसमअनुसारका गीत गाइन्छ । वर्षा, गर्मी, जाडो, बिहान, साँझ, दिउँसो, राति फरक–फरक गीत हुन्छन् ।


प्रकाशित : माघ २, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?