१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चित्रले बल्ल पाए ग्यालरी

प्रदर्शनीका लागि काठमाडौं र पोखरा पुग्ने कलाकारलाई अब स्थानीयस्तरमै अवसर
मधु शाही

बाँके — डीबी भण्डारीले आफूले कोरेका चित्र घरको कुनामा थन्क्याएर राखेका थिए । प्रदर्शनी नहुँदा चिनेकाले मात्रै फाट्टफुट्ट किन्थे । अधिकांश कलाकारले ग्यालरी सुविधा नपाएका कारण चित्र कोर्दै थन्क्याइरहेका थिए ।

चित्रले बल्ल पाए ग्यालरी

अब भने उनीहरूका चित्रले ग्यालरीमा सजिने अवसर पाएका छन् । चित्रकार शिवांगिनी राणाले आफ्नै होटल बाटिकामा आर्ट ग्यालरी खोलेपछि कलाकारले कला प्रदर्शनी गर्ने थलो पाएका हुन् ।

ग्यालरीमा अहिले डीबीसहित कोहलपुरका विक्रम शिशिर, उषातानी सुवेदी, अश्विन कोइराला र शिवांगिनी गरी पाँच कलाकारका कला प्रदर्शनीमा राखिएको छ । ग्यालरी अभावकै कारण यसअघि चाहेर पनि चित्र प्रदर्शनी गर्न नपाएको डीबीले सुनाए । झन्डै डेढ दशकदेखि कलामा लागेका उनी टाटु आर्ट र भित्ते चित्रको भरमा आत्मनिर्भर छन् । ‘चित्रकला प्रदर्शनीका लागि कि त काठमाडौं जानुपर्थ्यो या पोखरा,’ उनले भने, ‘स्थानीय स्तरमा ग्यालरी नहुँदा चित्र घरमै थन्किएका थिए । अब यही अवसर पाइएको छ ।’

ग्यालरीकै लागि भनेर डीबीले बागेश्वरी मन्दिरको दृश्य कोरेका छन्, जसले यहाँको धार्मिक र सांस्कृतिक सौन्दर्यलाई समेटेको छ । चित्रकार शिशिर विक्रमले होटलमा ग्यालरी सञ्चालनमा आएपछि घरमै कला थन्काएर बस्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको बताए । श्रीमती उषातानी र उनी दुवै मिलेर चित्र कोर्छन् । तर, प्रदर्शनी गर्ने उपयुक्त थलो नहुँदा कोठामा चाङ पारेर राख्नुपर्ने बाध्यतामा थिए । ‘धूलो र माकुराको जालोले चित्रको बिजोग भएको थियो,’ उनले भने, ‘देखाउने ठाउँ नहुँदा नयाँ सिर्जना कोर्न पनि जाँगर लाग्दैनथ्यो ।’ वर्षौं पुराना थन्किएका कला सिर्जना अहिले ग्यालरीमा चिटिक्क सजाउन पाउँदा खुसी लागेको उनले बताए ।

उषा नवकलासर्जक हुन् । चित्र कोरेपछि अरूलाई देखाएर प्रतिक्रिया बटुल्नमा धेरै खुसी मिल्छ उनलाई । घरमै थन्काएका पेन्टिङबाट उनले अवसर पाएकी थिइनन् । शुक्रबारदेखि ग्यालरीमा राखिएका चित्रले आफूलाई नयाँ सिर्जना गर्न थप प्रेरणा मिलेको बताइन् । चित्र बनाएर जतिसक्दो अरूलाई देखाउँदा कलाकारलाई उत्साह थपिने अर्का कलाकार अश्विनको बुझाइ छ । उनले ग्यालरीकै लागि भनेर दुईवटा चित्र प्रदर्शनी गरेका छन् । ‘अब थप नयाँ काम गर्छु,’ उनले भने, ‘ग्यालरी खोज्दै अब काठमाडौं धाउनु पर्दैन ।’

चित्रकार शिवांगिनीले स्थानीय कलाकारको कला खुम्चिएको देखेर होटलमा ग्यालरी थालेको बताइन् । झन्डै दुई महिनामा हजारौं चित्रप्रेमी ग्यालरी अवलोकन गर्न आएको उनले सुनाइन् । ‘बिस्तारै ग्यालरी हेर्न आउने संस्कृतिको विकास हुँदै छ,’ उनले भनिन्, ‘कफीसँगै चित्र हेर्दै रमाइलो गर्न पनि ग्यालरी आर्ट उपयुक्त छ ।’ स्पेनबाट होटल म्यानेजमेन्ट पढेर आएकी उनले आफ्नो होटलबाट कला प्रवर्द्धन गर्ने योजना बनाएकी छन् । ग्यालरीमा आफूले बनाएका ३० भन्दा बढी चित्र छन् । जसमा अधिकांश बिक्री भइसकेका छन् । मैयूर थिममा अधिकांश चित्र कोरेकी उनले नाइफर स्प्रेजस्ता प्रविधि प्रयोग गरेर अमूर्त चित्र कोरेको बताइन् । धेरैजसो क्यानभासमा कालो रङको प्रभाव हावी छ ।

प्रकाशित : चैत्र ८, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?