१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

चर्यामा कुमारी कथा

काठमाडौँ — काठमाडौंलाई मन्दिरै मन्दिरको सहर पनि भनिन्छ । जीवित देवीका रूपमा पुजिने कुमारी यहीं छिन् । कुमारीका बारेमा र उनको दैवी शक्तिका बारेमा विभिन्न धार्मिक मान्यता रहँदै आएका छन् । मञ्जुश्रीले खड्गले काटेर उपत्यकाको जलाशयलाई बाहिर पठाएपछि बस्ती बस्ने क्रममा भएको विकास क्रमलाई भने नाटक ‘कुमारी’ले समेट्न खोजेको छ ।

चर्यामा कुमारी कथा

राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा तीन दिन मञ्चन भएको चर्या नृत्य आधारित यो नाटक माघ ७ देखि काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न खुला डबलीमा मञ्चन हुँदैछ ।


वज्र कलाकुञ्जको प्रस्तुतिमा यसका अध्यक्षसमेत रहेका चन्द्रमान मुनिकारको कथा तथा लेखनमा ‘कुमारी’ तयार पारिएको हो । प्राचीन समयमा नेपाल मण्डल भनिने काठमाडौं उपत्यका ऋषिमुनिदेखि देवतासम्म आएर ध्यान गर्ने थलोका रूपमा परिचित रहेको किंबदन्ती छ तर जलाशयको पानी बाहिरिएपछि यहाँका जलचर पनि बाहिरिए र मानव बस्ती बस्यो । मानवसँगै दानवले पनि नेपाल मण्डलमा अधिकार जमाउन थालेपछि यहाँका अष्टमातृकाले भगवान् शिवलाई रक्षार्थ पुकारे । शिव र पार्वतीले आफ्नो सन्तानका रूपमा कुमारीलाई जन्म दिएर नेपाल मण्डलको रक्षार्थ जीवित देवीका रूपमा पठाएको सन्देश नाटकले दिन खोजेको छ । घिमिरे युवराजको निर्देशन रहेको नाटकमा चर्यासँगै ब्याले र आधुनिक नृत्यको समेत प्रयोग गरिएको छ भने संवादको भने एकदम न्यून प्रयोग गरिएको छ । महिलालाई अधीनमा राख्न नाटकले कुमारी देवीमार्फत विवाहलाई पुरुषले रचेको जालसँग तुलना गरेको छ ।


दैत्यसँगको प्रेममा परेकी कुमारीले जब दैत्यले प्रेमलाई हतियार बनाएर आफूलाई धोका दिइरहेको थाहा पाउँछिन्, तब आफ्नै वज्रले हानेर उसको हत्या गरिदिन्छिन् र आमाबुबालाई जिन्दगीभर विवाह नगर्ने र पुरुषको अधीनमा नपरी स्वतन्त्र जीवन ज्युन चाहेको बताउँछिन् । भन्छिन्, ‘आजपर्यन्त कुनै पनि पुरुषले मेरो कुमारीत्व तोड्न सक्नेछैन । प्रेम गर्न म सधैं खुला हृदयले तयार छु तर विवाह गर्नेछैन ।’ निर्देशक घिमिरेले नाटकले व्यक्त गरेको धारणामा असहमति हुने वा फरक मत निस्कने सम्भावनालाई पहिल्यै अन्दाज लगाउँदै शक्तिपीठ र देवीदेवताबारे अनेकौं किंबदन्ती रहेकाले कुनै पनि कथालाई यही नै ठीक हो भनेर ठोकुवा गर्न सक्ने अवस्था नरहने बताए ।


चन्द्रमान मुनिकारकै चर्या नृत्यमा त्रिणा कुलुको नृत्य निर्देशन रहेको नाटक ‘कुमारी’ मार्फत सांस्कृतिक पक्षको जगेर्ना, जनमानसमा इतिहासप्रतिको अभिबोध गराउने मुख्य अभिप्राय गरेको वज्र कलाकुञ्जका अध्यक्ष मुनिकारले बताएका छन् । निरज शाक्यको संगीत, ईगीहोपो कोंईच सुनुवारको प्रकाश परिकल्पना रहेको नाटकमा रश्मि महर्जन, नानुमैया महर्जन, सिर्जना शर्मा, अनिशा श्रेष्ठ, सृष्टि शाक्य, रचना महर्जन, सृष्टिना मुनिकार, त्रिना कुलु, भागिरथी शाही, ऋतु दर्शनधारी, सुदनमान मुनिकार र योहाङ राईको अभिनय रहेको छ ।


प्रकाशित : माघ १, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?