कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्देशमूलक ‘देखें देखें’

काठमाडौँ — अभिनय र गायन दुवैलाई निरन्तरता दिइरहेका छन् यमन श्रेष्ठ, बुबा मदनकृष्ण श्रेष्ठजस्तै । शनिबार उनले आफ्नै पटकथा र निर्देशनमा सन्देशमूलक छोटो फिल्म ‘देखें देखें’ सार्वजनिक गरे । रक्तदान सामान्य भए पनि आँखादानप्रति समाजमा व्याप्त अन्धविश्वासलाई चिर्ने कोसिस गरेका छन् उनले आधा घन्टा लामो ‘देखें देखें’ मा ।

नेपाल तिलगंगा आँखा अस्पतालसँग मिलेर बनाइएको छोटो फिल्ममा हास्यव्यंग्य शैलीमार्फत् गम्भीर कथा भन्न खोजिएको छ । मामा जुक्तिलाल, भान्जी सुरेन्द्रकुमारी र ज्वाइँ सुरेन्द्र कुमारमार्फत् फिल्मले आँखाको नानी दानको महत्त्वलाई प्रकाश पारेको छ ।


कोर्नियल ब्लाइन्ड (नानीको अन्धोपन) बाट पीडित जुक्तिलालकै सानी छोरीको सन्दर्भबाट अघि बढेको कथा अप्रेसनको सफलतामा टुंगिन्छ । यसबीच आँखादानसम्बन्धी सुरेन्द्रकुमारी र सुरेन्द्रकुमारबीच रहेको गलत बुझाइको पनि निराकरण हुन्छ । ‘आँखादान भनेको मरेपछि मात्रै गर्ने हो भन्ने कुरा समाजमा अझै बुझाउन सकिएको छैन,’ निर्देशक श्रेष्ठले भने, ‘जसले गर्दा एक दिनमा सयौं आँखाको नानी जलेर नस्ट भइरहेका छन् ।


एउटा मान्छेका आँखाबाट चार जना दृष्टिविहीनले संसार देख्न सक्छन् । रक्तदानजस्तै यसलाई पनि सामान्य बनाउन फिल्मले सघाउन सक्छ ।’ एभरेस्ट बैंक, जेसीआई काठमाडौंलगायतको संघसंस्थाको सहयोगमा निर्मित ‘देखें देखें’ मा श्रेष्ठ स्वयंले पनि अभिनय गरेका छन् । सुनीता गौतम, श्रीहरि श्रेष्ठ, कोपिला थापा, राधिका कँडेल, गौरी शंकर धुन्जु, रिंकु वज्राचार्यलगायतले पनि अभिनय गरेका छन् । शनिबार सुन्धारास्थित सीटीसी मलमा विशेष शो गरिएको फिल्मको छायांकन गौरी शंकर धुन्जुले गरेका हुन् ।

प्रकाशित : मंसिर १, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?