लता मंगेशकर अस्वस्थ

कान्तिपुर संवाददाता

कोकिल स्वरकी गायिका लता मंगेशकर श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार मध्याह्न अचानक अस्पताल भर्ना भएकी छन् ।

तस्बिर स्रोत : डीएनए इण्डिया

मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको भेन्टिलेटरमा राखेर गायिका मंगेशकरको उपचार भइरहेको छ । अस्पताल स्रोतले गायिकामा निमोनिया र फोक्सोमा इन्फेक्सन देखिएकोले अवस्था गम्भीर रहेको तर पछिल्लो समय अवस्थामा केही सुधार देखिएको बताएको छ ।

डेढ महिनाअघि मात्रै ९० औं जन्मदिन मनाएकी लताले १३ वर्षको उमेरदेखि निरन्तर गाउँदै आएकी छन् । हजारौं गीत रेकर्ड गराइसकेकी लताले सुरुवातमा अभिनय पनि गरेकी थिइन् । बुबा पण्डित दीनानाथबाटै संगीतको पहिलो शिक्षा लिएकी लताले पाँच वर्षकै उमेरमा बुबाको एक मराठी सांगीतिक नाटकमा नायिकाको भूमिका निर्वाह गरेकी थिइन् ।

लताले पहिलो पटक मराठी फिल्म ‘किती हसल’ मा गाएकी थिइन्, तर पछि फिल्मको अन्तिम सम्पादनमा उक्त गीत नै हटाइएको थियो । सन् १९४५ मा मुम्बई आएपछि लताले उस्ताद अमनअली खानसँग हिन्दुस्तानी क्लासिकल म्युजिकको शिक्षा लिइन् ।

संगीतकार वसन्त देसाईकै संगीत संयोजनमा लताले पहिलो पटक फिल्म ‘आप की सेवा मैं’ मा गाउन पाएकी थिइन् । सांगीतिक क्षेत्रमा भने उनका मेन्टर गुलाम हैदर हुन् । हैदरले नै बलिउडका फिल्म निर्मातासँग चिनाउनुका साथै गवाउने काम पनि गरेका थिए ।

हैदरले नै एकपटक निर्माता सशाधर मुखर्जी कहाँ फिल्म ‘सहीद’ मा गवाउन लगेका थिए । तर मुखर्जीले १९ वर्षीया लताको स्वर निकै पातलो भनेर फर्काएका थिए । हैदरले भने लताको गायन क्षमतामा विश्वास गुमाएनन् । हैदरले नै लतालाई ‘मजबुर’ फिल्मका लागि ‘दिल मेरा तोडा...’ मा महत्त्वपूर्ण ब्रेक दिलाए । त्यसताक उक्त फिल्म त हिट भयो नै, लताको करिअरका लागि पनि ब्रेकथ्रु बनिदियो । आफ्नो ८४ औं जन्मदिनमा दिएको एक अन्तरवार्तामा समेत लताले गुलाम हैदरलाई आफ्नो गडफादर भनेकी थिइन् ।

सुरुवाती दिनमा लतालाई त्यसताककी चर्चित गायिका नूर जहाँको नक्कल गर्ने आरोप लागेको थियो । तर पछि लताले गायनमा आफ्नै शैली विकास गरिन् । सन् १९७४ मा द गिनिज बुक अफ रेकर्डस्ले लतालाई सन् १९४८ देखि १९७४ भित्र २० भारतीय भाषाहरुमा इतिहासमै सर्वाधिक २५ हजारभन्दा बढी गीत रेकर्ड गराएको उल्लेख गरेको थियो । पछि उक्त रेकर्डमा अर्का गायक मोहम्मद रफीले आफूले २८ हजारभन्दा बढी गीत गाएको दाबीसहित विरोध जनाए ।

सन् १९९१ को संस्करणमा गिनिज बुकबाट उक्त रेकर्डमा धेरै विवाद आएपछि लताको नाम बिनासूचना हट्यो । सन् २०११ मा आएर गिनिजले सर्वाधिक गीत रेकर्डमा सूचीमा लताकै बहिनी आशा भोसलेलाई ११ हजारभन्दा बढी गीत रेकर्ड गराएको भन्दै राख्यो ।

लतालाई सन् १९६२ मा अज्ञात व्यक्तिले मार्ने उद्देश्यले स्लो–पोइजन दिएको थियो । तीन दिनसम्म उनी जीवन–मृत्युको दोसाँधमा थिइन् । १० औं दिनमा बल्ल राम्रोसँग होस् आएको थियो । यस घटनामा उनकै भान्से संलग्न भएको हुन सक्ने आशंका तब भयो जब लता अस्पतालबाट आइन्, ऊ बिनासूचना एकाएक गायब भयो ।

लताले थुप्रै संगीतकारका गीत गाइसकेकी छन् भने अनेकौं गायकसँग युगल गायन पनि दिएकी छन् । मुकेश, मन्ना डे, महेन्द्र कपुर, मोहम्मद रफी, किशोरकुमारसँग उनको गायन जोडी खुब जमेको मानिन्थ्यो भने पछिल्ला समय उदितनारायण झा, सोनु निगमसँग पनि फिल्मी गीत गाएकी छन् । मोहम्मद रफीसँग रोयल्टीका सवालमा विवाद आएपछि केही वर्ष एकअर्काले युगल गायनका लागि अस्वीकार गरेका थिए ।

लताले भारतमा दिइने सर्वाधिक गरिमाको जनसम्मान भारत रत्नसहित पद्मभूषण, पद्मविभूषण, दादासाहेब फाल्के अवार्ड पाउनुका साथै तीन राष्ट्रिय नेसनल अवार्ड पाएकी छन् भने उत्कृष्ट गायिकाका लागि चार वटा फिल्मफेयर अवार्डसमेत जितिसकेकी छन् । लताको अस्वस्थताप्रति यतिबेला भारतका प्रतिष्ठित व्यक्तिहरुले स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरिरहेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अस्ट्रेलियाको डढेलो अनियन्त्रित

२ राज्यमा आपत्कालीन अवस्था घोषणा, ६०० विद्यालय तथा शैक्षिक संस्था बन्द
एजेन्सी

सिड्नी — अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा शुक्रबारदेखि फैलिएको डढेलो अनियन्त्रित भएको अधिकारीहरुले जनाएका छन् ।

डढेलोका कारण हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं मानिस घाइते भएका छन् । बीबीसीका अनुसार करिब २ सय संरचना जलेर नष्ट भएका छन् । डढेलोका कारण केही पुल, विद्यालय, सरकारी भवन ध्वस्त हुनुका साथै विद्युत् लाइन अवरुद्ध छ ।

मंगलबार साँझसम्म राज्यका सयभन्दा बढी स्थानमा डढेलो सक्रिय रहेको जनाइएको छ । हालसम्म करिब १० लाख हेक्टर क्षेत्र डढेलोले ध्वस्त भएको जनाइएको छ । अधिकारीहरुले तीव्र गतिको हावाहुरी, उच्च तापक्रम र न्यून आद्रताका कारण डढेलो ‘तत्काल नियन्त्रण गर्न असम्भव देखिएको’ जनाएका छन् ।

अधिकारीहरुले मंलबारको डढेलोलाई सन् २००९ मा भिक्टोरियामा फैलिएको आगलागीसँग तुलना गरेका छन् । ‘कालो शनिबार’ नाम दिइएको उक्त घटनामा १ सय ७३ जनाको ज्यान गएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार डढेलो विभिन्न सय स्थानमा सक्रिय छ । तीमध्ये ३ स्थानलाई उच्च खतरा रहेको भन्दै चेतावनी जारी गरिएको छ । न्यु साउथ वेल्समा मात्रै ६ सय विद्यालय तथा शैक्षिक संस्था बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यु साउथ वेल्सको शिक्षा विभागले आगलागी नियन्त्रणमा नआएसम्म विद्यालय बन्द गर्न यसअघि नै निर्देशन दिएको थियो ।

डढेलो विनाशकारी बन्दै गएपछि न्यु साउथ वेल्स र क्विन्सल्यान्ड राज्यमा एक साताका लागि आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । आपत्कालीन अवस्थाको घोषणासँगै अग्नि नियन्त्रण निकायले सरकारी स्रोत अतिरिक्त प्रयोग गर्ने, इन्धन सेवा बन्द गर्ने तथा स्थानीयलाई सुरक्षित स्थानमा सार्ने अधिकार पाएको छ ।

अस्ट्रेलियाका बिमा कम्पनीहरुको प्रतिनिधिमूलक संस्था इन्स्युरेन्स काउन्सिलले डढेलोका कारण सिड्नीका अति प्रभावित क्षेत्रमा मात्र करिब ४ करोड डलरभन्दा बढीको क्षती भएको अनुमान गरेको छ ।

न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा करिब १ हजार किलोमिटर क्षेत्र समेट्दै अघि बढेको डढेलो अग्नि नियन्त्रकहरूले नियन्त्रण गर्ने प्रयास गरिरहेका जनाइएको छ । डढेलो अन्यत्र फैलन नदिन १ हजार ३ सय बढी अग्नि नियन्त्रक खटाइको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डढेलो नियन्त्रणका लागि सरकारले सक्दो प्रयास गरिरहेको भन्दै मानिसलाई नआत्तिन भनेका छन् । उनले आवश्यकताअनुसार सेना परिचालन गर्न सरकार तयार रहेको बताएका छन् ।

यसअघि, मरिसनले अस्ट्रेलियामा पछिल्ला महिना पटकपटक ढडेलो फैलिएको भन्दै रोकथामका लागि हरेक नागरिक सचेत बन्नुपर्ने बताएका थिए । अस्ट्रेलियाले हरेक वर्ष डढेलोसँग जुध्दै आएको भए पनि यस वर्ष विगतको तुलनामा ठूलो क्षेत्रमा फैलिएको छ ।

प्रकाशित : कार्तिक २६, २०७६ १९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT