कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडियोकर्मी–कलाकार चंगाचेट

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको माहोल भित्रिएसँगै घरका छतमा बालबालिकाहरूले चंगा उडारहेको दृश्य देख्न थालिएको छ । दसैं भन्नेबित्तिकै चंगा त्यसै जोडिएर आइहाल्छ ।

रेडियोकर्मी–कलाकार चंगाचेट

विशेषगरी बालबालिकाहरू तथा युवाहरूमा चंगाप्रति निकै आकर्षण देखिन्छ । गाउँघरको मौलिक संस्कृति तथा खेलका रूपमा लिइने चंगा उडाइको झल्को दिने गरी हिजोआज दसैंतिहारकै छेको पारेर विभिन्न संस्थाहरूले चंगा चेटका कार्यक्रम आयोजना गर्न थालिएको छ ।


शुक्रबार पुल्चोकस्थित रेडियो कान्तिपुरमा पनि त्यस्तै कार्यक्रमको दृश्य देखियो । कान्तिपुर रेडियो परिवारले आयोजना गरेको ‘चंगाचेट’ कार्यक्रममा रेडियोकर्मी र कलाकारहरूबीच चंगा उडाउनुका साथै दसैंको शुभकामना आदानप्रदान गरिएको थियो । कान्तिपुर रेडियोका स्टेसन म्यानेजर दिनेश डीसी लगायतका रेडियोकर्मीहरू तथा कलाकारहरूले चंगा उडानलाई विशेष रूपमा मनाए । रेडियो स्टेसनको छतमा कसले कसको चंगा चेट बनाउने (काट्ने) भनेर गरेको प्रतिस्पर्धा र आआफ्ना समर्थकलाई गरेको हुटिङले माहोल निकै रोचक बनेको थियो ।


चंगा उडाइसँगै गीतसंगीत र नृत्यको रौनकमा सबै जना झुम्मिएका थिए । ‘निकै रमाइलो भयो । यहाँ आएर चंगा उडाउँदा बच्चपनको याद आयो,’ गायिका टीका प्रसार्इं निकै उत्साहित भएर सुनाउँदै थिइन् । चंगा उडानमा सहभागी भएर प्रसाईंले ‘माया लुकी लुकी...’ गीत गाएर सबैलाई मोहित पनि बनाइन् । चंगा चेट कार्यक्रममा सहभागी हास्यकलाकार दीपकराज गिरी पनि निकै उत्साहित देखिए ।


चंगा हाम्रो मौलिक संस्कृति र परम्परासँग प्रत्यक्ष सरोकार राख्ने भए तापनि सामाजिक सञ्जालको विकाससँगै नयाँ पुस्तामा यसको महत्त्व र प्रयोगमा केही गिरावट आएकोमा गिरीले दुःख पोखे । कोही व्यक्ति, संस्थाबाट भन्दा पनि सरकारी तहबाट नै यसको प्रवर्द्धनका लागि पहल हुनुपर्ने उनको धारणा थियो । उनले भने, ‘दसैं संस्कृतिलाई जोगाउने नै हो भने सरकारले टुँडिखेलमा नै पिङ हाल्ने, चंगा राखेर या खेलाएर महोत्सवका रूपमा मनाउनुपर्छ ।’

दसैं भन्नेबित्तिकै रमाइलो जमघट र चंगा उडाउने संस्कृतिलाई नै जोगाइराख्न नै डेढ दशकअघिदेखि रेडियो कान्तिपुरले ‘चंगाचेट’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको स्टेसन म्यानेजर डिसीले बताए । यस्ता खाले कार्यक्रमबाट एक–आपसमा नजिकको सम्बन्ध र एकता बढ्ने उनले विश्वास व्यक्त गरे ।


कार्यक्रममा नै सहभागी रेडियोमै आवद्ध केशव न्यौपानेले नयाँ पिँढीमा सुस्ताउँदै गएको मौलिक कला, संस्कृतिप्रतिको चाख यस्ता खाले कार्यक्रमले जगाइदिने बताए । चंगा चेटमा सहभागी अनामनगरका साहिल खरेल भने सानो बेलाको जस्तो रमाइलो जोस नभए पनि यस्ता कार्यक्रमले दसैंको त्यो बेलाको रमाइलोलाई सम्झाइदिने बताउँछन् । कार्यक्रममा गायक, गायिका सन्तोष लामा, कुन्ती मोक्तान, शिलाबहादुर मोक्तान, शीतल मोक्तान, बबिन ढुंगाना, बानिका प्रधान, अनुप ओझालगायत उपस्थित थिए ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?