कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

१३ औं साग : पुरानै नेपाल र सुधारिएको भुटान

हिमेश

काठमाडौँ — भुटानी फुटबलले प्रगति गरेको छ भनेर धेरै सुन्न पाइन्छ अचेल । यस्तो नहुँदो हो त भुटान १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनल पुग्ने पनि थिएन । प्रतियोगिता सुरु हुनुअगाडि बिरलैले मात्र सोचेका थिए होला, नेपाल फाइनल त पुग्नेछ । तर उपाधि भिडन्तमा टिमको प्रतिद्वन्द्वी भुटान हुन्छ भनेर । यसपल्टको साग फुटबलले दिएको सबैभन्दा गज्जब, तर उत्तिकै रोमाञ्चक आश्चर्य हो यो ।

१३ औं साग : पुरानै नेपाल र सुधारिएको भुटान

यसमा भुटानी फुटबललाई उसले पाउनुपर्ने श्रेय पनि दिर्नैपर्छ । केही वर्ष भयो, भुटानले केही समयको अन्तरमा यस्तै सम्झनलायक जित निकाल्न थालेको । अहिले यही सुरुआतले एउटा राम्रो गन्तव्य लिएको छ । यो मंगलबार हुने स्वर्ण पदकको भिडन्त नै हो । अहिले जति खेलाडीले भुटानी टिमबाट खेलिरहेका छन्, ती सबै त्यहाँकै एकेडेमीका उत्पादन हुन् । जस्तै, चेन्चो ग्याल्चेन । अहिले यिनै खेलाडी आफ्नो खेलजीवनको सबैभन्दा ठूलो स्वप्निल उडानमा छन् ।


भुटानी प्रशिक्षक पेमा आफैंले पनि भनेका छन्, ‘अहिले भुटानी फुटबल आफ्नो इतिहासमै सबैभन्दा खुसीको समयबाट गुज्रिरहेको छ ।’ पछिल्लो समय भुटानले नेपाली फुटबललाई गुन पनि लगाएको छ, विश्वकप छनोटमा नेपाल र कुवेतबीचको खेल थिम्पुमा खेलाउन दिएर । दशरथ रंगशाला समयमै तयार नभएपछि नेपालले थिम्पुलाई आफ्नो घरेलु मैदानका रूपमा उपयोग गरेको थियो । जुन दिन खेल भएको थियो, भुटानी फुटबलप्रेमी नेपाली समर्थक भएर मैदानमा उत्रेका थिए ।

भुटानविरुद्ध नेपाल

समय : १५ बजे

दशरथ रंगशाला

त्यही फुटबलप्रेमी भुटानीको हूलमा एक थिए, प्रधानमन्त्री लोटे छिरिङ । आममान्छेले जस्तै उनले टिकट किने र साधारण प्यारापिटमा बसेर खेले हेरे । रंगशालासम्म पनि उनी साइकल चढेर आएका रहेछन् । अझ खेल सकिएको साँझ त गज्जब नै भयो । यिनै प्रधानमन्त्री छिरिङ बिना पूर्वसूचना नेपाली टिम रहेको होटलमा आए र नेपाली खेलाडीले राम्रो खेल्यौ भनेर खुलेर प्रशंसा गरे । एउटा देशका रूपमा भुटान फेरिएको छ । फेरिएको छ भुटानी फुटबल पनि ।


कुनै दिन त्यस्तो पनि थियो, जति बेला नेपालले भुटानी फुटबलका लागि गुन लगाएको थियो । भुटानलाई फिफा र एएफसीमा सदस्य दिलाउन डटेर लागेको थियो नेपाल । अनि कुनै समय यस्तो पनि थियो, जतिबेला नेपालमा भुटानको थिम्पु ११ ले तहल्का मच्चाउने गरेको थियो । बर्थडे कपका पाँच संस्करणमा यो थिम्पु टिम फाइनल पुगेको ०३४ देखि ०३८ बीच । त्यसमध्ये ०३६ र ०३७ सालमा यो टिमले उपाधि पनि जित्यो ।


यी सबै फाइनलमा थिम्पुको प्रतिद्वन्द्वी एउटै थियो, पुलिस क्लब । त्यो बेलाको फुटबल हेरेका र सुनेका सबैमाझ अझै पनि केही खेलाडीको नाम सम्झनामा हुनुपर्छ । जस्तो, खरे बस्नेत, उर्गेन लामा, अभय गुरुङ, सोनाम टोप्के, केबी गुरुङ र प्रेम दोर्जे । गुरुङ त अनुराधा कोइरालाका दाइ नै हुन् । त्यतिबेलाको टिम पूर्णतः भुटानकै थिएन, तर यसले भुटानी फुटबलका स्वाद र गुण बोकेको थियो । बस्नेत त भुटानी नै हुन्, खुबै राम्रा स्ट्राइकर थिए । उनले लामै समय भुटानी फुटबलको नेतृत्वमा रहे ।


यी त भए, सबै इतिहासका प्रसंग । जति–जति बेला नेपाल र भुटान फुटबल मैदानमा ओर्लने गर्छन्, त्यतिबेला नतिजा प्रभावित पार्ने एकमात्र तत्त्व भनेको यही हो, इतिहास नै । नेपाली फुटबलले राष्ट्रिय टिमदेखि कुनै पनि उमेर समूहको फुटबलमा अहिलेसम्म हार बेहोर्नुपरेको छैन, एकाध अपवाद छाडेर । त्यसै कारण त हो, पाँच टिम सम्मिलित टिममा भुटानले मज्जाको जित निकाल्न सक्यो । जस्तो, बंगलादेशलाई १–०, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–० ।


यी नतिजा कुनै पनि ‘फ्लुक’ थिएनन् । तर यतिको खेल्न सक्ने भुटान भने नेपालविरुद्धको खेलमा ४–० ले उत्तिकै मज्जाले पराजित रह्यो । साँचो हो, नेपालले भुटान भनेपछि राम्रो गर्छ । भुटानले नेपाल भनेपछि आत्तिएर दबाबमा खेल्ने गर्छ । यसलाई भुटानी फुटबलले तोड्न नसकेको ‘जिंक’ भन्दा हुन्छ । फेरि प्रतियोगिता नेपाल नै यस्तो एकमात्र टिम रह्यो, जसले कुनै पनि खेल गुमाएन । त्यसैले प्रशिक्षक बालगोपाल महर्जन खुबै आत्मविश्वास भएर भनिरहेका छन्, ‘स्वर्ण जित्ने हामी नै हौं ।’


खासमा भुटान सुधारिएको त छ, तर नेपाल त पुरानै हो । नेपालले खाली बंगलादेशविरुद्धको खेलअगाडि नै फाइनल पुग्यो भनेर गलत हिसाब गर्‍यो । सुनिन्छ, बंगलादेशविरुद्धको खेल अगाडि प्रशिक्षक महर्जन र व्यवस्थापन आफ्ना प्रमुख खेलाडीलाई आराम दिने सोचमा थियो । खेलाडी सबै हल्का ‘मुड’ मा थिए । धन्न, मैदानमा नेपालले बंगलादेशलाई हराउन सक्यो । त्यही खेलपछि बंगलादेशी प्रशिक्षक जेम्स डेलाई सोधिएको थियो, फाइनलमा जित्ने टिम को हो त ? नेपाल कि भुटान ?


उनले सटीक विश्लेषण गरे । जे हो, ठ्याक्कै त्यही बोले । उनले भनेका थिए, ‘फाइनलमा तीव्र प्रतिस्पर्धा हुनेछ । सबैले बुझ्नुपर्छ, अब भुटान पहिलको टिम रहेन । राम्रो छ । त्यसैले यसले नेपालबाहेक सबैलाई हराउन सक्यो । नेपाल पनि आफ्नो ठाउँमा राम्रो छ । भुटानको तुलनामा नेपाली टिमको सबैभन्दा राम्रो पक्ष भनेकै खेलाडी प्राविधिक रूपमा अब्बल छन् । मेरो विचारमा यसैले खेलले निर्णय गर्नेछ । पक्कै पनि नेपाल नै बलियो दाबेदार हो, फेरि यसलाई घरेलु दर्शकको साथ पनि हुनेछ ।’


भुटानी प्रशिक्षक पेमालाई डर पनि यही दर्शकको हो । खुबै भलाद्मी देखिने यी पेमाले सोझो पारामा भनेका पनि छन्, ‘नेपाल फाइनल नपुगेको भए ती सबै समर्थक हाम्रै हुन्थे कि ?’ हुन पनि भुटानले खेलेका प्रत्येक खेलमा टिमको समर्थन गर्ने नेपाली फुटबलप्रेमी नै हुन् । यो देखेर प्रशिक्षकदेखि खेलाडी सबै खुबै आभारी छन् । तय छ, नेपाल नै स्वर्ण पदकका लागि बलियो प्रत्याशी हो । टिमको सफलता सबै नेपाली फुटबलप्रेमीलाई अपार खुसी दिनेछ । तय के पनि छ भने भुटान हारेमा यी फुटबलप्रेमीलाई दुःख पनि हुनेछ ।


प्रकाशित : मंसिर २४, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?