कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मागेको ट्राइसुटमा स्वर्ण

दीपक परियार

(पोखरा) — खेल हुनुभन्दा २ दिनअघि बल्ल ट्राइसुट (ट्रायथलनमा प्रयोग हुने पोसाक) आइपुग्यो । भारतबाट आएका पोसाकको नाप ट्रायथलनका खेलाडीलाई मिलेन । ट्रायथलनअन्तर्गतकै दुवाथलनमा भाग लिन नेपालका हिमाल टमाटाले स्वर्ण विजेता सोनी गुरुङसँग ट्राइसुट मागे । उनै सोनीले अर्कै साथीसँग मागिदिएको ट्राइसुट लगाएर हिमालले मंगलबार देशको नाममा स्वर्ण जिते । 

मागेको ट्राइसुटमा स्वर्ण

फेवा किनारमा दौडँदा ट्राइसुटमा न उनको नाम थियो, न देशको । एक महिना अघि नै लगाएर बानी पर्नुपर्ने पोसाक राखेपले दुई दिनअघि ल्यायो, त्यो पनि नमिल्दो । ‘जर्मनीबाट ल्याउनुपर्ने ट्राइसुट भारतबाट ल्याइएछ,’ दुवाथलनमा स्वर्ण जितेपछि हिमालले भने, ‘पोसाक नहुँदा तालिम पनि राम्रो गर्न पाइएन ।’ साइकल पनि ५ वर्ष पुरानो भएको गुनासो उनले गरे । पौडी, साइक्लिङ र दौड, तीनवटै विधामा मिल्ने पोसाक हो ट्राइसुट । ट्रायथलनका खेलाडीलाई उक्त पोसाक समयमै नआउँदा सोमबार सोनीले स्वीमसुट लगाएर ट्रायथलनमा स्वर्ण जितेकी थिइन् । राम्रो साइकल र उपकरण पाए नेपाली खेलाडीले अझै राम्रो गर्न सक्ने हिमाल बताउँछन् । ‘खेलाडीलाई मुख्य प्राथमिकता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘यहाँ देखावटी धेरै भयो ।’


कञ्चनपुरका उनी सानैदेखि खेलकुदका गतिविधिमा संलग्न थिए । १५ वर्षकै उमेरमा सुदूरपश्चिमबाट राष्ट्रिय खेलकुदमा एथलेटिक्स र करातेमा सहभागिता जनाएका छन् । आठ वर्षअघि नेपाली सेनामा भर्ती भएपछि उनको रुचि साइक्लिङमा बढ्यो । सेनाका प्रशिक्षक राजीव चन्दले दुवाथलनमा लाग्न प्रेरणा दिए । उनले भारतको गुवाहाटीमा भएको १२ औं सागमा पनि टिम मिक्स रिलेमा रजत पदक प्राप्त गरेका थिए । आठौं राष्ट्रिय खेलकुदमा उनी दोस्रो भएका थिए । ‘अब एसियन गेम्समा पदक जित्ने धोको छ,’ उनले भने ।


ट्रायथलनमा एक खेलाडीले पौडी, साइक्लिङ र दौडमा सहभागी हुनुपर्छ । दुवाथलनमा भने दौड, साइक्लिङ र पुन: दौडमा खेलाडी सहभागी हुन्छन् । ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र पुन: २.५ किलोमिटर दौड उनले ५७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । उनलाई नेपालकै लक्ष्मण मल्लले पछ्याए । मल्लले उक्त दूरी ५९ मिनट १३ सेकेन्डमा पूरा गरेर रजत पदक पाए । आठौं राष्ट्रिय खेलकुदमा उनले हिमाललाई हराएर पहिलो भएका थिए । श्रीलंकाका असित परेराले ५९ मिनट ३२ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।


महिलातर्फ हुमी बुढामगरले समान दूरी १ घण्टा ८ मिनेट ५४ सेकेन्डमा पूरा गरेर रजत दिलाइन् । श्रीलंकाकी इरागा दुलाक्षीले १ घण्टा ५ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गरेर स्वर्णको खुसी मनाइन् । श्रीलंकाकै उदया कुमारीले १ घण्टा ९ मिनेट ९ सेकेन्डसाथ कांस्य हात पारिन् ।


पोखराको लेकसाइडमा भएको प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका २–२ खेलाडी सहभागी थिए । नेपालले यो सहित ट्रायथलनबाट २ स्वर्ण २ रजत र एक कांस्य जोडेको छ । बुधबार अन्तिम दिन नेपालले मिक्स रिलेमा प्रतिस्पर्धा गर्नेछ । नेपाली खेलाडी सोनी गुरुङले इलाइट स्प्रिन्टमा स्वर्ण हात पारेकी थिइन् भने वसन्त थारूले कांस्य जितेका थिए ।


पुरुषमा आशा गरेअनुसार नै नतिजा आएको बताउँदै ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सुनुवारले महिला खेलाडीमा केही कमजोरी देखिएको स्वीकार्छन् । ‘हामीले चाहेको र मागेको सामान परिषद्बाट समयमा आएन,’ उनले भने, ‘समयमा पाएको भए स्वर्ण थप्न सकिन्थ्यो ।’ बुधबार हुने मिक्स टिम रिलेमा स्वर्ण पदक आउने उनको आशा छ । पहिलोपल्ट अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी भएर रजत पदक जितेकी हुमीले खेलमा आवश्यक सामग्री समयमै उपलब्ध नहुँदा स्वर्णबाट टाढा भएको बताउँछिन् ।


नेपाली खेलाडीलाई उत्साहित बनाउन नेपाल ट्रायथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई १ लाख, रजत जित्नेलाई ५० हजार र कांस्यका लागि २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । टिम स्पर्धाका लागि पनि उक्त पुरस्कार रहेको घोषणा उनले गरे । गण्डकी प्रदेश सांसद दीपक कोइरालाले स्वर्ण विजेता नेपाली खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेका छन् ।


बुधबार १ स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका खेलाडी मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक/एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौडको दूरी तय गरिएको छ ।


नेपालले सागअन्तर्गत ट्रायथलनमा सहभागिता जनाएको यो दोस्रोपल्ट हो । संघ स्थापनाको छोटो समयमै ट्रायथलनले राष्ट्रका लागि पदक दिलाउन सफल भएको छ । नेपालले ट्रायथलनमा पहिलोपल्ट सहभागिता जनाएको १२ औं सागमा एक रजत र एक कांस्य हात पार्न सफल भएको थियो । भारतको गुवाहाटीमा भएको उक्त सागमा रुद्र कुमाल, हिमाल टमाटा, रोजा केसी र यामकुमारी घले सम्मिलित टिमले मिक्स रिलेमा रजत प्राप्त गरेको थियो । पहिलोपल्टकै प्रयासमा ट्रायथलनबाट रोजा केसीले कांस्य पदक प्राप्त गरेकी थिइन् ।


प्रकाशित : मंसिर १८, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?