कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुटानको आश्चर्यजनक अग्रता

हिमेश

काठमाडौँ — दशरथ रंगशालामा फेरि एकपल्ट सोमबार फुटबल औपचारिक रूपमा फर्केको छ । भूकम्पपछि त्यहाँ फुटबल हुन सकेको थिएन । यो संयोग भुटानका लागि पनि सुखद रह्यो । भुटानले दक्षिण एसियाली खेलकुद इतिहासमै पहिलोपल्ट बंगलादेशलाई हरायो । भुटानले पुरुष यू–२३ फुटबलमा सम्झनालायक जित निकाल्यो ।

भुटानको आश्चर्यजनक अग्रता

भुटानको तर्फबाट भएको एकमात्र गोल चेन्चो ग्याल्चिनको नाममा रह्यो । ‘भुटानी रोनाल्डो’ को नामले चिनिने ग्याल्चिनले ६५ औं मिनेटमा निर्णायक गोल गरे । फुब थिन्लेको पास सदुपयोग गर्दै उनले नजिकको दूरीबाट गोल गरे । ग्याल्चिनसँग भारतको आईएसएलमा खेलेको अनुभव छ र अहिलेको टिम उनकै नेतृत्वमा छ ।


खेलपछि यी भुटानी फुटबलका अहिलेसम्मकै सबैभन्दा ठूला स्टारले भने, ‘आजको खेलमा हाम्रो उद्देश्य ३ अंक प्राप्त गर्नु थियो र हामी यसमा सफल रह्यौं ।’ यस्तै प्रशिक्षक पेमाले भने खेलको सुरुमा टिमलाई केही गाह्रो भएको स्वीकार्दै त्यसयता भने आफ्नो टिमले लय समातेको बताए ।


उनले भने, ‘आजको नतिजामा हामी स्वाभाविक रूपमा खुसी छौं ।’ पेमाले मंगलबार नेपालविरुद्ध हुने खेललक्षित गर्दै थपे, ‘नेपालविरुद्धको खेलमा सबै आफ्नै टिमको समर्थनमा हुनेछ । हामी आशा गर्छौं, हाम्रोप्रति पनि केही समर्थन हुनेछ ।’


यस्तै बंगलादेशका प्रशिक्षक जेम्स डेले आफ्नो टिम हारका लागि पूर्ण रूपमा हकदार भएको माने । उनले भने, ‘आज हाम्रा कोही पनि खेलाडीले खेल्न सकेनन् । सबैको प्रदर्शन बिर्सनलयाक रह्यो । आजको कमजोर प्रदर्शनबाट हाम्रा खेलाडी शिक्षा लिनुपर्छ । आजको दिन हाम्रा लागि वास्तवमै खराब रह्यो ।’ राष्ट्रिय र सबै खाले उमेर समूहको फुटबलमा भने यो भुटानको बंगलादेशमाथि दोस्रो जितमात्र हो । यसअघि सन् २०१५ मा भुटानले पहिलोपल्ट थिम्पुमा बंगलादेशलाई हराएको थियो ।


दोस्रो खेलमा भने माल्दिभ्स र श्रीलंकाले गोलरहित बराबरी खेले । श्रीलंका खेलको अन्तिम १० मिनेट १० खेलाडीमा सीमित रहेर माल्दिभ्सलाई बराबरीमा रोक्न सफल भएको हो । दोस्रो खेलको विश्लेषण गर्दै श्रीलंकाली प्रशिक्षक एमएम प्याकिरालीले आफ्ना लागि बराबरीको नजिजा सुखद रहेको बताए ।


माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले आफ्नो टिमको प्रदर्शन कमजोर रहेको तथ्य स्वीकार्दै जितका लागि गोल गर्नुपर्ने र यसमा आफ्नो टिम सफल रहेको माने । उनले पहिलो खेलको उदाहरण गर्दै त्यसमा बंगलादेश पराजित रहनुले पूरा प्रतियोगितामा सबै टिम समान रूपमा उपाधिको दाबेदार रहेको बताए ।


प्रकाशित : मंसिर १७, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?