कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफैंलाई चिनाउने अवसर

राजेन्द्र नाथ

काठमाडौँ — खेलकुदमा रुचि नहुनेलाई फेन्सिङको नामै नौलो लाग्न सक्छ । नाम सुन्ने बित्तिकै उनीहरूको दिमागमा त्यसको चित्र नबन्न सक्छ । नाम र खेल्ने ‘टेक्निक’ नयाँ सुनिए/देखिए पनि यो खेलको नेपाल नाता भने पुरानै छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आधिकाररिक रूपमा पहिलो सहभागिता जनाइरहेको फेन्सिङको ढोका खुलिसकेको छ । अब नेपाली खेलाडीलाई धेरैको ध्यान आफूतर्फ केन्द्रित गराएर यसको प्रचारप्रसार र उपादेयिता सिद्ध गर्ने मौका मिलेको छ । 

आफैंलाई चिनाउने अवसर

उहिले राजा–महाराजाले तरबार युद्ध गर्थे । आधुनिक हातहतियारको विकास भइनसकेको त्यो युगमा युद्ध जित्नका लागि तरबार नै अचुक अस्त्र मानिन्थ्यो । ‘नेपाल–भोट र नालापानीका लडाइँहरू नेपाली वीर योद्धाहरूले तरबारकै बलमा लडेका थिए,’ नेपाल फेन्सिङ संघकी उपाध्यक्ष हेल्गा राणा रायमाझीले भनिन्, ‘फेन्सिङ एकप्रकारको तरबारबाजी नै हो । खेलका रूपमा विकसित हुँदै गएपछि त्यसका नियम र तरिका त केही फेरबदल भइहाल्छन् ।’

१३ औं सागका लागि महाराजगन्जस्थित पुलिस एकेडेमीमा प्रशिक्षण गरिरहेका फेन्सिङ खेलाडी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

उपाध्यक्ष रायमाझीले भनेझैं यो तरबारबाजी अहिले भने इलेक्ट्रोनिक खेलमा परिणत भइसकेको छ । ‘कमब्याट गेम’ भए पनि ‘बडी कन्ट्याक्ट’ भने हुँदैन । एकअर्काको शरिर नछोएरै तरबारले मात्रै प्रतिस्पर्धीको शरीर छँदा अंक प्राप्त गर्न सकिन्छ । तरबारले छुँदा निश्चित–निश्चित ठाउँहरूमा त्यहीअनुसारको गहिराइ चाहिन्छ । त्यसको संकेत इलेक्ट्रोनिक माध्यमबाट स्कोरबोर्डसम्म पुग्छ ।


प्लेटफार्म, इलेक्ट्रोनिक मेसिन, छुट्टै पोसाक, तरबार र विशेष खालको माक्स लगाएर खेलिने फेन्सिङलाई महँगो खेलका रूपमा चित्रण गरिन्छ । रायमाझी पनि त्यो कुरासँग सहमत छिन् । उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा खेल सामाग्रीको मात्रै पनि ४ लाख रुपैयाँ पर्छ । ‘महँगो छ । अहिले भने सस्ता चिनियाँ खेल सामग्री प्रयोग गरिरहेका छौं,’ उनले भनिन्, ‘यो खेल असामान्य जस्तो लागे पनि विस्तारै सामान्य बनाएर सबैको पहुँचमा पुर्‍याउँछौं ।’


१३ औं सागबाट फेन्सिङको ढोका खुलिसकेको छ । अब खेलाडीले आफैंलाई प्रमाणित गर्ने अवसर र चुनौती दुवै छ । देशका कुना कन्दराहरूसम्म अझै विस्तार हुन नसकेको यो ‘आधुनिक तरबारवाजी’ लाई व्यापक पार्ने मौका पनि जुराएको छ, यो सागले । फेन्सिङ संघका अनुसार घरेलु प्रतियोगितामा भने सहभागिता बढ्दो छ । सातौं र आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएपछि खेलाडीको संख्या वृद्धि भइरहेको हो । अहिले देशभर कम्तिमा पनि १ सय ५० खेलाडी छन् । खेलाडीले ‘फुट स्टेप’ चाल्दा तेक्वान्दो र बास्केटबलका खेलाडीले झै चाल्नुपर्छ । त्यसैले ती दुई खेलका खेलाडीहरू पनि नयाँ खेलमा अवसर छोप्न आइरहेका छन् ।


नयाँ प्रतिभाहरू आउने क्रम बढेपछि फेन्सिङका प्रशिक्षक अभिषेक कार्की दंग छन् । साउन महिनादेखि नै १२ महिला र १२ पुरुष खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन् । तीन वर्षअघि हंगेरीमा लेभल तीन कोर्स पूरा गरेपछि खेलाडीबाट प्रशिक्षकको भूमिकामा फेरिएका कार्कीकै पहलमा केही दिनअघि खेलाडीहरूले बैंककमा १५ दिने प्रशिक्षण लिने मौका पाए । ‘विदेशी प्रशिक्षकहरूबाट उनीहरूले सिक्ने मौका पाए । त्यहाँको अनुभव र घरेलु दर्शकको समर्थनमा खेलाडीहरूले पक्कै राम्रो खेल्नेछन्,’ कार्कीले भने ।


सागका लागि खेलाडीहरू महाराजगन्जस्थित नेपाल प्रहरीको एकेडेमी भवनमा अभ्यासमा गरिरहेका छन् । गत साताबाट दुई जना विदेशी प्रशिक्षक थपिएका छन् । सर्भियाबाट आएका ती दुई प्रशिक्षकले बिहीबार खेलाडीलाई प्रशिक्षण दिन थालिसकेका छन् । इपी, फोयल र सेब्रे गरी तीनवटा विधातर्फ ५ देशका खेलाडीले भाग लिएका छन् । नेपालका अतिरिक्त भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडी मंसिर १९ देखि कीर्तिपुरस्थित कर्भडहलमा प्रतिस्पर्धा गर्नेछन् । भारतबाहेक अन्य देशहरूको स्तर लगभग समान छ । संघका अनुसार १२ औं सागमा पनि फेन्सिङले सहभागिता जनाएको थियो । तर राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत नगएकाले मात्रै अहिलेको सहभागितालाई पहिलो मानिएको हो । लामो प्रशिक्षणले खेलाडीहरू पनि उत्साहित छन् । इपीमा भाग लिइरहेकी सीता पाठक र फोयलका जलेन्द्रबहादुर शाही यसालि राम्रो तयारी गरेकाले ‘मेडल टच’ गर्ने आसमा छन् ।


केही समयअघिको बैंकक प्रशिक्षणले पनि उनीहरूको ‘कन्फिडेन्स’ बढेको छ । अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न प्रतियोगिताहरूमा भाग लिइसकेका यी दुई लगायत अधिकांस खेलाडीलाई घरेलु मैदान र समर्थकहरूले साथ दिने नै छन् । त्यसबाहेक यो सागको प्रदर्शनले फेन्सिङलाई नयाँ दिशा दिनेमा प्रशिक्षक र संघ पदाधिकारी पनि सहमत छन् । ‘लामो संर्घषपछि ढोका खुल्यो,’ प्रशिक्षक कार्कीले भने, ‘अब देखाउने पालो खेलाडीको काँधमा आएको छ ।’

प्रकाशित : मंसिर १५, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?