कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला भलिबल : भारतसँग गुमेको लय

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुदको महिला भलिबलमा नेपाल अघिल्लो दिनको लय कायम गर्न सकेन । बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाली टिम भारतसँग सोझो सेटमा हार बेहोरेको छ । यो लगातार सातौं अन्तर्राष्ट्रिय खेलपछि नेपालको पहिलो हार हो । बुधबार नेपालले बंगलादेशमाथि सजिलो जित पाएको थियो । 

महिला भलिबल : भारतसँग गुमेको लय

समूहको अन्तिम खेलमा भारतले बंगलादेशलाई हराएमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ ।


दक्षिण एसियामै बलियो तथा साबिक विजेता भारतसँग नेपाली टोलीले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको हो । तर निर्णायक मोडमा चुक्दा नेपालले सेट २४–२६ ले गुमायो । २२–२४ को अग्रतामा रहँदा नेपालले लगातार रिसिभमा कमजोरी गर्दा सेट गुमाउनुपरेको हो । भारतकी कप्तान निम्मीले सर्भिसबाट लगातार ३ अंक जोडेर सेट जोगाइन् । जित्दाजित्दै पहिलो सेट हारेपछि लड्खडाएको नेपालविरुद्ध बाँकी दुई सेटमा जित निकाल्न भारतलाई सजिलो भयो । उसले क्रमश: १२–२५ र १६–२५ ले खेल आफ्नो पक्षमा पार्‍यो । नेपालका प्रशिक्षक जगदीश भट्टले पहिलो सेट जित्न सकेको भए नतिजा अर्कै हुने दाबी गरे । ‘बंगलादेशलाई हराएपछि हामी लगभग सेमिफाइनलमा पुगिसकेका थियौं, त्यसैले बिनादबाब खेल्ने रणनीति थियो । पहिलो सेटमा पराजित भएपछि खेलाडीको मनोबल पनि आधा खस्कियो,’ उनले भने, ‘दोस्रो र तेस्रो सेटमा हामीले रिसिभ र स्पाइकमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनौं । भारतसँग लामो समयपछि खेलेका थियौं, यसबीचमा उसको खेल हेर्न पनि पाएका थिएनौं ।’


पहिलो सेटमा २३–२४ को अग्रता हुँदा प्रशिक्षक भट्टले अपोजिक स्पाइकर रेश्मा भण्डारीलाई प्रतिस्थापन गरी ओपन स्पाइकर निरूता ठगुन्नालाई कोर्टमा पठाए । भारतीय कप्तान निम्मीको सर्भिसमा उनै निरूताले रिसिभ गर्न नसक्दा भारतले स्कोर बराबरीमा ल्यायो । प्रशिक्षक भट्टको भनाइ मान्ने हो भने उनले रिसिभमा सुधारकै लागि निरूतालाई पठाएका थिए तर भाग्यले साथ दिएन ।


‘जम्प सर्भिस आउँछ भनेर मैले चार जना रिसिभर राख्न खोजेको हो । निरूता राम्रो रिसिभ गर्नसक्ने खेलाडी पनि हो, दुर्भाग्य रिसिभमै लगातार ३ अंक गुम्दा सेट गुमाउनुपर्‍यो,’ उनले थपे ।


कप्तान अरुणा शाहीले भारतसँग अग्रता लिएपछि खेलाडी अनावश्यक दबाबमा परेको बताइन् । ‘हामीले भारतसँग हारे पनि सेमिफाइनल खेल्ने पक्काजस्तै थियो । हामी दबाबमा थिएनौं तर पहिलो सेटमा अग्रता लिएपछि खेलाडीहरू जसरी पनि जित्नुपर्छ भन्ने ध्यानमा उच्च दबाबमा देखिए,’ उनले भनिन् ।


कात्तिक अन्तिम साता नेपालले बंगलादेशमा एभीसी सेन्ट्रल जोन सिनियर वुमन्स भलिबलमा लगातार ५ खेलमा शतप्रतिशत जित निकाल्दै स्वर्ण जितेको थियो । उच्च मनोबलमा रहेको नेपाली टिमका लागि यो हार ६ खेलको जितयात्रामा पूर्णविराम मात्र लागेको छैन, सागमा पहिलोपल्ट फाइनल पुग्ने योजनामा पनि धक्का लागेको छ । नेपालले सन् २०१७ जनवरीमा विश्व च्याम्पियनसिपको सेन्ट्रल जोन छनोटमा इरानसँग २५–१२, २५–१२, २५–१२ को सेटमा हार बेहोरेको थियो । त्यसयता ६ खेलमा टोली अपराजित थियो ।


सेमिफाइनलमा सम्भवत: नेपालले श्रीलंकासँग खेल्नेछ । ठूला प्रतियोगितामा नेपालले श्रीलंकालाई पनि अहिलेसम्म हराउन सकेको छैन । प्रशिक्षक भट्टले सेमिफाइनलमा श्रीलंकालाई हराएर फाइनलमा पुन: भारतसँग खेल्न चाहेको सुनाए ।


प्रकाशित : मंसिर १३, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?