कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

विधिको शासनको तागत : अमेरिकी राष्ट्रपति पुत्र हन्टर दोषी ठहर

शक्तिशाली मुलुक अमेरिकाका शक्तिशाली व्यक्ति राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन विभिन्न कसुरमा दोषी प्रमाणित भएपछि अहिले संसारभर विधिको शासनको तागतको स्मरण भइरहेको छ ।

काठमाडौँ — जहाँ विधिको शासन हुन्छ त्यहाँ कानुन मिच्ने जसले पनि सजाय पाउँछ, चाहे त्यो बहालवाला कार्यकारी वा राष्ट्रपतिको छोरा नै किन नहोस् ।

विधिको शासनको तागत : अमेरिकी राष्ट्रपति पुत्र हन्टर दोषी ठहर

अमेरिकी राष्ट्रपति जो वाइडेनका पुत्रलाई हन्टर बाइडेनलाई त्यहाँको अदालतले गैरकानुनी रुपले बन्दुक राखेको, लागुऔषध प्रयोग गरेको कसुरमा दोषी ठहर गरेपछि यतिखेर संसारभर नै विधिको शासनको ताकतको स्मरण भइरुहेको छ ।

राष्ट्रपतिका छोरालाई जेल सजाय तोक्न सक्ने अमेरिकी कानुनको निष्पक्षता र शक्तिशाली न्यायिक प्रणालीको सबले तारिफ पनि गरिरहेका छन् ।

विश्लेषकहरुकाअनुसार संघीय अपराधमा दोषी ठहर हुने उनी वर्तमान अमेरिकी नेताको पहिलो सन्तान हुन् । यसका अलवा उनलाई कर छलीको अभियोग पनि लागेको छ, जसको सामना उनले आउने सेप्टेम्बरमा अदालतमै गएर गर्नु पर्नेछ ।

अमेरिकीहरुले यसपालीको गर्मीमा ५४ वर्षीय हन्टरका हरकतले ल्याएको सरगर्मी मज्जैले देखे, जसमा न्यायाधिवक्ताहरुको अभियोगलाई सामसुम पार्न र जेल जानबाट जोगिन अनेकन प्रयत्नहरुमा सामेल थिए । तर पनि न्यायाधिवक्ताहरुले उनिमाथि अवैध बन्दुक राखेकामा संघीय अनुसन्धान अघि बढाएर मामिलालाई अदालत पुर्‍याएरै छाडे ।

डिसेम्बरमा हन्टरमाथि अर्को अभियोग लाग्यो, जसमा उनले सन् २०१६–१९ सम्मको तीन वर्षमा १४ लाख अमेरिकी डलर कर छलेको आरोप लगाइएको थियो ।

यता, अमेरिकी कंग्रेस (संसद) का रिपब्लिकन सांसदहरुले छोराको प्रभावमा आएर अनुसन्धानमा बाधा पुर्‍याएको आरोप लगाउँदै राष्ट्रपति बाइडेनलाई महाअभियोग लगाउनुपर्ने भन्दै सुनुवाइ सुरु गरेका छन् । यद्यपि, यसमाथि गरिएको महिनौं लामो अनुसन्धानले कुनै गल्ती उजागर गरेको भने देखिएको छैन ।

मुद्दाहरुको यो रस्साकस्सीबीच हन्टरको व्यक्तिगत मामिला रक्सीदेखि लागूपदार्थको दुरुपयोग र सम्बन्धमा आएको कलहसम्मका विवरण सार्वजनिक जानकारीमा पूर्णरुपले छरपष्ट छ ।

अमेरिकाको विल्मिङटन, डेलावेयरमा सन् १९७० मा जो वाइडेन र उनकी पहिलो पत्नी निलियामाको दोस्रो पुत्रका रुपमा उनको जन्म भएको थियो । जसलाई उनकी आमाको पहिलो नाम दिइएको थियो– हन्टर ।

सानोदेखि नै हन्टरले अनेकन हण्डर खाए । उनी दुई वर्षका मात्रै थिए, सन् १९७२ को डिसेम्बरमा बाइडेनको परिवारलाई एउटा ट्रकले ठक्कर दियो । त्यतिखेर बाइडेन अमेरिकी सिनेटमा निर्वाचित भएको छ हप्ता पुग्दै थियो । दुर्घटनामा उनकी आमा र बहिनी नाओमीको ज्यान गयो । दुर्घटनामा हन्टरको टाउकामा गम्भीर चोट लागेको थियो भने उनका दाजु बेउको खुट्टा भाँचियो । जो बाइडेन कारमा नभएकाले उनलाई चाहिँ क्षति पुगेन । तर, परिवार गुम्दाको यो त्रासदीका कारण अस्पतालमा घाइते छोराहरुको शैयाछेउ उभिएर उनले पदको सपथ लिन परेको थियो ।

यस्तो त्रासदीबाट गुज्रेका हन्टरले जर्जटाउन विश्वविद्यालयमा सुरुवाती उच्च शिक्षा लिए भने येल विश्वविद्यालयबाट २४ वर्षको उमेरमा कानुनमा स्नातक गरे ।

पढाइका बीचमा उनले एक क्याथोलिक समूह ‘जेसुइट स्वयंसेवक दल’ मा आबद्ध भई सीमान्तकृतहरुको सेवा गरे । त्यहाँ उनले आफ्नी पहिलो पत्नी क्याथलिन बुहलेलाई भेटे, जो एक वकिल थिइन् । सन् १९९३ मा उनीहरुबीच विवाह भयो, जसबाट लगालग तीन सन्तान जन्मे– नाओमी, फिनेगन र मेसी । बीस वर्षको दाम्पत्य सम्बन्धलाई विश्राम दिँदै उनीहरुले सन् २०१७ मा पारपाचुके गरे ।

बाइडेन मदिरा पटक्कै पिउँदैनन् । तर, छोरा हन्टर भने किशोरवयदेखि नै मदिराको लतमा परे । लत कुलतमा बदलिन पुग्यो जसका कारण उनी कलेजको विद्यार्थी छँदै कोकिन सेवन गर्न थाले । परिणामतः हन्टरले धेरै पटक पुनर्स्थापना केन्द्रको चक्कर पनि काट्न पुगे ।

लागु औषधले धरमराइरहेका बेला सन् २०१३ मा हन्टरले अमेरिकी नौसेनामा भर्ना हुन आवेदन दिए । र, छानिएपछि ह्वाइट हाउसको एक समारोहमा आफ्ना बुबा तत्कालीन उपराष्ट्रपति बाइडेन समक्ष शपथ लिए । तर, नौसेनाको ब्यारेकमा पाइला हालेको पहिलो दिनकै परीक्षणमा उनले कोकिन प्रयोग गरेको प्रमाण फेला पर्नाले उनलाई तत्काल फौजबाट निकालियो ।

दि न्यूयोर्कर म्यागेजिनकाअनुसार सन् २०१५ मा ब्रेन क्यान्सरबाट आफ्नो दाजु बेउको मृत्यु भएपछि हन्टरले अत्यधिक मदिरा पिए । कतिसम्म भने, भोड्का किन्न उनी आफैं घरबाट बाहिर निस्कन थाले ।

‘हन्टर र बेउ एक थिए’ उनकी छोरी नाओमीले एक पटक एक्समा लेखेकी थिइन्, ‘एउटै हृदय, एउटै आत्मा र एकै दिमाग ।’

पहिल्यैदेखिका दुर्व्यसनी हन्टर दाजुको मृत्युले झनै नसामा डुब्न थालेपछि पत्नीसँगको सम्बन्ध चिस्सियो । आत्मीय दाजुबाट अलग्गिन परेको दुई वर्ष नकट्दै पत्नी बुहलेले आक्रोशपूर्ण सम्बन्धविच्छेद गरिन् । त्यसक्रममा उनले हन्टरलाई ‘आफ्नो स्वार्थमा असाध्यै खर्च गरेको’ आरोप लगाइन् । लागुऔषध, सुरासन्दरी, रात्रीक्लबहरुमा भएको बेहिसाब खर्च र उनीसँग यौन सम्बन्ध राख्ने महिलाहरूका लागि किनिएका महंगा उपहारले सम्बन्धलाई अघि बढाउन ठाउँ नदिएको बुहलेको कथन थियो । उनको यो फजुल खर्चले परिवारै टाट पल्टेको समेत उनले सार्वजनिक गरिन् ।

२४ वर्षको वैवाहिक सम्बन्ध कसरी टुट्यो भन्ने विषयमा गत वर्ष आफ्नो मौनता तोड्दै उनले एक टेलिभिजन कार्यक्रम 'गुड मर्निङ अमेरिका' लाई भनेकी थिइन् ,-‘उनी पुरै दुर्व्यसनी भइसकेका थिए जोसँग मैले विवाह गरेकी थिइनँ । यो निकै हृदयविदारक र पीडादायी छ ।’

सन् २०२१ मा प्रकाशित आफ्नो संस्मरण ‘ब्यूटीफूल थिङ्स’ मा हन्टरले आफ्नै बेइमानीका कारण सम्बन्ध टुक्रिएको स्वीकारेका छन् । अनेकन महिलासँगको सम्बन्धमा चुर्लुम्म डुबेका हन्टरका तर्फबाटविदेशी नर्तक लुन्डेन एलेक्सिस रोबर्ट्सले बच्चा जन्माइन् । सन् २०१९ मा भएको डीएनए परीक्षणले हन्टर नै उक्त बच्चाको ‘जैविक र कानुनी पिता’ भएको पुष्टि गर्‍यो ।

हन्टरले आफ्नो संस्मरणमा उक्त नर्तकीसँग भेट भएको कुनै सम्झना नै आफूलाई नभए पनि पितृत्त्वको मुद्दा मिलाएको र बच्चा नाभी रोबर्टलाई हुर्काउन रकम तिरेको खुलाएका छन् ।

बाइडेन परिवारको कुनै पनि सदस्यले उक्त बालकलाई भेटेका छैनन् । तर मिडियाको दबाब बढ्दै गएपछि राष्ट्रपति बाइडेन गत वर्षको गृष्ममा आफ्नो सातौं नातीका रुपमा बालकलाई स्वीकार्न बाध्य भएका थिए ।

बुहलेसँगको पारपाचुकेअघि हन्टर दाजुकी विधवा पत्नी ह्याली बाइडेनसँगको प्रेममा परेका थिए ।

दुई वर्ष टिकेको पूर्व ‘देवर–भाउजु’ को जोडीले बाइडेनको जेष्ठ पुत्र बेउको मृत्युले आफूहरुमा पुग्न गएको ‘धेरै विशिष्ट शोक’ लाई आत्मसाथ गरेको कुरो एक पत्रिकासँगको अन्तर्वर्तामा खुलाएका थिए ।

हन्टरविरुद्ध चलेको मुद्दामा बोल्दै ह्यालीले केही तथ्यहरु खुलाएकी थिइन् । हन्टरले कोकिन प्रयोग गरेको र आफ्नै उपस्थितिमा लागु औषध किनेको उनको बयानले मिडियाका हेडलाइन रंगिएका थिए । कोकिनको बारम्बारको प्रयोगले राष्ट्रपतिका पुत्रलाई ‘विक्षिप्त’ र ‘लट्ठ’ पार्दै लगेको ह्यालीको कथन छ ।

सन् २०१८ मा पुनर्स्थापनाबाट निस्केको दुई महिनापछि हन्टरले एक ह्यान्ड गन किने । उनको सुरक्षा टोलीका अनुसार हन्टरको यो सन्काहपूर्ण खरिद थियो । उनीहरुका अनुसार खासमा उनले यो एक बन्दुक व्यापारीको उक्साहटमा किनेका थिए ।

तर, सरकारी वकिलहरुले यही खरिदलाई उनीविरुद्धको अभियोजनमा प्रयोग गरेका छन् । उनीहरुका अनुसार हन्टरले बन्दुक किन्नुअघि भरेको फारममा आफुले लागु औषध प्रयोग नगरेको दाबी गर्दै झुटो विवरण दिएका थिए । यही नै हन्टरका लागि मुद्दा अभियोजन गर्ने कारण बन्यो । तर, हन्टरका वकीलहरूले उनलाई दुर्व्यसनी ठान्दैनन् । र, त्यतिबेला उनी दुर्व्यवसनबाट अलग पनि थिए । पूर्व भाउजु र पूर्व प्रेमिका ह्यालेको यो बयानले पनि हन्टरलाई अप्ठेरोमा पारिदियो ।

हन्टरको गाडीबाट कोकिन लगायतका लागुऔषधका साथै बन्दुकसमेत फेला पार्दा आफू स्तब्ध भएको र तत्कालै त्यसलाई फोहोर फाल्ने ठाउँमा फालिदिएको ह्यालीको बयान छ ।

‘म उनी आफैंलाई चोट नपुर्‍याउन् भन्ने चाहन्थें’ बन्दुक फाल्नुका कारणबारे उनले बयान दिएकी छन्, ‘फेरि, बच्चाहरुले यो थाहा पाए भने पनि नराम्रो मान्थे ।’

न्यूयोर्क टाइम्सकाअनुसार, हन्टरले त्यससमयमा एक पारिवारिक मित्रलाई अपमानजनक रूपमा भनेका थिए, ‘मलाई थाहा छ, तिमीहरु सबै गलत भाइको मृत्यु भयो भन्ने सोच्छौं ।’

रद्दीको टोकरीमा फालिएको बन्दुकलाई एक कबाडीले फेला पारेपछि त्यसलाई अन्ततः हन्टरले पुनः पाएका थिए । आफ्ना बाबुले राष्ट्रपतिको लागि तेस्रोपटक उम्मेदवारी दिनु लगत्तै सन् २०१९ मा ह्याली र हन्टरबीचको सम्बन्धमा फाटो आएको समाचारले अमेरिका तताएको थियो । त्यसको केही सातापछि, हन्टरले छ दिनको रोमान्सलगत्तै दक्षिण अफ्रिकी फिल्म निर्माता मेलिसा कोहेनसँग विवाह गरे । हाल उनीहरुको एउटा छोरा छ ।

अदालतमा हन्टर बाइडेनले आफ्नै प्रतिरक्षामा धेरै अडान लिएनन् । तर, उनी र पूर्व पत्नीसहित परिवारका धेरै सदस्यहरूले भावपूर्ण बयान दिए जसमा उनकी छोरी नाओमी पनि सामेल थिइन् । सन् २०१९ मा कुलतविरुद्ध लडिरहेका बेला हन्टरले भनेका थिए, ‘तपाईं यसबाट छुटकारा पाउनुहुन्न, यसलाई कसरी सामना गर्ने भनेर विचार चाहिँ गर्न सक्नुहुन्छ ।’

‘ब्यूटीफूल थिंग्स’मा हन्टरले आफू बाँच्नाको श्रेय आफ्नो परिवारको मायालाई दिएका छन् । आफ्नो बाबुलाई जोडले अँगालो हालेर उनले भनेका छन्, ‘मलाई थाहा छैन अब के गर्ने, म धेरै डराएको छु । के गर्ने मलाई भन्नुहोस् ।’

कुलतबाट छुट्न हालैका वर्षमा उनी चित्रकलातिर लागेकाछन् । न्यूयोर्क टाइम्सलाई आफ्नो पछिल्लो थेरापीबारे उनले भनेका छन्, ‘यसले मलाई ती मानिसहरू र ठाउँहरूबाट टाढा राख्छ जहाँ म हुनु हुँदैन ।’

हन्टरले बनाएको एक तस्बिर ५ लाख डलरमा बिक्री भएपछि राष्ट्रपतिको छोरा हुनुको फाइदा उठाएको टिप्पणी चर्किन पुग्दा ह्वाइट हाउसमा बसेका बाइडेनलाई नैतिक संकट परेको थियो । तर, राष्ट्रपति बाइडेले धेरै पटक आफ्नो छोराको प्रतिरक्षा गरेका छन् । सन् २०२० मा डोनाल्ड ट्रम्पसँगको राष्ट्रपतीय बहसमा पनि उनले छोराको बचाउ गरेका थिए ।

‘म राष्ट्रपति हुँ, तर म एक बुबा पनि हुँ’ उनले भनेका थिए,‘जिल र म हाम्रो छोरालाई माया गर्छौं, र हामी आज उनीप्रति गर्व पनि गर्छौं ।’

यसो भन्दै आएका बाइडेनले छोराको मुद्दा बढी पेचिलो बन्दै गएपछि भने केही फरक अभिव्यक्ति दिन थालेका छन् । न्यायाधीशहरुले हन्टरलाई कुनै पनि मुद्दामा दोषी ठहर गरे त्यो आफूलाई मान्य हुने र आफू उनका लागि माफी दिन नसक्ने बाइडेनले बताएका छन् ।

पढाइ सकेपछि वित्तीय क्षेत्रमा काम गर्न थालेका हन्टरले बाबुको राजनैतिक ओहदाको मनग्यै फाइदा लिएर करिअरमा अघि बढेको आलोचना हुने गरेको छ । सन् २००६ मा तत्कालीन सिनेटर बाइडेनले सिनेटको विदेश सम्बन्ध समितिको अध्यक्षता पुनः ग्रहण गर्दै गर्दा हन्टर र उनका एक आफन्तले हेज फन्ड समुहमा दुर्भाग्यपूर्ण रकम लगाएका थिए । यता, प्याराडाइम ग्लोबल एडभाजर्समा हन्टरको कार्यकाल बाबु बाइडेनको सन् २००८ को चुनावमा राष्ट्रपतीय उम्मेदवारका लागि भएको दौडधूप र अन्त्यमा उनी ओबामाको उपराष्ट्रपतिका रुपमा भएको चयनसम्मको समयमा विस्तार भयो ।

यस समयमा उक्त संस्था धेरै नै आर्थिक धोखाधडीका मुद्दाहरुमा जोडिएको थियो जसमा टेक्सासका एक लगानीकर्तालाई अमेरिकी इतिहासको सबैभन्दा ठूलो फर्जी वित्तीय योजनाहरू चलाएकोमा दोषी ठहराइएको थियो । यसमा हन्टरलाई पनि संलग्न भएको आरोप लागेको थियो तर उनले त्यसलाई सदैव अस्वीकार गरे । यद्यपि, सन् २०१० मा कम्पनी खारेज गर्दै उनले लगानीकर्ताहरूलाई पैसा फिर्ता गरे ।

बाबु राष्ट्रपति भएपछि हन्टरको विदेशी व्यापार निकै बढेको देखिन्छ । सन् २०१३ मा उनले चिनियाँ निजी सेयर कारोबार गर्ने फर्म ‘वीएचआर’ मा पैसा लगाएर संस्थापक सदस्य भएका थिए । यसमा पहिले उनी रकम भुक्तानी नलिने सदस्यका रुपमा बोर्डमा छिरेका थिए र त्यसैको १० प्रतिशत सेयरको हिस्सेदार भए ।

उपराष्ट्रपतिका रुपमा जो बाइडेन चीन उड्नु दुई साताअघि मात्रै सांघाईमा उक्त कम्पनी दर्ता भएको थियो । हन्टर बाबुका साथै चीन उडेका थिए । र, फर्मका कार्यकारीहरुलाई भेटेका थिए । तर, त्यो भेट ‘एक कप कफीका लागि’ भएको प्रतिक्रिया उनका दाजुले दिएका थिए त्यस बेला । सन् २०१७ मा उपराष्ट्रपतिका रुपमा बाबुको कार्यकाल सकिएपछि हन्टरले लुइसियानामा प्राकृतिक ग्यास परियोजनामा ​​चिनियाँ तेल व्यवसायी ये जियानमिङसँग व्यापारिक साझेदारी गरे ।

चिनियाँ अधिकारीहरूले येलाई भ्रष्टाचारको आरोपमा हिरासतमा लिएपछि र त्यसपछि उनी बेपत्ता भएपछि भने उक्त व्यापारिक सम्झौता अन्त्य भएको थियो ।

यसरी, चीनसँगको व्यापारिक हर्कतले संदिग्ध भएका हन्टर युक्रेनमा आफ्नो व्यवहारले झन्-झन् आलोचित हुन पुगे । किनभने, त्यहाँ उनले व्यापार सुरु गर्दा उनका बुबा अमेरिका–युक्रेन सम्बन्धका लागि ओबामा प्रशासनको मुख्य तालुकदार थिए ।

सन् २०१४ मा, उनी युक्रेनी ऊर्जा कम्पनी, बुरिस्मा होल्डिङ्सको बोर्डमा सामेल भए, जहाँ उनलाई प्रति वर्ष १२ लाख डलर तलब दिइन्थ्यो । जबकी, भ्रष्टाचारविरोधी अभियानको एक भागको रूपमा, उप–राष्ट्रपति बाइडेन त्यसबेला तत्कालीन महान्यायाधिवक्ता भिक्टर शोकिनलाई हटाउने जुलुसमा सामेल थिए । परिणामतः शोकिनलाई सन् २०१६ मा संसद्ले हटाएको थियो । आलोचकहरू के भन्छन् भने बुरिस्मामा भएको घोटालाको अनुसन्धान गरिरहेका हुनाले महान्यायाधिवक्ताको जागिर खोसुवामा परेको थियो ।

रिपब्लिकनहरूको आरोप के छ भने, बाइडेनका बाबुछोराले शोकिनलाई हटाएबापत बुरिस्माका कार्यकारीहरूबाट ५० लाख डलर लिएका थिए । तर, एक पूर्व एफबीआई सुचनाकर्तालाई कथित घुस काण्ड रचेको अभियोगमा मुद्दा लगाइएपछि रिपब्लिकनहरुको यो दाबी भने झूठो ठहर भयो । जे होस्, लागुऔषधदेखि अवैध हतियारको खरिदसम्म र पारिवारिक आडमा गरिएको भ्रष्टाचारदेखि बेपर्वाह यौन आचरणसम्मले हन्टर अन्ततः विवादको भूमरीमा परे । अनि, जेल सजाय समेत हुनेगरी दोषी ठहर भए ।

प्रकाशित : असार २, २०८१ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?