२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०
भारत-चीन सीमा विवाद

चीनले अरुणाचललाई किन भन्छ 'दक्षिण तिब्बत' ?

शुक्रबार झडप भएको क्षेत्र 'तवाङ' सन् १९१४ को सिमला सम्झौतापछि भारतमा आएको हो । सन् १९१२ सम्म भारत र तिब्बतका बीच कुनै पनि स्पष्ट सीमा रेखा थिएन । सिमलामा तिब्बत, चीन र तत्कालीन ब्रिटिस भारतका प्रतिनिधिबीच भएको बैठकमा सीमा रेखा निर्धारण भएको हो ।

काठमाडौँ — विश्व अर्थतन्त्रमा उदाउँदै दुई शक्तिराष्ट्र चीन र भारतबीच ३ हजार ५ सय किलोमिटर सीमा जोडिएको छ । सीमा विवादलाई लिएर दुई देशबीच पटक-पटक सैन्य स्तरमा झडपसमेत हुने गरेको छ । गत शुक्रबार मात्र भारतीय र चिनियाँ सैनिकबीच उत्तरपूर्वी राज्य अरुणाचलको तवाङ क्षेत्रमा झडप भयो ।

चीनले अरुणाचललाई किन भन्छ 'दक्षिण तिब्बत' ?

झडपका बारेमा दुवै देशका आ-आफ्ना दाबी छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले मंगलबार लोकसभा बैठकमा घटनाबारे जानकारी दिँदै चिनियाँ घुसपैठलाई भारतीय सेनाले रोकेको र केही सैनिक घाइते भएको बताए । त्यस्तै झडपपछि प्रतिक्रिया दिँदै चीनले भने सीमा क्षेत्रमा ‘स्थिर’ अवस्था रहेको बताएको छ ।

अरुणाचल सीमामा भएको झडपमा केही सैनिक घाइते भएका छन् : भारतीय रक्षामन्त्री सिंह

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले भारतसँग सैन्य र राजनीतिकस्तरमा कुराकानी भइरहेको उल्लेख गरेका छन् । चिनियाँ सेनाका वेस्टर्न थिएटर कमान्ड प्रवक्ताले भने अवैध रूपमा सीमा पार गरेका भारतीय सैनिक चिनियाँ सैनिकसामु आएपछि विवाद भएको दाबी गरेका छन् ।

अरुणाचलमा चीनको दाबी

चीनले अरुणाचल प्रदेश आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । त्यति मात्र होइन चीनले भारतीय नेताहरूको भ्रमणमा पनि आपत्ति जनाउँदै आएको छ। सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहको अरुणाचल भ्रमणको चीनले विरोध गरेको थियो । त्यस्तै सन् २०२० मा गृहमन्त्री अमित शाहको भ्रमणमा पनि चीनले आपत्ति जनाएको थियो । भारतले भने अरुणाचल आफ्नो देशको अभिन्न अंग भएको पटक-पटक दाबी गर्दै आएको छ । अरुणाचल प्रदेशमा भारतीय नेताको भ्रमणको विरोध गर्नुको कुनै तुक नभएको भारतको भनाइ छ ।

भारतको उत्तरपूर्वी राज्य अरुणाचलको नक्सा । झन्डै ८४ हजार वर्गकिलोमिटर रहेको अरुणाचलमा करिब १८ लाख जनसंख्या रहेको छ । तस्बिर : इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस, नयाँ दिल्ली

यसबारे चीनले पटक-पटक जनाएको आपत्तिबारे सामरिक मामिला विशेषज्ञ ब्रह्म चेलानीले भनेका थिए, 'चीनका राष्ट्रपति सी चिनफिङ तिब्बत गए, भारतले केही भनेन । यहाँसम्म कि भारतीय सीमाबाट करिब १५ किलोमिटरको दूरीमा रहेको पिपुल्स लिबरेसन आर्मीको बेसमा सी एकरात बसेका पनि थिए । यसलाई चीनको युद्धका तयारीका रूपमा पनि हेरिएको थियो ।'

अर्का इतिहासकार माइकल सुम्यानले पनि चीनले भारतसँग सही तरिकाले सम्बन्ध अगाडि नबढाएको बताएका थिए । उनले भनेका थिए, 'चीनले भारतसँगको सम्बन्ध निकै खराब तरिकाले अगाडि बढाएको छ । यो चिनियाँ विदेश नीतिको ठूलो असफलता पनि हो ।'

अरुणाचल सीमामा भारतीय र चिनियाँ सैनिकबीच झडप

चीनले अरुणाचललाई 'दक्षिण तिब्बत' भन्ने गरेको छ । त्यस्तै चीनले केही वर्षअघि अरुणाचल प्रदेशमा पर्ने विभिन्न ६ स्थानको नामकरणसमेत गरेको थियो । चीनले नामकरण गरेका ती स्थान थिए, 'वोगेन्लिङ', 'मिला री', 'चोइदेंगार्पो री', 'मेचुका', 'पुमा ला' र 'नाम्कापुब री' । त्यसपछि सन् २०२१ मा चीनले थप १५ स्थानको चिनियाँ नामकरण गरेको थियो ।

सन् २०१७ चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँगको कुराकानीमा बेइजिङस्थित मिन्जु विश्वविद्यालयका प्राध्यापक चिओङ कुन्चिनले भनेका थिए, 'स्थानको नामकरण दक्षिण तिब्बतमा चीनको क्षेत्रीय सम्प्रभुतालाई पुष्टि गर्ने एउटा कदम हो ।' उनले कानुनको शासनअन्तर्गत नै नामकरण गरिएको दाबी गरेका थिए ।

त्यस्तै चाइना वेस्ट नर्मल युनिभर्सिटीको सेन्टर फर इन्डियन स्टडिजका निर्देशक लोङ चिङचुनले हिन्दुस्तान टाइम्ससँग यही प्रकरणबारे भनेका थिए, 'यो चीनका तर्फबाट आएको कडा संकेत हो । यो दलाई लामाको अरुणाचल प्रदेशको भ्रमणको प्रतिक्रियास्वरूप आएको देखिन्छ । चीनले यसका लागि तयारी गरिरहेको र उचित समयको पर्खाइ गरेको देखिन्छ । भारतले लामाको भ्रमणको परिणामलाई गलत आकलन गरेको देखिन्छ ।'

भारत र चीनबीचको सीमारेखा ३ हजार ४ सय ८८ किलोमिटर छ। जसमध्ये अरुणाचलमा मात्रै १ हजार १ सय २६ किलोमिटर सीमा जोडिएको छ । भारत र चीनबीच सबैभन्दा बढी सीमा जोडिएको राज्य भने जम्मू-कश्मीर हो । जसको १ हजार ५ सय ९७ किलोमिटर सीमा चीनसँग जोडिएको छ । त्यस्तै उत्तराखण्डमा ३४५, सिक्किममा २२० र हिमाचलमा २०० किलोमिटर सीमा चीनसँग जोडिएको छ ।

शुक्रबार झडप भएको क्षेत्र 'तवाङ' सन् १९१४ को सिमला सम्झौतापछि भारतमा आएको हो । सन् १९१२ सम्म भारत र तिब्बतका बीच कुनै पनि स्पष्ट सीमा रेखा थिएन । सिमलामा तिब्बत, चीन र तत्कालीन ब्रिटिस भारतका प्रतिनिधिबीच भएको बैठकमा सीमा रेखा निर्धारण भएको हो । चीनले तिब्बतलाई कहिल्यै पनि स्वतन्त्र देश मानेको थिएन । सिमला सम्झौतामा पनि चीनले तिब्बतलाई स्वतन्त्र देश मानेको थिएन । सन् १९५० मा चीनले तिब्बतलाई पूर्ण रूपमा आफ्नो कब्जामा लिएको हो । बौद्ध धर्मावलम्बीका लागि निकै महत्त्वको क्षेत्र भएकाले पनि तवाङमा चीनले दाबी गर्दै आएको देखिन्छ ।

गलवानमा भारतसँग भएको झडपको भिडियो चीनद्वारा सार्वजनिक

सन् १९४९ मा माओ त्से तुङले जनगणतन्त्र चीन स्थापना गरे । त्यसपछि सन् १९५० अप्रिल १ मा भारतले मान्यता दिँदै कूटनीतिक मान्यता दिएको हो । जनगणतन्त्र चीनलाई मान्यता दिने भारत पहिलो गैरकम्युनिस्ट देश पनि हो । सन् १९५४ मा तिब्बतमा चिनियाँ सम्प्रभुतालाई पनि भारतले स्वीकार गरेको हो । जसको अर्थ भारतले तिब्बतलाई चीनको आर्थिक हिस्सा मान्नु हो । त्यसपछि 'हिन्दी-चीनी, भाइ-भाइ' नारासमेत लाग्न थालेको हो । सन् १९१४ मा सिमला सम्झौतामा म्याकमोहन लाइन अन्तर्राष्ट्रिय सीमारेखा मानिएको हो । तर चीनले सन् १९५०मा तिब्बतमाथि आक्रमण गरेपछि भने यस क्षेत्रको भूराजनीतिक अवस्था बदलिएको हो ।

चीनले सन् १९५० को दशकमा सीमा क्षेत्रमा १७९ किलोमिटर लामो सडक बनाएपछि भने दुई देशबीच सम्बन्ध चिसिन थालेको हो । पहिलो पटक सन् १९५९ अगस्ट २५ मा दुई देशका सैनिकबीच लोंगजुमा झडप भएको थियो । त्यस्तै त्यसै वर्ष अक्टोबर २१ मा लद्दाखको कोंगकामा पनि झडप भएको थियो । उक्त झडपमा १७ जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले भने यसलाई आत्मरक्षाका लागि चालिएको कदमको संज्ञा दिएको थियो ।

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

त्यसपछि सन् १९६४ मा भारत र चीनबीच अरुणाचल प्रदेशमै सीमा युद्ध भएको थियो । उक्त युद्धमा भारततर्फ ठूलो क्षति भएको थियो । युद्धमा १ हजार ३ सय ८३ भारतीय र ७२२ चिनियाँ सैनिकको मृत्यु भएको थियो । उक्त युद्धमा करिब १ हजार ७ सय भारतीय हराएको पनि दाबी गरिएको छ । त्यस्तै ४ सय जनाभन्दा बढीलाई चीनले युद्धबन्दी बनाएको थियो । त्यसपछि चीनले पूर्वोत्तर भारतको करिब ९० हजार वर्गकिलोमिटर भूभागमा दाबी गर्दै आएको छ । सन् २००३ मा दुई देशबीच रहेको सीमा विवाद सल्टाउनका लागि विशेष प्रतिनिधि नियुक्त गरिएको थियो । २००५ मा सीमा विवाद समाधानका लागि एक विशेष सम्झौतामा हस्ताक्षर पनि भएको थियो । तर त्यसयता पनि सीमामा दुई देशबीच तनाव देखिने गरेको छ ।

चीनको राजनीतिक नक्सा ।

अरुणाचल प्रदेश सन् १९८७, फेब्रुअरी २० मा भारतको पूर्ण राज्य बनेको हो । त्यसअघि यो 'नर्थ इस्ट फ्रन्टियर एजेन्सी' का रूपमा चिनिन्थ्यो । चीनले भने अरुणाचललाई कहिल्यै पनि वैधानिकता नदिएको दाबी गर्दै आएको छ । सन् २०२० मा ५ जना भारतीय युवालाई चिनियाँ पक्षले अपहरण गरेको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले भनेका थिए, 'चीनले कहिल्यै पनि 'कथित अरुणाचल प्रदेश' लाई मान्यता दिएको छैन जुन चीनको दक्षिण तिब्बत क्षेत्र हो । भारतीय सेनाले ५ जना युवा हराएको भनेर पीएलएलाई पठाएको घटनाबारे केही थाहा भएको छैन ।'

पछिल्लो पटक सन् २०२० मा दुवैतर्फ मानवीय क्षति हुनेगरी भारत-चीनबीच झडप भएको थियो । २०२०, जुन १५ मा भएको भारत–चीन झडप पछिल्लो चार दशकयताकै गम्भीर सीमा झडपका रूपमा लिइन्छ । झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले पनि घटनाको झन्डै एक वर्षपछि आफ्नोतर्फ पनि ४ जना मारिएको बताएको थियो । चिनियाँ सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेना (पीएलए) को आधिकारिक अखबार पीएलए डेलीलाई उद्धृत गर्दै झडपमा चिनियाँ सैनिकको मृत्युको बारेमा जानकारी दिएको थियो ।

विवाद र वार्ता निरन्तर

भारत र चीनबीचको सीमा क्षेत्रका केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

अरुणाचल प्रदेशस्थित भारत-चीन सीमा क्षेत्र सियाङ क्षेत्र । तस्बिर : इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस, नयाँ दिल्ली

सन् १९६२ मा दुई मुलुकबीच सीमालाई लिएर युद्ध भएपछि लामो समयसम्म दुई मुलुकबीच सामान्य कूटनीतिक सम्बन्धसमेत थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीनको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गरेका थिए । त्यसपछि यी दुई मुलुक आर्थिक र कूटनीतिक रूपमा नजिकिँदै गए । दुई देशबीचको व्यापार बढेर नब्बे अर्ब डलर नाघिसकेको छ । र, शीर्ष तहको राजनीतिक भेटघाट पनि बाक्लो बन्दै गएको थियो ।

तर सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्तत: उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहान र ममाल्लापुरम अनौपचारिक शिखर वार्तासमेत भइसकेको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रकाशित : मंसिर २८, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?