गलवानमा भारतसँग भएको झडपको भिडियो चीनद्वारा सार्वजनिक- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गलवानमा भारतसँग भएको झडपको भिडियो चीनद्वारा सार्वजनिक

इकान्तिपुर डेस्क

काठमाडौँ — गत वर्ष जुनमा लद्दाखको गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच भएको झडपको भिडियो सार्वजनिक भएको छ । चिनियाँ सरकारी टेलिभिजनमा कार्यरत पत्रकार सेन सिवेईले उक्त झडपको भिडियो सार्वजनिक गरेका छन् ।

उक्त भिडियो चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीमा पनि देखाइएको थियो । करिब ४ दशकपछि दुई देशबीच भएको ठूलो हिंसात्मक झडपमा २० जना भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो । चीनले बिहीबार मात्रै आफ्ना ४ जना सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो । त्यसअघि चीनले आफ्नो पक्षमा कुनै पनि मानवीय क्षति नभएको दाबी गर्दै आएको थियो । भारतसँगको झडपमा आफ्ना ४ जना सैनिक मारिएको र एक जना गम्भीर घाइते भएको चीनले स्वीकार गरेको छ ।

सार्वजनिक भएको भिडियोमा भारतको नाम नलिईकनै विदेशी सेनाले पुरानो सम्झौता उल्लंघन गरेको बताइएको छ । भिडियोमा भनिएको छ, ‘अप्रिलपछि सम्बन्धित विदेशी सेनाले पुरानो सम्झौता उल्लंघन गरिरहेका थिए । उनीहरुले पुल र सडक बनाएर सीमा पार गरे ।’ त्यस्तै भिडियोमा अगाडि भनिएको छ, ‘विदेशी सेनाले यथास्थितिलाई परिवर्तन गर्न खोज्दा सीमामा एकाएक तनाव बढ्यो, सम्झौतालाई सम्मान गर्दै हामीले वार्ताबाटै समस्या समाधानको प्रयास गऱ्यौं ।’

यसअघि ग्लोबल टाइम्सले गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपमा मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गरेको थियो । झडपमा बटालिय कमान्डर चेन होङजुनसहित सिपाहीहरू चियाओ सियुआन, वाङ चुओरान र चेन चियाङरोङको मृत्यु भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । चियाङरोनको १९ वर्षको उमेरमा मृत्यु भएको पनि उक्त समाचारमा उल्लेख गरिएको छ ।

चेन होङजुन, चेन चियाङरोन, र चियायो सियुआन अन्तिम समयसम्म पनि भारतीय सेनासँग लड्नै मुलुकका लागि बलिदानी दिएको समाचारमा बताइएको छ । वाङको भने आफ्ना सहकर्मीका उद्धारका लागि नदी तर्ने क्रममा मृत्यु भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

गत वर्षको जुन १५ मा भएको भारत–चीन झडप पछिल्लो चार दशकयताकै गम्भीर भएको बताइएको थियो । झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारतले आफ्नोतर्फ भएको क्षतिका बारेमा जानकारी दिए पनि चीनले भने केही भनेको थिएन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गर्दै आएको थियो ।

दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेनाका ट्रक । फाइल तस्बिर : रोयटर्स

भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

सन् १९६२ मा दुई मुलुकबीच सीमालाई लिएर युद्ध भएपछि लामो समयसम्म दुई मुलुकबीच सामान्य कूटनीतिक सम्बन्धसमेत थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीनको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गरेका थिए । त्यसपछि यी दुई मुलुक आर्थिक र कूटनीतिक रूपमा नजिकिँदै गए । दुई देशबीचको व्यापार बढेर नब्बे अर्ब डलर नाघिसकेको छ । र, शीर्ष तहको राजनीतिक भेटघाट पनि बाक्लो बन्दै गएको थियो ।

तर सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्तत: उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहान र ममाल्लापुरम अनौपचारिक शिखर वार्तासमेत भइसकेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

धरान रनमा नेपाली सेनाका गजेन्द्र र सशस्त्रकी सन्तोषी प्रथम

प्रदीप मेन्याङ्बो

धरान — धरानमा शनिबार सम्पन्न ‘धरान १० के रन’ मा त्रिभुवन नेपाली सेनाका गजेन्द्र राई र सशस्त्र प्रहरीकी सन्तोषी श्रेष्ठ विजेता भएका छन् । दुवैले धरान रनमा लगातार तीन पटक उपाधि जितेका छन् ।

प्रतियोगितामा धावक राईले निर्धारित १० किलोमिटरको दूरी ३२ मिनेट २१ सेकेण्डमा पूरा गरेका थिए । उनले नगद पुरस्कार ५० हजारसहित मेडल र प्रमाणपत्र हात पारे । पुरुषतर्फ नेपाली सेनाकै टंकबहादुर कार्कीले ३३ मिनेट ५४ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए । उनले नगद पुरस्कार ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे । आर्मीकै जितेन्द्र दनुवारले ३४ मिनेटमा दूरी पूरा गर्दै तेस्रो भए । उनले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

महिलातर्फ सन्तोषीले ३८ मिनेट १० सेकेण्डमा दूरी पार गर्दै प्रथम भइन् । उनले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारिन् । गएको आठौं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक विजेता श्रेष्ठले धरान रनमा ह्याट्रिक गर्दै इतिहास रचिन् । भोजपुरकी छविमाया राईले ४२ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् । उनले नगद ३० हजार रुपैयाँ र मेडल हात पारिन् । जुम्लाकी वन्दना बुढाले ४३ मिनेट ४८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रा भइन् । उनले ३० हजार रुपैयाँ हात पारिन् । विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, पूर्व मिस नेपाल नेपाल मलिना जोशी, आरोही निर्मल पुर्जालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त अवसरमा धरान रनले रनर अफ दि इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राई र महिलातर्फ छेन्वी राईलाई प्रदान गरेको थियो । पुरस्कार वितरणका वीच पाकिस्तानमा रहेको विश्वको दोस्रो उच्च शिखर माउण्ट के टुमा हिउदमा सफल आरोहण गरेर विश्व किर्तिमान गरेका १० आरोही दललाई पनि सम्मान गरिएको थियो ।

धरानको पुतलीलाइनबाट सुरु भएको धरान १० के रनमा यो वर्ष १ सय ४१ जनालाई मात्रै सहभागी गराएको अध्यक्ष रमु राईले बताए । गत वर्ष स्वदेश र विदेशका गरी ४ हजार धावक सहभागी भएका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७७ १२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×