हलोविनमा भागदौड, १५३ को मृत्यु- विश्व - कान्तिपुर समाचार

हलोविनमा भागदौड, १५३ को मृत्यु

इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्न करिब एक लाख जम्मा भएका थिए
गोकुल थोकर

सोल — रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने र बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम सरकारले लगाएको थियो ।

झन्डै तीन वर्ष कडा नियममा बसेको इथेवनमा नयाँ राष्ट्रपति आएसँगै कोरोना संक्रमण घट्यो । नियम पनि खुकुलो पारियो । इथेवनको रात्रिकालीन दैनिकी पुनः कोरोना काल अघिकै जस्तो हुनै लाग्दा भएको भागदौडमा च्यापिएर शनिबार राति १५३ जनाले ज्यान गुमाए ।

सप्ताहान्तको रमाइलो गर्दै हलोविन (भूत भगाउने मान्यतासहित मनाइने पर्व) का लागि एक लाखभन्दा बढीको भेला भएका थिए । अत्यधिक भीड बढेकाले साँघुरो ठाउँमा च्यापिएर धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा ५६ पुरुष र ९७ जना महिला छन् । घटनामा कम्तीमा २० जना विदेशीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा चीन र इरानका ४/४ जना, रुसका ३ तथा थाइल्यान्ड र नर्वेका १/१ जनासमेत छन् । सोलस्थित अमेरिकी दूतावासले आफ्ना दुई नागरिकको मृत्यु भएको जनाएको छ ।

इथेवन घटनाका प्रत्यक्षदर्शी नेपालीको भनाइ– 'साँघुरो गल्लीको दुवैतर्फ धेरै नै भीड थियो'

त्यस्तै फ्रान्स, अस्ट्रेलिया, भियतनाम, उज्वेकिस्तान, कजखस्तान, अस्ट्रिया र श्रीलंकाका नागरिकले पनि ज्यान गुमाएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा ४५ जनाको घटनास्थलमै र १०८ जनाको उपचारका क्रममा मृत्यु भएको हो। अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश ३० वर्षभन्दा कम उमेरका छन्। घटनामा गम्भीर घाइते भएका ८२ जनाको उपचार भइरहेको छ ।

‘सोलमा हिल्टन होटलको छेउमा साँघुरो गल्ली छ । त्यही गल्लीको दुवैतिरको अलि फराकिलो ठाउँमा स्ट्रिट कन्सर्ट भइरहेको थियो। निकै ठूलो भीड जम्मा भएको थियो, एकाएक दुवैतिर भीड बढेर गल्लीमा रहेका मानिस च्यापिएका हुन्,’ इथेवन नजिकै रस्टुरेन्ट सञ्चालन गरेर बसेका गम्भीरमान श्रेष्ठले भने, ‘समाचार सुन्दा पनि पत्याउनै गाह्रो। पहिले–पहिले पनि भीड हुन्थ्यो। कन्सर्ट हुन्थ्यो। तर, कोरोनापछिको रात्रि जीवनमा रमाइलो गर्न पहिलेको वर्षभन्दा धेरै व्यक्ति निस्केकाले पनि यस्तो घटना भएको हुन सक्छ ।’ घटनापछि राष्ट्रपति युन सुक– योलले राष्ट्रिय शोक घोषणा गरेका छन् । कुनै पनि हलोविन कार्यक्रमहरू नगर्न उनले निर्देशन दिएका छन् ।

प्रकाशित : कार्तिक १४, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्

'साँघुरो गल्लीको दुवैतर्फ धेरै नै भीड थियो'

कोरियामा हलोविन मनाउँदा १ सय ५१ जनाको मृत्यु
गोकुल थोकर

सोल — दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्दै हलोविन मनाउन जम्मा भएका युवाहरूमाझ भागदौड हुँदा हालसम्म १५१ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । सो स्थानमा रमाइलो गर्न एक लाखभन्दा बढी मानिस जम्मा भएको अनुमान छ ।

मानिस जम्मा भएको साँघुरो ठाउँमा च्यापिएर १ सय ५१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ५४ जना पुरुष र ९७ जना महिला रहेका छन् । मृत्यु हुनेमध्ये चीन, उज्वेकिस्तान, इरान र नर्वेका १९ जना रहेका छन् ।

शनिबार राति भएको दुर्घटनामा ४५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । अधिकांश मृतक ३० वर्षभन्दा कम उमेरका रहेको कोरियाली अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा ८२ जना सख्त घाइते भएको र उनीहरूको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

‘सोलको चर्चित हिल्टन होटलको छेउमा साँघुरो गल्ली छ । त्यही गल्लीको दुवैतिर फैलिएको फराकिलो स्थानमा शनिबार स्ट्रिट कन्सर्ट भइरहेको थियो । मान्छे नै मान्छे थिए । एकाएक दुवैतिर भीड बढेर गल्लीमा बसेको मानिसलाई च्याप्दा त्यस्तो दुर्घटना भएको रहेछ,’ इथेवन नजिकै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका नेपाली गम्भीरमान श्रेष्ठले भने‚ ‘समाचार सुन्दा पत्याउनै गाह्रो । पहिलेपहिले पनि भीड हुन्थ्यो । कन्सर्ट हुन्थ्यो । तर‚ कोरोनापछिको रात्रिजीवनमा रमाइलो गर्न पहिलेको वर्षभन्दा धेरै युवा निस्केकाले पनि यस्तो घटना भएको हुन सक्छ । समयमै भीड नियन्त्रण गर्न नसक्दा यस्तो घटना भयो ।’

शनिबार राति साढे दस बजे उक्त घटना भएको थियो ।

‘हामी पनि त्यहाँ भरखरै पुगेका थियौं । धेरै क्लबहरूले डान्स पार्टी राखेका थिए । जता पनि मान्छे नै मान्छे थिए । दुर्घटना भएको समयमा हामी पनि नजिकै थियौं । एकाएक एम्बुलेन्स, प्रहरीको साइरन बजाउँदै गाडी ओहोरदोहोर गरेको देखियो । हामीले त आगो लागेछ कि भनेर सोचेका थियौं । पछि मात्र च्यापिएर मानिसको मृत्यु भएको भन्ने थाहा भयो‚’ सोलमा बस्दै आएका नेपाली अजय कार्कीले भने ।

इथेवन कोरियालीमाझ मात्र होइन कोरिया घुम्न आएका विदेशीलाई समेत आकर्षित गर्ने स्थान हो । कोरोना महामारीपछि इथेवन सहरको रौनक केही घटेको थियो । कोभिड-१९ महामारी फैलिएसँगै कोरियाको सरकारले उक्त स्थानमा बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो । तीन जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने नियम बनेको थियो ।

योङसान प्रहरीको अपराध महाशाखाका प्रमुख चोई उल-चेओनले घटनामा लागूऔषधका कारण यस्तो घटना नभएको बताएका छन् । घटनापछि राष्ट्रपति युन सुक-योलले राष्ट्रिय शोक घोषणा गरेका छन् भने कुनैपनि हलोविन कार्यक्रमहरू नगर्न निर्देशन दिएका छन् ।

दक्षिण कोरियामा यसअघि सन् २०१४ मा भएको सेवल नामको पानीजहाज दुर्घटनामा ३ सय २५ जना विद्यार्थीसहित ४ सय मानिसको मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक १३, २०७९ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×