भारतीय पत्रकार अय्यूबलाई देश छोड्न प्रतिबन्ध- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय पत्रकार अय्यूबलाई देश छोड्न प्रतिबन्ध

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतीय पत्रकार एवं अभियन्ता राना अय्यूबलाई भारत सरकारले देश छाड्न प्रतिबन्ध लगाएको छ । बेलायतमा आयोजित पत्रकार सम्बन्धी एक कार्यक्रममा सम्बोधन गर्न प्रस्थान गर्ने क्रममा उनलाई विमानस्थलबाटै फिर्ता ल्याइएको हो ।

राना अय्यूब लण्डनपछि इटाली लगायतका देशमा पुगेर सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । तर अय्यूबलाई भारत सरकारले विदेश प्रस्थान गर्नबाट रोकेको हो । अय्यूबले मुम्बई अध्यागमनबाटै आफूलाई अधिकारीहरूले उडानबाट रोकेको बताएकी छन् । अय्यूबले विमानस्थल पुगेको एक घण्टापछि आर्थिक अपराध सम्बन्धी अनुसन्धान गर्नका लागि भन्दै अपराध अनुसन्धान निकायबाट इमेल पाएको समेत बताएकी छन् ।

वासिङटन पोस्टकी स्तम्भकार समेत रहेकी ३७ वर्षीया अय्यूबमाथि भारतको संघीय सरकारले अनुसन्धान गरिरहेको छ । 'मलाई घर फर्कन भनियो' अय्यूबले भनेकी छन्, 'मैले अवार्ड पाउने र गार्जियन पत्रिकाको न्यूजरूमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । मेरो सम्पूर्ण योजना सार्वजनिक भएका छन् ।'

प्रखर वक्ताको रुपमा पनि चिनिने पत्रकार अय्यूब नरेन्द्र मोदी नेतृत्वको सरकारको कट्टर आलोचक पनि हुन् । मुस्लिम एवं अल्पसंख्यकका मुद्दालाई उठाउने अय्यूबले यसअघि पनि भारतमा पटक पटक हिन्दू कट्टरपन्थीहरूबाट धम्की र विरोधको सामना गर्नु परेको छ । केही महिनाअघि उनीमाथि हिन्दू कट्टरपन्थीहरूबाट धम्की आएको विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विरोध समेत गरेका थिए ।

भारत सरकारलाई राष्ट्रसंघका विशेषज्ञको आग्रह : पत्रकार राना अय्यूबमाथिको उत्पीडन रोक

प्रकाशित : चैत्र १६, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

दलहरूलाई निर्वाचन आयोगको १७ बुँदे निर्देशन 

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको छ । उम्मेदवार चयनदेखि प्रचारप्रसारमा अपनाउनुपर्ने विषयवस्तु राखेर आयोगले राजनीतिक दलहरूका नाममा निर्देशन जारी गरेको हो । 

निर्देशनको पहिलो बुँदामा संविधानको धारा ४७ को मौलिक हकको कार्यान्वयनसम्बन्धी व्यवस्थालाई स्मरण गर्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ । 'स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्ने,' पहिलो बुँदामा भनिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार राजनीतिक दलहरूलाई दिइएको निर्देशनबारे जानकारी गराएका हुन् । आयोगले घोषणापत्रलगायत दस्तावेजहरूमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्न पनि दलहरूलाई निर्देशन दिएको छ ।

स्थानीय तहको प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्षमध्ये एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलहरूलाई महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन दिएको हो । 'स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने,' आयोगको निर्देशनमा भनिएको छ, '२०७४ मा १७५ दलित महिला वडा सदस्य पदमा उम्मेदवारी नै नपरेको कारणबाट उक्त पद रिक्त भएको विषयलाई गम्भीरतापूर्वक लिई प्रचलित कानुनबमोजिम सम्पूर्ण वडामा दलित महिलाको उम्मेदवारी हुने व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।'

आयोगले उम्मेदवारीदेखि निर्वाचन गतिविधि समावेशी र समानुपातिक बनाउन दलहरूलाई निर्देशन दिएको हो । महिला, दलित वा अल्पसंख्यक समुदायको लागि आरक्षण गरिएका पदहरू बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तीमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्बित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्नका लागि आयोगले निर्देशन दिएको हो ।



प्रकाशित : चैत्र १६, २०७८ १८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×