भारत सरकारलाई राष्ट्रसंघका विशेषज्ञको आग्रह : पत्रकार राना अय्यूबमाथिको उत्पीडन रोक


काठमाडौँ — संयुक्त राष्ट्र संघका मानवअधिकार विशेषज्ञले भारतीय पत्रकार राना अय्यूबविरुद्ध भइरहेको महिला विरोधी टिप्पणी र साम्प्रदायिक आक्रमण बन्द हुनुपर्ने बताएका छन् । पत्रकार अय्यूविरुद्ध भइरहेको यस प्रकारको आक्रमणबारे भारत सरकारले तत्काल जाँच गर्नुपर्ने र उनीविरुद्ध भइरहेको उत्पीडन रोक्नुपर्ने विशेषज्ञहरूको आग्रह छ ।

स्वतन्त्र अनुसन्धानमूलक पत्रकार र मानवअधिकारका पक्षमा काम गर्ने अय्यूबविरुद्ध दक्षिणपन्थी हिन्दू राष्ट्रवादी समूहले लगातार अनलाइनमाफर्त आक्रमण र धम्की दिएको पनि ती विशेषज्ञले बताएका छन् । भारतमा अल्पसंख्यक मुस्लिम समुदायका बारेमा रिपोर्टिङ गरिरहेका कारण पनि उनलाई आक्रमणको तारो बनाइएको राष्ट्र संघका विशेषज्ञको भनाइ छ ।
साथै महामारीका बारेमा भारत सरकारको कामकारबाही र हालै कर्नाटक राज्यका विद्यायलय र कलेजहरूमा हिजाब प्रतिबन्ध लगाइएका विषयमा पनि उनले आलोचनात्मक सामग्री प्रस्तुत गरेका कारण हिन्दू अतिवादी समूहबाट उनीमाथि आक्रमण भइरहेको छ ।
पत्रकार अय्यूबमाथि लगातार नियोजित रूपमा आक्रमण भइरहँदा सरकारले भने उचित तरिकाले जाँच अगाडि नबढाएको विशेषज्ञको भनाइ छ । साथै उनीमाथि कानुनी रूपमै उत्पीडन पनि गरिएको बताइएको छ । पटक–पटक उनको बैंक एकाउन्ट फ्रिज गरिएको छ भने उनीमाथि कर छली र अवैध सम्पत्ति आर्जनको आरोप लगाउने गरिएको छ । केही दिनअघि मात्रै राना अय्यूबको १ करोड ७७ लाख रुपैयाँ बराबरको सम्पत्ति प्रवर्तन निर्देशनालयले जफत गरेको थियो ।
डोनेसनका रूपमा उठाएको पैसाको दुरुपयोग गरेको आरोप लगाइए पनि अय्यूबले भने अस्वीकार गर्दै आएकी छिन् । उत्तर प्रदेशको गाजियाबादमा उनीविरुद्ध उजुरी दर्ता भएको छ ।
आइतबार मात्रै द वासिंटन पोस्ट प्रेस फ्रिडम पार्टनरसिप र अनलाइन हिंसाविरुद्धको सहकार्यले वासिंटन पोस्टमा अय्यूबले दैनिक विभिन्न खाले धम्की खेपिरहेको उल्लेख गर्दै उनको पक्षमा उभिन आग्रह गरेको थियो । सोही आग्रहअनुरुप सामाजिक सञ्जालमा ह्यासट्याग वि स्ट्यान्ड विथ राना चलाइएको छ । त्यस्तै उनीहरूले पत्रकार कुनै पनि धम्की र दुष्प्रचारबाट डराउन नहुने पनि बताएका छन् ।
‘
A full page in the Washington Post today about the witch-hunt against me. Cannot thank my colleagues and publication for having my back at such a crucial time for me. I promise to keep fighting the truth @elopezgross @washingtonpost @wppressfreedom pic.twitter.com/9XLFRi6ZDr
— Rana Ayyub (@RanaAyyub) February 20, 2022
गुजरात फाइल्स : एनाटोमी अफ अ कभर अप’ पुस्तककी लेखकसमेत रहेकी अय्यूब वासिंटन पोस्टको ग्लोबल ओपिनियन सेक्सनमा स्तम्भ लेख्दै आएकी छिन् । त्यसअघि उनले लामो समय ‘तेहल्का’मा खोजी पत्रकारका रूपमा काम गरेकी थिइन् ।
उनकै रिपोर्टिङका कारण सन् २०१० मा बीजेपी नेता अमित शाह केही महिना जेल बस्न बाध्य भएका थिए । सन् २०१३ मा तेहल्काका प्रधान सम्पादक तरुण तेजपालमाथि सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि भने अय्यूबले राजीनामा दिएकी थिइन् ।
प्रकाशित : फाल्गुन ९, २०७८ २१:३४