पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आइएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ ।

'मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न प्राधिकरणले परीक्षणको रुपमा लागू गरेको मोबाइल एमडीएमएस पुस १५ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा आउने व्यहोरा जानकारी गराइन्छ,' प्राधिकरणले सूचनामा भनेको छ ।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका मोबाइल अनिवार्यरुपमा एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्नेछ । त्यस्तै, गत भदौ भन्दाअगाडि प्रयोगमा नरहेका मोबाइल सेटको पनि भन्सार घोषणा गरी भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिएर अनिवार्यरुपमा एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने तथा यस्ता मोबाइल सेट सञ्चालनमा रोक लगाइने पनि प्राधिकरणले जनाएको छ । विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटका लागि अनिवार्य रुपमा प्रज्ञापनपत्र लिनुपर्नेछ । प्रज्ञापनपत्र लिइसकेपछि राहदानी, नागरिकता वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै आधिकारिक विवरणका आधारमा मात्र दर्ता गरिने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

त्यस्तै, नेपालभित्रै मोबाइल खरिद गर्दासमेत उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए–नभएको यकिन गरेर खरिद गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।


प्रकाशित : पुस १२, २०७९ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध

रासस

काठमाडौँ — नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर तथा कोइला बाल्दा अक्सिजन नष्ट हुने साथै कार्बन मनोअक्साइडसमेत बनी कोठाभित्र रहेका मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, निस्सासिइ बहोस हुने र थाहै नपाइ दुःखद् निधन हुने घटना बढेको सो कार्य नगर्न अनुरोध गरेका छन् ।

प्रहरीले आफू घर बाहिर निस्किदा कहिले पनि बन्द कोठामा हिटर अन गरी नछाड्न, झ्याल ढोकाका चरहरुमा बोरा, कपडा राखी हिटरलगायत विद्युतीय उपकरण नबाल्न, चुलो, फलामको चुलो, मकल, कराइमा दाउरा, कोइला बाली कोठाभित्र नराख्न, ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न आग्रहसमेत गरेको छ ।

यसैगरी, विद्युतीय उपकरणका स्वीच, मल्टिप्लक काम सकिएपछि बन्द गर्न, चुलो, मकल, फलामको चुलो, हिटर नजिक छिटो जल्ने खालको कुनै पनि सामग्री नराख्न अनुरोध गरेको छ ।

प्रकाशित : पुस १२, २०७९ २२:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×