कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण एसियाका जैविक–प्रविधि वैज्ञानिक काठमाडौंमा भेला हुँदै

काठमाडौँ — जैविक-प्रविधिको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका नेपालसहित दक्षिण एसियाका वैज्ञानिकहरु काठमाडौंमा भेला हुँदैछन् ।

दक्षिण एसियाका जैविक–प्रविधि वैज्ञानिक काठमाडौंमा भेला हुँदै

जैविक प्रविधि समाज नेपाल(बीएसएन)ले आयोजना गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय जैविक प्रविधि सम्मेलनमा भाग लिनका लागि उनीहरु पुस २ देखि ४ गतेसम्म काठमाडौंमा भेला हुन लागेका हुन् ।

दिगो प्रविधि र वातावरणका लागि जैविक-प्रविधि भन्ने नाराका साथ सुरु हुन लागेको यो सम्मेलनमा दक्षिण एसियाका वैज्ञानिकहरुले आफूले गरेका अध्ययन अनुसन्धानबारे छलफल र बहस गर्दैछन् ।

दिगो विकासका १७ वटा लक्ष्य हासिल गर्नका लागि जैविक प्रविधिले खेल्ने भूमिकामा केन्द्रीत भएर विभिन्न चारवटा सत्रमा वैज्ञानिकहरु छलफल गर्ने बीएसनका अध्यक्ष नविन नारायण मुनकर्मीले बताए ।

ऊर्जा र वातावरण, जैविक प्रविधि र कृषि, स्वास्थ्य र फार्मासिउटिकल,नवप्रवर्तन र इन्टरप्रेनरसिपमा गरी चारवटा विषयमा केन्द्रीत भएर अनुसन्धानकर्ताहरुले प्रस्तुति दिनेछन् । सम्मेलनमा अनुसन्धनात्मक पेपर र पोस्टर गरेर ६० भन्दा बढी प्रस्तुति रहने उनले बताए ।

दक्षिणी एसियाली जैविक प्रविधिका विज्ञ तथा अनुसन्धानकर्ताहरुबीच नविनत्म ज्ञान र जानकारी, अनुसन्धान, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा ज्ञान आदनप्रदानका लागि यो सम्मेलनले भूमिका खेल्ने मुनकर्मीको भनाइ छ ।

नेपालका ३ वटा विश्वविद्यालयमा मात्रै जैविक प्रविधिको विषयमा अध्यायपन हुने गरेको छ । काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर विषय अध्यायपन गराउँदै आएको बीएसनले जनाएको छ ।

वातावरण, माइक्रोबायोलोजी, वनस्पति विज्ञान, जीव विज्ञान,रसायनशास्त्र अध्ययन गरेका विद्यार्थीहरुले पनि जैविक प्रविधिमा स्नातकोत्तर गर्न पाउँछन् । अस्पताल, खाद्य उद्योग, फार्मासिउटिकलको क्षेत्रलगायत विभिन्न प्रयोगशाला तथा अनुसन्धनात्मक क्षेत्रमा बायोटेक्नोलोजीको प्रयोग हुँदै आएको छ ।

नेपालको जैविक प्रविधि क्षेत्रमा लागेका अनुसन्धानकर्ताहरुको साझा संस्था समेत रहेको बीएसएनले सन् २०१०देखि नेपाल जर्नल अफ बायाटेक्नोलोजी नियमित रुपमा प्रकाशन गर्दै आएको छ ।

प्रकाशित : मंसिर २०, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?