कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

अन्तरिक्षमा चीनको फड्को

गोविन्द पोखरेल

काठमाडौँ — कुनै समय चिनियाँ नेता माओत्से तुङले 'एउटा आलु पनि अन्तरिक्षमा पुग्न नसक्नेले कसरी विश्व शक्ति बन्छ' भनेका थिए । माओको उक्त आक्रोशपूर्ण कटाक्षले चीनले मिसाइल र आणविक कार्यक्रमलाई बढुवा गरेको मानिन्छ । सन् १९९९ मा उसले पहिलो पटक अन्तरिक्षमा मानवरहित आफ्नो यान पठायो ।

अन्तरिक्षमा चीनको फड्को

चिनियाँ अन्तरिक्ष कार्यक्रममार्फत सन् २००३ मा पहिलो पटक आँफै अन्तरिक्षयात्री बनाउने तेस्रो मुलुक बन्यो । अमेरिका र रसियापछि अन्तरिक्षमा आफ्नै भू-भागबाट अन्तरिक्ष यात्री पठाउने पहिलो मुलुक बन्यो ।

सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएको चीनले यो वर्ष आफ्नो छुट्टै अन्तरिक्ष यान पृथ्वीको तल्लो कक्षमा निर्माण सम्पन्न गर्दै छ ।

चीनले बनाइरहेको 'ट्येन्गुङ' अन्तरिक्ष केन्द्रमा तीनजना 'टाइकानट्स (चिनियाँ अन्तरिक्षयात्री)' बुधबार पुगे । गत मंगलबार राति ११ बजेर ८ मिनेटमा गोबी मरुभूमिमा रहेको जीक्वान स्टेलाइट लन्च सेन्टरबाट उनीहरुलाई त्यहाँ पठाइएको थियो ।

जिक्वान स्यटेलाइट लन्च सेन्टरबाट मार्च-२एप रकेट प्रक्षेपणपछि । रकेटको माथिल्लो भागमा छेन्झोए-१५ यान छ । तस्बिरः सिन्ह्वा

लन्च भएको करिब ६ घन्टापछि उनीहरुको यान ट्येन्गुङ केन्द्रमा जोडिएको(डक) भएको थियो । छेन्झोए-१५ मिसन अन्तर्गत उनीहरु त्यहाँ पुगेका हुन् । छेन्झोए-१४का अन्तरिक्ष यात्रीहरुलाई पालो दिनका लागि उनीहरु त्यहाँ पुगेका हुन् । करिब ६ महिना यी टाइकनट्स अन्तरिक्ष केन्द्रमा बिताउँदैछन् ।

छेन्झोए-१४ र १५ मिसनका गरी ६ अहिले 'ट्येुन्गुङ' केन्द्रमा छन् । छेन्झोए-१४का अन्तरिक्षयात्रीहरु केही सातापछि फर्किने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरुले बुधबार केन्द्रमा पुगेका अन्तरिक्षयात्रीहरुलाई केही काम सिकाउने छन् । यस्तै, उनीहरुको यो बसाईंले केन्द्रमा ६ जना अन्तरिक्षयात्री राख्ने क्षमता परीक्षण समेत हुनेछ ।

अन्तरिक्ष केन्द्रमा रहने टाइकानट्सहरूले हजारभन्दा बढी वैज्ञानिक परीक्षण गर्ने छन् । त्यहाँ उनीहरुले अन्तरिक्षमा वनस्पति कसरी अनुकूलन हुन सक्छन् र माइक्रो ग्राभिटीमा फ्ल्युड्सहरु कसरी काम गर्छन् भन्नेमा केन्द्रीत हुनेछ । यी अन्तरिक्षयात्रीहरु अंग्रेजी अक्षरको 'टी' आकारको स्पेस आउटपोस्टमा ६ महिनासम्म रहनेछन् ।

चिनियाँ अन्तरिक्ष यात्रीको यो मिसनसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र पछि चिनियाँ स्पेस स्टेसनमा आलोपालो गरेर एकैपटक ६ जना रहेको यो पहिलो घटना हो ।

यो मिसनको नेतृत्व फेई जुनलङले नेतृत्व गरेका छन् । ५७ वर्षीय यी अन्तरिक्षयात्रीले सन् २००५ को छेन्झोउ-६ मिसनको कमान्ड सम्हालेका थिए । यो उनको पहिलो अन्तरिक्ष यात्रा हो ।

000

अहिले पृथ्वीको तल्लो अर्बिटमा चिनियाँ अन्तरिक्ष केन्द्र र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् । दुवैमा अन्तरिक्षयात्रीहरू विभिन्न वैज्ञानिक प्रयोग गरिरहेका छन् ।

छेन्झोए-१५ मिसन अन्तरिक्ष केन्द्र बनाउनका लागि पठाइएको अन्तिम क्रिउ मिसन हो । त्यसअघि विभिन्न ११ वटा मिसन र ३ वटा मिसनमा अन्तरिक्षयात्रीहरु थिए । केन्द्र निर्माणका लागि सन् २०२१मा पहिलो अन्तरिक्ष मिसन भएको थियो ।

जिक्वान लन्च सेन्टरबाट प्रक्षेपण गरिएको छेन्झोए-१५ यान अन्तरिक्ष केन्द्रसँग अटोमेट गराइँदै गरेको प्रतिकात्मक तस्बिर ।

यी टाइकानट्सहरूलाई लङ मार्च २एफ रकेटबाट पठाइएको हो । लङ मार्च-२एफ रकेट चीनको सुरक्षित रकेट हो जसको उचाइ ५८.३ मिटर छ । भरपर्दो केरिएर रकेट बताइने यसमा दुई वटा कोर स्टेज र चारवटा बुस्टर छन् । यसले लो अर्थ अर्बिटमा ८.६ टनसम्मको पेलोड पठाउन सक्छ ।

सन् २०२०मा चीनले दुई वर्षभित्रमा आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र बनाउने संकल्प गरेको थियो । जस अनुसार विभिन्न ११ वटा चरणमा अन्तरिक्षमा केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।

000

चीनले पहिलो पटक सन् २००३ मा आफ्नो पहिलो अन्तरिक्षयात्री पठाएको थियो । छेन्झोए-५ क्याप्सुलमा बसेर चिनियाँ जनमुक्ती सेनाका पूर्व फाइटर पाइलट याङ लेवी पृथ्वीको तल्लो कक्षमा पुगेका थिए ।

चीनले आफ्नो अन्तरिक्ष केन्द्रलाई प्रतिष्ठाको विषय बनाउँदै आएको छ । सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र कार्यक्रमबाट चीन बाहिरिएको थियो । अमेरिकाकी कानुनले आफ्नो अन्तरिक्ष संस्थाहरूसँग चीनले कुनै किसिमका प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहकार्य गर्ने कार्यमा बन्देज लगाएको छ ।

छेन्झोए-१४ र छेन्झोए-१५ मिसनका सदस्यहरू निर्माणाधीन चिनियाँ अन्तरिक्ष केन्द्रमा पुगेपछि तस्बिर खिचाउँदै । छेन्झोए-१४का सदस्यहरू केही हप्तापछि फर्कने छन् भने छेन्झोए-१५ का सदस्यहरू ६ महिनासम्म बस्नेछन् ।

चीनको अर्को क्रिउ मिसन सन् २०२३मा हुनेछ । जहाँ पूर्ण रुपमा निर्माण सम्पन्न भएको नयाँ अन्तरिक्ष केन्द्रमा तेस्रो पुस्ताका टाइकनट्सहरू हुनेछन् । चीनको पहिलो र दोस्रो पुस्ताका अन्तरिक्ष यात्रीहरु सबै एयर फोर्सका पाइलटहरु छन् ।

रोयटर्सका अनुसार चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई थप सशक्त बनाउनका लागि चौथो पुस्ताका अन्तरिक्ष यात्रीको छनोट सुरु गरेको छ । जीव विज्ञान, भौतिकशास्त्र, रसायनशास्त्र, बायोमेडिकल इन्जिनियरिङ र खगोलशास्त्रमा विद्यावारिधी गर्ने अनुसन्धानकर्ताहरुलाई लैजाने चीनको योजना छ । चीनको अन्तरिक्ष कार्यक्रममा सहभागी हुन र अन्तरिक्षयात्रीका लागि पहिलोपटक हङकङ र मकाउबाट पनि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

पूर्ण रुपमा अन्तरिक्ष केन्द्र आएपछि चीनले हरेक वर्ष २ वटा क्रिउड् मिसन अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा लैजाने लक्ष्य राखेको छ ।

मंगल ग्रह र चन्द्रमामा रोबोटिक रोभर्स पठाइसकेको चीनले सन् २०२२मा 'ट्येन्गुङ' अन्तरिक्ष केन्द्र पूर्ण रुपमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सन् २०४५ सम्म चीनले अन्तरिक्षको क्षेत्रमा विश्वकै पहिलो शक्ति राष्ट्र हुने लक्ष्य राखेको छ । जस अनुसार उसको स्पेस कार्यक्रममा महत्वकांक्षी योजनाहरू सारेको छ । २०२५ देखि आफ्नो अन्तरिक्ष केन्द्रमै पृथ्वी नजिकै आएका छुद्र ग्रहको स्याम्पल संकलन गर्ने योजना छ ।

सन् २०२१ मा मंगल ग्रहको सतहमा अवतरण भएको चिनियाँ रोभर । फाइल तस्बिरः पिपुल्स डेली चाइना ।

अबको करिब ७ वर्षभित्रमा मंगल ग्रहको स्याम्पल रिटर्नस मिसनको सुरुवा गर्ने, बृहस्पतिमा प्रोभ पठाउनेदेखि चन्द्रमामा चिनियाँ अन्तरिक्षयात्रीहरु पठाउने लक्ष्य छ ।

२०३५ सम्ममा पुनः प्रयोग गर्न मिल्ने रकेट बनाएर प्रयोगमा ल्याउने लक्ष्य रखेको चीनले २०४०मा पहिलो पटक आणविक ऊर्जाबाट चल्ने स्पेस सटल बनाउँदै अन्तरिक्षमा पहिलो शक्ति बन्ने योजना सारेको हो ।

एजेन्सीहरूको सहयोगमा

प्रकाशित : मंसिर १५, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?