कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेम्स वेब टेलिस्कोपले लिएका ब्रह्माण्डका ५ रंगिन तस्बिर

काठमाडौँ — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गत मंगलबार जेम्स वेब स्पेस टेलिस्कोपले लिएका ब्रह्माण्डका तस्बिरहरू सार्वजनिक गर्‍यो ।

जेम्स वेब टेलिस्कोपले लिएका ब्रह्माण्डका ५ रंगिन तस्बिर

वेब स्पेस टेलिस्कोपले लिएका यी तस्बिर सार्वजनिक भएसँगै यसलाई अन्तरिक्ष अन्वेषणमा नयाँ युगको प्रारम्भ भएको नासाले जनाएको छ । यो टेलिस्कोपले पूर्ण रंगिन र 'स्पेक्ट्रोस्कोपिक' तथ्यांकसमेत दिने बताइएको छ । नासाले सार्वजनिक गरेका यी तस्बिरहरू पहिलो रंगिन तस्बिर र यसमा वर्णपट (स्पेक्ट्रा)को संयोजन रहेको नासाले उल्लेख गरेको छ ।

जेम्स बेस स्पेस टेलिस्कोप सञ्चालनका लागि विभिन्न १७ वाट मोड्स छन् । ती मोड्सहरूले टेलिस्कोपको वैज्ञानिक उपकरणहरू सञ्चालन गर्न सघाउ पुर्‍याउँछन् ।

नासाले सार्वजनिक गरेको ब्रह्माण्डको तस्बिर अहिलेसम्मकै सबैभन्दा सघन र स्पष्ट भएको बताइएको छ । आकाशगंगाहरूले कसरी अन्तक्रियाहरु गर्छन् भन्ने विषयले ब्रह्माण्डको प्रारम्भिक चरणको कसरी विकास भयो भन्ने जानकारी गराउने यो मिसनबाट थाहा पाउन सकिने नासाले जनाएको छ ।

नासाले सार्वजनिक गरेका ५ तस्बिरहरुको विवरण

केरिना नेबुला : यो ब्रह्माण्डमा देखिने सबैभन्दा ठूलो र चम्किलो तारामण्डलहरूको संयोजन हो । यो केरिना तारामण्डलदेखि ७ हजार ६ सय प्रकाश वर्ष टाढा रहेको छ ।

नेबुलाहरू धेरै तारामण्डलहरूको भव्य संयोजन हो‚ जहाँ ताराहरूको निर्माण हुने गर्छ । केरिना नेबुलामा धेरै विशाल ताराहरू छन्‚ जुन ताराहरू हाम्रो सौर्यमण्डलको सूर्यभन्दा कयौं गुणा ठूला छन् ।

डब्लूएएसपी-९६ बी (स्पेक्ट्रम) : यो ग्यासबाट निर्मित विशाल र सौर्यमण्डलभन्दा टाढा रहेको ग्रह हो । पृथ्वीभन्दा १ हजार १ सय ५० प्रकाश वर्ष टाढा रहेको नासाले जनाएको छ ।

यो ग्रह सौर्यमण्डलको ठूलो ग्रह वृहस्पतिभन्दा आकारमा आधा छ; यो ग्रहलाई सन् २०१४ मा नासाले पहिचान गरेको थियो ।

साउदर्न रिङ नेबुला : पृथ्वीभन्दा २ हजार प्रकाश वर्ष टाढा रहेको यो नेबुलालाई प्लानेटरी नेबुला भनिएको छ । ‘साउदर्न रिङ’ वा ‘८ ब्रस्ट’ नेबुला समेत भनिने यसले एउटा मृत तारालाई घेरेको नासाले जनाएको छ । यो नेबुला एउटा फैलिरहेको ग्यासबाट निर्मित छ ।

यसको व्यास आधा प्रकाश वर्ष रहेको छ ।

स्टेफन्स क्विन्टेट : पेगासस तारामण्डलमा अवस्थित यो क्विन्टेट(पञ्चक) हामीभन्दा २ करोड ९० लाख प्रकाश वर्ष टाढा छ । नजिकै रहेका तारामण्डलहरुको समूहको रुपमा सन् १८७७ मा यो पहिलो पटक पहिचान भएको थियो ।

एसएमएसीएस ०७२३ : यो एउटा ज्यादै ठूलो तारापुञ्ज हो । सार्वजनिक गरिएको तस्बिरमा यो तारापुञ्ज विशाल तथा चम्किलो देखिन्छ । यो ४.६ अर्ब प्रकाश वर्ष दूरीमा छ ।

साथै,यो तारापुञ्ज पछाडिका अन्य विशाल ताराहरू तथा आकाशगंगाहरू देखिएका छन् ।

नासाका पूर्वप्रशासक जेम्स वेबको नाममा निर्माण गरिएको यो टेलिस्कोप गतवर्षको डिसेम्बरमा लन्च गरिएको थियो ।जेम्स वेब सन् १९६१ देखि १९६८ सम्म नासाको प्रमुखको रुपमा कार्यरत थिए । ब्रह्माण्डको धेरै टाढा, कुना-कुना र विगतबारे थाहा पाउनु यो टेलिस्कोपको उद्देश्य रहेको छ ।

सन् २०२१ को डिसेम्बरमा उक्त टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । यो टेलिस्कोपले हामीले यसअघि कहिल्यै नदेखेको समयको बारेमा पनि अध्ययन गर्न सहयोग पुर्‍याउने नासाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : असार ३१, २०७९ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?