कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चिनियाँ अन्तरीक्षयात्रीले अन्तरीक्षमै मनाए ‘लालटेन’ पर्व

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँहरू नयाँ वर्ष १५ दिनसम्म मनाउँछन् । नयाँ वर्ष मनाउने क्रमको अन्तिम दिन पर्छ-लालटेन पर्व । लालटेन पर्व लुनिसोलार चाइनिज पात्रोको पहिलो महिनाको पन्ध्रौं दिनमा मनाइन्छ । यो दिन हरेक वर्षको फेब्रुअरी र कहिलेकाहीँ मार्चको पहिलो सातामा पर्छ ।

चिनियाँ अन्तरीक्षयात्रीले अन्तरीक्षमै मनाए ‘लालटेन’ पर्व

लालटेन पर्वमा चिनियाँहरू विभिन्न मेलामा जाने गर्छन् । लालटेनमा हुने रिडल्स (पहेली)हरू हल गर्ने गर्छन् । यो पर्व विशेष गरी बालबालिकाहरूले मनाउने गर्छन् । यो वर्षको लालटेन पर्व फेब्रुअरी १५ तारिखमा परेको थियो ।

यसपटकको लालटेन पर्व चिनियाँ अन्तरीक्षयात्रीले अन्तरीक्षमै मनाएको विषय चर्चामा रहेको छ ।

०००

चीनले यो वर्षदेखि आफ्नो छुट्टै अन्तरीक्ष केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ । गत वर्षदेखि उसले केन्द्रको मुख्य मोड्युल टियाहे प्रक्षेपण गरेको थियो । चीनले अहिले 'टियाङगोङ अन्तरिक्ष केन्द्र' निर्माणको थालनी तीव्र पारिरहेको छ । केन्द्र निर्माणका लागि अहिले ३ जना अन्तरीक्षयात्रीहरू खटिएका छन् । गत अक्टोबर १५ मा उनीहरूलाई ६ महिने मिसनका लागि अन्तरीक्षमा पठाइएको थियो ।

सेन्झोउ-१३ मिसनअन्तर्गत त्यहाँ पुगेका जाई झिगाङ, वाङ यापिङ र हे गुङ्फू अन्तरीक्ष केन्द्र निर्माणका लागि खटिरहेका छन् ।

यस वर्ष उनीहरूले लालटेन पर्व चिनियाँ भूमिमा मनाउन नपाएपछि अन्तरीक्षमै मनाए । मिसन प्रमुख झिगाङले अन्तरीक्ष केन्द्रमा ल्यान्टर्नको रिडल लेखेर मनाए ।

हे गुङ्फले बाँसुरी बजाए । हुलुसी भन्ने यो बाँसुरी बजाइरहेको तस्बिर चिनियाँ मिडिया ग्रुपले सार्वजनिक गरेको छ । अर्की अन्तरीक्षयात्री वाङ यापिङले चर्चित चिनियाँ गीत 'जस्मिन फ्लावर' गाइन् । उनले गुझेङ बजाइरहेको तस्बिर देख्न सकिन्छ । गुझेङलाई चीनमा 'जिथर' भन्ने गरिन्छ ।

अन्तरीक्ष केन्द्र निर्माणका लागि यसअघि ३ जना चिनियाँ अन्तरीक्षयात्रीहरू ९२ दिन बिताएर फर्किएका थिए । जियूकान स्याटेलाइट लन्च सेन्टरबाट उनीहरू सेन्झोउ-१२ यानमार्फत गएका थिए । उक्त मिसनमा निह हाइसङ,लिउ बोमिङ र थङ हङ्बो थिए ।

चीनको यो अन्तरिक्ष केन्द्र विभिन्न ११ चरणमा निर्माण हुने बताइएको छ । यसअघि चीनले अन्तरीक्ष केन्द्र निर्माणका लागि भनेर कार्गो मिसन र कोर मोड्युल(टियाहे) अन्तरिक्षमा पुर्‍याइसकेको थियो । टियाहे मोड्युल २२.५ टनको छ ।

चीनले आफ्नो क्रू मिसन लन्च गर्दा लङ मार्च-२ एफ रकेट प्रयोग बढी प्रयोग गर्छ । ५८.३ मिटर उचाइको यो रकेट छिटो र भरपर्दो केरिएर रकेट हो । यसमा दुईवटा कोर स्टेज र चारवटा बुस्टर छन् । यसले लो अर्थ अर्बिटमा ८.६ टनसम्मको पेलोड पठाउन सक्छ ।

समग्रमा चीनले यस वर्ष १४० वटा अन्तरीक्षयान अन्तरीक्षमा पठाउँदै छ भने ५० वटाभन्दा बढी अन्तरीक्षयान प्रक्षेपण गर्ने तयारी गरेको चिनियाँ एरोस्पेस साइन्स एन्ड टेक्नोलोजीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७८ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?