कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको आयु सकिँदै, चीनले यही वर्षबाट सञ्चालन गर्दै

काठमाडौँ — अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)को आयु सकिँदै गएपछि नयाँ केन्द्र निर्माणमा विभिन्न शक्ति राष्ट्रहरु यतिबेला होडबाजीमा लागेका छन् । सन् २०३१मा यो केन्द्र पृथ्वीमा खस्दैछ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको आयु सकिँदै, चीनले यही वर्षबाट सञ्चालन गर्दै

प्रशान्त महासगरको प्वाइन्ट नेमो क्षेत्रमा अन्तरिक्ष केन्द्र सन् २०३१मा 'क्रयास ल्यान्डिङ' गर्ने नासाले प्रक्षेपण गरेको छ । प्रशान्त महासगरको यो क्षेत्र जमिनबाट धेरै टाढा छ । यो जमिनबाट २ हजार ७ सय किलोमिटर टाढा रहेको क्षेत्र हो जहाँ मानवनिर्मित यानहरु खसाल्ने गरिएको छ । सन् २००१मा रुसको अन्तरिक्ष केन्द्र 'मिर'को पनि यही स्थानमा क्र्यास गराइएको थियो ।

सन् १९९८मा रुस, अमेरिका,क्यानडा,जापान र युरेपेली मुलुकहरुले संयुक्त रुपमा आईएसएसको निर्माण गरेका छन् । १५ वर्षका लागि भनेर निर्माण गरिएको केन्द्र सञ्चालनको दुई दशक पूरा भएको छ । हालसम्म यहाँ १९ मुलुकका २ सयभन्दा बढी अन्तरिक्षयात्रीहरु गएका छन् । सन् २००० देखि यहाँ नियमित रुपमा मानिसहरु बस्न थालेका हुन् ।

स्पेस स्टेसनको माइक्रो ग्रियाभिटी प्रयोगशालाबाट करिब ३ हजारभन्दा बढी अनुसन्धान भएका छन् । यहाँ सन् २०१४मा पहिलो पटक थ्रीडी प्रिन्टको परीक्षण गरिएको थियो । २०१६मा स्टेसनमा डीएनए सिक्वेन्सिङ गरिएको थियो भने अन्तरिक्षमा साग कसरी फलाउने भन्ने पनि परीक्षण भएको छ । सन् २०१५ मा यहाँ सलादमा प्रयोग हुने फलहरु फलाइएको थियो । सन् २०२० को नोभेम्बर ३० अमेरिकी अन्तरिक्षयात्री केट रोविन्सले मुलाका २० वटा पात फलाएकी थिइन् । स्पेस स्टेशन भित्रको एडभान्स प्लान्ट ह्याविट्याट (एपीएच) मा रोपेको २७ दिनमा फलेकाे थियो ।

पृथ्वीको तल्ल कक्ष(लोअर अर्बिट)मा रहेको यो केन्द्रले पृथ्वीलाई हरेक ९० मिनेटमा एक फन्को लगाउँछ । २४ घन्टामा अन्तरिक्ष केन्द्रले १६ पटक पृथ्वीलाई फन्को लगाउँदै १६ वटा सूर्योदय र सूर्यास्त देख्ने गर्छ ।

१०९ मिटर लामो छ अन्तरिक्ष केन्द्रमा कुनै पनि अन्तरिक्ष यान पृथ्वीबाट पुग्न करिब ४ घन्टा लाग्ने नासाले जनाएको छ । ४ लाख १९ हजार ७२५ किलो तौलको आईएसएस हामीले आकाशमा देखिने सबैभन्दा ठूलो चम्किलो वस्तु पनि हो । आईएसएसमा दुई वटा बाथरुम, एउटा जिम र ६ वटा सुत्न मिल्ने क्वार्टरका साथै ८ वटा अन्तरिक्ष यानहरु एकैपटक 'डक' हुन सक्छन् ।

नयाँ अन्तरिक्ष केन्द्र निर्माण

आईएसएसलाई अमेरिकी कंग्रेसले सन् २०२४ सम्मका लागि मात्रै बजेटको सुनिश्चितता दिएको छ । राष्ट्रपति जो बाइडेनले सन् २०३०सम्म काम गर्ने भनेपनि रुसले सन् २०२५ पछि आईएसएस कार्यक्रमबाट बाहिरिने बताउँदै आएको छ । सन् २०३० सम्म अमेरिका र रुसले छुट्टै अन्तरिक्ष केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

अमेरिकाले निजी क्षेत्रलाई अन्तरिक्ष केन्द्र निर्माण गर्न प्रोत्साहन गरिरहेको छ । हालका अन्तरिक्ष केन्द्रमा सिग्नस, ड्रागन,एचटीभी र रसियन प्रोग्रेसले कार्गोहरु पठाउँदै आएका छन् ।

नासाले पृथ्वीको तल्लो कक्षमा निजी क्षेत्रहरुसँगको साझेदारीलाई जोड दिएको छ । आईएसएस यसअघि सरकारी निकायको नियन्त्रणमा हुने गरेपनि आगामी दिनहरुमा निजी क्षेत्रलाई निर्माण गर्न लगाएर त्यसको नियमन र नियन्त्रण नासाले गर्दै छ ।

नासाको व्यवसायिक अन्तरिक्ष कार्यक्रमका निर्देशक फिल म्याकलिस्टरले बीबीसीलाई बताए अनुसार नासाको सहयोगमा अब निजी क्षेत्र प्राविधिक र आर्थिक रुपमा पृथ्वीको तल्लो कक्षमा घुम्ने स्याटेलाइट सञ्चालनमा योग्य भएका छन् ।

नासाले सन् २०२०मा एक्जियोम स्पेससँग अन्तरिक्ष केन्द्रसँग जोड्न मिल्ने किसिमको ह्याबिटेबल मोड्युल निर्माण गर्ने सम्झौता गरेको थियो । नासाले अन्य ३ वटा कम्पनीलाई पनि अन्तरिक्ष केन्द्रका डिजाइन तयार गर्ने सम्बन्धमा सम्झौता गरेको छ । यसमा ब्लु अरोजिन, न्यानोर्याक्स एलएलसी र नोर्थरोप ग्रुमेन सिस्टम कर्पोरेसन छन् । नासाले केन्द्र निर्माणमा निजी क्षेत्रसँग गरेको सम्झौताअनुसार २०२०को अन्तिम दशकतिर अन्तरिक्ष केन्द्ररुहरु सुरु हुनेछन् । हालको अन्तरिक्ष केन्द्रको समयावधि सकिनु अगावै नासाले कुनै एक अन्तरिक्ष मोड्युल अन्तरिक्षमा पठाउने तयारी गरेको छ ।

अमेरिकी कानुन र प्रतिबन्धका कारण चीनले गत वर्षदेखि आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र निर्माण गरेको छ । यो वर्षको अन्तदेखि केन्द्र सञ्चालन हुँदैछ । रुसले पनि २०२५ बाट आईएसएस कार्यक्रमबाट फिर्ता भएर छुट्टै अन्तरिक्ष केन्द्र निर्माण गरेर सन् २०३० भित्रै सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रकाशित : माघ २२, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?