कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमै निर्मित ‘सानो स्याट–१’ प्रक्षेपण हुँदै

नेपालमै निर्मित पहिलो स्याटेलाइट आगामी बिहीबार फ्लोरिडा स्पेस सेन्टरबाट प्रक्षेपण हुने
गोविन्द पोखरेल

काठमाडौँ — नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ आगामी बिहीबार प्रक्षेपण हुने भएको छ । स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण हुन लागेको हो ।

नेपालमै निर्मित ‘सानो स्याट–१’ प्रक्षेपण हुँदै

‘सानो स्याट–१’ भक्तपुरको ओरियन स्पेसले निर्माण गरेको हो । २५० ग्राम तौल भएको यो स्याटेलाइट ५ सेन्टिमिटर घनाकारको छ । खल्तीमा पनि अट्न सक्ने यो स्याटेलाइटलाई ‘पकेट क्युब स्याट’ पनि भनिने ओरियन स्पेसका प्रमुख राकेशचन्द्र प्रजापतिले जानकारी दिए ।

‘बिहीबार राति प्रक्षेपण भएपछि त्यसै दिन यो स्याटेलाइटलाई पृथ्वीको कक्षमा छाडिनेछ,’ उनले भने, ‘पृथ्वीभन्दा ५ सय किलोमिटरको उचाइमा यसलाई ट्रान्सपोर्टर–३ यानभित्रको फोजा पोडमार्फत अन्तरिक्षमा छाडिनेछ ।’ यसअघि जापानमा निर्माण भएको नेपाली स्याट–१ प्रक्षेपण भएको महिना दिनपछि मात्रै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट अन्तरिक्षमा छाडिएको थियो ।

अन्तरिक्षमा हुँदा यो फुच्चे स्याटेलाइटले ७ किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीलाई हरेक ९० मिनेटमा एक फन्को लगाउने निर्माणकर्ताहरूले बताएका छन् ।

स्विट्जरल्यान्डमा रहेका ओरियन स्पेसका सञ्चालक प्रजापतिले कान्तिपुरसँगको फोन कुराकानीमा भने, ‘हाम्रो यो स्याटेलाइटसँगै स्पेस एक्सले लगेका अन्य स–साना स्याटेलाइटहरू पनि छाडिनेछन् । यो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रभन्दा माथिको उचाइबाट छाडिनेछ ।’

सानो स्याटको आयु २ वर्षको हुनेछ । प्रजापतिका अनुसार यसले मुख्य गरी दुईवटा काम गर्नेछ । पहिलो, पृथ्वीको कक्षमा हुने गामा रेडिएसनको मात्रा नाप्ने र दोस्रो सर्ट म्यासेज रिले गर्नेछ ।

फुच्चे स्याटेलाइटको ग्राउन्ड स्टेसन भक्तपुरको सूर्यविनायकमा छ । ओरियन स्पेसले काठमाडौं विश्वविद्यालयमा ग्राउन्ड स्टेसन निर्माण गर्ने तयारी गरेको छ । यो स्याटेलाइटलाई नास्टको ग्राउन्ड स्टेसनबाट पनि मोनिटरिङ गर्न सकिनेछ ।

स्याटेलाइटको इन्जिनियरिङ मोड्युल नेपालमै तयार भएपछि परीक्षणका लागि स्पेन पठाइएको थियो । स्पेनमा उक्त मोड्युलले अन्तरिक्षमा काम गर्छ/गर्दैन भनेर कृत्रिम अन्तरिक्ष वातावरणमा परीक्षण गरिएको प्रजापतिले जानकारी दिए । स्पेनमा परीक्षण भएपछि नेपालमै स्पेस मोड्युल तयार गरेर स्पेनको फोसा कम्पनीलाई निर्माणकर्ता प्रजापति र सौरभ पौडेलले बुझाएका थिए ।

यो फुच्चे स्याटेलाइटलाई अन्तरिक्षसम्म पुर्‍याउनका लागि ओरियन स्पेसको करिब ४० लाख रुपैयाँ खर्च र ५ वर्ष समय लागेको छ । डीएचएलसहित स्पेनमा स्याटेलाइट पुर्‍याउँदा र परीक्षण खर्च मात्रै ३ लाख रुपैयाँ लागेको प्रजापतिले बताए । अन्तरिक्षमा छाड्नका लागि फोसालाई २५ हजार युरो तिरिएको उनले बताए । कम्पनीले स्याटेलाइट प्रक्षेपण गर्न अघिल्लो वर्ष चन्दा संकलनसमेत गरेको थियो । त्यसबाट ६ हजार ८ सय ४१ स्वीस फ्र्यांक संकलन भएको थियो ।

नेपालको अन्तरिक्ष शिक्षालाई प्रमोसन गर्नका लागि आफूले यो काम गरेको प्रजापतिले जनाएका छन् । प्रजापति स्विट्जरल्यान्डको पहिलो स्याटेलाइट मिसनमा सहभागी वैज्ञानिक हुन् । लाखौं खर्च गरेर फुच्चे स्याटेलाइट उडाउँदा कुनै फाइदा नभए पनि कम्पनीमा कार्यरत इन्जिनियरहरूले विभिन्न तालिम तथा भ्रमणमा जाने अवसर पाएको उनले बताए । नेपाली स्याट–१ प्रक्षेपण गर्दा नेपाल सरकारको करिब दुई करोड रुपैयाँ खर्च भएको थियो ।

सम्बन्धित समाचार

अन्तरिक्ष सपना

प्रकाशित : पुस २४, २०७८ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?