आज राति मृगशिरा उल्का वर्षा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार राति मृगशिरा उल्का वर्षा हुने भएको छ । हेलीको पुच्छ्रे ताराका कारण हुने यो उल्का वर्षाको गतिविधि मंगलबार(आज) राति अत्यधिक देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । 

हेलीको पुच्छ्रे ताराका कारण प्रत्येक वर्षको मेमा एटा एक्वारीएट र अक्टोबरमा ओरियनिड उल्कावर्षाहरु हुने गर्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण यी दुई उल्का वर्षाहरु प्रत्येक वर्ष हुने गरेको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए । यो उल्कावर्षा ओरायन (मृगशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर पनि भनिने उनले बताए ।

मृगशिरा उल्कावर्षा हरेक वर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म सक्रिय हुने नासोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस वर्ष यो उल्का वर्षा मंगलबार राति १० बजेर ४५ मिनेटमा सुरु भएर बुधबार बिहान ५ बजेर ४५ मिनेटसम्म देख्‍न सकिने अध्यक्ष भट्टराइले बताए ।

सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छाड्ने गर्छ । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ । यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । ठोक्किएर जलेका ती वस्तुहरुलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्‍ने गरिन्छ ।

बेलायती खगोलशास्त्री एडमण्ड हेलीले न्युटनको गुरुत्वाकर्षण सम्बन्धि साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डहरुको अध्ययन गर्ने क्रममा पत्ता लगाएको पुच्छ्रे तारालाई हेलीको पुच्छ्रेतारा भन्ने गरिएको छ । यसले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्ने गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब २०६१ मा देखिने अनुमान गरिएको छ।

उल्कावर्षा हेर्न कुनै दूरबिन वा टेलिस्कोप आवश्यक नपर्ने भएकाले सामान्य हिसाबले नांगो आँखाले नै हेर्न सकिने नासोले जनाएको छ ।

उल्का वर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्ने र यसको लागि घरको छत वा घर अगाडिको कुनै खुल्ला ठाउँमा गएर हेर्न सकिने अध्यक्ष भट्टराईले बताए ।

गत साउन २८ गते यस वर्षको सबैभन्दा धेरै उल्का वर्षा देखिएको थियो पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने उक्त उल्का वर्षालाई 'पर्सिड मिटियर सावर' नाम दिइएको थियो । 'स्विफ्ट टटल' नामक पुच्छ्रे ताराले आफ्नो कक्षमा छोडेका चट्टान र धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भएर जल्ने क्रममा उक्त उल्का वर्षा देखिएको थियो ।

प्रकाशित : कार्तिक ४, २०७७ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्

दैलेखमा सवारी दुर्घटना हुँदा ३ को मृत्यु, ३ गम्भीर घाइते

ज्योति कटुवाल

दैलेख — गुराँस गाउँपालिकाको बान्द्रे र तल्लो डुगेश्वरमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो गुराँस गाउँपालिकाको बान्द्रेमा बा–४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भीर घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको र घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताए । उनका अनुसार टिपर सडकबाट करिब ९ सय मिटर तल लोहोरेखोलामा खसेको छ ।

त्यस्तै सुर्खेतबाट जम्भुकाँध जाँदै गरेको ना–३ ख ५५१९ नम्बरको बस तल्लो डुंगेश्वरमा दुर्घटना हुँदा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ललित नेपालीको मृत्यु भएको छ ।

कर्णाली राजमार्गको तल्लोडुंगेश्वर नजिकै सडकमा रोकिएको टिपरमा बस ठोकिँदा दुर्घटना भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार बसमा सवार १४ यात्रु घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित : कार्तिक ४, २०७७ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×