आज राति यो वर्षकै धेरै उल्का वर्षा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आज (बुधबार) राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म उल्का वर्षा देखिने जनाएको छ ।

यो उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई 'पर्सिड मिटियर सावर' नाम दिइएको छ । 'स्विफ्ट टटल' नामक पुच्छ्रे ताराले आफ्नो कक्षमा छोडेका चट्टान र धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भएर जल्ने क्रममा यो उल्का वर्षा देखिन लागेको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

'स्विफ्ट टटल' पृथ्वीबाट धेरै टाढा रहे पनि यसले १ सय ३३ वर्षमा सूर्यको परिक्रमा गर्छ । सूर्यको परिक्रमा गर्ने क्रममा यो पुच्छ्रे ताराले आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छाड्ने गर्छ । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ । यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । ठोक्किएर जलेका ती वस्तुहरुलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्‍ने गरिन्छ ।

नासोले भने अत्याधिक मात्रा उल्कापात हेर्न चाहनेहरुका लागि बिहीबार बिहान ३/४ बजेको समय उपयुक्त हुने बताएको छ । उक्त समयमा प्रतिघन्टा १५० वटासम्म उल्का वर्षा देख्‍न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाहरुको गति प्रतिसेकेण्ड ६० किमिसम्म हुने भएकोले करिब ७० किमि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने नासोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो वर्ष जुलाई १७ देखि अगष्ट २६ सम्म उल्का वर्षा सक्रिय हुने अनुमान गरिएको छ । उल्का वर्षालाई रातको समयमा उत्तरपूर्वी आकाशमा अवलोकनकर्ताहरुले हेर्न सक्‍नेछन् । आफू रहेको स्थानको आकाश खुला र सफा रहेमात्र अवलोकन कार्य सम्भव हुने अध्यक्ष भट्टराईले बताए ।

प्रकाशित : श्रावण २८, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्

बीपी प्रतिष्ठानमा तालाबन्दी गर्न जाँदा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र बुधबार प्रहरी र कांग्रेस तथा नेविसंघका नेता कार्यकर्ताबीच झडप भएको छ ।

तरुण दल र नेविसंघका कार्यकर्ताले उपकलपति प्राडा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा मंगलबार लगाएको तालाबन्दी प्रहरीले खोलेपछि बुधबार तालाबन्दी गर्न गएपछि प्रहरीसँग झडप हुँदा केही बेर तनाव ग्रस्त भएको थियो ।

कांग्रेस कार्यकर्ताहरुले कोरोना महामारीको बेला प्रतिष्ठानका पदाधिकारीहरुले संक्रमित उपचारमा गैरजिम्मेवार बनेको र पदाधिकारीहरु ४४ औं सिनेट बैठक बस्‍न काठमाडौं गएको भन्दै तालाबन्दी गर्न गएका थिए ।

प्रहरीले मुख्य प्रवेशद्वार मै रोक्न खोज्दा झडप भएको थियो । प्रहरीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कोरोना महामारीको बेला प्रवेश नगर्न आग्रह गरेपनि उनीहरु जबरजस्ती नाराजुलुस लगाउँदै प्रतिष्ठानभित्र प्रवेश गरेका थिए । तर तालाबन्दी गर्न नदिएपछि उपकुपति परिसरमा कोणसभा गरेर फर्किएका थिए ।

आफूहरुले बिहीबार लगाएको तालाबन्दी प्रहरीले तोडेपछि फेरि लगाउन जाँदा प्रहरीले रोकेको कारण विरोधसभा गरेर फर्किएको तरुण दलका धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले बताए । उनले कुलपति गिरीको गैरजिम्मेवारी रवैयाले धरानवासीहरुले उपचार सेवा पाउनबाट वञ्‍चित हुनुपरेको आरोप लगाए ।

उनले भने, ‘अहिले पनि धरानका संक्रमितहरु घरमा नै बस्‍न बाध्य भएका छन् । साढे ३ महिनाअघि कोभिड-१९ अस्पताल उद्घाटन गरेपनि सञ्‍चालन गर्न नसकेपछि दबाब दिन आएपनि प्रहरीले रोक्यो ।’

प्रकाशित : श्रावण २८, २०७७ १८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×