२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

धनुषाको भिमानबाट 'गरुडा' प्रक्षेपण गरिँदै

गोविन्द पोखरेल

काठमाडौँ — नेपाली विद्यार्थीले तयार गरेको ‘गरुडा’ नामको रकेट अगामी शनिबार धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिने भएको छ । स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि रकेट परीक्षण गर्न लागिएको हो । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा काठमाडौं विश्वविद्यालयका तर्फबाट ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।

धनुषाको भिमानबाट 'गरुडा' प्रक्षेपण गरिँदै

यो विश्वको सबैभन्दा ठूलो विश्वविद्यालयस्तरीय रकेट इन्जिनियरिङ प्रतिस्पर्धा हो । ‘हामीले विज्ञानका पिता अल्बर्ट आइन्सटाइनको जन्मोत्सवको अवसर पारेर मार्च १५ मा लन्च गर्ने तयारी गरेका थियौं,’ निर्माणकर्ता मोहन तामाङले भने, ‘विविध कारणले हुन सकेन ।’ प्रक्षेपण सफल भए गरुडा अमेरिकी आकाशमा उड्नेछ ।


रकेटमा माथिल्लो उचाइबाट तस्बिर खिच्न मिल्ने गरी क्युबस्याट क्यामेरा पनि जडान गरिएको तामाङले बताए । १० हजार फिटमाथि पुग्ने यो रकेट प्रक्षेपण भएपछि प्यारासुटको सहायताबाट ती उपकरण झारिने व्यवस्था मिलाइएको छ । रकेटको मोटर टेस्ट पनि सफल भएको उनले बताए । ‘प्रारम्भिक परीक्षण सबै सफल भयो, अब प्रक्षेपण गरेपछि थाहा हुन्छ,’ उनले भने । लन्च गरेपछि कुनै समस्या नदेखिए अर्को प्रोटोटाइप तयार गर्ने उनले बताए । रकेटले ४ किलोग्रामसम्मको सर्भिलेन्स २ युनिट क्युबस्याट बोक्न सक्छ । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ । यो प्रतिसेकन्ड १ हजार १ फिटको गतिले उड्न सक्ने तामाङले बताए । फाइबर ग्लासबाट निर्माण भइरहेको रकेटको तौल २२.६ केजी छ ।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रकेट निर्माण तथा प्रतियोगितामा सहभागी हुनका लागि १७ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । नास्टले पनि ३ लाख रुपैयाँ दिने सहमति भएको अभियानको मुख्य सहयोगी हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । ‘मन्त्रालयले १७ लाख रुपैयाँ दिन्छ भनेर शिक्षामन्त्रीले भन्नुभएको छ तर अहिलेसम्म पाएका छैनौं,’ उनले भने ।

गरुडासँगै नियर एरो स्पेस नेपालले तयार गरेको रकेट पनि शनिबार नै प्रक्षेपण हुँदै छ । स्पेसका प्रोजेक्ट क्याप्टेन सुशीलदेव भट्टराईका अनुसार नेपाल स्पेस ड्रिम परियोजनाअन्तर्गत निर्माण गरिएको ९ फिट उचाइ भएको एम्याचुअर रकेट प्रक्षेपण गर्न लागिएको हो । यो २५ सय फिट उचाइसम्म जाने उनले बताए । सोलिड रकेट बुस्टर रहेको यसमा पोटासियम नाइट्रेट र डेक्सट्रोस इन्धनका रूपमा प्रयोग गरिएको छ ।

रकेट प्रक्षेपणका लागि नेपाली सेनाको रिसर्च एन्ड डेभलपिङ विंग्सले सबै लजिस्टिक सहयोग गर्ने भएको छ । ‘हामीले विगतमा मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसन गर्दै आएका छौं,’ सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने, ‘यस वर्ष कोरोनाका कारण भएन तर रकेट परीक्षणका लागि साइट उपलब्ध गराउन युवा वैज्ञानिकबाट प्रस्ताव आएपछि हामीले सहमति दिएका हौं ।’

सेनाले रकेट र रकेट लन्चर परीक्षणस्थलम्म लैजाने बन्दोबस्तीको सहयोग गर्ने उनले जानकारी दिए । ‘भिमानमा हाम्रो सेनाको फाइरिङ रेन्ज छ, त्यहीं परीक्षण गर्ने योजना छ,’ उनले कान्तिपुरसँग भने, ‘हाम्रो नीतिअनुसार युवा वैज्ञानिकलाई प्रोत्साहनका साथै इनोभेसनमा सहयोग पुर्‍याउन लागिएको हो ।’

प्रकाशित : चैत्र ५, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?