कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९

सूर्य नेपाल प्रिमियर गल्फमा भुवन र दिनेश अगाडि

काठमाडौँ —  प्रो भुवन नगरकोटी र दिनेश प्रजापतिले दोस्रो दिन बुधबार समग्रमा १० अन्डर १ सय ३४ सहित सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको संयुक्त अग्रता बनाएका छन् । 

सूर्य नेपाल प्रिमियर गल्फमा भुवन र दिनेश अगाडि

गोकर्ण गल्फ कोर्समा उनीहरूले नीरज तामाङ, सुवास तामाङ र एमेच्योर सद्भाव आचार्यलाई ३ स्ट्रोकले पछि पारेका छन् ।

भुवनले आज ६ अन्डर ६६ को उत्कृष्ट स्कोर कार्ड बनाए । पहिलो दिनका लिडर दिनेशले ३ अन्डर ६९ मा दिनको खेल सकेका थिए । समग्रमा ७ अन्डर १ सय ३७ को स्कोरमा नीरज, डिफेन्डिङ च्याम्पियन सुवास र एमेच्योर सद्भाव संयुक्त तेस्रो स्थानमा रहे । नीरजले ६ अन्डर ६६ को उत्कृष्ट स्कोर बनाउँदा सुवास र सद्भावले ३ अन्डर ६९ मा खेल टुंग्याएका थिए ।

समग्रमा ५ अन्डर १ सय ३९ सहित तोरणविक्रम शाही र एमेच्योर विजय श्रेष्ठ संयुक्त छैटौं स्थानमा रहे । विजयले २ अन्डर ७० र तोरणले १ ओभर ७३ मा खेल सके । यो स्कोरमा तोरण दोस्रोबाट छैटौं स्थानमा तल झरे । समग्रमा ४ अन्डर १ सय ४० को स्कोरमा जयराम श्रेष्ठ, सञ्जय लामा र एमेच्योर सुमन परियार संयुक्त आठौं स्थानमा छन् ।

जयरामले ४ अन्डर ६८, सञ्जयले ३ अन्डर ६९ र सुमनले २ ओभर ७४ को स्कोर गरे । ३६ होलको समाप्तिमा २१ प्रोफेसनल र ६ एमेच्योर गरी २७ गल्फरले कट बनाएका छन् । प्रोतर्फ रमेश अधिकारी, धनबहादुर थापा, भुवनकुमार रोक्का, रवि खड्का, रामे मगर, बलभद्र राई, भूबहादुर गुरुङ, दलबहादुर लामा, टंकबहादुर कार्की, किशन कालीराज सुनार, वसन्तराज गुरुङ, शिवराम पौडेल, सूर्यप्रसाद शर्मा र युवराज भुजेलले कट बनाए । एमेच्योरतर्फ सद्भाव, विजय, सुमनसँगै तेन्जिङ पाल्देन, राहुल विश्वकर्मा र वाङ्चेन ढोन्डुपले अन्तिम दुई दिनमा स्थान बनाए ।

पहिलो दिन संयुक्त तेस्रो स्थानमा रहेका भुवनले दिनेशसँग शीर्षस्थानमा रहने क्रममा फ्रन्ट र ब्याकनाइन दुवै ३ अन्डर ३३ मा सके । दोस्रो होलको बोगीबाट सुरु गरे पनि तेस्रो, चौथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे । यसपछि ब्याकनाइनमा पनि चार होलमा बर्डी प्रहार गरे । १०, १२, १४ र १७ औं होलमा एक–एक सट बचाए भने १५ औं होलमा बोगी खेपे । उनले कुल ८ बर्डी प्रहार गरे ।

पहिलो दिनका लिडर दिनेशले फ्रन्टनाइन २ अन्डर ३४ मा सकाए । तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र चौथो होलमा एक–एक सट खेर फाले । यसपछि १४ औं होलको बोगीविरुद्ध ११ र १२ औं होलमा बर्डी प्रहार गर्दै ब्याकनाइन १ अन्डर ३५ मा सके ।

नीरजले फ्रन्टनाइन २ अन्डर ३४ मा सके । पहिलो, तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले । ब्याक नाइनमा भने निरजले १० देखि १२ र १८ औं होलमा गरी चार बर्डी प्रहार गरे । ब्याकनाइन ४ अन्डर ३२ मा सकाए ।

सुवासले फ्रन्टनाइन ३ अन्डर ३३ मा सक्ने क्रममा दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले । यसपछि ११ औं होलको बोगीविरुद्ध १२ औं होलको बर्डीले ब्याकनाइन इभन पार ३६ मा सके ।

एमेच्योर सद्भावले फ्रन्टनाइन २ अन्डर ३४ मा पूरा गरे । दोस्रो र आठौं होलको बोगीविरुद्ध तेस्रो, पाँचौं, छैंटौं र सातौं होलमा एक–एक सट बचाए । ब्याकनाइन १ अन्डर ३५ मा पूरा गरे । ११ औं होलमा बोगी प्रहार गरे भने १२ र १३ औं होलमा शट बचाए । पुरस्कार राशिको आधारमा सिजनकै ठूलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशि रहेको छ । विजेताले २ लाख ७५ हजार जित्नेछन् ।

प्रकाशित : असार ६, २०८१ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×