कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

करातेका सारथि

नेपाली करातेले असोजयता चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पद भित्र्याएको छ । १९ औं एसियाली खेलकुदको रजत, १० औं सितोरियो कराते वर्ल्ड च्याम्पियनसिपमा १ स्वर्ण, ३ रजत र ५ कांस्य, यूएसए ओपन तथा जुनियर इन्टरनेसनल कराते च्याम्पियनसिपमा १/१ स्वर्ण र रजतका साथै सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा ३० स्वर्ण, २४ रजत र ७ कांस्य पदक भित्र्याइसकेको छ । यी सफलताको पछाडिको मुख्य व्यक्ति भने नेपाली कराते टिमका हेड कोच कुशल श्रेष्ठ हुन् । 
ध्रुव तुलाधर

काठमाडौँ — पछिल्लो ६ महिनामा नेपाली करातेले एकपछि अर्को सफलता चुमेको छ । गत असोजयता चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका पदक नेपाली करातेका लागि ऐतिहासिक सफलता हो । यस अवधिमा नेपाली करातले १९ औं एसियाली खेलकुदको रजत, १० औं सितोरियो कराते वर्ल्ड च्याम्पियनसिप (जकार्ता) मा १ स्वर्ण, ३ रजत र ५ कांस्य, यूएसए ओपन तथा जुनियर इन्टरनेसनल कराते च्याम्पियनसिपमा १/१ स्वर्ण र रजतका साथै सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा ३० स्वर्ण, २४ रजत र ७ कांस्य पदक भित्र्याइसकेको छ । 

करातेका सारथि

यी सफलताको मुख्य श्रेय भने नेपाली कराते टिमका हेड कोच कुशल श्रेष्ठलाई जान्छ । यी सफलतासँग जोडिएको अर्को नाम हो, एरिका गुरुङ । चीनको हाङचाउमा सम्पन्न एसियाडमा एरिकाले रजत पदक जितिन् । एसियाली खेलकुदमा नेपाली करातेले जितेको त्यो पहिलो ठूलो पदक हो । त्यसले नेपाली करातेको साखलाई पुनर्ताजगी गराइदियो । सितोरियो वर्ल्ड च्याम्पियनसिप र यूएसए ओपनमा पनि एरिकाले स्वर्ण दिलाइन् । दुवै प्रतियोगितामा पहिलो पटक नेपालले स्वर्ण जितेको थियो । नेपालमै सम्पन्न सातौं दक्षिण एसियाली करातेमा सबैभन्दा धेरै पदक जित्नु अर्को गर्बिलो इतिहास हो ।

४१ वर्षे कुशल करातेका यी सबै ऐतिहासिक सफलतासॅँग जोडिन पाउँदा गौरव गर्छन् । ‘नेपाली करातेको इतिहासमा मैले यो एउटा अवसर पाएँ । यसमा सम्पूर्ण कुराहरू मिसिएका होलान्, खेलाडीको दुःख, कोचको परिश्रम, नेपाल कराते महासंघ, राष्ट्रिय खेलकुद परिषद्को भूमिका,’ उनी भन्छन्, ‘तर, सबैको क्रेडिट पाउने ठाउँमा म पुगें । त्यससँगै आफूले गरेको दुःखको प्रतिफल भनौं वा रिजल्ट आउँदा गौरव महसुस हुनु स्वाभाविक हो ।’

कुशलले राष्ट्रिय कराते टिममा हेड कोच भएर काम गरेको भने एसियाड यात्रादेखि हो । उनले कराते टिमलाई एसियाडअघि इन्डोनेसियामा सफलता दिलाएर चीन लगेका थिए । उनी राष्ट्रिय टिमसँग आबद्ध भएको भने सन् २०१६ देखि नै हो । १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जित्दा उनी पनि प्रशिक्षण टिमका सदस्य थिए । त्यसबाहेक थुप्रै अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा प्राप्त सफलतामा उनको नाम जोडिर आउँछ ।

कुशल उम्दा खेलाडी पनि हुन् । उनीसँग दक्षिण एसियाली खेलकुद (साग) को तीन संस्करणको पदक छ । त्यो इतिहास उनले मात्र कोरेका छन् । तीन संस्करणमा चार पदक जितेका छन् । सन् २००४ को इस्लामाबादमा नवौं सागमा रजत पदक जितेका उनले २००६ को कोलम्बो सागमा स्वर्ण जितेका हुन् । ११ औं ढाका साग २०१० मा कुमिते र काता दुवैमा कांस्य जितेका थिए । अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिताको दुवै विधामा पदक जित्ने उनी एक्लो खेलाडीमा पर्छन् ।

दुई एसियाली खेलकुद (दोहा २००६ र ग्वाङझाउ २०१०), वर्ल्ड च्याम्पियनसिप, डब्लूकेएफको प्रिमियर लिगसहित दर्जनौं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका कुशलले बेलायतमा सन् २०१२ मा एएमए इन्टरनेसनल ओपन च्याम्पियनसिप र अस्ट्रेलियामा २०१६ मा सुकोकाई ओपन च्याम्पियनसिपमा जितेको रजत पनि विशेष छ । ब्ल्याकबेल्ट छैटौं डानप्राप्त खेलाडी हुन् उनी । तर उनी खेलाडीका रूपमा भन्दा पनि प्रशिक्षण करियरमा पाएको सफलताप्रति बढी सन्तुष्ट छन् ।

‘खेलाडी हुँदा प्राप्त जित व्यक्ति केन्द्रित हुन्छ । तर प्रशिक्षक भएर दिलाएको सफलतामा खेलाडीदेखि धेरै पक्ष समेटिने भएकाले थप सन्तुष्टि मिल्ने रहेछ,’ कुशलले भने । राष्ट्रिय खेलकुद परिषद्को ‘मिसन २०२६’ का लागि पनि उनी करातेको हेड कोच नै छन् । एसियाडको यो मिसनमा करातेको लक्ष्य स्वर्णसहित अरू थप पदक जित्ने हुनेछ । त्यसका लागि उनले आफ्नो ट्रेनिङ योजनाअनुसार काम पनि अघि बढाएका छन् ।

धनकुटामा २०३९ सालमा जन्मिएका हुन् कुशल । पुर्ख्यौली घर भने वीरगन्ज । बुवाआमा (दीपक र हरिमाया) दुवै ‘सेभ द फन्ड यूके’ प्रोग्रामका लागि धनकुटामा जागिरे थिए । पछि त्यहींको बासिन्दा भए । धनकुटा टुँडिखेल नजिक छ उनको घर । जतिबेला टुँडिखेल करातेमय हुन्थ्यो । आधा टुँडिखेल त करातेका खेलाडीले ढाक्थ्यो । कुशलका दाइ पनि कराते नै खेल्थे । त्यही माहोलले कुशललाई पनि करातेतिर डोर्‍यायो ।

०४९ सालदेखि भने उनको साइनो करातेसँग जोडियो । ‘करातेको क्रेज यस्तो थियो कि त्यसबाट टाढा हुनै सकिएन । सेतो पोसाकमा सजिएका खेलाडीको समूह बजारमा बिहानी वाकिङ गर्दा त म पनि जान्छु भन्ने हुटहुटी हुन्थ्यो,’ उनले कराते प्रवेश गर्दाको क्षण सुनाए, ‘तर मलाई घरबाट खेल्न जाने अनुमति थिएन । सात महिनामै जन्मिएका कारण शारीरिक रूपमा सानो थिएँ । त्यसले बुवाआमाको चाहना पढाइमै केन्द्रित होस् भन्ने थियो ।’

तर कुशलको मन मानेन । सिक्ने क्रम जारी राखेका उनले धरानमा भएको किड्स च्याम्पियनसिपको २५ केजी तौल समूहमा स्वर्ण पदक जिते । त्यसपछि भने यसप्रतिको लगाव बढ्यो । कुशलले स्नातकसम्मको पढाइ धनकुटा बहुमुखी क्याम्पसबाटै पूरा गरे । धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सबाट सीएमए पनि सकाए । काठमाडौं आएपछि स्नातकोत्तर अध्ययन गरे । पढाइ र खेललाई सँगसँगै अघि बढाएका कुशलले प्रशिक्षणमा बढी समय दिनुपर्दा अध्ययनलाई थाती राख्न बाध्य भएका छन् ।

‘लाहुरे’ संस्कृतिमा हुर्केकाले कुशललाई पनि एकताका लाहुरे बन्ने हुटहुटी थियो । ब्रिटिस आर्मीका लागि भिडे पनि । सुरुआती चरणमा गल्ला, यारोबाट छानिएर पोखरा पुग्थे । त्यहाँ पुगेपछि असफल । तीन पटकसम्म यस्तै नियति भोगे । भाग्यमा लाहुरे लेखिएको रहेनछ । अहिले त लाहुरे नभएकोमा कुनै पछुतो छैन उनलाई । लाहुरे बन्न नसके पनि कुशल लाहुरेको ज्वाइँ भने बने । उनले लाहुरेकी छोरी तारा गुरुङसँग प्रेमविवाह गरे । तारा पनि करातेकी राष्ट्रिय च्याम्पियन । उनले आफूले खेलेका सबै राष्ट्रिय प्रतियोगिता जितेकी छन् । राखेपमा कुशलभन्दा अगाडि प्रशिक्षकको जागिरे सुरु गरिसकेकी तारा अहिले पनि प्रशिक्षक छिन् ।

सँगै खेलाडी, सँगै प्रशिक्षक । दुवैले सन् २०१० को ग्वाङझाउ एसियाड पनि सँगै खेले । जतिबेला उनीहरूले विवाह गरिसकेका थिए । ‘जोडीका रूपमा एसियाड खेल्नु हाम्रा लागि अहोभाग्य थियो, एसियाड खेल्ने हामी पहिलो कपल थियौं । त्यो हाम्रा लागि एचिभमेन्ट नै हो ।’ दुवैजना एकै क्षेत्रमा भएकाले जीवन चलाउन अलि सजिलो महसुस गर्छन् उनीहरू । भन्छन्, ‘एउटै फिल्ड भएपछि धेरै समानता हुन्छ । एकअर्काको भावना, समस्या सबै बुझ्न सकिन्छ ।’ अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, बेलायत, जापानलगायत दर्जनौं मुलुकमा भएका प्रतियोगिता खेल्नुका साथै प्रशिक्षक भएर पुगेका कुशलले थुप्रै मुलुकमा तारालाई पनि साथमा पाएका छन् ।

तत्कालीन राखेप सदस्य सचिव युवराज लामाको योजनामा सन् २०१६ मा काठमाडौंमै इलिट कोचेज कोर्स भएको थियो । २५ खेलमा ७० जना प्रशिक्षक सहभागी थिए । त्यसमा विभिन्न देशका विशेषज्ञ प्रशिक्षक आएर प्रशिक्षण दिएका थिए । त्यसमा कुशल टपर भए । त्यसपछि उनलाई कराते महासंघले कोचको जिम्मेवारी सुम्पेको थियो । कुशलको अनुभवमा एउटाले प्रशिक्षक खेलाडीलाई खेलाउने मात्र होइन, उसले म्यानेजर, डाक्टर, फेमिली, डाइटिसियन, मेन्टर, साइक्याट्रिक्स सबै भूमिका खेल्नुपर्छ । यद्यपि अहिले टिम गेमहरूमा फरक–फरक भूमिकाका विज्ञ नियुक्त गर्ने क्रम सुरु भएको छ ।

कुशलको अनुभवमा अपजस पनि आइलाग्ने पेसा हो प्रशिक्षण । ‘जित्यो, खेलाडीको वाहवाही, हार्‍यो सबै कोचले गर्दा । राम्ररी ट्रेनिङ गराएन भन्नेसम्म पुग्छन्,’ उनले भने, ‘अपजसको भारी धेरै बोक्नुपर्ने हुन्छ । मेरो सिद्धान्त भनेको खेलाडीले जित्दा पनि प्रशिक्षकको भूमिकालाई न्याय गर्नुपर्छ र हार्दा प्रशिक्षक आफू पनि त्यत्तिकै जिम्मेवार बन्नुपर्छ ।’ अर्को समस्या जुनियर स्तरमा खेलाडीलाई भरपूर मिहिनेत गरेर राष्ट्रिय स्तरमा पुर्‍याएपछि टिकाउनै गाह्रो हुने अवस्था आएको उनी बताउँछन् । सरकारले हरेक स्कुलमा अनिवार्य खेलकुद शिक्षकको व्यवस्था गरेमात्र पनि धेरै राष्ट्रियस्तरका खेलाडी टिकाउन सकिने उनको तर्क छ ।

प्रशिक्षकले पाउने पुरस्कार रकम एकदमै न्यून भएकोमा पनि उनको गुनासो छ । ‘खेलाडीको सफलता, असफलताको सम्पूर्ण जस प्रशिक्षकको हुन्छ । तर, प्रशिक्षकलाई हेर्ने दृष्टिकोण भने विभेदपूर्ण छ । पुरस्कार कार्यविधि धेरै असमान छ,’ उनी भन्छन् । कार्यविधिअनुसार एसियाडमा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार पाउँदा मुख्य प्रशिक्षकले २ लाख ३४ हजार, दुई सहायक प्रशिक्षक र व्यवस्थापकले जनही १ लाख ९५ हजार रुपैयाँ मात्र पाउँछन् ।

कांस्य जित्ने महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षकले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक र व्यवस्थापकले जनही १ लाख ३० हजार पाउँछन् भने पारा एसियाडतर्फ कांस्य जित्ने खेलाडीका लागि १३ लाख, प्रमुख प्रशिक्षकका लागि २ लाख ६० हजार र टिम व्यवस्थापकका लागि १ लाख ३० हजार तोकिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?